site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
साउथका सिनेमाको नेपालमा प्रभाव र असर
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय भारतीय सिनेमा उद्योगमा बलिउड चलचित्रले उल्लेख्य सफलता हासिल गर्न सकेको छैनन । ठूलो ब्यानरमा बनेका ठूला स्टारका स्टारडमले पनि काम गर्न सकेको छैन । तर, त्यही बजारमा साउथबाट आएका सिनेमाले उल्लेख्य व्यापार गरिरहेका छन् । हिन्दीमा डब गरेर चलाइएका क्षेत्रीय उद्योगका चलचित्रको बोलवाला बढ्दो छ । 

भारतमा मात्र होइन, हिन्दी सिनेमा रिलिज हुने सबै क्षेत्रमा बलिउडभन्दा त्यहाँका क्षेत्रीय चलचित्रको क्रेज उच्च देखिएको छ । नेपाल पनि यसबाट अछुतो छैन । नेपालमा पनि साउथका चलचित्रमा दर्शकको भीड लाग्ने गरेको छ । त्यसो भए यसको असर नेपाली सिनेमा उद्योगमा कस्तो पर्छ ? नेपाली सिनेमाको इतिहास नै भारतसँग जोडिएर सुरु हुन्छ । नेपाली भाषाको पहिलो चलचित्र नै भारतीय भूमिमा भारतीय कलाकार लिएर भारतीय प्राविधिकले बनाए । यसको प्रभाव आजपर्यन्त परिरहेको छ । बलिउड सूत्रमा सिनेमा बने । उतैको नक्कल गरेर सिनेमा बनाइए । नक्कल मात्र होइन, लामो समय उतैका सिनेमाको कपी नै गर्ने काम भयो । भलै, यसलाई कतिपयले स्वीकार गर्छन्, कतिपयले स्वीकार्दैनन् ।

बलिउड र साउथका केही चलचित्रमा काम गरेर फर्किएर नेपाली सिनेमा इन्डस्ट्रीमा लामो समय एक्सन हिरोको छवि बनाइएका निखिल उप्रेती यहाँ हाकाहाकी भारतीय फिल्म चोरी गर्ने गरिएको बताउँछन् । आफैँले बलिउड र हलिउडका सिनेमामा कम्पोज गरेका दृश्य यहाँ आफैँलाई निर्देशकले गर्न लगाएको उनको अनुभव छ । थाहा पाएर ‘कपी नगरौँ, म नयाँ गर्छु’ भन्दा पनि निर्देशकहरूले नमान्ने गरेको उनी स्मरण गर्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“साउथमा म आफैँले कम्पोज गरेको फाइटको सिक्वेन्स यहाँ मलाई गर्न लगाएपछि मैले भनेँ– यसो नगरौँ । साउथको फिल्ममा म आफैँले कम्पोज गरेको हो, अरूको सिनेमाको सिक्वेन्स नचोरौँ भन्दा यहाँ मानिएन,” निखिल भन्छन्, “यहाँ के चल्छ र कसरी चलाउने हामीलाई थाहा छ भनेर हाकाहाकी सिनेमा चोरी गरिन्थ्यो ।”

डाइलग समेत हुबहु चोरी हुने गरेको उनी बताउँछन् । अहिले पनि यो क्रम नरोकिएको उनको जिकिर छ । पहिले बलिउड र साउथका, अहिले कोरियन, इरानी र हलिउडका सिनेमा चोरी हुने गरेको निखिल सुनाउँछन् । 

Global Ime bank

“अहिले आर्ट मुभी बनाएँ भनेर आफूलाई विद्वान् सम्झिनेहरू कोरियन, इरानी र हलिउडका सिनेमा चोरिरहेका छन् । पहिला नजिकैका सिनेमा चोरी भयो । अहिले अलि परका सिनेमा चोरी गरेर नेपाली सिनेमा बनिरहेका छन्,” नायक निखिल भन्छन्, “यस्तै अवस्थाले हो, हाम्रो सिनेमा उद्योग थिचिँदै थिचिँदै गएर पिँधमै पुगेको हो । यहाँ कोही यो सिनेमा इन्डस्ट्रीलाई परिवर्तन गर्छु भनेर आयो भने ऊ आफैँ परिवर्तन हुन्छ । राम्रो टिम फर्म गर्न खोज्यो भने सक्तैन । र, लत्रिएर जे चलिरहेको छ, त्यसमै मिसिनुपर्ने अवस्था छ ।”

निखिलको भनाइमा निर्माता राजकुमार राई सहमत छन् । कुनै पनि कुराबाट प्रभावित हुन सकिने तर अनुशरण गर्न नहुने उनी बताउँछन् । नेपाली सिनेमा उद्योगमा सुरुमा मात्र होइन, अहिले पनि धेरैले त्यही गरिरहेको उनको भनाइ छ । विदेशी सिनेमा नै नेपाली मेकरका लागि विश्वविद्यालयल भएकाले त्यसलाई अध्ययन गर्न सकिने तर नक्कल गर्न नहुनेमा उनको जोड छ ।

“हामीसँग धेरै सिनेमा कलेज छैनन् । त्यसैले हामीले विश्वका सिनेमा हेरेर नै सिक्ने हो । सिनेमा हेरेर सिक्नु राम्रो हो । तर, त्यसकै कपी भने गर्नु हुँदैन,” निर्माता राई भन्छन्, “हाम्रोमा सिनेमा हेर्ने मात्रै होइन, हुबहु चोर्ने काम भयो । बिग्रिएको यो कारणले हो ।”

विश्वले भित्र्याएको प्रविधि र उनीहरूले गरिरहेको प्रयोग वर्ल्ड सिनेमा हेरेर सिक्न सकिने तर त्यसैलाई हुबहु कपी गर्ने चलन गलत भएको उनी बताउँछन् । “बजारमा पहेँलो रङको टिसर्ट धेरै हुन्छन् । तर, सबै एकै खालको हुँदैन । हरेक टिसर्टको डिजाइन आ–आफ्नै बेग्लाबेग्लै हुने भएकाले त्यसको आफ्नै अस्तित्व हुन्छ,” उनी अगाडि थप्छन्, “तर, हाम्रोमा कलर मात्रै होइन, डिजाइन नै कपी गरिदिने चलन हाबी हुँदा समस्या देखिएको हो ।”

यस्तै अवस्था रहे नेपाली चलचित्रको अस्तित्व नरहने उनको धारणा छ । अरूको राम्रो पक्ष हेरेर त्यसबाट सिक्दै आफ्नै माटोको कथा भन्नुपर्नेमा उनको जोड छ । “अरूको कुरा हेर्ने हो, सिक्ने हो । नयाँ र राम्रो कुरा सिक्ने नै हो । तर, आफूले सिनेमा बनाउँदा आफ्नो माटो, परम्परा र नेपाली पन भुल्न हुँदैन,” उनी सचेत गराउँछन् ।

अरूको कला, संस्कृति, परम्परा र साहित्य अंगाले नेपालको कला, संस्कृति नै लोप हुने खतरा उनी औँल्याउँछन् । यसतर्फ सिनेकर्मी र राज्य दुवै सचेत हुनुपर्नेमा राईको सुझाव छ ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष समेत रहेका राई सरकारले पनि यो विषयलाई नजरअन्दाज गरेर अगाडि बढ्न नहुने बताउँछन् । अरूको भाषा, साहित्यको प्रभाव नपरोस् भनेर विश्वका थुप्रै देशले विदेशी सिनेमा प्रदर्शनमा कोटा सिस्टम लागु गर्ने गरेको उनी स्मरण गर्छन् । कोटा प्रणाली लागु गरेका कतिपय देशले पनि आफ्नै देशका भाषामा डब गरेर मात्र प्रदर्शन गर्ने गरेको भन्दै उनी राज्य समयमै सचेत हुनुपर्ने बताउँछन् । अन्यथा, नेपाली सिनेमा उद्योगमा आफ्नो भन्ने केही नरहने उनको विश्लेषण छ ।

विदेशी मात्र होइन, नेपालभित्रै समेत हुबहु नक्कल गर्ने प्रवृत्ति रहेको राजकुमार सुनाउँछन् । कुनै एउटा चलचित्र चले त्यस्तै चलचित्र लगातार बन्ने उनी बताउँछन् । “नेपाली चलचित्र छक्का पञ्जा चल्यो । त्यसपछि यहाँ आधा दर्जन चलचित्र त्यस्तै बनाउने भनेर बनाउने प्रयास भयो,” राई अगाडि थप्छन्, “त्यस्तै चलचित्र त त्यही छँदै छ नि, फरक टेस्टको सिनेमा बनाउन सक्यो भने पो चल्छ र सिनेमा उद्योगमा नयाँ–नयाँ चलचित्र आउँछन् ।”

निर्माणमा मात्र होइन, साउथका सिनेमाको प्रभाव नेपाली चलचित्रको प्रदर्शनमा समेत पार्न थालेको छ । साउथका सिनेमाको डेट हेरेर नेपाली वितरकले आफ्नो सिनेमा रिलिज गर्न थालेका छन् । यसको असर व्यापारमा पनि स्वाभाविक रूपमा पर्ने गरेको छ ।

यही कारण विदेशी भाषाका डब सिनेमा नेपालमा रिलिज गर्न दिन नहुनेमा चलचित्र विकास बोर्डका सदस्य तथा निर्माता अर्जुन कुमारले लामो समयदेखि आवाज उठाउँदै आएका छन् । हिन्दी सिनेमालाई अहिलेको समयमा रोक्न नसकिए पनि भारतका क्षेत्रीय भाषामा निर्माण भएका तर हिन्दीमा डब गरेर आएका चलचित्र रिलिज गर्न दिन नहुने उनी बताउँछन् ।

भारतका सबै क्षेत्रीय भाषाका ‘सेलेक्टेड’ सिनेमा नेपाल आउन थाले त्यसले यहाँको चलचित्र उद्योग नै ध्वस्त पार्ने उनको तर्क छ । नेपाली सिनेमा उद्योगलाई बचाउने भए हिन्दीमा डब भएर आउने चलचित्रको नेपाल प्रदर्शन रोक्नुपर्नेमा अर्जुन कुमारको जोड छ ।

भारतीय सिनेमालाई यहाँ चाहेर पनि रोक्न नसकिने तर डबलाई ल्याउन नदिने बारे चलचित्र विकास बोर्डको अघिल्लो नेतृत्त्वले तयारी समेत गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC