बुटवल । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरूले शपथ नलिँदै केन्द्रमा सत्ता गठबन्धन टुटेपछि लुम्बिनीमा पनि सरकार गठनमा नयाँ समीकरण बन्ने निश्चित भएको छ । लुम्बिनी प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)सहित केन्द्रमा मिलेका दलहरू एक भए लुम्बिनीमा सहज रूपमा कांग्रेसबाहेकको सरकार बन्ने अवस्था छ ।
८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि कम्तीमा ४४ सिट चाहिन्छ । केन्द्रमा एमाले–माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धन बनेको छ ।
अब केन्द्रमा गठबन्धन गरेका दलहरू एक ठाउँमा उभिए लुम्बिनी प्रदेशसभामा ५२ जना सांसद हुनेछन् ।
प्रदेशमा सबैभन्दा ठूलो दल एमालेसँग २९, माओवादी केन्द्रसँग ९, राप्रपासँग चार, नागरिक उन्मुक्ति पार्टीमा चार, जसपासँग तीन तथा जनमत पार्टीमा तीन सांसद छन् ।
लुम्बिनीमा दोस्रो दल नेपाली कांगेससँग २७, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को तीन, जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)सँग १–१ जना सांसद छन् । तीनजना स्वतन्त्र सांसद छन् ।
लुम्बिनीका सम्भावित मुख्यमन्त्री को ?
लुम्बिनी प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेले नै लुम्बिनीको मुख्यमन्त्री पाउने स्रोत बताउँछ । माओवादी केन्द्रले पनि नेतृत्वमा दाबी गरेपनि उसको सम्भावना न्यून छ ।
एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरी केन्द्रमा माओवादीले नेतृत्व पाएकाले प्रदेश सरकारको नेतृत्व एमालेले पाउने सम्भावना बलियो रहेको बताउँछन् ।
एमालेले नेतृत्व पाए गिरीसहित अघिल्लो कार्यकालमा प्रदेशका प्रमुख सचेतक रहेका भूमिश्वर ढकाल मुख्यमन्त्रीको दौडमा छन् । ढकाल पार्टी महासचिव शंकर पोखरेलका विश्वासपात्रका रूपमासमेत चिनिन्छन् ।
हालसम्म एमालेले लुम्बिनीमा संसदीय दल नेताको चयन गर्न सकेको छैन । पार्टीभित्रको वरीयता अनुसार नेता गिरी नै संसदीय दलको नेता हुनुपर्ने हो । तर, शंकर पोखरेल निकट भएकाले ढकालको सम्भावना छ । अर्का सांसद चेतनारायण आचार्यको पनि सम्भावना देखिन्छ ।
यता प्रदेशका पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका एमाले लुम्बिनीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठपनि मुख्यमन्त्रीका लागि लबिङ गरिरहेका छन् ।
प्रदेश सरकारमा अहिले नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि दलको नेता चयन गरिसकेको छैन । माओवादीले मुख्यमन्त्री पाएमा रोल्पा १ (१) बाट विजयी जोखबहादुर महरा मुख्यमन्त्री बन्ने सम्भावना छ ।
माओवादीका केन्द्रीय सदस्य वसन्त घर्तीका अनुसार केन्द्रीय सहमति अुनसार नै लुम्बिनीमा दलको नेता चयन हुनेछ ।