काठमाडौं । भारतका ११ औँ राष्ट्रपति थिए– एपीजे अब्दुल कलाम । उनी वैज्ञानिक थिए । ब्यालेस्टिक क्षेप्यास्त्र र प्रक्षेपण यानको विकासमा गरेको योगदानका लागि उनलाई भारतमा ‘मिसाइल म्यान’ उपनामले चिनिन्थ्यो । उनी जब राष्ट्रपति भए, उपनाम पाए– ‘जनताको राष्ट्रपति’ ।
बाजपेयी प्रधानमन्त्री छँदा सन् २००२ मा राष्ट्रपति चुनिएका थिए उनी । उनी इस्लामिक थिए तर कट्टर हिन्दूवादी भारतीय जनता पार्टीले उनलाई उमेदवार बनाएको थियो । अनि त्यस बेलाको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले पनि उनलाई नै समर्थन ग¥यो । अर्थात्, उनी यस्ता उमेदवार भए, जसलाई सत्तारुढ र मुख्य विपक्षी दुवै दलले भोट दिएर भारतको राष्ट्रपति बनाएका थिए ।
तमिलनाडु राज्यको रामेश्वरममा जन्मिएका थिए कलाम । उनका पिता स्थानीय मस्जिदका ‘इमाम’ थिए तर उनले हिन्दू तीर्थयात्रीलाई डुङ्गाबाट तार्ने काम गर्थे ।
सातवटा ‘डक्टरेट’ उपाधि हासिल गरेका उनले भारतले बनाएको ‘अग्नि’ र ‘पृथ्वी’ मिसाइल बनाउन नेतृत्व गरेका थिए । उनको विश्वास थियो, “देश शक्तिशाली भयो भने मात्र जनताको इज्जत हुन्छ ।”
राष्ट्रपति बन्नुभन्दा पाँच वर्षअघि नै सन् १९९७ मा भारतको सबैभन्दा ठूलो पदक ‘भारत रत्न’बाट सम्मानित भएका थिए । संसारका १३ भाषामा अनुदित उनको बायोग्राफी ‘विङ्ग अफ फायर’का अनुसार कलाम बालबालिकासँग रमाउँथे, उनीहरूसँग अन्तक्रिया गर्थे । उनको इमेल एकाउन्ट देशभरिका बालबालिकाका लागि खुला थियो । त्यसैले उनलाई ‘प्रेसिडेन्ड अफ चिल्ड्रेन’ पनि भन्ने गरिन्थ्यो ।
२५ जुलाई २००७ मा जब उनको राष्ट्रपतिको पाँचवर्षे कार्यकाल पूरा भयो, त्यसपछि उनी नागरिक जीवनमा फर्किए । अध्यापन, लेखन र सार्वजनिक सेवामा क्रियाशील भए ।
कलाम एक कार्यकाल मात्र राष्ट्रपति भए । सोही पदमा दोहोरिन अस्वीकार गरेका थिए । आदर्श जीवनका कारण उनी पदमा जानुअघि र पदासीन छँदा जति लोकप्रिय थिए, पदावधि पूरा गरेपछि झन् लोकप्रिय भए ।
कलामको मूलमन्त्र थियो– जीवनमा जस्तोसुकै परिस्थिति किन नहोस्, तपाईं आफ्नो सपना पूरा गर्न दृढ संकल्पित हुनुहुन्छ भने ती पूरा भइछाड्छन् । २७ जुलाई २०१५ मा ८३ वर्षको उमेरमा भौतिक संसार छाडेका उनले नयाँ पुस्ताका लागि यो सन्देश छाडेर गएका थिए ।
‘संवैधानिक राष्ट्रपति’ र कार्यकारी प्रधानमन्त्री हुने संसदीय व्यवस्था भएको भारतमा अहिले द्रौपदी मुर्मू राष्ट्रपति छिन् । उनी स्वतन्त्र भारतकी १५ औँ राष्ट्रपति हुन् । ओडिसा राज्यकी उनी आदिवासी समुदायकी महिला हुन् । उनीभन्दा अघि अर्की महिला प्रतिभा पाटिल (सन् २००७–२०१२) मा राष्ट्रपति भइसकेकी छन् ।
भारतमा मुर्मूभन्दा अघि १४ जना राष्ट्रपति र तीनजना कार्यबाहक राष्ट्रपति भइसकेका छन् । तीमध्ये सात जना राष्ट्रपति चुनिनुअघि राजनीतिक दलमा आवद्ध थिए । ६ जना भारतीय राष्ट्रिय कांग्रेस र एकजना जनता पार्टीमा ।
भारतका राष्ट्रपतिमध्ये प्रणव मुखर्जी मात्र त्यस्ता राजनीतिज्ञ हुन्, जो भारतको अर्थमन्त्री, विदेशमन्त्री, रक्षामन्त्री भएर काम गरिसकेका थिए । सन् २०१२ देखि पाँच वर्ष राष्ट्रपति भएका उनी कांग्रेसका शीर्षनेता थिए । उनले योजना आयोगको उपाध्यक्ष भएर पनि काम गरेका थिए ।
भारतमा एकजना व्यक्ति मात्र दुई कार्यकालका लागि राष्ट्रपति भएका थिए– प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसाद । उनी भारतका राष्ट्रपतिमध्ये सबैभन्दा उपल्लो दर्जाका राजनीतिज्ञ मानिन्छन् । उनी करिब साढे १२ वर्ष (२६ जनवरी १९५० – १३ मे १९६२) सम्म राष्ट्रपति भए । जतिबेला प्रधानमन्त्री पनि जवहारलाल नेहरू थिए ।
भारतीय स्वतन्त्रता सेनानी उनी राष्ट्रपति हुनुअघि ‘भारतीय राष्ट्रिय कांग्रेस’का अध्यक्ष पनि थिए । उनले भारतीय संविधान निर्माण र राजनीतिक प्रणाली स्थापित गर्न पनि महत्वपूर्ण योगदान दिएका थिए ।
डा. राजेन्द्र प्रसादलाई असाधारण तीक्ष्ण बुद्धिका व्यक्तिका रूपमा पनि लिने गरिन्छ । उनले भारतको पहिलो मन्त्रिमण्डलमा कृषि तथा खाद्यमन्त्रीका रूपमा काम पनि गरेका थिए ।
भारतका छैटौँ राष्ट्रपति निलम सञ्जीव रेड्डी (सन् १९७७–८२) लोकसभाका पूर्वसभामुख हुन् । भारतीय राष्ट्रिय कांग्रेसबाट सभामुख भइसकेका उनी त्यसको आठ वर्षपछि समाजवादी नेता जयप्रकाश नारायणले तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सत्ताविरुद्ध घोषणा गरेको ‘सम्पूर्ण क्रान्ति’ (राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, बौद्धिक, शैक्षिक र आध्यात्मिक क्रान्ति)लाई समर्थन गर्दै समाजवादी राजनीतिमा लागे । अनि जनता पार्टीका तर्फबाट राष्ट्रपति भएका थिए ।
भारतका राष्ट्रपतिहरूलाई हेर्दा बौद्धिक एवं दार्शनिक व्यक्तिलाई चयन गरेको पाइन्छ । ‘कोर’ राजनीतिक व्यक्तिभन्दा अलि शालीन स्वभावका, हिन्दूबाहेक अन्य धर्मावलम्बी समुदायलाई पनि समेटेको देखिन्छ । जस्तो– द्वितीय राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन् आन्ध्र विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालयका कुलपति भइसकेका दर्शनशास्त्री थिए । उनीपछि राष्ट्रपति भएका डा. जाकिर हुसेन अलिगढ मुस्लिम विश्वविद्यालयका कुलपति भइसकेको विद्वान थिए ।
तृतीय डा. जाकिर हुसेन, पाँचौँ राष्ट्रपति फकरुद्धिन अली अहमद र ११ औँ राष्ट्रपति एपीजे अब्दुल कलाम मुस्लिम थिए भने सातौँ राष्ट्रपति ज्ञानी जैल सिंह शिख थिए ।
तृतीय राष्ट्रपति हुसेनको पदमै रहँदा सन् १९६९ मा मृत्यु भयो । त्यसपछि उपराष्ट्रपति बीबी गिरी कार्यवाहक राष्ट्रपति भए । उनले अर्को कार्यकालको राष्ट्रपति निर्वाचन जितेर कार्यभार सम्हाल्नुअघिको अवधिमा ३४ दिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश मोहम्मद हिदायतुल्लाहले कार्यवाहक राष्ट्रपतिको भूमिका निभाएका थिए । त्यसबाहेक कोही पनि प्रधानन्यायाधीश गणतन्त्र भारतमा राष्ट्रपति भएका छैनन् ।
राष्ट्रपतिको बढेको महत्व
नेपालमा गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि राष्ट्रपति पदलाई राजनीतिक दलहरूले बढी नै महत्व दिएको देखिन्छ । कारण– सरकार बनाउन कम्तिमा ६ दल मिल्नुपर्ने गरी त्रिशंकु संघीय संसद् बनेपछि पाँच वर्षका लागि स्थायी हुने सर्वोच्च पदप्रति रुचि बढेको हो ।
एकपटक निर्वाचित भइसकेपछि राष्ट्रपति फेर्न चाहेमा पनि संघीय संसद्को दुईतिहाइ मतले महाभियोग प्रस्ताव पारित गर्नुपर्छ, जो सहजै सम्भव देखिँदैन ।
नेपालका दुईजना राष्ट्रपतिको अभ्यास हेर्दा यो पद आफूअनुकूल हुँदा सत्ता सञ्चालनमा सहज हुने र नहुँदा असहज हुने पनि देखिएको छ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रधान सेनापति रुक्माङ्गद कटवाल हटाउने सरकारको निर्णय उल्टाइदिएका थिए । वर्तमान राष्ट्रपतिले संसद् विघटनदेखि संसद्ले पारित गरेर पठाएको नागरिकता ऐन संशोधन विधेयक र चुनाव घोषणापछि सरकारले सिफारिस गरेका तीनवटा अध्यादेश रोकिदिएपछि यो पदको महत्व अझ बढी महसुस गर्न थालेका छन् ।
संविधानसभाले निर्माण गरेको ‘नेपालको संविधान’को धारा ६१ मा ‘राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने’ उल्लेख छ । संविधानमा लेखिएको छ, “राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछ । संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।”
संवैधानिक राष्ट्रपति भएका देशमा संघीय कार्यपालिकाका सम्पूर्ण अधिकार राष्ट्रपतिमा हुन्छ । तर, त्यसको प्रयोग कार्यकारी प्रधानमन्त्रीको सिफारिसमा मात्र गरिन्छ ।
भारतको संविधानमा लेखिएको छ, “संघीय कार्यपालिकाको शक्ति राष्ट्रपतिमा निहीत हुन्छ तर उनले यसको प्रयोग संविधानबमोजिम स्वयं वा आफू अधिनस्थ अधिकारीहरूद्वारा गर्नेछन् ।” यस्तो लेखिएको भए पनि त्यहाँका राष्ट्रपतिले स्वेच्छाको प्रयोग गरेको पाइँदैन । सरकारले राष्ट्रपतिको नाममा शासन सञ्चालन गर्छ ।
नेपालले अपनाएको राजनीतिक प्रणाली पनि संवैधानिक राष्ट्रपति र संसद्को तल्लो सदनबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हो । यो भारतसँग मिल्दोजुल्दो छ । भारतको संवैधानिक राष्ट्रपतिमा असीमित अधिकार हुन्छ तर ती अधिकार प्रधानमन्त्रीको सिफारिसमा मात्र प्रयोग हुन्छन् । नेपालमा भने बेलाबखत राष्ट्रपतिले सरकारको अधिकार सीमित गरिदिएको पनि उदाहरण छ ।
राष्ट्रपतिको दौडमा पूर्वप्रधानमन्त्रीदेखि चुनाव हारेकासम्म
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन मसान्तमा सकिँदै छ । निर्वाचन आयोगले त्यसको एक महिनाभन्दा अगावै नयाँ राष्ट्रपतिको चुनाव गरिसक्ने तयारी गरेको मुख्य निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बाह्रखरीलाई जानकारी दिए । आयोगले माघ २६ को आसपासमा राष्ट्रपतिको चुनाव गर्ने तयारी अघि बढाएको छ । देशको सर्वोच्च पद हासिल गर्न राजनीतिक दलभित्र पनि दौड चलेको छ ।
वर्तमान राष्ट्रपति भण्डारीको यो दोस्रो कार्यकाल हो । त्यसैले उनी अब तेस्रोपटक उमेदवार हुन पाउने छैनन् । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभा सदस्यहरू मतदाता हुनेछन् राष्ट्रपति चुनावमा । यसअघि, कानुनमा रहेको व्यवस्थाअनुसार प्रदेशसभा सदस्यको ४८ र संघीय संसद्का सदस्यको ७९ मतभार रहेको छ । बढेको जनसंख्याका आधारमा यो मतभार हेरफेर हुने कानुनी व्यवस्था रहेकाले त्यसलाई बदल्न कानुन नै संशोधन गर्नुपर्नेछ ।
यसअघि, चुनावमा जाँदा कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन कायम रहँदा कांग्रेस नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, नेकपा (एकीकृत–समाजवादी) का नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूलाई आकांक्षीका रूपमा प्रस्तुत गरेका थिए । अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि आकांक्षीको रूपमा हेरिएको थियो ।
सातदलीय नयाँ सत्ता गठबन्धनपछि शक्ति सन्तुलन फेरिएको छ । अबको सत्तारुढ सातदलीय गठबन्धनले समर्थन गर्ने उमेदवार विजयी हुने सम्भावना प्रवल रहेको छ । गठबन्धनमा राष्ट्रपति पद एमालेको भागमा परेको छ । त्यसैले अब एमालेभित्र राष्ट्रपतिको दौड बढेको छ ।
मूलतः राष्ट्रपतिका लागि एमालेभित्र सबैभन्दा प्रबल दाबेदार उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ देखिएका छन् । हाल इलामबाट प्रतिनिधिसभा चुनाव जितेका उनी दुवै संविधानसभा अध्यक्ष र पटक–पकट सभामुख भइसकेका व्यक्ति हुन् । एमालेको दशौँ महाधिवेशनकै बेला ‘भावी राष्ट्रपति’ भनी ‘प्रोजेक्सन’ गरिएका उनी कानुनका ज्ञाता हुन् ।
अर्का आकांक्षीका रूपमा देखिएकी छन्, एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । उनले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लड्न अस्वीकार गरेकी थिइन् ।
त्यस्तै, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि राष्ट्रपतिमा आकांक्षा देखाएको एमालेवृत्तमा चर्चा छ । उनी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट प्रतिनिधिसभामा कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका थिए । पोखरेल एमालेका पुराना नेता हुन् । उनी एमालेका पूर्वमहासचिव र उपप्रधानमन्त्री भइसकेका व्यक्ति हुन् ।
राष्ट्रपतिका लागि गोप्य मतदान हुनेछ । एमाले एक्लैको मतले चुनाव जित्ने सम्भावना हुँदैन । त्यसैले अर्को दलले समेत भोट दिने सालिन व्यक्तिले मात्र चुनाव जित्न सक्नेछन् ।
त्यसबाहेक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू पनि राष्ट्रपतिका लागि योग्य रहेको सार्वजनिक अभिव्यक्ति सांसदको शपथलगत्तै दिएका थिए । उनले आकांक्षा सार्वजनिक गरेपछि सत्ता समीकरण हेरफेर भयो । एमालेको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनिसकेका छन् । पार्टी एमालेमा विलय गराएर नेपाललाई राष्ट्रपति बनाउने चर्चा चुलिए पनि यसले राजनीतिक आकार ग्रहण गरिसकेको छैन ।
नेपाल राष्ट्रपति बन्ने विषयले एमालेभित्र प्रवेश पाएको छैन । तर, उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सम्भावना भने बढेको छ ।
चुनाव हुन करिब ४० दिन बाँकी रहँदा दलका नेताहरू देशको सर्वोच्च पदमा पुग्ने दौडमा लागेका छन् । सत्ता समीकरण फेरबदलसँगै कांग्रेस नेता पौडेल र सिटौला चर्चाबाट छाया परेका छन् । एमालेबाट को राष्ट्रपति हुने भन्ने दौड चले पनि अहिलेसम्म अध्यक्ष ओली मौन छन् । त्यसैले ओलीले जसलाई रुचाउने छन्, उनै राष्ट्रपति हुने सम्भावना देखिन्छ ।
गोप्य मतदान भएकाले एमालेबाहेक माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपाले समेत भोट दिने पात्र छान्नु जरुरी छ । प्रतिपक्षी कांग्रेसले समेत समर्थन गर्ने व्यक्ति खोज्नसके एमालेका लागि उत्तम हुनेछ ।
प्रधानमन्त्री भइसकेका वा प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेका व्यक्ति पुनः प्रधानमन्त्री बन्न कोशिश गरेका उदाहरण भने संसदीय व्यवस्थामा प्रशस्तै देखिन्छ । चुनाव हारेका व्यक्ति भने पाँच वर्षका लागि जनताबाट अयोग्य सिद्ध भएकाले नैतिक रूपमा पनि त्योभन्दा माथिल्लो पदका लागि दाबी गर्नु राजनीतिक अनैतिकता हुनेछ ।
राष्ट्रपतिलाई देशको ‘प्रथम नागरिक’ मानिन्छ । ऊ कुनै पनि राजनीतिक दल, वाद वा विचार, जाति, धर्म र संस्कृतिको सीमाभित्र सीमित हुन मिल्दैन । राष्ट्रपति संविधान र कानुन बुझेको, राजनीतिक प्रणालीप्रति प्रतिबद्ध र देशको अविभावक बन्ने क्षमता राख्ने व्यक्तित्व हुनु अनिवार्य छ ।
शक्तिको दुरुपयोग गर्ने आकांक्षा राखेर राष्ट्रपति बन्न चाहनेलाई उक्त पद दिनु उचित हुँदैन । देशको सर्वोच्च पद कोही व्यक्तिलाई आराम गर्नकै लागि वा भोगविलाशका लागि दिइनुहुँदैन । राष्ट्रपति भन्ने पदको गरिमा बढाउने व्यक्तिलाई राष्ट्रपति बनाएमात्र राजनीतिक प्रणाली बलियो भएर जानेछ ।