site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगन नेतृत्वको नयाँ ध्रुवीकरणले कांग्रेसमा जगाएको पुनर्जीवनको आशा
SkywellSkywell

काठमाडौं ।  ०६१ माघ १९ गते । तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्षम’ उपाधिसहित बर्खास्त गरी आफैँलाई मन्त्रिपरिषद्को अध्यक्ष घोषणा गरेका थिए । 

त्यसको करिब डेढ महिनापछि फागुन ५ मा शाही घोषणाद्वारा ‘भ्रष्टाचार निवारण शाही आयोग’ गठन गरे । अनि दलका नेताहरूलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरी शाही हिरासतमा कोच्न थाले ।

आफैँ अभियोजन गर्ने र आफैँ निर्णय सुनाउने अधिकार थियो, ‘शाही आयोग’ लाई । 

KFC Island Ad
NIC Asia

त्यसको पहिलो निशानामा उनै अपदस्थ प्रधानमन्त्री देउवा परेका थिए । शाही आयोगले देउवालाई पक्राउ गर्ने तयारी गरेको हल्ला चल्यो । त्यसपछि सञ्चारकर्मीको भीड देउवा निवासमा लाग्न थाल्यो । 

फागुनको महिना । मौसम चिसै थियो । बूढानीलकण्ठस्थित देउवा निवासमा कांग्रेसका केही तन्नेरी कार्यकर्ता पनि घाम ताप्दै दिन काट्थे– हामी सञ्चारकर्मीसँगै । त्यहाँ गगन भने कहिल्यै पुगेको देखिएन ।  

Royal Enfield Island Ad

प्रधानमन्त्री देउवाका पुत्र जयवीर सानै थिए । उनी आफ्नै कम्पाउन्डभित्र कहिले गाडी हाँकेर रमाइरहेका हुन्थे त कहिले आगन्तुकहरूको बीचमा पुगेर खेलिरहेका हुन्थे । 

कहिले ‘नेपाल वन’ टीभीको क्यामेरा घाँटीमा झुन्ड्याउँदै घरको चोटाकोठा खिचेर ल्याउँथे । ती दिनमा आरजू ‘भाउजू’ को काम भने घरमा उपस्थित सञ्चारकर्मी र कार्यकर्तालाई चिया बाँड्दै बित्थ्यो । त्यसबेला निकै मिलनसार र मित्रवत थिइन् भाउजू । 

बूढानीलकण्ठस्थित देउवा निवासमा घाम तापेर बिताएको करिब एक सातामध्येको एक दिन नेविसंघका एकजना पूर्वमहामन्त्रीले पंक्तिकारसँग भनेका थिए, “कति गगनको मात्र फोटो छाप्नुहुन्छ । हामीलाई पनि देख्नुस् न कहिलेकाहीँ । हामीलाई त पत्रकारले कहिल्यै देखेनन् ।” 

उनी निकै जान्ने भएर सबैमाझ कार्यकर्तालाई आदेश दिएको शैलीमा यसो भनेका थिए । ‘गुण्डा’को छवि बनाएका उनका लागि यो सामान्य थियो ।

त्यसको एक दिनअघि कलेजका मेरा सहपाठी अर्का नेविसंघका नेताले निर्दोष भावमा भनेको उनले सुनेका थिए, “तिमीजस्ता साथी यत्रो पत्रकार भएका छौ, मेरो पनि केही–केही छापिदेऊ न यार ! खाली गगनको मात्र आउँछ ।”

मेरो सहपाठी भन्ने घनिष्टता थाहा नपाएका ती पूर्वमहामन्त्रीले ऊभन्दा आफू ठूलो नेता हुँ भनेर आदेशको भाषा प्रयोग गरेको हुनुपर्छ । 

त्यसबेला सुशील कोइरालाको कान भरेर नेविसंघको महामन्त्रीबाट गगनलाई र अध्यक्षबाट गुरू घिमिरेलाई भर्खरै अपदस्थ गर्न सफल भएका थिए उनी । 

उनको आदेश सुनेपछि ती पूर्वमहामन्त्रीलाई सोधेको थिएँ, “कति वर्ष हुनुभो ? दाह्री त फुलेका छन् । अझै विद्यार्थी नेता ?” उनले ३९ वर्ष टेकेको बताएका थिए । 

उनलाई जवाफ दिएको थिएँ, “तपाईंलाई थाहा छ– बीपी कोइराला ३३ वर्षमा कांग्रेसको सभापति भइसकेका थिए । अहिलेको तपाईंभन्दा कम उमेरमा कांग्रेसको नेतृत्व गर्दै राणा–कांग्रेस सरकारका गृहमन्त्री भइसकेका थिए । तपाईं ४० टेक्दा पनि नेविसंघमै हुनुहुन्छ । तपाईंको फोटो छाप्दा मिडियाको इज्जत कति घट्ला ! गगनको इर्ष्या होइन, बरु उनको विनम्रता बाट सिक्नुस् । तपाईंले इर्ष्या गर्दागर्दै गगन तपाईंभन्दा ठूलो नेता भइसक्ने छन् ।”

मैले नेविसंघका पूर्वमहामन्त्रीलाई नरम शैलीमा तीतो यथार्थ बताएको करिब १८ वर्ष पुग्नै लाग्दा गगन साँच्चै नेता भइसकेका छन् । 

उनी अब नेविसंघका नेतालाई होइन, पाँचपटक प्रधानमन्त्री भइसकेका पार्टी सभापति शेरबहादुर देउवासँग जुध्न सक्ने भएका छन् । 

गगन चौथोपटक सांसद र कांग्रेसको महामन्त्रीमा भारी मतसहित विजयी भइसकेका छन् । 

मलाई फोटो छापिदिन आग्रह गर्ने मेरा सहपाठी र नेविसंघका पूर्वमहामन्त्री दुवैले यसपटकको चुनावमा देउवाबाट टिकट पाए ।

अहिलेको संसदीय दलको नेताको चुनावमा पनि गगनको विपक्षमा देउवालाई नै भोट हालेका छन् ।  

कांग्रेसको नाति पुस्ताका विद्यार्थी नेता गगन ०६३ को आन्दोलनमा  भर्खरै सडकमा आफ्नो स्थान बनाइरहेका थिए तर मिडियाले उनलाई माया गर्न थालिसकेको थियो । 

सान्दाजु गिरिजाप्रसादको निर्देशनमा कांग्रेस महामन्त्री सुशील कोइरालाले नेविसंघको महामन्त्रीबाट हटाएपछि उनी राजनीति गर्न ‘प्लेटफर्म’बिहीन भएका थिए । 

त्यसपछि उनी नागरिक आन्दोलनलाई पछिल्लो लहरमा बसेर ऊर्जा दिइरहेका थिए । सल्कन नसकेको आन्दोलनको आगो जगाउन दीयोमा तेल हाल्ने प्रयास गरिरहेका थिए । 

गिरिजाप्रसादले ‘सिध्याएका’ गगन

२०५८ जेठ १८मा राजा वीरेन्द्रको वंश विनाशपछि अपराधको जगमा उभिएको ‘नयाँ राजा’ ले मौलिकहकमा बन्देज गर्दै थियो । 

मोबाइल, फेसबुक–ट्विटरदेखि मोबाइल फोनसम्म बन्द गरिए । 

अनलाइन  पोर्टल प्रतिबन्धित भए । मिडियाहाउसमा सम्पादकभन्दा माथिको भूमिकामा शाहीसेना खटाइका थिए ।

यस्तो अमानवीय अत्याचारप्रति बौद्धिकवर्गको मनभित्र आन्दोलनको ज्वारभाटा उठिरहेको थियो तर राजनीतिक दलहरुको बदनाम नेतृत्वप्रतिको विश्वास पनि थिएन। दलका केही नेता–कार्यकर्ता कहिले बागबजार, कहिले रत्नपार्कमा जम्मा हुन्थे । 

आफैँ प्रहरीको गाडीमा चढ्दै गिरफ्तारी दिन्थे । त्यसको कुनै प्रभाव थिएन । त्यस परिस्थितिमा राजाको निरंकुशताले दबाइएका नेपालीको आवाज बनेर निस्किएका थिए– गगन ।

गगन त्यसअघि नै नेपाल विद्यार्थी संघका महामन्त्री भइसकेका थिए ।  त्रिचन्द्र कलेजको स्ववियु सभापति पनि भइसकेका थिए– बागी बनेर ।  

नेविसंघको नेतृत्वबाट सभापति गुरुराज घिमिरे र महामन्त्री गगनलाई त्यसको केही समयअघि मात्र हटाएका थिए । 

अनि गगन जोडिएका थिए– नागरिक आन्दोलनमा । उक्त नागरिक आन्दोलनको मुख्य नेतृत्व गरेका थिए– डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडीले । त्यसबेला बार एसोसिएसनको अध्यक्ष रहेका शम्भु थापा पनि उक्त आन्दोलनको अङ्ग बनेका थिए ।

०६२ सालको साउन १० गतेको घटना हो । ‘शाही शासन’ विरुद्ध ‘नागरिक आन्दोलन’ले कार्यक्रम  आयोना गर्‍यो– ‘रत्नपार्क हाम्रो हो’ भनेर । नागरिक अधिकार कुण्ठित गरिएको विरोधमा जुलुश र रत्नपार्कमा धर्ना राखिएको थियो । 

गिरिजाप्रसाद कोइरालाको कोपभाजनमा परेका विद्यार्थी नेता गगन उक्त आन्दोलनका पर्दापछाडिको एक जना हस्ती थिए तर उनी ‘लो–प्रोफाइल’ बस्थे रत्नपार्कमा धर्ना दिने कार्यक्रमसहित भोटाहिटीबाट रत्नपार्कतर्फ ‘नागरिक जुलुश’ अघि बढ्दै थियो, प्रहरीले दमन गर्‍यो ।

उक्त जुलुशमा अलि पछाडि थिए– गगन । गणतन्त्रको नारा लगाइएको थियो– जुलुशमा । त्यसको नेतृत्व गरेका थिए– गगनले । उनी भोटाहिटीबाट पक्राउ गरे । उनी हिरासतमा राखिए । शाही सरकारको हिरासतमा राखिए– गगन । पक्राउपछि राजकाज मुद्दा लगाउने तयारी थियो– उनीमाथि । 

उल्टै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नै गगनमाथि आरोप लगाए– ‘दरबारिया’ भनेर ।

शाही सरकारको तारो बनेका गगन गिरिजाप्रसादको पनि तारो बनेका थिए तर यसबाट पनि विचलित नभएका गगन हिरासतमा बसिरहे। पार्टीले निर्णय गर्नुभन्दा अघिदेखि नै उनी गणतन्त्रवादी भएका थिए । 

गगनको राजनीतिक ‘करिअर’ मा सबैभन्दा कठिन बेला त्यही थियो । उनी गिरिजाप्रसाद कोइरालाले नरुचाएका मात्र होइन, सिध्याउनै खोजेका नेता हुन् ।  

गणतान्त्रिक आन्दोलन सफल हुँदा गगन ‘सेलिब्रिटी’ युवानेताका रूपमा स्थापित भए । गगनले सडकबाट गणतन्त्र शंखघोष गरेको धेरैपछि मात्र कांग्रेसले गणतन्त्रलाई स्वीकारेको थियो ।

०६३ सालपछि गगनको छवि यस्तो बन्यो, उनलाई समावेश नगर्दा युवाको प्रतिनिधित्व नहुने भयो । यही अवस्थाको बाध्यताका कारण गगन पहिलो संविधानसभा सदस्य भए–‘समानुपातिक’ तर्फबाट । दोस्रो संविधानसभामा भने उनले काठमाडौं– ४ बाट प्रत्यक्ष चुनिए । ०७४ र ०७९ सालमा पनि उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

पहिलो संविधानसभाभित्र गगनले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी प्रमुख हुने राजनीतिक प्रणालीको वकालत गरे । 

गगन थापा, नरहरि आचार्य, प्रदीप गिरीसहित कांग्रेसका १६ जना सभासद्ले ‘शासकीय स्वरुप निर्धारण समिति’ मा बेग्लै प्रस्ताव नै दर्ता गरेका थिए ।

०६७ असोज ५–७ गते काठमाडौंमा भएको कांग्रेसको बाह्रौँ महाधिवेशनमा गगनले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य जिते । 

०७१ सालमा संसद्को कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरेका उनी ०७३ सालमा स्वास्थ्यमन्त्री भएर पनि काम गरेका थिए । स्वास्थ्यमन्त्रीका रूपमा पनि उनले राम्रै छवि छाडे । 

कांग्रेसको १३औँ महाधिवेशनमै उनले नेतृत्वमा हस्तक्षेपको प्रयास गरे तर शेरबहादुर देउवा र रामचन्द्र पौडेलले नेतृत्वको दुवै गुटमा अटाएनन् । 

त्यसपछि सभापतिका तेस्रा उम्मेद्वार कृष्ण सिटौला समूहमा जोडिएर महामन्त्री लडे । नजिते पनि भावी नेताको सन्देश दिन सके ।

कांग्रेसको चौधौँ महाधिवेशनमा सबैको नजरमा परेका एक्ला ‘सेलिब्रिटी’ बने । सबैको चासो थियो– यसपटक गगनले महामन्त्री जित्लान् त ? आफ्नो प्यानलको सभापति शेखर कोइरालाले हार्दा पनि महामन्त्रीमा अप्रतिस्पर्धी देखिए । भारी मतान्तरले विजयी भए । अनि शीर्ष नेतामा दरिए उनी ।

हारले गगनको शेखी झर्‍यो कि कद बढ्यो ?

यसपटकको संसदीय चुनावमा उमेद्वार हुनेबित्तिकै गगनले आफू प्रधानमन्त्रीको उमेद्वारका रूपमा मतदातासमक्ष प्रस्तुत गरेका थिए । त्यसपछि उनीविरुद्ध अन्तर्घातको प्रयास पनि भएको थियो तर त्यसलाई मतदाताले सफल हुन दिएनन् । 

गगनको यो लक्ष्य मतदाताबाट अनुमोदन पनि भयो । उनले आशा गरेभन्दा बढी मतले जित्नुमा भावी प्रधानमन्त्रीका रूपमा गरिएको ‘प्रोजेक्सन’ को परिणाम थियो । 

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि भएको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग महामन्त्री गगन थापा पराजित भएपछि त्यसको राजनीतिक प्रभावबारे बेग्लाबेग्लै व्याख्या विश्लेषण भइराखेको छ । गगन थापालाई नरुचाउने एकथरिको टिप्पणी छ, “देउवाले चुनावमात्र जितेनन्, गगनको शेखीसमेत झारे ।”

अर्काथरि गगनका शुभेच्छुकमा चिन्ता देखिन्छ, “देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धामा उतारेर उनी पक्षका समकालीन नेताले उनलाई नराम्ररी पछारे । अब गगन उठ्न सक्ने छैनन् । उनको आकांक्षा अब नराम्ररी थला परेको छ । अबका दिन गगनका लागि सहज छैनन् ।” 

बहालवाला प्रधानमन्त्रीसमेत रहेका आफ्नै दलका सभापतिलाई चुनौती दिँदै संसदीय दलको नेताका लागि चुनाव लडेका गगन थापाले आशा गरेभन्दा निकै कम मत मात्र पाए । यो उनले सार्वजनिक रूपमै स्वीकार गरिसकेका छन् । 

सभापति देउवाले ६४ मत पाउँदा गगनले केवल २५ मत मात्र पाएका छन् । 

गगनको भेलामा सहभागी भएर हस्ताक्षर गरेकामध्ये पनि सात जनाले गोप्य मतदानमा ‘अन्तर्घात’ गरेको तथ्य खुलेको छ । यो नै उनको  आगामी यात्राको लागि सबैभन्दा ठूलो चुनौती हो । 

तथापि संसदीय दलमा देउवाले समानुपातिक तर्फबाट ल्याएका सांसद् ४० प्रतिशत सांसद हुँदाहुँदै उनले जित्ने आश गर्नु आफैँमा दुष्साहस थियो । 

यसबाहेक गोप्य मतदानका मतपत्र खिचेर फोटो पठाउनुपर्नेसम्मका अपुष्ट समाचारहरू आएका छन् । 

यसले भने प्रष्ट देखाएको छ– गगनका सामु चुनौतीका पहाड बाँकी छन्, जुन आठ हजार मिटरको अन्तिम आधारशिविरबाट सगरमाथा शिखर चुम्नुभन्दा कम चुनौतीपूर्ण छैनन् । 

कमजोर मत पाएर पराजय त भए तर यसका बाबजुद यो परिणामको यथार्थ हो– गगनले देउवालाई राम्रै चुनौती दिन सके तर परिणाम हासिल गर्न सकेनन् । 

अहिलेका कोही पनि कांग्रेस सांसद्ले आफ्ना मतदातालाई आगामी चुनावमा पनि भन्नसक्ने छैनन्– मैले संसदीय दलमा गगनलाई भोट हालिनँ, देउवालाई भोट हालेँ भनेर । यदि यसो भनेको खण्डमा त्यो उमेद्वारलाई मतदाताले मत दिने छैन । यो नै गगनको सम्पत्ति हो ।
 
कांग्रेस महामन्त्री गगन थापा मात्र त्यस्ता उदीयमान राजनीतिज्ञ हुन्,  उनी जे हुन्, त्योभन्दा धेरै ठूलो छवि निर्माण भइसकेको छ । अहिले पनि कसैले रुचाओस् वा नरुचाओस्, गगनका आजका प्रतिस्पर्धी केवल गगन मात्र हुनसक्छन् । 

उनी नेपाली राजनीतिका ‘सेलिब्रिटी’ हुन् । अरु कसैले गगन बन्न खोजेर बन्नसक्ने अवस्था छैन । यसको कारण लोकतन्त्रका लागि गगनले सडकमा बगाएको पसिना, रगत र परिश्रम हो । 

संसदीय दलको नेतामा देउवासँग चुनाव लड्न गत महाधिवेशनमा देउवाका प्रतिद्वन्द्वी शेखर कोइराला तम्तयार थिए । 

उनले शेखरलाई मनाउन सके । कांग्रेसका ‘पब्लिक फेस’हरू शेखरसहित विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल सबैलाई आफ्नो समूहमा ल्याउन सके । यो उनको सफलता हो । 

यसले कांग्रेसभित्र देउवाका विकल्प स्थापित गरिदिएको छ । 

कांग्रेसको आगामी महासमिति बैठक र अर्को महाधिवेशनमा अहिले संसदीय दलको नेतामा लड्दा साथ दिएका नेतालाई एक ठाउँमा उभ्याउन सके भने यही समूहले नेतृत्व खोस्न सक्ने प्रष्ट सन्देश पनि दिएको छ । 

यति भन्दा अत्युक्ति हुँदैन– कांग्रेसका गगन यस्ता एक्ला नेता हुन्, जसमाथि नेपालीको आशा र विश्वास छ, उनलाई आमनेपालीको आशीर्वाद छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro