site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिभुवनका पनातिनी ज्वाइँको हत्या : माओवादी नेताहरूको नाम जोडिएको घटनाको कारण थियो सम्पत्ति !
Sarbottam CementSarbottam Cement

काठमाडौं । ०६९ असोज १७ गते ललितपुरमा दिवाकर चन्दको हत्या गरिएको घटनाको फेरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । तर, औपचारिक रूपमा प्रहरी अधिकारीहरू घटनाबारे बोल्न चाहँदैनन् ।

प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अघिकारीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयले रोकिएको उक्त अनुसन्धान थालेको छ । झन्डै १० वर्षपछि पुनः अनुसन्धान सुरु गरिएको हो । तर, शक्तिकेन्द्रको दबाबमा फेरि जुनसुकै बेला अनुसन्धान रोकिन सक्ने प्रहरीकै अधिकारीहरू बताउँछन् ।

हत्या गरिएका चन्द राजा त्रिभुवनका पनातिनी ज्वाइँ हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पोस्टमार्टम रिपोर्ट भन्छ– घाँटी थिचेर हत्या

०६९ असोज १७ गते ललितपुरमा चन्दको शव फेला परेको थियो । चन्द विष्णुजंग राणाको घरमा फ्ल्याट भाडामा लिएर एक्लै बस्दै आएका थिए ।

Global Ime bank

उनको शव सडेको अवस्थामा फेला परेको थियो । फ्ल्याटको बाहिरी ढोका बन्द थियो । घरधनीको रोहबरमा प्रहरीले ढोका खोलेको थियो । घटनास्थलको मुचुल्का तयार पारेर शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो ।

प्रहरीका अनुसार असोज १८ गते पुनः घटनास्थलको जाँच गरिएको थियो । घटनास्थलबाट प्रहरीले ह्याम्बर, कार्पेटको टुक्रा, बियरको बोतल, वाइनको बोतल, चप्पल र रगतजस्तो देखिने पदार्थलाई भौतिक सबुदका रूपमा संकलन गर्दै परीक्षणका लागि पठाएको थियो ।

अनुसन्धानबाट प्रहरीले चन्दको शव सडेगलेको अवस्थामा फेला परेकाले तीन÷चार दिनअघि नै हत्या गरिएको निष्कर्ष निकालेको थियो । घटनास्थलमा कोठाका सामानहरू यत्रतत्र छरिएको थियो । सामानहरू खोजिएको जस्तो देखिएको प्रहरीको निष्कर्ष थियो ।

शवको पोस्टमार्टम रिपोर्टमा घाँटी थिची हत्या गरेको खुलेको थियो । तत्कालीन समयमा अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीहरूका अनुसार बाहिरबाट कोठा बन्द भएकाले चन्दको हत्या गरिएको आशंका थियो ।

त्यति बेला चन्द र उनकी श्रीमती रजनी चन्दबीच सम्बन्धविच्छेद भइसकेको थियो ।

घटनास्थलमा भेटिएको थिएन मोबाइल

घटनास्थलमा दिवकारले प्रयोग गर्दै आएको मोबाइल फेला परेको थिएन । यसले घटनालाई थप रहस्यमयी बनाएको थियो । उनले प्रयोग गर्दै आएको मोबाइल नम्बर सोही वर्ष अक्टोबर २ मा सातदोबाटोमा साँझ साढे पाँच बजे ‘स्वीच अफ’ भएको देखिएको थियो ।

यस्तै, अर्को मोबाइल सेप्टेम्बर ३० देखि अफ भएको अनुसन्धानमा खुलेको थियो । मृतक चन्दका दुवै मोबाइलमा सेप्टेम्बर ३० देखि ‘इनकलिङ’ र ‘आउटगोइङ’ नभएकाले सोही रातको समयमा उनको हत्या गरिएको प्रहरीको आशंका छ । मोबाइल नभेटिँदा प्रहरी अनुसन्धान जटिल बन्दै गएको थियो ।

अनुसन्धानका क्रममा चन्दले प्रयोग गरेको र हराएको भनिएको मोबाइल ‘अन’ भयो । धादिङ घर भई ललितपुरकै सातदोबाटोमा फुटपाथमा कपडा बेच्दै आएकी रुबिना भण्डारीको साथबाट प्रहरीले मोबाइल बरामद ग¥यो ।

रुबिनाविरुद्ध प्रहरीले सार्वजनिक अपराधमा मुद्दा समेत चलायो । उनले मोबाइल श्रीमान् ईश्वर भण्डारीले बाटोमा भेट्टाएको बताइन् । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मोबाइल श्रीमतीलाई दिएर ईश्वर आफू वैदेशिक रोजगारीका लागि दुबई गएका थिए ।

रुबिनाका श्रीमान् ईश्वर चन्दको हत्या भएको केही दिनपछि दुबई गएको अनुसन्धानका क्रममा खुलेको थियो । उनी नेपालमा रहँदासम्म मोबाइल अन भएन । ईश्वर दुबई गएपछि मात्र मोबाइल अन भएको थियो ।

प्रहरीले ईश्वरलाई नेपाल बोलाउन परिवारलाई निरन्तर आग्रह गर्दा पनि उनी आएनन् । रुबिनालाई प्रहरीले एक महिना हिरासतमा राखेको थियो ।

ईश्वरविरुद्ध ०६९ माघ १५ गते इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ समेत जारी भएको थियो । डिफ्युजन नोटिस जारी भएको चार महिनापछि उनी नेपाल फर्कन बाध्य भए । उनलाई तत्कालीन महानगरीय अपराध महाशाखाको टोलीले विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो । उनले प्रहरीसमक्ष सातदोबाटोमा नालीमा मोबाइल फेला परेको बयान दिए । प्रहरी अधिकारीहरूका अनुसार ईश्वरको बयान केही शंकास्पद छ ।

ईश्वरमाथि प्रहरी अनुसन्धान जारी रहेकै बेला माओवादी उच्च नेतृत्वले उनलाई छाड्न प्रहरीलाई दबाब दिएको प्रहरी स्रोत बताउँछ । तर, प्रहरी अधिकारीहरू माओवादी नेताको नाम बताउन चाहँदैनन् ।

पक्राउ परेका ईश्वरलाई थुनामा राखेर अनुसन्धान गर्ने तयारी थियो । तर, उनलाई भेट्न माओवादी केन्द्र धादिङका नेता (हाल वाग्मती प्रदेश सरकारका मन्त्री) शालिकराम जमकट्टेल हनुमानढोकास्थित प्रहरी कार्यालयमा पुगे । उनी पुगेपछि धादिङकै प्रभातकिरण सुवेदीको जमानीमा प्रहरीले ईश्वरलाई छाडेको थियो ।

त्यसयता घटनामा संलग्न कसैलाई पक्राउ गरिएको छैन । हालसम्म अनुसन्धानमा खटिएका सबैजसो प्रहरी अधिकारीहरू ईश्वरमाथि अनुसन्धान गर्दा थप रहस्य खुल्न सक्ने बताउँछन् ।

चन्दको हत्या भएको समयमा ईश्वरको मोबाइलको ‘बीटीएस’ धोबीघाटमै सक्रिय रहेको प्रहरीको प्राविधिक अनुसन्धानबाट खुलेको छ ।

हत्याको कारण सम्पत्ति र आर्थिक कारोबार !

प्रहरीले चन्दको हत्या सम्पत्ति र आर्थिक कारणले भएको दाबी गर्दै आएको छ । बाह्रखरीलाई प्राप्त तत्कालीन समयको प्रहरी अनुसन्धानको निष्कर्षमा भनिएको छ, “चन्दको विभिन्न स्थानमा सम्पत्ति थियो । केहीमा विवाद पनि थियो । यी मुद्दाहरूमा करोडौँको नाफा–घाटा हुने भएकाले यी मुद्दासँग सम्बन्धित व्यक्ति शंकाको घेरामा छन् ।”

चन्दले लाजिम्पाटस्थित उत्तरढोकाको तल्कालीन कन्ट्री भिल्ला होटेलसहितको जग्गा नेपाल इन्भेष्टमेन्ट बैंकमा धितोमा राखेको खुलेको छ । बैंकको कर्जा नतिरेपछि सम्पत्ति लिलाम गर्ने अवस्थामा पुगेका चन्दले सहयोगका लागि विभिन्न शक्तिकेन्द्र गुहारेको बताइन्छ ।

त्यसक्रममा उनको माओवादी उच्च तहका नेताहरूसँग पनि भेटघाट भएको स्रोत बताउँछ । केही माओवादी नेताहरूले चन्दसँग बैंकसँगको विषय ‘सेटलमेन्ट’ गरिदिने भन्दै आर्थिक लेनदेनसमेत गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

चन्द परिवार र डा. सूर्यबहादुर कार्कीको नुवाकोटको तत्कालीन थानसिंह गाविस–१ मा रहेको ३५६ रोपनी जग्गा तत्कालीन माओवादीले कब्जा गरेको थियो । सो जग्गा किनबेचमा दाङका टपेन्द्र योगी सक्रिय रहेको खुलेको छ । उनी अहिले पनि माओवादीमै सक्रिय रहेको खुलेको छ । माओवादीका एक उच्च तहका नेतासँग उनको राम्रो सम्बन्ध भएको बताइन्छ ।

योगी चन्दको परिवारसँग पनि नजिक थिए । ईश्वरबाहेक शिक्षण अस्पतालमा कार्यरत चिकित्सक, एक नायब सुब्बा र माओवादी केन्द्रकै एक शीर्ष नेतासम्मलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

चन्दको सम्पत्तिको सम्पूर्ण विवरणसमेत प्रहरीसँग छैन । त्यसैले क–कसले उनको सम्पत्ति प्रयोग गरेका छन् भन्नेबारे खुलाउन मुस्किल भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

ईश्वरलाई छुटाउन माओवादी नेता जमकट्टेल पुगेको विषयलाई प्रहरीले अस्वाभाविक रूपमा लिएको छ । चन्दको जग्गा कारोबारमा पनि माओवादी नेतानिकटकै व्यक्ति र कर्मचारी देखिएको प्रहरी अधिकारीको दाबी छ । चन्द परिवारको जग्गा र पैसा माओवादी उच्च तहका नेताका नजिकका मान्छेले प्रयोग गरेको प्रहरी अधिकारीहरूको जिकिर छ ।

दबाबरहित छानबिन हुँदा केही उच्च माओवादी नेताहरू अनुसन्धानको दायरामा आउन सक्ने दाबी प्रहरीको छ ।

चन्द पञ्चायतकालमा रानी ऐश्वर्यको अध्यक्षतामा गठित सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को सदस्यसचिव समेत भएका थिए । यसबाहेक उनी विश्व हिन्दु महासंघका तत्कालीन वरिष्ठ उपाध्यक्ष थिए ।

उनको फ्ल्याटमा महिलाको आवतजावत निकै हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले अत्यधिक मदिरा सेवन गर्ने गरेको पनि प्रहरीले विभिन्न व्यक्तिसँगको सोधपुछका क्रममा पत्ता लगाएको छ ।

अपराध अनुसन्धानमा अब्बल मानिएको प्रहरीको सीआईबी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली फेरि अनुसन्धानमा केन्द्रित छ । तत्कालीन समयमा अनुसन्धानमा खटिएका प्रहरी पनि सक्रिय छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement