site stats
साहित्य
अहिलेको साहित्य चटपटे र पानीपुरीजस्तो लाग्छ

कथाकार शिव प्रकाश उपन्यास लिएर आउँदै छन् । उनको उपन्यास ‘समभोक’ प्रकाशित हुने तरखरमा छ । लामो समयदेखि कथामा कलम चलाइरहेका छन् । उनका दुई कथाकृति यसअघि नै सार्वजनिक भइसकेको छ । नयाँ कृतिका सन्दर्भमा शिव प्रकाशसँग गरिएको कुराकानीको सम्पादित अंश :

उपन्यासको विषय भोक नै किन ? 
यस किताबको महत्त्वपूर्ण पक्ष नै भोक हो । भोक आफैँमा सर्वव्यापी छ । मानिसको जीवन नै भोकको पेरिफेरिमा घुमेको छ भनिरहँदा अतिशयोक्ति हुन्न होला । किनभने, हरेक मानिस भोक तृप्तिका लागि काममा लाग्छ ।

त्यति मात्रै होइन, मानिसलाई भोगको पनि भोक हुन्छ । सम्भोगको भोक पनि हुन्छ । यो विषय मेरो दिमागमा किन आयो भने यी सारा कुरा संसारमा सधैँ बाँचेका छन् । यी तीनै कुरा संसारमा अमर छन् । तर, यस विषयमाथि आख्यानीकरण भएको छ कि छैन भन्ने कुराले मलाई छोयो । यो आफैँमा खोजीको विषय थियो । किनभने, भोकमाथि दार्शनिक रूपमा धेरै हेरिएको पाइन्छ । धेरै मीमांसा गरेको पनि पाइन्छ । निबन्धमा यी विषयहरू अत्यधिक आएका छन् । तर, बेग्लाबेग्लै आएको मैले महसुुस गरेको छु ।

S.A.U
Agani Group

म केही नयाँ गरौँ भन्ने सोचिरहेको थिएँ । त्यसैक्रममा यी तीनै विषयलाई एकै ठाउँमा समेटेर नयाँ प्रयोगसहित आख्यानीकरण गर्ने सोचाइ आयो । र, काम सुरु गरेँ । यसबारेमा धेरैलाई सुनाएँ । कतिले विश्वासै गरेनन् । पत्याएनन् । तर, मैले आँटे र यसको प्लट तयार पारेँ ।

तपाईंलाई भनूँ, यसको प्लट मात्रै तयार गर्न दुई वर्षको समय लाग्यो । समग्रमा यी तीनै विषयलाई समेटेर कथाको प्रारूप तयार पार्नै लामो समय लियो । जब प्लट तयार पारेँ, अनि पहिले विश्वास नगरेका साथीभाइले पत्याए । यसरी ‘समभोक’ले अग्रता लियो ।

Global bank

आख्यानमा यी तीनै विषय एकापसमा जोडिएका छन् ?  
जोडिएका छन् । हेर्नुस्, हरेक मानिसको जीवनमा यी तीन कुरा जोडिएका छन् । त्यसमा कुनै सन्देह छैन । त्यसैले सुरुमा भोकलाई आख्यानमा प्रस्तुत गरिएको छ भने दोस्रोमा भोग र तेस्रोमा सम्भोगको पार्ट लेखिएको छ ।

खासमा तीनै वस्तुलाई दार्शनिक दृष्टिबाट आख्यानमा लैजाँदाखेरि कस्तो देखिँदो रहेछ भन्ने कुरा पनि यसमा देखाउन खोजिएको छ । यी तीनै विषय संसारमै गहन विषय मानिन्छ । त्यसैले यसलाई सतही तबरबाट लेख्ने प्रयास गरिएको छैन । यसमा दार्शनिक दृष्टिकोण छ ।

आख्यान वा अरू लेखन दर्शनमा आधारित छ भने बढी जटिल हुन्छ भनिन्छ नि ?
मलाई लाग्छ, यो उपन्यास पाठकले बुझ्नुहुन्छ । मैले सरलीकरणको प्रयास गरेको छु । निश्चय पनि साहित्यमा दर्शन जोडिनुपर्छ । साहित्यको उन्नयन भाषाले नै गरेको हो । भाषापछि दर्शन आयो । यसरी नै साहित्यको विकास भएको हो । तर, अहिलेको साहित्य चटपटे र पानीपुरीजस्तो लाग्छ मलाई । केही बेर जिब्रोको स्वादका लागि चटपटे खाएजस्तो । खायो, एक छिन रमायो र सकियो ।

मैले यो आख्यान पढिसकेपछि पाठकलाई केही बेर घोत्लिन दिऊँ न त भन्ने हिसाबले लेखेको छु । दुस्साहस गरेकै हुँ । पाठकमा क्षमता छ, म जान्दछु । मलाई लाग्छ, पाठकले बुझ्नुहुन्छ । त्यो वर्गका पाठक पाउँछु मैले ।

भोक, भोग र सम्भोगमध्ये महत्त्वपूर्ण के लाग्छ तपाईंलाई ?
सारा कुरा पहिल्याउने जिम्मा मेरा पाठकहरूलाई नै छोड्छु । मेरा लागि तीनवटै कुरा उत्तिकै महत्त्वपूर्ण छन् । तीनवटै कुराको जन्म भोकबाट हुन्छ भन्ने मलाई लाग्छ । पहिले मानिसलाई भोक लाग्नुपर्छ । भोकले मानिसलाई सबैतिर लैजान्छ । भोक लागेन भने मान्छे भोगमा पनि जान सक्दैन । सम्भोगको अवस्थामा पनि जान सक्दैन । यस उपन्यासमा सम्भोग दर्शनलाई मैले केही फरक ढंगमा प्रस्तुत गर्न खोजेको छु ।

पाठकको भोकलाई कसरी तृप्त गर्न खोज्नुभएको छ ?
मलाई लाग्छ, यसले पाठकलाई किताब पढ्ने भोक जगाउँछ होला । साहित्यमा यसरी पनि हेर्न सकिँदो रहेछ भन्ने दृष्टिकोणबाट ‘समभोक’ ल्याएको हुँ । पाठकले यस्तो खाले पनि साहित्य हुन सक्दो रहेछ भन्ने सोच्नुहोस् भन्ने मेरो प्रयास हो ।

छिटो लेखेर सस्तो लोकप्रियता कमाउनेभन्दा पनि साहित्यलाई हामीले अलिकति गहिरिएर लिऊँ भन्ने मेरो धारणा हो । नेपाली साहित्य विश्वव्यापीकरण भएन भनिन्छ । कतै हाम्रो लेखाइ पो कमजोर भएर हो कि भन्ने प्रश्न त उठ्छ नि ! हामीभन्दा ससाना देशहरूका कृतिले नोबेल प्राइज जितिरहेको छ । हामी पछाडि परिरहेका छौँ । हामीमा विषयवस्तु नपुगेर हो कि भन्ने लागेर पनि एउटा नयाँ विषय दिन खोजेको हुँ ।

Sama Bhok Shiba prakash book cover1673064582.jpeg

नयाँ विषय आउँदा कतैबाट प्रभावित पो छ कि भन्ने आशंका पनि गरिन्छ नि !
प्रभाव पर्नुलाई त राम्रो मान्छु म । त्यसलाई नकारात्मक रूपमा लिन्नँ । कुनै विषयबाट प्रभावित भए पनि त्यो आफ्नोपनका साथ आउनुपर्छ । कसैको कपी गर्नु हुन्न । कपी गर्नु गलत हुन्छ । तर, प्रभावित भएको विषयलाई अझै राम्रो लेख्न सक्नुपर्छ एउटा लेखकले । त्यसका लागि लेखक इमानदार हुनुपर्छ । आफ्नो हैसियतले जस्तो सकिन्छ, त्यस्तै लेख्ने हो । नक्कल गर्ने होइन । नक्कल गरेको कुरा त अचेल तत्काल थाहा हुन्छ । कसैबाट लुक्दैन ।

उपन्यास लेख्दा कत्तिको गाह्रो भयो ?  
उपन्यास लेख्न पक्कै गाह्रो छ । जोखिम पनि छ । तर, एउटा उपन्यासकारले समस्यासँग जुझ्दै उपन्यासलाई आकार दिनुपर्छ । मैले सुरुमै भनेँ– यसको प्लट बनाउनै मात्र दुई वर्ष लाग्यो । आख्यानको स्वरूप कसरी दिने भनेर सोच्नै समय लियो । हेर्नुस्, आख्यानमा उड्नुपर्छ । तर, त्यसको उड्ने र ओर्लने यथार्थको धरातल जरुरी हुन्छ । त्यही धरातलले आख्यानलाई समाएर राख्ने हो । मेरो उपन्यासले कथाका तीन विषयलाई यी तीनवटै तत्त्वमा उनेको छ ।

तपाईं धेरैजसो अमेरिकामा बस्नुभयो । उताको भोक र यताको भोकमा केही तात्त्विक भिन्नता भेट्नुभयो ?
संसारमा आधारभूत भोकहरू एउटै हुन्छन् । त्यसमा तात्त्विक भिन्नता मैले पाएको छैन । एउटा मानिस अमेरिका जान्छ वा अस्ट्रेलिया जान्छ वा युरोप वा खाडी मुलुक नै जान्छ । त्यो मानिस भोक पूरा गर्नका लागि नै त्यहाँ जान्छ । तर, जब ऊ त्यहाँ पुग्छ, उसले अनेक भोकहरूको सामना गर्नुपर्छ ।

जहाँसम्म अमेरिकाको कुरो छ, त्यो खुला समाज अँगालेको मुलुक हो । त्यहाँको भन्दा हामीमा भोकमा केही कुरा अलिकति फरक छ । तर, आधारभूत भोक सबैको एउटै हो । हामी तेस्रो मुलुकका मानिसले अमेरिका पुगेर भोग्ने भोक सबको एउटै छ । चाहे त्यो नेपाली होस् वा अफ्रिकन मुलुकबाट आएको होस् । बंगलादेशबाट आएको होस् वा मेक्सिकोबाट । हामीले भोग्ने भोक एउटै छ । उपन्यासको कथा त्यसैमाथि उठान भएको छ ।

वास्तवमा मेरो अलिकति फरक लेख्ने चाहना हो । फरक लेख्छु भनेरै मैले यो विषयवस्तु समाएको हुँ । म जे लेख्छु आफूले देखेको, अनुभूत गरेको, मेरा अगाडि भएका मेरा आँखाले प्रमाणित गर्न सक्ने कुरा नै लेख्छु भनेर यो उपन्यास लेखेको हुँ । यी तीनै विषयलाई समग्रमा आख्यानीकरण गर्ने प्रयास गरेको छु । यी तीनवटा विषय समग्रमा नेपाली आख्यानमा आएको सायद यही मात्रै होला ।

आख्यान भनेको मानिसले खुसी हुनलाई पढ्छ । त्यसैले आख्यानले तान्नुपर्छ भन्ने मेरो भनाइ हो । आख्यानबाट केही कुरा पाठकले पाऊन् भन्ने मेरो दृष्टिकोण हो । पाठकले केही पाउँछन् पनि ।

उपन्यासका पात्रहरू नेपाली भए पनि, भूमि अमेरिका भए पनि यो अमेरिकामा बस्ने नेपालीहरूको मात्रै कथा होइन । यो संसारभरिका हामीजस्ता गरिब मुलुकबाट विदेश गएका मानिसहरूको कथा हो । यो आप्रवासीको कथा हो । आप्रवासी जीवनको सबैभन्दा दुःखको पाटो अहिलेसम्म नेपाली आख्यानमा आएको मैले भेटिनँ । त्यसैले पनि यो आख्यान लेखेको हुँ ।

प्रस्तुति : राजेश खनाल

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  ०६:५८
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय