
सावी कमलाको घरमा जुन दिन पुगेको थिई, दिनभरिको बस र रेलको थकाउने यात्रापछि त्यही दिनको कुरा हो— दुईजना साथीहरू एउटै कोठामा झ्यालढोका थुनेर बत्ती निभाई पल्टेका थिए, आफ्ना घर जहान साथीभाइका कुरा गर्दागर्दै करीब बाह्र–एक बजेको बेला उनीहरूको कोठामा पुग्ने सिढी चढेर कोही जुत्ता बजार्दै ढोकामा आएर जोड–जोडले धक्का दिन लागेको सुनियो ।
सावी र कमला बत्ती बालेर जर्याक–जुरुक उठेर बसे कराउन चिच्याउन नसकेर । त्यसै बेला माथिल्लो चोटाबाट कमलाका सासू–ससुरा ‘चोर ! चोर !’ भन्दै कराउन लागे । सावीले भनी डरले निसास्सिँदै ‘लौन कमला म के गरूँ ? मेरा बाकसमा गहनाहरू छन् । कहाँ लुकाउने ?’
त्यतिन्जेल सासू–ससुरा तीे राति आउने चोरजस्ता मानिससित कुरा गर्न लागेका थिए । ‘हामी चोर होइनौँ । पुलीस हौँ ।’ भनेको सुनियो । त्यसै बेला सासूले ढोकामा घच्घच्याएर भनिन्, ‘कमला ढोका खोल । पुलिसहरू हुन् । यहाँ चोर पसेको छ भन्छन् । हेर्न देऊ ।’
कमलाले ढोका खोलिदिई ।
पुलीसको एक हूल भित्र पस्यो । ‘कहाँ छ चोरीको माल ?’ एउटाले सोध्यो कमला र सावीतिर हेर्दै ।
ती दुई केटीहरू हतबुद्धि र अवाक् भएर उनीहरूलाई हेर्न लागे केही कुरा नबुझेर ।
‘यहाँ आएको मान्छेले त्यो माल कहाँ छोडेर गएको छ ?’
पुलीसहरू मात्रै बोलिरहेका, पुछताछ गरिरहेका थिए ।
कमलाले सावीतिर हेरी । सावीले कमलातिर । कमलाले सोधी, ‘के तिमीसित कोही मान्छे भेट्न आएको थियो सावी ?’
‘खै कोही आएको थिएन । शिव र म सँगै आएका थियौँ । तर, उ मलाई बाकस जिम्मा लाएर होटेलमा सुत्न गएको थियो । म बाकस लिएर यहाँ आएकी ।’ सावीले जवाफमा भनी ।
कमलाले पुलीसहरूतिर फर्कंदै भनी, ‘कस्तो चोरीको माल ?’
‘कहाँ छन् त शिवप्रसाद ?’ उसको जवाफमा एउटा पुलीसले उल्टै कडा स्वरले सोध्न लाग्यो ।
‘उसको पोइ शिव—’ कमलाले भनी, ‘ऊ यहाँ बस्न अप्ठ्यारो मानेर होटेलमा गएको छ । आफ्नी स्वास्नीको साथीकहाँ बस्न असजिलो लागेर गएको ।’
‘कुन होटेलमा ?’ ठाडो स्वर थियो पुलीसको ।
‘आदर्श भोजनालय ।’ सावीले भनी ।
‘त्यो बाकस कहाँ छ हामी लैजान चाहन्छौँ ।’ अघि सोध्ने पुलीस अफिसर थियो भन्ने बुझिन्थ्यो, अलि अगाडि पाइला बढाउँदै भन्न लाग्यो र साथै यताउता हेर्न । ‘हामीलाई देखाउनुपर्यो ।’
‘त्यसमा हाम्रा गहनाहरू छन् ।’ सावीले केही झर्केर हड्बडाएझैँ भनी । ‘तपाईं पुलीसको आडर मान्नुहुन्न ?’ उक्त अफिसर ठूलठूला आँखा लाउँदै झोँक्कियो ।
सावीले कराउँदै इन्कार गरी, ‘म दिन्नँ । दिन्नँ । मेरा गहनाहरू ।’
उसको चिच्याइदेखि केही आश्चर्य मान्दै अफिसरले शान्त भावले बुझाउन खोजेझैँ भन्यो, ‘तपाईंको गहना बाकस कहीँ जाँदैन । हाम्रो जिम्मामा रहन्छ । हामी त शंका लागेर आएका । तपाईंले बुझ्नुभएन ? —एउटा बाकस आज वीरगञ्जमा हराएको छ । त्यसमा पनि गहनाहरू भएको पत्ता लागेको छ । हामी त्यो बाकस पत्ता नलागेसम्म तपाईंको बाकसलाई लैजान चाहन्छौँ । बुझ्नुभएन ?’
अफिसरले हातको लाठो चलाउँदै विश्वासलाग्दो प्रभाव परेको नपरेको सावीको मुखमा हेर्न लाग्यो ।
‘किन सावी ! किन नदिएकी । पुलीसहरूको मद्दत गर्नु हाम्रो धर्म हो ।’ कमलाको ससुराले भने ।
सावीले रुँदै आँसु पुछ्तै आफ्नो गहनाको बाकस झिकेर ल्याई जुन खाटमुनि राखेको थियो । त्यो सानो काठको कन्तुरजस्तो उसको सिँगारदान पनि थियो । उसको पोइलाई पनि सूचना नदिई उसले पुलीसलाई सुम्पन लागेकी थिई ।
ऊ केही धुकचुकाएकी देखेर पुलीस अफिसरले उसको मनसाय बुझेझैँ भद्र स्वरमा भन्यो, ‘तपाईंलाई पुलीसको विश्वास लाग्दैन ? हामीले के त्यसै आफ्नो घरमा लगेका छौँ तपाईंको बाकस ? अपराधी पत्ता लाउनुपरेकोले पो यस्तो गर्नुपरेको । आधारातमा तपाईंहरूलाई उठाएर दुःख दिन्थ्यौँ उसै ? हामी तपाईंको पोइलाई पनि होटेलमा खबर गरिदिन्छौँ ।’
उसले सावीको हातबाट बाकस लियो र सँगै उभिएको अर्को पुलीसलाई हातमा समात्न दियो ।
‘हामी तपाईंहरूलाई भोलि नै खबर गर्नेछौँ । पुलीसको काम–बेला कुबेला अर्काको घरमा– यस्तै हो नरिसाउनुहोला, के गर्नु शंका नछुटुञ्जेल–लौ हामी गयौँ । बिदा भयौँ । निश्चिन्त बस्नु होला ।’
अफिसरले भन्यो र सिँढीबाट ओर्लन लाग्यो टर्च बाल्दै । अरू पुलीसहरू पनि पछि–पछि ओर्लंदै गए ।
सावी तिनीहरू गएपछि निदाउन पनि नसकेर पल्टिरही उत्तानो टाङ लाएर । कमला पनि कुनै तर्क गर्न नसकी पल्टिरही सावीलाई ‘नडराऊ, नडराऊ’ भन्दै ।
उसका सासू–ससुराहरूलाई पनि किन निद्रा लाग्थ्यो । आफ्नी बुहारीको माइतीकी साथीले यसरी घरमा तूफान लिएर आउली भन्ने उनीहरूले सोच्न सकेका थिएनन् । उनीहरू पनि त्यही कोठामा आएर कुरा गर्न लागे ।
ससुराले भने चिन्ता र विस्मयको स्वरमा— ‘मधेसको ठाउँ हो । पुलीस प्रहरी हो भनेर चोर पनि आउन सक्छन् । अस्ति मात्रै कहाँ हो नेपाली जन्ती बनेर डाँकाहरू गएका थिए रे लूटपीट गर्न । यिनीहरू पनि चोर नहोलान् भन्न कसरी सकिएला ?’
उनको तर्कना र आशंका सुन्दा साथीको अलिअलि भएको साहस पनि गुम भयो । उसको सातो जान लाग्यो । उसले अत्तासिलो स्वरमा भन्न लागी, ‘म मधेश कहिल्यै नआएकी, नदेखेकी । शिवले त भनेको थिए–गहना नलैजाऊ ।’
सासूले आडभरोस दिँदै भनिन्, ‘नआत्तिउ नानी ! उहाँको कुरा सधँै यस्तै दीर्घसूत्री हुन्छ । केही पनि हुँदैन । मलाई त तीे पुलिस जस्ता लाग्छन् ।’
तर, सावी मुटुमा गाँठो पार्दै सम्झन लागी केही नबोली । कमलाको अगाडि दुई–चारओटा गहना पनि नलगाई जानु उसलाई ठीक लागेन । साथीको अगाडि दुइटा औँठी हीेराको, एउटा तिलहरी, एक जोर यारिङ र एउटा नेकलेस पनि नभए उसको के इज्जत राख्ली भनेर ।
उसले आफ्ना भएभरका गहना लिएर आएकी थिई । उसले ती गहनाहरू चोरीको डरले दिनभरि नलगाई बाकसमा राखेकी थिई । उसले ती गहनाहरू कमलाकहाँ आइपुग्दा रात परिसकेकोले लगाउन पाएकी थिइन ।
यस्तै सोचाइ र चिन्तामा रात बित्यो । बिहानीपख उसको कोठाको ढोकामा आएर कसैले बोलाएको उसले सुनी । ऊ झस्किँदै उठी तन्द्रालु अवस्थामा । शिवप्रसादले बोलाउँदै भन्यो, ‘सावी ! तिम्रो गहनाको बाकस ! आऊ लिन ।’
(‘सुर्तीको पातमा झुन्डिएको जीवन’ बाट)