काठमाडौं । सतहमा देखिनेगरी एमाले–माओवादीबीचको सम्बन्धमा कुनै सुधार भएको थिएन तर आइतबार अपराह्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकाएक बालकोट पुगे । बालकोट जानुअघि उनी प्रधानमन्त्री निवास, बालुवाटारमा ‘पाँचदलीय गठबन्धन’ को बैठकमा पनि सहभागी थिए ।
राज्य चलाइरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै सुइँकोसम्म थिएन– फेरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग मिलेर प्रधानमन्त्री बन्लान् भन्ने । तर, अघिल्लो दिन मध्यरातमा नै दुई दलका केही नेताहरूले ओली र प्रचण्डबीच सहमतिको गृहकार्य गरिसकेका थिए । आफूले प्रधानमन्त्री नपाए नमान्ने भन्नमात्र प्रचण्ड बालुवाटार गएका थिए ।
बालुवाटारमा कुरा नमिलेपछि मध्याह्न त्यहाँबाट निस्के । बैठकमा सहभागी कांग्रेस उपसभाति पूर्णबहादुर खड्काले बताए– प्रचण्ड खाना खान आफ्नो निवास, खुमलटार जानुभएको हो ।
वर्षमान पुन र नारायणकाजी श्रेष्ठसहित बालुवाटार गएका प्रचण्डले त्यहाँ पार्टीका पदाधिकारीलाई बोलाए । केही बेर कुराकानी गरे । अनि खड्काको आशाविपरीत उनी बालुवाटार होइन, बालकोटतिर लागे ।
अनि २ बज्न लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास, बालकोट पुगेका थिए– प्रचण्ड । यो नेपालको राजनीतिक वृत्तमा एउटा ‘सरप्राइज’ थियो ।
त्यसको केही बेरमै सीके राउत पनि पुगे । जनता समाजवादी पार्टीका नेता अशोक राई पनि बालकोट पुगिसकेका थिए ।
उता, बालुवाटारबाट कांग्रेस नेताहरूले सन्देश प्रवाह भयो– कांग्रेस नेतृत्वको गठबन्धनको सम्भावना सकियो ।
करिब दुई घन्टापछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी बैठक सकियो । ओलीनिवासको कौशीबाट ओली र प्रचण्ड हात हल्लाएर अभिवादन गरे ।
मध्यरातको गृहकार्य
एमाले–माओवादीबीच अनौपचारिक छलफल अघिल्लै दिन सहमति गरिएको थियो ।
प्रचण्डलाई प्रधानमन्त्रीसहित माओवादी केन्द्रले उपराष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष पाउने छन् । एमालेको भागमा भने राष्ट्रपति, सभामुख पर्नेछ ।
अनौपचारिक गृहकार्यमा संलग्न एमालेका एक नेताले भने, “हामीले माओवादीसँग हिजो राति सहमति गरेका थियौँ, प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी । राति ११ देखि १ बजे बसेर यो टुुंगो लगाएका हौँ । अस्ति नै मिलाउने प्रयास भएको थियो तर मिल्न सकेको थिएन ।”
प्रचण्ड प्रधानमन्त्री बन्नेबाहेक राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्षसहित सात वटा मुख्यमन्त्रीहरू को–को बन्ने भन्नेबारे नाममा भने टुंगो लागिनसकेको बैठकका सहभागी ती नेताले जानकारी दिए ।
उक्त गृहकार्यमा एमालेका विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, गोकुल बास्कोटा र माओवादी केन्द्रका वर्षमान पुन, नारायणकाजी श्रेष्ठले भिन्नभिन्नै गृहकार्य गरेका थिए ।
ओली–प्रचण्ड सम्बन्ध
ओली–प्रचण्ड सम्बन्ध निकै रोचक छ । ओलीले ०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्डले ओलीविरुद्ध प्रहार गरेको वचन–वाण र ओलीले त्यसविरुद्ध गरेको ‘काउन्टर अट्याक’ सुन्दा लाग्थ्यो– सायद् जीवनपर्यन्त मिल्दैनन् होला यी दुई नेता ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छँदै प्रचण्डले माधवकुमार नेपालसँग मिलेर प्रधानमन्त्री रहेका ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्यबाट समेत हटाइदिएका थिए– ०७७ पुस ७ गते ।
महासचिवले डाक्नुपर्ने केन्द्रीय कमिटी बैठक पनि आफैँले डाकेर ओलीसँग महाधिवेशनमा पराजित नेपाललाई अर्को पार्टी अध्यक्ष बनाइदिएका थिए ।
त्यसो त एमालेका अध्यक्ष हुनुअघिदेखि नै ओली माओवादी सशस्त्र द्वन्द्वलाई ‘हिंसा र आतंक’ को संज्ञा दिन्थे । एमालेभित्र ओली नै माओवादीका सबैभन्दा कडा आलोचक थिए ।
०६४ चैत २८ को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ २४० मध्ये १२० सिट जित्दा पनि त्यसलाई जनताको निर्णय भनेर सहज रुपमा स्वीकार गरेनन् ।
परिणाम स्वीकार त गरे तर त्यसलाई जनताले गरेको गल्तीको संज्ञा दिएका थिए । उनले भनेका थिए, “जनताले गल्ती गरेका छन्, त्यो जनताले नै सच्याउने छन् ।”
एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले दुई सिटबाट हारेका कारण पार्टी महासचिवबाट राजीनामा दिए तर प्रचण्डले नेपाललाई संविधानसभा बनाउन पहल गरे । ‘संवैधानिक समिति’को सभापति बनाउने भनेर गरिएको नेपालको मनोनयन अन्ततः प्रधानमन्त्री बन्ने भर्याङ बन्यो ।
प्रचण्डले प्रधानसेनापति हटाउने असफल प्रयास (‘कटुवाल काण्ड’) मा राजीनामा गरे । त्यसपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले दुई क्षेत्र हारेका नेपाललाई प्रधानमन्त्री बनाए । त्यसविरुद्ध माओवादीले आमहड्ताल गर्यो ।
उपाध्यक्ष वामदेव गौतमले सार्वजनिक रूपमै नेपाललाई राजीनामा गर्न दबाब दिए तर ओलीले नेपाललाई पूरै साथ दिए । ती दिनमा ओली प्रधानमन्त्री कार्यालयमै बसेर नेपाललाई साथ दिएका थिए ।
यतिसम्म कि संविधानसभाको म्याद पहिलोपल्ट थप्ने दिने २०६७ जेठ १४ गते राति पौने ११ बजेसम्म सिंहदरबारमा बसेर ओलीले नेपाललाई राजीनामा नगर्न अडान लिइरहन साथ दिए ।
संविधानसभा विघटन हुने अवस्थामा पुगेपछि उनी नयाँ बानेश्वर गएर नेपालको राजीनामाको जिम्मा आफूले लिँदै म्याद थप्न सहमति जुटाए । उक्त सरकारको सफलता नै माओवादीलाई दबाबमा राख्न सकेको भनेर मूल्याङ्कन गरिन्छ ।
माओवादीलाई सबैभन्दा आलोचना गर्ने नेताको छवि बनाएका थिए ओलीले ।
झलनाथ खनाल एमाले अध्यक्ष रहेको बेला भएको दोस्रो संविधानसभामा एमालेले २४० मध्ये ९४ सिट जित्यो– प्रत्यक्षतर्फ । माओवादी भने २६ सिटमा खुम्चियो ।
दोस्रो संविधानसभा चुनावपछि ०७० सालमा एमाले संसदीय दलको नेता चुनिए ओली ।
उनले अध्यक्ष खनाललाई मतदानबाट हराएका थिए । त्यसको एक वर्षपछि ०७१ साउनमा एमाले अध्यक्ष चुनिए । माओवादीमाथि एमालेको नीति अझै कडा भयो ।
०७२ साल असोज ३ मा संविधानसभाले बनाएको संविधान जारी भएपछि माओवादीको समर्थन लिएर ओली प्रधानमन्त्री भए ।
संविधान बन्नुअघि कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका थिए तर संविधान जारी भएपछि एमालेलाई छाड्ने ‘भद्र सहमति’ कोइरालाले पालना गरेनन् ।
अनि ओलीसँग संसद्मा उमेदवारी दिएका कोइराला प्रधानमन्त्री निर्वाचनमा पराजित भए । प्रचण्डको समर्थन लिएर ओली प्रधानमन्त्री भए ।
प्रचण्डले बीचैमा समर्थन फिर्ता गरे । आफू सहभागी सरकार अर्थमन्त्री विष्णु पाैडेलले पेश गरेको बजेट फेल गराएर सरकार ढाले । अनि आफू प्रधानमन्त्री भए– करिब सात महिना । यसबीचमा एमाले–माओवादी सम्बन्ध फेरि तिक्त भयो ।
यसैबीच प्रचण्डले पहिलो चरणको स्थानीय चुनाव गराए र प्रधानमन्त्री पद देउवालाई हस्तान्तरण गरे । उनले दोस्रो र तेस्रो चरणको स्थानीय चुनाव देउवाले नै गराए । कांग्रेससँग मिलेर स्थानीय चुनाव लड्यो माओवादी । तर, राम्रो परिणाम ल्याउन सकेनन् ।
०७४ मंसिरमा १० र २१ गते दुई चरणमा गर्नेगरी संघीय संसद् र प्रदेश संसद्को चुनाव घोषणा भइसकेको थियो । सबै जना दशैँ मनाउन व्यस्त थिए । देउवा सरकारका माओवादीका मन्त्रीहरू शासन गरिरहेका थिए तर १७ असोज ०७४ मा एकाएक वाम–गठबन्धन घोषणा भयो– चुनावपछि पार्टी एकता गर्नेसम्मका योजना सार्वजनिक गरेर ।
चुनावमा एमालेले प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सिट गरी १२१ ल्यायो भने माओवादीले पनि प्रत्यक्ष ३६ र समानुपातिक १८ गरी ५४ सिट हासिल गरे ।
प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेस ६४ मै खुम्चियो । वाम गठबन्धनलाई मतदाताले अनुमोदन गरेको व्याख्या भयो ।
त्यसबेला पनि प्रचण्डको कांग्रेससँग मिलेर आफू प्रधानमन्त्री बन्ने प्रयास त गरे तर सफल हुन सकेनन् । जसपा अध्यक्ष उपेन्द्र यादवले उनलाई साथ नदिँदा प्रचण्ड यो मिशनमा विफल भएका थिए ।
ओलीको स्वास्थ्य कमजोर थियो । प्रचण्डको नेपालसँग प्रगाढ हुँदै थियो । यसै परिस्थितिबीच ०७५ जेठ ३ गते ओली र प्रचण्डले पार्टी एकता गर्ने घोषणा गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा भयो । यसअघि नै उनीहरूबीच आधा–आधा कार्यकाल बाँड्ने लिखित सम्झौता भइसकेको रहेछ जो एक वर्षपछि प्रचण्डले भारत भ्रमणका बेला नयाँदिल्लीबाट सार्वजनिक गरेका थिए ।
प्रधानमन्त्री भएको दुई वर्षपुग्नुअघि ओलीको स्वास्थ्य फेरि बिग्रियो । प्रचण्डले ०७६ मंसीरमा ओली नै पूरै कार्यकाल प्रधानमन्त्री बन्ने, आफूले पार्टी चलाउने भन्ने अर्को सहमति गरे । त्यसको करिब दुई महिनापछि ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरे ।
वाम–विवादले गुमेको शक्ति
ओलीको स्वास्थ्य राम्रो भयो । फागुनमा ओली प्रधानमन्त्री भएको दुईवर्ष पुग्यो । अविश्वास प्रस्ताव ल्याउन मिल्ने भयो । यसैबीच ओलीसँग जसपाको पनि सम्बन्ध बिग्रिएको थियो ।
अनि प्रचण्डले ओलीलाई हटाउने खेल सुरु गरे । त्यसपछि दुई नेताबीचको सम्बन्ध तिक्त भयो । यो अन्ततः ओली हटाउने र अदालतको आदेशबमोजिम एमाले र माओवादी अलग हुने गरी नेकपा फुटाउनेसम्म पुग्यो ।
अदालतमा प्रचण्ड–नेपालसहितको निवेदनले संसद् पुनर्स्थापना भयो दुईपटक ।
आजको ठिक दुई वर्षअघि पुस १० गते ‘हामी यहाँ छौँ’ भन्दै एमालेको ‘सूर्य’ चिह्न ढाडमा टाँसेर प्रचण्ड–माधव नेपाल माइतीघरमा धर्ना बसिरहेका थिए ।
उनीहरू एमालेको बल्खुमा रहेको पहिले केन्द्रीय कार्यालय रहेको जग्गा हेर्नसम्म पुगेका थिए ।
ओलीलाई बालुवाटारबाट निकालेर एक्लै बालकोट पुर्याउने घोषणा गरेका प्रचण्डको सपना ०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलाले चकनाचुर पारिदिएको थियो ।
त्यसको केही महिनापछि ०७८ भदौ ९ गते एमाले औपचारिक रूपमा विभाजित भयो– माधव नेपालको नेतृत्वमा । नेकपा (एकीकृत समाजवादी) बन्यो ।
एमालेले संघीय सरकारको प्रधानमन्त्रीदेखि चार वटै मुख्यमन्त्री गुमायो । संसद्को सबैभन्दा ठूलो दल भएर पनि ओली प्रतिपक्षी नेताको हैसियतमा पुगे ।
हारपछिको स्वीकारोक्ति
प्रचण्ड–नेपालले कांग्रेससँग गठबन्धन गरे– स्थानीय र संसदीय दुवै चुनावमा ।
प्रचण्ड र नेपालले एमाले समाप्त पार्ने घोषणा गरेका थिए तर कांग्रेसभन्दा एमाले ११ सिटमात्र कम्ति भएको पार्टी भयो । माओवादीले अघिल्लो पल्टभन्दा आधा जित्यो ।
नेकपा एस त राष्ट्रिय पार्टी पनि भएन । अघिल्लो संसदीय चुनावभन्दा प्रत्यक्षतर्फ झन्डै आधा मात्र जित्ने एमालेले समानुपातिकतर्फ कांग्रेसभन्दा करिब १ लाख ३० हजार भोट बढी ल्याल्यो ।
विभाजनबाट एमाले र माओवादी दुवैले सिट गुमाए । माओवादी अस्तित्वको संकट हुने अवस्थामा पुग्यो । कुल २७५ सिटमध्ये माओवादी केवल ३२ सिटको पार्टी बन्यो ।
संसद्मा वामपन्थी दलको उपस्थिति माओवादी शान्ति प्रक्रियामा आएपछिकै सबैभन्दा कमजोर भएको अवस्थामा ।
गुमाएको महसुस गरेका प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री भएका छन् । कमजोर हुन पुगेको एमालेले पनि राष्ट्रपति र सभामुखसहित कम्तिमा पनि तीन वटा मुख्यमन्त्री पाउने अवस्था छ ।
अहिलेको सत्ता गठबन्धन एमाले–माओवादी सहमतिको परिणाम हो, भलै दुई दलको सीट केवल ११० मात्र पुग्छ । बहुमतका लागि कम्तिमा थप २८ सीट चाहिन्छ, जसका लागि कम्तिमा छ दल एक ठाउँमा हुनुपर्छ ।
माओवादी बहुदलीय राजनीतिमा आएदेखि ओली–प्रचण्डबीचको करिब १६ वर्षको सम्बन्ध ‘प्रेम र घृणा’को देखिन्छ ।
राजनीतिक स्वार्थसिद्धिका लागि भएको यो ‘प्रेम र घृणा’को उतारचढावले फेरि एमाले र माओवादीलाई एउटै पार्टीमा पुर्याउन सक्छ ।
तर, एमाले–माओवादीबीचको यही स्वार्थको लडाइँबीच जन्मिएको नेकपा (एकीकृत समाजवादी) भने अस्तित्वको संकटमा पुगेको छ ।