काठमाडौं । विश्व अहिले फिफा विश्वकप २०२२ को ज्वरोले तातेको छ । फुटबलर मात्र होइन, विश्वभरका फुटबलप्रेमीको ध्यान अहिले कतारका रंगशाला र त्यहाँ उपस्थित खेलाडीमा छ । आज फाइनल म्याच, फुटबलप्रेमीका लागि झन् विशेष दिन हुने नै भयो ।
को अब्बल र को कमजोर भन्ने अड्कलबाजीमा अहिले विश्व रमाइरहेको छ । कसको गोल कसतो र कुन खेलाडीको खेलकौशल कति भन्ने विषयमा विश्व रमिरहेको छ ।
रोनाल्डो अब्बल कि मेसी कुलश ? अथवा एम्बाप्पे ? भन्ने विषयमा विश्व विभाजित छ । समर्थकका आ–आफ्नै तर्क र वितर्क छन् । आफ्नो मन परेको टिम र खेलाडीका तस्बिर र पोस्टले सामाजिक सञ्जाल रंगिएका छन् । सामाजिक सञ्जाल मात्र होइन, सञ्चारमाध्यमको ‘स्पेस’ पनि विश्वकपले त्यति नै ‘अकुपाई’ गरिरहेको छ ।
कोही रोनाल्डो त कोही मेसीका फ्यान छन् । हाराहारीमा फ्यान बटुलिसकेका एम्बाप्पे अर्का अलौकिक स्किल बोकेर विश्वलाई आफूतर्फ आकर्षित गरिरहेका फुटबल स्ट्राइकर हुन् । पोर्चुगल प्रतियोगिताबाट बाहिरिइसकेकाले रोनाल्डोको चर्चाको पारो अहिले ओरालो लागेको छ ।
यी स्ट्राइकरको क्रेज हलिउडको कुनै स्टार अभिनेताको भन्दा कम लोभलाग्दो छैन । बढी नै छ । के यस्ता लोभलाग्दा ‘स्ट्राइकर’ छैनन् हलिउड र बलिउडमा ? थुप्रै छन् । जसले देशको समग्र सिनेमा उद्योगलाई ‘लिड’ गरिरहेका छन् । उनीहरूको गर्विलो नाम र उपस्थितिले मात्र पनि सिनेमा उद्योगको नाम उँचो हुन्छ ।
तर, नेपालमा ? विश्व फुटबलका अहिलेका स्ट्राइकर रोनाल्डो, मेसी र एम्बाप्पेजस्ता ‘हिरो’ नेपाली सिनेमा उद्योगमा छन् ? सहजै भन्न सकिन्छ– छैनन् । र, यसमा धेरैको असहमति पनि रहँदैन होला । यी स्ट्राइकर आवश्यक पर्दा आफ्नो टिमका लागि अप्ठ्यारो परिस्थितिमा पनि विपक्षी एन्टागोनिस्टहरूलाई चिर्दै गोल गर्न सक्छन् । त्यस्तै अलौलिक प्रतिभाशाली सिनेकर्मी नेपाली चलचित्रमा किन छैनन् ? जसको उपस्थितिले मात्र पनि सिनेमा अब्बल हुने अवस्था हुन्थ्यो ।
नेपाली सिनेमाको इतिहास छोटो छैन । छ दशक नाघिसक्यो । कसैले बीचको तीन दशक ‘पञ्चायत थियो नि !’ भनेर माइनस गर्लान् । तर, कलाको भूगोल, सीमा, जात, भेष र रङ हुँदैन । प्रतिभा अप्ठ्यारोमै झन् सशक्त भएर फैलिने हो । हो त्यसैगरी, कमलको फूल हिलोमा आफ्नो सुन्दरता देखाउँदै फूलेझैँ । विश्वास लागेन ? नेपाली ‘गाईजात्रा’लाई हेरौँ । पञ्चायतमै हो, गाईजात्रा सुरु भएको र मौलाएको । पञ्चायतमा जति गाईजात्रा राम्रो र भव्य थियो, त्यति आज छैन । गणतन्त्रमा आइपुग्दा गाईजात्रा त छ, तर नेपाली आहान बिरालो बाँधेर श्राद्ध गरेजस्तै । न राम्रो छ न दर्शकको प्रतीक्षा नै ।
लामो यात्रा तय गरे पनि नेपाली सिनेमा उद्योगमा त्यस्तो केही ठूलो काम भएन, जसलाई बिर्सिनै नसकियोस् । त्यो कोही पात्र जन्मिएन, जसलाई नजरअन्दाज गरेर बस्न नसकियोस् । सिनेमा छ्यापछ्याप्ती बने, वर्षमै सयभन्दा पनि बढी । कलाकारको संख्या कति हो कति । निर्देशक त्यति नै । घरघरमा निर्देशक । तर, सिनेमाको क्वालिटी ? बिर्सनलायक । दर्शक सिनेमा हलबाट १५ मिनेटमा निस्कन्छन् । क्यामेराका अगाडि तारिफ गरे पनि साथी सर्कलमा सिनेकर्मीले दिने प्रतिक्रिया हो– झुर सिनेमा ! समीक्षकको सधैँ गाली । दर्शकको सधैँ असन्तुष्टि ।
निर्देशकसँग प्रोडुसर खुसी छैनन् । दर्शक खुसी छैनन् । एकपटक काम गरेको निर्देशकलाई प्रोडुसर दोहोर्याउँदैनन् । हलमा दर्शकको खाँचो छ । सँगैको अर्को स्क्रिनमा लागेको हिन्दी सिनेमाको टिकट छैन । उदाहरणका लागि अहिले प्रदर्शनमा रहेको ‘अवतार’ हेरे पुग्छ । सिनेमा राम्रो भन्न समीक्षकको कलम चल्दैन । आखिर किन जन्मिएनन् नेपाली सिनेमामा गोल गर्ने ‘स्ट्राइकर’ ?
केही सिनेमा पक्कै चलेका हुन्, ‘छक्का पञ्जा’, ‘कबड्डी’ आदि । तर, यिनीहरूको क्वालिटीमा पनि समीक्षकले प्रश्न उठाएका छन् । मासका भए पनि क्लासका भएनन् भनेर टिप्पणी भएको छ । त्यसैले यसका निर्देशकलाई पनि ‘स्ट्राइकर’ मान्न सकिने अवस्था छैन ।
अब लागौँ कलाकारतर्फ, को हो नेपाली सिनेमामा अभिनयको ‘स्ट्राइकर’ ? बलिउड फर्मुलामा सिनेमा बन्दा भुवन केसी, राजेश हमालको रजगज चल्यो । तर, उनीहरूले पनि त्यस्ता सिनेमा दिन सकेनन्, जसलाई नेपाली दर्शकले जुगजुग सम्झिऊन् ।
अहिलेका व्यस्त चकलेटी नायकहरूको अभिनय क्षमतामा प्रश्न उठिरहेकै छ । चरित्र अभिनेताबाट आफूलाई अभिनयमा पोख्त भन्नेहरूले पनि कालजयी सिनेमा दिन सकेका छैनन् । भएको स्किल पनि छनोटमा अक्कल नपुर्याउँदा गुमाउने स्थितिमा पुगिसकेको सतहमै देखिएको छ । फेरि पनि त्यही प्रश्न, त्यसो भए खोइ नेपाली सिनेमामा स्ट्राइकर ? खोइ नेपाली सिनेमामा रोनाल्डो, एम्बाप्पे र मेसी ?
स्ट्राइकरबिनाको खेल कसले हेर्छ, गोल नहान्ने खेलाडी कसरी स्ट्राइकर कहलिन्छ, गोल नहुने खेल कसरी रोमाञ्चक हुन्छ ? नेपाली सिनेमा उद्योगले यो प्रश्न सामना गरिरहेको छ । ‘स्ट्राइकर’ त्यो हो, जसले टिमलाई आवश्यक परेका बेला प्रतिकूलता चिर्दै गोल गरेर जिताउँछ । टिमको मात्र होइन, समग्र देशको इज्जत जोगाउँछ । देशलाई विश्वभर चिनाउँछ । त्यस्ता सिनेमा नेपालमा बने जसले विश्वबजारमा नेपाली सिनेमा भनेर आफूलाई गर्वसाथ उभ्याए ? त्यस्ता नेपाली सिनेमा छन् जसले विश्वमा नेपाल भनेर चिनाए ? छैन । त्यसैले नेपाली सिनेमामा कोही ‘स्ट्राइकर’ छैन, जसले गतिलो सिनेमा दिएको होस् ।