site stats
साहित्य
कुलुङका आलोक

छैन, थाहा नभएको कसैलाई । छैन पटक्कै दुःख, खोज्नलाई मान्छे । छ दुःख, चिन्नलाई मात्र मान्छे । नाघिसकेका छन् सात अर्ब विश्व गणनामा । भेटिन्छन् सजिलै, जहाँ गए पनि मान्छे नै । पूर्ण पनि, आफैमा मान्छे । अपूर्ण पनि, आफैमा मान्छे । सुखको भण्डार बोक्ने पनि मान्छे । दुःखको जञ्जाल बोक्ने पनि मान्छे । भएजस्तै विविधता सबैमा । छन् भिन्नभिन्न स्वभावमा पनि । लाभ गर्ने पनि आफै । हानि गर्ने पनि आफै । हुँदैनन् कारक कहिले कोही ।

छन् खुला सबैभन्दा बढी मान्छे नै । छैनन् केही पनि मान्छेजस्ता खुला । छन्, बन्द र रहस्यमयी पनि मान्छे नै । हुन्छन् धेरै थोरै मात्र, देखिएजस्तै हुने । हुन्छन् धेरै, देखिएभन्दा फरक हुने । बनेका हुन् त्यसैले भगवान् पनि मान्छे । मान्छे नै राक्षस पनि । गीत छ एउटा शिशिर योगीको–

छाडेर काम सारा, एक काम रोजिरहेछु 
यो देशमा म यौटा, मानिस खोजिरहेछु

S.A.U
Agani Group

तीन करोडमा खोजी एउटा मान्छेको । भनिएको छैन राम्रो मान्छे । खोज्नुपर्छ एउटै पनि भनिएको हो । हो सत्य नै यही । भइरहन्छ प्रमाणित जहाँ गए पनि जहिले पनि । बनेको छ यो मान्छेको गीत । महागीत नै आजको ।

फुरायो होला कसरी विश्वनाथ बराललाई ? थियो होला समय कस्तो र सन्दर्भ ? सम्झिरहेछु यस्तै सन्दर्भले सिर्जनाका आलोक पवन आलोकलाई । साहित्यले बिर्साएको पुर्ख्यौली थर कँडेललाई । भोजपुरे सानो गाउँ कुलुङलाई । आउनुभएको थियो त्यही धर्तीमा । पारेर साइत एघार सालको ।

Global bank

सकारात्मक हुनुहुन्छ सदाबहार पवन । हुँदै नभएजस्तो नकारात्मक शब्दकोशजस्तै । सजिलो त्यस्तै सबैका लागि । होइन हुर्किनुपरेको त दुःखैले नै धेरै । बुझ्नुहुन्छ तर दुःख अरूको । भएजस्तै भण्डार भावनाको । बढाउनुहुन्छ हात सद्भावको । बन्नुहुन्छ सहयोगी सकेसम्म । होइन कुरा भावनाको मात्र । छन् अभिलेख नै व्यावहारिकका ।

साहित्य नै हो परिचय विशेष उहाँको । लाग्नुभाथ्यो समर्पित भएर साहित्यमा बीसको दशकदेखि नै । नाघिसकेको छ अहिले त साधनाको साढे छ दशक । बनिसकेको छ इतिहास नै निरन्तरताको । हो यो उदाहरण पनि नेपाली साहित्यको । भएर पनि गर्नु भएन प्रकाशनमा हतार कहिले । छन् आधा दर्जन जति मात्र । हो यो सन्देश पनि नयाँहरूका लागि । हुन्न गर्न हतार प्रकाशनमा भन्ने । हो यो पनि उदाहरण । हो पनि, खोजिँदैन परिणाम समर्पणमा । नापिँदैन समय साधनामा ।

छ समय अहिले ठिकविपरीत । आएको केही वर्षमा नै साहित्यमा । देखाउँछन् प्रकाशन संख्या । नपुग्ने गरी गन्नलाई हातका औँला । संख्या साहित्य होइन भन्ने बुझ्छन् धेरैपछि मात्र ।

प्रकाशन भएको रचना पनि धेरै अघि हो प्रारम्भमा पवनको । कविता थियो पहिलो ‘प्रेम एक अभिव्यक्ति’ । पत्रिका थियो ‘बेलपत्र’ । वर्ष थियो सत्ताइस । भएका थिए प्रसारण पनि रचनाको । रेडियोबाट तीसको दशकमा नै । हुनुहुन्थ्यो त्यही बेला सम्पादक रेडियो नेपालमा ।

Pawan Alok11673059859.jpg

लेख्नुभएको छ कविता । छ संग्रह साठी सालको । नियात्रा बनेको छ झन् विशेष । छन् तर दुईवटा मात्र संग्रह । गर्नुभएको छ प्रयोग यात्राउपन्यासमा । छ निबन्धको पनि संग्रह । अनुवाद भएका छन् कविताकृति विदेशबाट नै । नभएका होइनन् सिर्जना प्रकाशनार्थ जति पनि । होइनन् नभएका सम्पर्क प्रकाशकहरूसँग पनि । मात्र हतारो गर्नु हुन्न कहिल्यै ।

होइन लाग्नुभएको साहित्यमा रहरले मात्र उहाँ । होइन देखेर पनि अरूको । समय बिताउनलाई पनि होइन सेवा निवृत्त भएपछि । भएर होइन शक्ति पद र पैसाको पनि । नभए पनि जन्मजातको नै गुण । उम्रेको थियो बीज बाल्यकालमा नै । हुँदै सानो र कलिलो दिमाग । पाउनुभयो परशु प्रधान बिउ लगाइदिने । नामै छ काफी नेपाली साहित्यमा उहाँको ।

हुनुभयो हेडसर तेइस सालमा परशु प्रधान । आउनुभयो कुलुङको वीरेन्द्र हाइस्कुलमा । पढ्दै हुनुहुन्थ्यो पवन सात कक्षामा । हुनुहुन्थ्यो विद्यार्थी तेजिलो । चिनिनुहुन्थ्यो छुट्टिने गरी समूहमा । थाल्नुभो परशु प्रधानले साहित्यिक कार्यक्रम गर्न स्कुलमा । हुन्थ्यो सधैँ शुक्रवार प्रत्येक हप्ताको । कार्यक्रममा हुन्थ्यो सुन्ने सुनाउने कथा कविताहरू । पसिसकेको रहेछ बिउ साहित्यको पवनमा त्यति बेला नै । होइन यो थाहा पाउने कुरा । नदेख्नेहरू बिउलाई देख्छन् बिउ मात्रै । देख्नेहरू देख्छन् बिउमा नै वृक्ष र फल । देखेजस्तै वर्तमानमा नै भविष्य । देखेजस्तै दृश्यमा अदृश्य ।

हिँड्नुपर्थ्यो डेढ घण्टा उकालो हरेक दिन । स्कुल पुग्नलाई पवनलाई । थियो खेत उहाँहरूकै अरुण नदीभन्दा माथितिर । राख्ने गरिन्थ्यो गोठ हिउँद लागेपछि सधैँ । हुन्थ्यो आधा बाटो पुग्नलाई त्यहाँबाट । व्यवस्था भयो बस्नलाई गोठमै । भयो सजिलो हुनसम्म स्कुल जानलाई ।

बस्न थालेपछि गोठमा । देख्नुभो एक रात बगिरहेको अरुण नदीलाई । परेको रहेछ त्यो रात पूर्णिमाको । थियो छाया जूनको नदीमा परेको । देखेपछि त्यो दृश्य सक्नु भएन बस्न त्यत्तिकै । हुन थाल्यो उकुसमुकुस । थियो नजिकै झोलामा कापी स्कुलको । थाल्नुभो लेख्न त्यसैमा भावनाका कुरा । बन्यो पहिलो कविता त्यही नै । त्यो पनि अंग्रेजीमा ‘द मुन’ । बन्नुभएको कवि पूर्णेको जूनले । हुनुभएको त्यसैले उज्यालो मनमा पनि मुहारमा पनि ।

देख्नुभो एक दिन परशु सरले कविता पवनको । जाँच्दै गर्दा गृहकार्य कापीको । पर्नुभो छक्क पहिले । हुनुभो त्यसपछि हुनसम्मको खुसी । थाल्नुभो थपथपाउन लेखिरहन कविता ।

होइन भनिएको त्यत्तिकै । चिल्लो पात हुने बिरुवाको भनेर सबैले । देखिएको थियो क्षमता बालखमै । हुनुभएको थियो प्रथम तीन कक्षामा उहाँ । नपढाएर कक्षा चार, राखिएको थियो पाँच कक्षामा । गर्नुभाथ्यो एसएलसी पनि चौधकै उमेरमा । पढ्नुभएको थियो जुन स्कुलमा प्राथमिक शिक्षा । हुनुभयो हेडसर त्यही स्कुलमा । पाउनुभयो तलब नब्बे रुपियाँ डेढ वर्षसम्म । हुनुहुन्थ्यो बुबा सञ्चालक समितिको सचिव त्यही स्कुलमा ।

हुन्थ्यो ठूलो कुरा गाउँमा एसएलसी पास गर्नेको । गाउँ थियो चालिस पचास घरको । हुन्थ्यो स्कुलको लागि पनि ठूलै । उपलब्धि मानिन्थ्यो ठूलै, पास गर्नेका लागि पनि । थिए अर्का एकजना सहायक शिक्षक । पर्थ्यो पढाउन सबै दुईजनाले । अवस्था थियो बस्नलाई पिर्का लिएर जानुपर्ने घरबाट । थिएन कापी किताब । सिलोटमा नै हुन्थ्यो सबै काम । हुने गर्थ्यो बिदा पानी पर्दा । हुरी चल्दा र घाम चर्को लाग्दा पनि ।

अनौठो नै छ संयोग पनि पवनको । सम्पादक र सम्पादनको सम्बन्धमा । हुनुहुन्छ प्रधानसम्पादक ‘अभिव्यक्ति’ द्वैमासिकको । निस्किरहेको साहित्यिक पत्रिका हो अन्ठाउन्न वर्षदेखिको । लगाउनुभएको थियो जिम्मा नगेन्द्रराज शर्माले । रहेछ लेखिएको त्यति बेला नै पवनको । हुँदा नै प्रधानसम्पादक ‘गुराँस’ भित्तेपत्रिकाको । तेइस सालमा पढिरहँदा आठ कक्षामा । टाँसिन्थ्यो भित्तामा पत्रिका ‘गुराँस’ । गाउँको एउटा स्कुलमा । पुग्छ ‘अभिव्यक्ति’ देशैभरि । प्रविधिले पुर्याएको छ संसारभरि नै ।

होइन त्यत्तिकै गरेको विश्वास नगेन्द्र दाइले । छाड्नुहुन्छ फत्ते गरेर लिएपछि जिम्मा कामको । लागिरहनुहुन्छ नसकुन्जेसम्म एकनासले । गर्नुभएको छ साहित्यमा काम कतिकति । हुनुहुन्छ सफल संयोजन गर्नमा । सफल संयोजक बनेर पनि । कला नै छ विशेष यस मामलामा उहाँको ।

गर्नुभएको छ काम इतिहास नै सुरु हुने गरी । थिएन भएको अहिलेसम्म कहिले कसैको पनि । गर्नुभएर सार्वजनिक अभिनन्दन साहित्यिक पत्रकारको । भए पनि नगेन्द्रराज शर्मा । पात्र मात्र हो उहाँ प्रतिनिधि त्यस क्षेत्रको ।

सम्मान थियो उचाइबराबरको प्रशस्ती पत्रको । संस्थाहरू थिए चार दर्जनभन्दा बढी साहित्यिक । बजाउँदै पञ्चैबाजा । बनाएर वृत्तचित्र पनि । प्रकाशन गरेर अभिनन्दन ग्रन्थ पाँच सयभन्दा बढी पृष्ठको ।

बनेको छ उदाहरण नेपाली साहित्यमा । सम्झिनै पर्नेले पनि नसम्झिने क्षेत्र हो साहित्यिक पत्रकारिता । भए पनि शताब्दी बढीको अभिलेख । बन्नसकेको छैन पटक्कै व्यावसायिक अझै । निस्किन्छन् मात्र रहरले । रचना छापेर अरूको । चिनाएर बनाइदिने स्थापित । बनिरहेको छ माझीजस्तै । तारिरहने नदी, राखेर डुंगामा अरूलाई ।

गर्नुभएको छ धेरै काम अरू पनि । होइन मात्र गोष्ठी र कार्यक्रम । गराउनुहुन्छ देशदर्शन स्रष्टाहरूलाई । समेटेर बेलाबेलामा अग्रज स्रष्टाहरूलाई । बनेका छन् यात्रा पनि परिणाममुखी । लेखिएका छन् सिर्जनाहरू । छन् त्यत्तिकै नियात्राहरू पनि । नगरेको काम हो यो पनि कसैले । भए पनि होलान् एकदुईपटक कतै कसैले गरेका । नाघिसक्यो दशक स्रष्टा यात्रा अभियानको पनि ।

चलेको छ फेसनजस्तै नियात्रा लेख्ने । छ लोकप्रिय पनि त्यत्तिकै । भन्ने गरिन्छ नियात्रा, नभए पनि छाँटछन्द केही । थिएन यसमा पनि प्रोत्साहनका कुनै पुरस्कार । गरिदिनुभएको छ स्थापना पत्नी रेखा कँडेलले ‘पवन आलोक नियात्रा पुरस्कार’ गत वर्षदेखि ।

हुनुहुन्थ्यो विद्रोही चेतकी नारी योगमाया । चिनेका छन्, बुझेका छन् अहिले धेरैले । अग्रणी हुन् प्रथम सामाजिक आन्दोलनकी । कुरीति र समानताका लागि । गरेर विद्रोह गरेकी थिइन् जलसमाधि अरुण नदीमा । हामफालेर आफूसहित ६८ जना । कुरा हो अन्ठानब्बे सालको असार बाइस गतेको ।

लेखिएका छन् किताबहरू कतिकति । पाएका छन् पुरस्कार मदनै पनि पुस्तकले । थिएन पुरस्कार सम्मान भने योगमायाको नाममा । हुनुभयो स्थापना गर्ने पवन नै पहिलो । पन्ध्र वर्षदेखिको पुरस्कारले गरेको थियो प्रचार र चर्चा पनि राम्रैसँग । पूजा नै हो यो आफू जन्मेको माटोको । सम्मान हो यो त्यहीँ जन्मने योगमायाको । बनिसकेको छ हुलाक टिकट अहिले । आयुर्वेद विश्वविद्यालय स्थापना भएको छ उनकै नाममा । माग चलिरहेको छ राष्ट्रिय विभूतिको पनि ।

भएर होइन धन धेरै पवनको । भएर हो मन ठूलो पवनको । कति छन् कति धन हुनेहरू धर्तीमा । गाह्रो छ खोजेर पनि पाउन मन हुनेहरू । होइन साहित्यमा मात्र सद्भाव उहाँको । छ गर्नुभएको अनेक क्षेत्रमा पनि । दिइरहनुभएको छ छात्रवृत्ति विद्यालय र क्याम्पसहरूमा । गरिदिनुभएको छ पुनर्निर्माण कुलुङकै शिवशक्ति आश्रमको । बनाउनुभएको छ प्रतीक्षालय आश्रमा नै । होलान् अरू पनि कता कता ।

हिँडेका छौँ कैयौँपटक अप्ठेरा बाटोहरूमा । गरेका छौँ यात्रा जोखिममा पनि । उडेका छौँ विदेश साहित्यकै नाममा । नहुने होइन समस्या यात्रामा केही न केही । गर्नुहुन्छ नेतृत्व उहाँ नै जे परे पनि । जित्नुहुन्छ सधैँ भद्रताले नै । न आत्तिनुहुन्छ कहिल्यै अप्ठेराहरूमा । न मात्तिनुभएको छ कहिल्यै सुखमा पनि । हुनुहुन्छ समुद्रजस्तै सधैँ । सामर्थ्य छ सधैँ एकनासको । आखिर जन्माएको कवि न हो पूर्णेको जूनले ।

भएको यही कारणले हो सफल नेपाल स्रष्टा समाज पनि । बन्नुभएर महासचिव संस्थापक । भएको हो सम्पर्क, सम्बन्ध र समन्वयले सफल । हुनुभएको छ सफल नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोशको पनि ।

गर्नुभयो पक्कै घाँसदाउरा बाल्यकालमा । जानुभो होला गोठाला पनि । हामफाल्नुभो होला नदीमा कतिकति । टिप्नुभो होला अरूका बारीका काँक्रा पनि । जीवन हो यो गाउँघरको । हो संघर्ष पनि एक प्रकारले आफ्नो समयको ।

पास भएपछि पनि एसएसलसी । बन्नुभएपछि पनि हेडमास्टर । पढ्नुपर्छ फेरि भन्ने थाहा नपाउने उहाँ । सोझो हो कि अबोध बढी । बुझेपछि खोज्नुभो पढ्नलाई काठमाडौंमा । थियो कल्पनाबाहिरको सहर काठमाडौँ । कहाँ हो कहाँ ? राख्नुभो सर्त त्यही बेला बुबाले । पठाउने काठमाडौँ तर बिहे गर्नुपर्ने त्योभन्दा पहिले । भयो भिसाजस्तो बिहे काठमाडौँ जानलाई । होला डर बुबालाई पनि गरिदेला बिहे बिजातिसँग भन्ने ।

भयो बिहे र बस्नुभो कुलुङमा नै एक वर्ष । पाउनुभो जान पढ्नलाई काठमाडौँ त्यसपछि । थिएन सजिलो पुग्नलाई काठमाडौँ । हिँड्दै झर्नुपर्थ्यो धनकुटा, धरान, विराटनगरसम्म । पुगेपछि जोगबनी पाइन्थ्यो चढ्नलाई रेल । आइपुगेपछि रक्सौल जानुुपर्थ्यो काठामाडौँ ।

चिनेका हुनुहुन्थ्यो काठमाडौँमा परशु सर । भेट्नुभो पहिले उहाँलाई नै । सुरु गर्नुभो पढ्न नेसनल कलेजमा । बस्नुहुन्थ्यो डेरा दुईजना साथीसहित । काष्ठमण्डपछेउ मरुदक्षसालमा । आउँथ्यो घरबाट पैैसा एक सय पचास । नसकुन्जेल पैसा पवनको । पाकिरहन्थ्यो भात डेरामा । सक्दै गएपछि पैसा । खानुपर्थ्यो सागमा हालेर पकाएको एकमुठी चामल । नगरेपछि खर्च साथीहरूले । पर्नुपरेको थियो भोकै दुईछाकदेखि । लैजानुभयो परशु सरले कार्यक्रममा साझा प्रकाशनको । भर्नुभो पेट त्यहीँको खाजा खाएर ।

खोजिरहँदा जागिर । निकाल्नुभो नाम नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा । भएथ्यो सम्पर्क त्यति बेलै अग्रज स्रष्टाहरूसँग । हुनुहुन्थ्यो लैनसिँह बाङ्देल, केदारमान व्यथित, हरिभक्त कटुवाल, चूडानाथ भट्टराई, माधव घिमिरे, विजय मल्लहरू । हुनुभएको थियो प्रवेश खरदारमा । हुनुभो त्यहीँ अधिकृतसम्म ।

हुनुहुन्थ्यो पढन्ते पहिलेदेखि नै । कम हुनु भएन कहिल्यै पहिलो र दोस्रोभन्दा । पाउनुभो छात्रवृत्ति पनि बिट्रिस काउन्सिलबाट । पढ्नलाई बेलायतमा स्नातकोत्तर । पढ्नुभो मजाले र घुम्नुभो युरोपका धेरै देश पनि । फर्किनुभएपछि देश, भएन गाह्रो पाउनलाई जागिर पटक्कै । हुनुभो सूचना अधिकृत पाख्रिबास कृषि केन्द्र धनकुटामा । चलाएको संस्था थियो बेलायती सरकारले नै । जितेर कामैले गोराहरूको मन । हुनुभो त्यहीँ प्रमुख सूचना अधिकृत ।

इमानदारी थियो पवनमा काम गर्ने जे गरे पनि । बन्नुहुन्थ्यो जिम्मेवार जुन काममा पनि । गर्नु हुन्थेन बेइमानी । जान्दथे गोराहरू मूल्यांकन गर्न कामको । जान्दथे अभिप्रेरित गर्न पनि क्षमताको । पछ्याइरह्यो त्यसैले अवसर ठूलो बनेर पवनलाई । जानुभो नयाँ काम गर्न विराटनगर । थियो त्यहाँ बिट्रेन नेपाल मेडिकल ट्रष्ट । दक्षताले कामको पवनको । पाउनुभो त्यसपछि झन् ठूलो अवसर । सिनियर मेनेजर भएर प्लान इन्टरनेसनलमा । बन्नुभो त्यहाँ पनि टिम मेम्बर नेपाल मेनेजमेन्टको । हुनुभो रिजनल हेड अफ अपरेसन पनि । हुन्थ्यो तलब राशि पनि धेरै नै । देशको प्रधानमन्त्रीले पाउनेभन्दा बढी तलब, काटिन्थ्यो करमा नै पवनको ।

भोजुपुरे गाउँको एउटा केटो । पाउनुभो पढेरै घुम्न देश–विदेश । पाउनुभो जागिर पनि अन्तर्राष्ट्रिय संस्थाहरूमा नै । जिम्मेवारीले पनि विशेष पदमै । हुनुभो सम्पन्न आर्थिक रूपले पनि । जान्नुभो गर्न पूरै सदुपयोग पैसाको । भए पनि कमाइ त्यति बेलाकै । बढिरहेछ अहिलेसम्म झन्झन् । जान्नेले नै गर्ने हो सुधार्नलाई भविष्य । होइन यो संयोग मात्र । हो परिश्रम नै पवन आलोकको । समर्पण हो जिम्मेवारीको । इमानदारी हो कामप्रतिको ।

हुनुभए पनि पदले उच्च, भए पनि सम्पत्तिले सम्पन्न, देखिँदैन दम्भ कहिल्यै । लाग्दैन गरेको जस्तो पनि घमण्ड । झुकेझैँ लटरम्म फलेको वृक्ष । सधैँको सामान्य पवन । हो यही नै आफ्नोपन उहाँको । कुलुङदेखि कालिकास्थानसम्म नै । पवन कँडेलदेखि पवन आलोकसम्म नै ।

हुनसकेको त्यसैले नै हो प्रिय सबैको । बनेको परिचय भद्र भनेर साहित्यमा । गर्छन् चाहना होस् सबैले नै यस्तै । पुकारिदेओस् सबैले यसरी नै । होइन हुने गरेर रहर मात्र । हुनुपर्छ बिउ नै असल । सक्नुपर्छ समयमा नै पाउन रेखदेख । भएको त्यही नै हो पवनको । भएको भाग्यले होला अलिकति । होला परशु सरको काम अलिकति । मिहिनेत हो आफ्नै सबैभन्दा धेरै ।

गर्नु हुन्न त्यसैले गुनासो कसैसँग । छैन गुनासो आफैसँग पनि । कुलुङको गाउँले घरबाट अहिले बस्नुहुन्छ कालिकास्थानको घरमा । जोडिएको छ घर सडकसँगै साढे पाँच तलाको । देखिने उचाइ हो यो घरको । बनेको छ उचाइ पनि नदेखिने साहित्यमा त्यत्तिकै ।

बन्नुभएजस्तै कवि पूर्णेको जूूनले । बन्नुभएको हो त्यसैले सधैँ उज्यालो ।

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  ०६:१७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय