काठमाडौं । नेपालमा सामान्य अवस्थामा वार्षिक सयवटा चलचित्र बन्न थालेका छन् । तीमध्ये अधिकांशले लगानी गुमाउँछन् । मुस्किलले पाँच चलचित्रले लगानी सुरक्षित गर्छन् । यिनैमध्ये केहीले हो, बक्सअफिसमा राम्रो कलेक्सन गर्ने ।
९५ प्रतिशत चलचित्रले किन लगानी गुमाउँछन् ? जवाफ सबैले सहजै दिन सक्छन्– राम्रो नभएर । त्यसो भए कस्तो चलचित्र राम्रो ? यस्तै चलचित्र राम्रो भन्ने सर्वमान्य सिद्धान्त छैन । व्यक्तिको रुचिअनुसार चलचित्र कसलाई कुन त कसलाई कुन मन पर्न सक्छ । यस्तै र यही नै चलचित्र राम्रो भन्ने हुँदैन ।
चलचित्रत्र राम्रो हुनु र चल्नु फरक कुरा हुन् । सबै राम्रा चलचित्र चल्छन् भन्ने हुँदैन । र, राम्रा भनिएका सबै चलचित्र चलेका पनि छैनन् । तर, चल्ने सबै चलचित्र नराम्रा पनि हुँदैनन् । चलचित्र चल्न त्यसमा केही न केही पक्ष राम्रो हुनैपर्छ । त्यसो भए कस्तो चलचित्र चल्छ ?
जुन चलचित्र मास अपिल गर्ने हुन्छ, त्यही चल्छ । मास अपिल गर्ने विषय र प्रस्तुति छ र राम्रो पनि छ भने त चल्छ नै । तर, मास अपिल गर्ने मात्र छ भने पनि त्यो चलचित्र अपेक्षित नभए पनि केही हदसम्म चल्छ । चलचित्र चल्न त्यसको विषय ‘इंगेजिङ’ हुनुपर्छ । जसले आम दर्शकलाई ‘इंगेज’ गर्छ, त्यो चलचित्र नै चल्छ ।
त्यसो भए कस्तो विषयले दर्शकलाई ‘इंगेज’ गर्छ ? केही समयअगाडिको भेटमा निर्देशक दीपेन्द्र के खनाल भन्दै थिए– त्यो चलचित्रको विषयलाई दशर्कले मन पाउँछन्, जुन उसले आफ्नो दैनिक जीवनमा भोगे वा देखेको हुन्छ । जस्तै : ‘छक्का पञ्जा’, ‘कबड्डी’ आदि ।
‘छक्का पञ्जा’मा दर्शक किन झुम्मिए ? यसको विषय पहिलो कारण हो । अहिले हरेक घरबाट कोही न कोही वैदेशिक रोजगारीमा गएका छन् । त्यसको सकारात्मक असर त छ नै नकारात्मक असर पनि छ । त्यही कुरालाई चलचित्रमा देखाउँदा धेरैले हेर्न रुचाए ।
केही समयअगाडि रिलिज भएको एउटा नेपाली चलचित्र मजाले चल्यो । न त्यसको प्रचार थियो न धेरैले चल्छ भनेर अनुमान नै गरेका थिए । तर, त्यही चलचित्र ‘झिँगे दाउ’ले लामो समय हाउसफुल व्यापार गर्यो । यसको कारण यो चलचित्रमा घरघरमा हुने जेठानीदेउरानी र दाजुभाइबीचको झगडा देखाइएको थियो । यो झगडा अक्सर हरेक घरघरमा हुन्छ । त्यसैले यो चलचित्र हेर्न दर्शक हलसम्म पुगे ।
‘झिँगे दाउ’का निर्देशक ज्ञानेन्द्र देउजा पंक्तिकारसँग भन्दै थिए– सिनेमाको विषय आम नागरिकसँग जोडिएको हुनुपर्छ । जुन सिनेमा आम नागरिकको जनजीवनसँग जोडिन्छ, त्यही सिनेमा चल्छ । अन्यथा, राम्रा भएर पनि सिनेमा नचल्न सक्छन् ।
जुन सिनेमाले घरघरको विषय उठान गर्छ, व्यक्तिव्यक्तिले भोगे/देखेको देखाउँछ, त्यही सिनेमा हलमा रुचाइन्छ । जब घरघरको विषयलाई सिनेमाले भन्छ, तब सपरिवार सिनेमा हेर्न हलमा जान्छन् । अनि, सिनेमा हिट हुन्छ ।
नेपाल सिनेमाको बजारका हिसाबले सानो भूगोल हो । जनसंख्या नै कम रहेको र त्यसमा पनि कमजोर आयस्रोतका कारण चाहेर पनि सिनेमा हेर्न जान नपाउनेको संख्या ठूलो छ । त्यसैले नेपालमा कुनै उमेर, वर्ग वा क्षेत्रलाई लक्षित गरेर चलचित्र बनाउनु लगानीका हिसाबले जोखिम मानिन्छ ।
नेपालमा जतिसुकै क्रिएटिभ मुभी बनाए पनि त्यसको नेपाली बजार तीन करोड रुपैयाँभन्दा माथि नरहेको स्वयं नेपाली मेकरहरूले बताउने गरेका छन् । ‘अब्स्ट्रयाक’ वा रचनात्मक मुभी बनाएर त्यसले राम्रो समीक्षा र उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाए पनि अनपेक्षित ग्रस कलेक्सन गर्यो भने तीन करोडको सेरोफेरोमा हो । तर, सिनेमा बनाउन नै करिब यति लगानी लाग्ने भइसक्यो । त्यसैले तीन करोड ग्रस हुँदा पनि यस्ता सिनेमा प्रायः घाटामै हुन्छन् । यसको निष्कर्ष नेपालमा कुनै समूह, क्षेत्र, उमेर वा वर्गलाई लक्षित गरेर सिनेमा बनाए त्यसमा उल्लेख्य दर्शकको सहभागिता न्यून हुनसक्छ । त्यसैले हलमा लामो समय चलाउने र हिट बनाउने हो भने आम दर्शकलाई इंगेज गर्ने सिनेमा नै चाहिन्छ । आम दर्शकले देखे/भोगेको विषय नै उठान गर्नुपर्छ । अन्यथा, राम्रै चलचित्रमा पनि दर्शकको अभाव खड्किन्छ ।
यसको उदाहरणका रूपमा वैदेशिक रोजगारीको विषय उठान गरेका चलचित्र मात्र होइन, गीत पनि लोकप्रिय भएका छन् । चलचित्र ‘परदेशी’ होस् वा ‘सुन साइँली’ गीत वैदेशिक रोजगारीको विषय उठान गरेका सिर्जना हुन्, जसलाई दर्शकले मन पराए । त्यसैले गीत होस् वा चलचित्र सकेसम्म धेरैको ध्यान खिच्ने र आफैँले ‘रिलेट’ गरेको विषय नै चाहिने समीक्षक तथा निर्देशक मनोज पण्डितको तर्क छ । अहिले हलमा चलिरहेको चलचित्र ‘महापुरुष’ यसको उदाहरण भएको उनको जिकिर छ । किन चल्यो ‘महापुरुष’ ? उनी प्रश्न गर्छन् । यसको जवाफ पनि उनीसँगै छ । यो चलचित्रले आधुनिक समाजमा नेपालका घरघरमा देखिने समस्या उठाएको उनको जिरिह छ ।
‘महापुरुष’ले एकल पुरुषको कथा उठाएको छ । “अहिलेको समाजमा श्रीमती बितेर मात्रै पुरुष एक्लो हुँदैन । छोराछोरी रोजगारी वा पढ्नका लागि विदेश गएर पनि पुरुष उमेरको उत्तरार्धमा घरमा एक्लै बस्नुपर्ने अवस्था छ,” मनोज भन्छन्, “यति मात्रै पनि होइन । घरमै छोराछोरी भए पनि उनीहरू मोबाइल, ल्यापटप र टीभीमा व्यस्त हुन्छन् । घरको एउटा कोठामा बूढा भएका बाआमा थन्किएर बस्नु परिरहेको अवस्था छ ।”
यो कथा अहिले दूरदराजका गाउँदेखि संघीय राजधानी काठमाडौंसम्मको हो । गाउँका छोराछोरी र उसका सन्तति अध्ययन र अवसरका लागि काठमाडौंकेन्द्रित भएका छन् । रोजगारीका लागि खाडी गएका छन् । काठमाडौं र ठूला सहरका छोराछोरी युरोप, अमेरिका गएका छन् । घरमा उमेरले डाँडा काटिसकेका बाआमा मात्र छन् । त्यसमा पनि कति एक्लै छन् । त्यसैले यो कथा अधिकांशले आफूसँग वा आफूले देखेको कथासँग तुलना गरेकाले धेरैले रुचाए । परिणामतः सिनेमा हलमा रुचाइयो । परिवार नै हलमा गएर चलचित्र हेर्दा सिनेमा ‘हिट’ भयो ।