काठमाडौं । सिनेमा कस्तो हुनुपर्छ ? यस्तै भन्ने कुनै सर्वमान्य नियम छैन । कस्तो सिनेमा राम्रो ? व्यक्तिको रोजाइअनुसार निर्धारण होला । त्यसो भए सिनेमा निर्माणको व्याकरण हुँदैन ? चिया पकाउने त व्याकरण हुन्छ– पानी, चियापत्ती र चिनी उमाल्नुपर्छ भने चलचित्र निर्माणको व्याकरण पनि पक्कै हुन्छ । कथा, पटकथा, डाइलग, साउन्ड, कलर, पात्र, अभिनय आदि थुप्रै ।
चलचित्रमा निर्माणका यी आधारभूत पक्ष हुन् । चलचित्र निर्माणका लागि यी अनिवार्य सर्त हुन् । त्यसो भए चार फाइट, पाँच गीत, हिरो–हिरोइनको रोमान्स, शक्तिशाली प्रोटागोनिस्ट र कमजोर एन्टागोनिस्ट सिनेमाको व्याकरण हो ? यो बलिउड चलचित्र निर्माणको व्याकरण हो । तर, नेपालमा यसैलाई सिनेमाको व्याकरण मान्ने धेरै छन् । यो सिनेमाको सर्वमान्य व्याकरण होइन । बलिउडको मात्र व्याकरण हो ।
सिनेमा निर्माणको आ–आफ्नै तौरतरिका हुन्छ । जसले जस्तोसुकै सिनेमा निर्माण गरे पनि सिनेमाको मुख्य विषय कन्टेन्ट नै हो । र, त्यसको सबल फर्म हो । कन्टेन्ट जब बलियो हुँदैन, चलचित्र राम्रो हुँदैन । सिनेमाको मेरुदण्ड नै कन्टेन्ट हो । त्यसैले चलचित्रको मुख्य व्याकरण नै फर्ममा उनिएको कन्टेन्ट र दृश्य हो । तर, चार फाइट, पाँच गीत, गुडलुकिङ हिरो–हिरोइन र अभिनय नै सिनेमाको व्याकरण हो । गीतबिना पनि सिनेमा बन्छन् । गुडलुकिङ हिरो–हिरोइनबिना पनि सिनेमा बन्छन् । बनिरहेकै छन् ।
नेपालमा पनि बलिउड सूत्रबिनाका थुप्रै सिनेमा बनेका छन् । यसको सुरुआत नवीन सुब्बाको ‘नुमाफुङ’ बाट भएको हो । त्योभन्दा अलि अगाडि गएर हेर्दा ‘वासुदेव’ले यसको जग हालेको मान्न सकिन्छ । ‘वासुदेव’, ‘नुमाफुङ’ लगायत केही चलचित्रले कोरेको मार्गमा ‘लुट’ आएपछि बाटो अझ चौडा बन्यो । यी चलचित्रले खनेको बाटोमा थुप्रै नेपाली मेकर हिँडे । भलै, ती चलचित्र कति सफल कति असफल भए, त्यो अलग पाटो हो ।
“सबैभन्दा पहिला चलचित्र समाजको ऐना हो । चलचित्र समाजको ऐना हो भनेपछि त्यसमा समाज झल्किनुपर्छ,” निर्देशक तथा कलाकार आकाश अधिकारी भन्छन्, “कमर्सियल सिनेमाको हकमा केही फेन्टासी आवश्यक हुन्छ । तर, सिनेमाले समाजको कथा भन्ने हो । समाजको चित्रण गर्नु सिनेमाको धर्म हो । तर, कसरी गर्ने भन्ने कुरा नै व्याकरण हो । समाज बताउने कथा सिनेम्याटिक फर्ममा भन्नु हो ।”
समाजभन्दा बाहिर गएर चलचित्र निर्माण गर्न नसकिने र त्यसो हुँदा त्यो सिनेमाको व्याकरणभित्र नपर्ने आकाश बताउँछन् । अलग–अलग ठाउँका अलग–अलग व्याकरण हुन सक्ने उनको धारणा छ । समाज जस्तो छ, त्यस्तै कथा भन्नुपर्ने भएकाले समाजले चलचित्रको व्याकरण निर्धारण गर्ने उनको बुझाइ छ ।
“देशको कला, संस्कृति जोगाउनु पनि सिनेमाको दायित्व हो । चलचित्रमा हिजो, आज र भोलि हुने र हुन सक्ने घटनालाई सिनेमाले समेट्ने हो,” आकाश भन्छन्, “सिनेमा मनोरञ्जनात्मक पनि हुनुपर्छ भन्ने भएकाले देखाउन खोजेको विषयलाई फेन्टासी पनि बनाउनुपर्ने हुन्छ । तर, चलचित्र बनाउँदै गर्दा कसरी त्यसलाई इंगेजिङ बनाउने त्यसमा पनि ध्यान दिनुपर्छ ।”
सिनेमा मनोरञ्जनात्मकसँगै विषयप्रधान पनि हुनुपर्ने भएकाले यसले राज्यको भाषा, कला, संस्कृति, घटनाक्रमलाई समेट्ने उनी बताउँछन् । आफूहरूले पटक–पटक राज्यले सिनेमालाई संरक्षण गर्नुपर्छ भनेर आग्रह गर्ने गरेको उनी सुनाउँछन् । “सिनेमा भनेको मनोरञ्जन र फाइट मात्रै हो भनेर भनियो भने त्यो गलत हुन्छ । त्यसैले सिनेमा व्याकरणभित्र पनि बस्नुपर्छ । मनोरञ्जनका साधन त अहिले हजारौँ छन्,” आकाश अगाडि थप्छन्, “मनोरञ्जनका हजारौँ माध्यम हात–हातमा हुँदाहुँदै किन सिनेमा नै चाहियो ? राज्य झल्काउने माध्यम भएकाले राज्यले संरक्षण गर्नुपर्छ भन्ने हो ।”
सिनेमा दृश्य भाषाको माध्यम हो । हरेक भाषाको आफ्नो व्याकरण हुन्छ । दृश्य भाषाको पनि व्याकरण हुन्छ । जसले दृश्यको व्याकरण जान्दछ, उसको सिनेमा राम्रो हुन्छ । जसले दृश्यको व्याकरण जान्दैन, उसको सिनेमा राम्रो हुँदैन । जसले कथा निर्माण र दृश्य निर्माणको व्याकरण बुझेको हुन्छ, उसको सिनेमा राम्रो हुन्छ । जसले व्याकरण फलो गर्दैनन्, उसको सिनेमा राम्रा हुँदैनन् ।
केही मेकरका पहिलो सिनेमा राम्रा हुने गरेका छन् । त्यसपछिका चलचित्र अपेक्षित हुँदैनन्, किन ?
सिनेमा निर्माणको भोक र लामो समयको तयारीपछि बनाउने चलचित्रमा भावनात्मक पक्ष पनि जोडिने भएकाले ती राम्रा हुने गरेका हुन् । कतिपय अवस्थामा व्याकरण नबुझी निर्माण गरे पनि आफैँ मिल्ने र त्यस्ता चलचित्र इंगेजिङ हुने गरेका छन् । जसका कारण ती चलचित्र चल्छन्, तर त्यही मेकरका बाँकी चलचित्र चल्दैनन् । राम्रो चलचित्र बनाउन र दर्शकलाई इंजेग गराउन मेकरमा सिनेमाको व्याकरणको ज्ञान हुनुपर्छ ।
जो मेकरले चलचित्रको व्याकरणमा कथा र दृश्यलाई ढाल्न सक्छ, उही रजतपटको दुनियाँमा सफल हुन्छ । कथा र दृश्यसँगै सिनेमाका अरू पक्षको पनि व्याकरण जान्नुपर्ने भएकाले मेकर मल्टिपल व्याकरणमा पोख्त हुनुपर्छ ।
कथा र दृश्य मात्र होइन, मान्छेको मनोविज्ञानको व्याकरण पनि मेकरले बुझ्नुपर्छ । जो मान्छे दबाइएको र उपेक्षामा परेको हुन्छ, उही विद्रोही हुनसक्छ भन्ने मनोविज्ञान व्याकरणको ज्ञान पनि मेकरमा हुनुपर्छ । पात्रहरूलाई कसरी बहुआयामिक बनाउने, पात्रहरूको संघर्ष निर्माणमा कसरी अब्स्ट्रयाकल सिर्जना गर्ने, पात्रहरूको लक्ष्य कसरी निर्माण गर्ने भन्ने विषय कथात्मक व्याकरण हो । चलचित्रको व्याकरणले त्यसभित्रका धेरै समस्याको समाधान गरिसकेको हुन्छ । त्यसैले यसको ज्ञान मेकरका लागि अपरिहार्य छ ।
सिनेमाप्रतिको कमजोर बुझाइ नेपाली चलचित्र क्षेत्रको नकारात्मक पक्ष भएको निर्देशक सुजित बिडारी बताउँछन् । इन्स्टिच्युटमा गएर सिनेमाबारे सामान्य जानकारी लिने र त्यसैलाई सामान्यीकरण गर्ने प्रवृत्ति नेपाली सिनेमाका लागि घातक भइरहेको उनको बुझाइ छ ।
नेपालका अधिकांश चलचित्र व्याकरणीय हिसाबले कमजोर मानिन्छ । परिणामः चलचित्रले दर्शकसँग कम्युनिकेसन गर्न सक्तैन । हलमा चल्दैन ।
“शब्दशब्द मिलेर भाषा बन्छ । भाषाले त्यसको अर्थ बताउँछ । कुनकुन शब्द राख्दा आफूले भन्न खोजेको कुरा सहजै बुझाउन सकिन्छ भनेर वाक्य बनाउने हो,” उनी भन्छन्, “सिनेमा पनि दृश्य भाषा हो । फ्रेमफ्रेम मिलेर सर्ट बन्छ । सर्टसर्ट मिलेर सिन बन्छ । सिनसिन मिलेर सिक्वेन्स बन्छ । सिक्वेन्ससिक्वेन्स मिलेर स्टोरी बन्छ । यही कुराको युटिलाइजेन्स नै सिनेमाको ग्रामर हो ।”
चलचित्रको यो व्याकरण अनिवार्य फलो गर्नैपर्छ भन्ने छैन । तर, फलो गर्दा सिनेमा नबिग्रिने सम्भावना कम हुने सुजित बताउँछन् ।
“नेपाली भाषा बोल्दा पनि हामी व्याकरण सिकेर बोल्न थालेका हैनौँ । त्यसैगरी, सिनेमा बनाउँदा पनि यसको व्याकरण जान्नैपर्छ भन्ने छैन,” सुजित भन्छन्, “तर, जानेर गरेको काम राम्रो हुन्छ ।”
यद्यपि, व्याकरणानुसार स्टोरी टेलिङमाा योपछि यो हुनुपर्छ भनेर स्ट्रक्चर फलो गर्दा टेक्निकल हुने र त्यस्तो सिनेमाले सिर्जना गर्ने इमोसन हराउने सम्भावना हुन्छ ।” व्याकरण फलो गर्ने क्रममा टेक्निकल बढी हुँदा त्यसको इफेक्टिभनेस कम हुने गरेको उनी सुनाउँछन् ।
सिनेमाको सर्वमान्य व्याकरण छैन । त्यसैले व्याकरणबिना नै सिनेमा बनाउन सकिन्छ भनेर लागियो भने त्यो अन्ततः घातक हुन्छ । आधारभूत व्याकरण लिएर त्यसलाई आफूले परिमार्जन गर्दै जानुपर्छ । भारतकै सलिम जावेद, अनुराग कस्यप आधारभूत व्याकरणभित्र रहेर त्यसमा आफ्नै पन दिएर अगाडि बढ्दा सफल भएका लेखक तथा मेकर हुन् ।