काठमाडौं । नेपाल सिनेमाको कथाका हिसाबले ‘भर्जिन ल्यान्ड’ हो । यहाँको कला, संस्कृति, रहनसहन, हिमाल तथा ऐतिहासिक विषयभित्रबाट कैयन् सिनेमा बनाउन सकिन्छ । विषय पर्याप्त हुँदाहुँदै त्यसलाई उठान गर्न नसक्नु नेपाली सिनेमा उद्योगको कमजोरी हो । नेपाल आउने विदेशी सिनेकर्मीले पनि यो भन्दै आएको विषय हो ।
तर, ६ दशक लामो इतिहास बोके पनि नेपाली चलचित्र उद्योग गर्व गर्न लायक बनिसकेको छैन । विश्व बजारलाई चुनौती दिने त परको कुरा, नेपाली सिनेमा भनेर चिनाउने चलचित्र पनि बनेका छैनन् ।
आफ्नो कमजोरी स्वयं चलचित्रकर्मी नै स्वीकार गर्छन् । पर्याप्त सम्भावना र अवसर हुँदाहुँदै पनि काम हुन नसकेको उनीहरू स्वयंको मूल्यांकन छ ।
यसका पछाडि थुप्रै कारण रहेको कलाकार, निर्माता तथा निर्देशक नवल खड्का बताउँछन् । राज्य र दर्शक दुवैको प्राथमिकतामा ऐतिहासिक विषयवस्तुका सिनेमा नपर्ने गरेको उनको गुनासो छ । राज्यले सिनेमा क्षेत्रलाई ‘सौतेनी’ व्यवहार गर्ने गरेको भन्दै नवल दर्शकले पनि ‘नेसन फर्स्ट’ भन्ने भावना नराख्ने गरेको जिकिर गर्छन् ।
“ऐतिहासिक विषयका सिनेमामा कसले लगानी गर्ने भन्ने समस्या छ । यस्ता सिनेमामा रिस्क धेरै हुन्छ,” चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका नवल भन्छन्, “सामान्य विषयमा सतही तरिकाले बनाइएका हाइफाइवाला सिनेमा मात्रै चलिरहेका छन् । फन्डावाला सिनेमा चल्ने तर देशको इतिहासका विषयमा बनाइएका सिनेमा चलिरहेका छैनन् ।”
तर, दर्शक र राज्यलाई मात्र दोष दिएर उम्कन नहुने नवल स्पष्ट पार्छन् । “नेतासँगै सिनेमा मेकर पनि जोकर नै भयौँ कि भन्ने लाग्छ । न हामीले व्यक्तिगत तवरबाट राम्रो सिनेमा बनाउन सक्यौँ, न त राज्यले नै यसमा सहयोग गर्यो ।”
ऐतिहासिक विषयमा सिनेमा निर्माण गर्दा त्यसमा पर्याप्त रिसर्च र मिहिनेत गर्नुपर्ने उनी औँल्याउँछन् । त्यसमा नेपाली सिनेमा मेकरले खासै ध्यान नदिने गरेको उनी स्वीकार गर्छन् । “ऐतिहासिक विषयमा गहिरो अध्ययन गरेर वाउ ! भन्ने चलचित्र हामीले पनि बनाउन नसकेको पक्कै हो,” नवल भन्छन्, “तर, बनेका चलचित्रको पनि उचित मूल्यांकन हुन सकेको छैन ।”
नेपाली सिनेमा अहिले नै बलिउड र हलिउडसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगिनसकेको भन्दै उनी यहाँको आन्तरिक साधन–स्रोतलाई केन्द्रमा राखेर मूल्यांकन गर्नुपर्नेमा जोड दिन्छन् । “हलिउड, बलिउडको टेक्नोलोजी, अनुभव, क्षमता, सीप, चलचित्रको उनीहरूको लामो इतिहाससँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौँ,” नवल अगाडि थप्छन्, “तर, हामी उनीहरूभन्दा विषयवस्तुका हिसाबले धेरै अगाडि छौँ ।”
विषयका हिसाबले कति माथि छौँ भनेर देखाउन सकिने तर त्यसमा पछि परेको यथार्थ उनी सुनाउँछन् । “हामी नेपाली मेकर हलिउड र बलिउड सिनेमा हेरेर त्यसको ब्ल्याक एन्ड ह्वाइट कपी गर्नमै रमाइएरहेका छौँ । कपी पनि ब्ल्याक एन्ड ह्वाइट कपी गर्यौँ । कलरको कलर नै कपी गरेको भए कम्तीमा हेर्न हुने हुन्थ्यो होला, त्यो पनि गर्न सक्ने अवस्थामा हामी छैनौँ,” उनी भन्छन्, “त्यसैले हामी पछि परिरहेका छौँ । केही सिनेमा बने पनि क्वालिटीको काम भएको छैन ।”
व्यक्तिगत तवरबाट यस्ता विषयको उठान र विस्तारका लागि पहलकदमी भए पनि राज्यले भने बेवास्ता गरेको उनको गुनासो छ । राज्य र चलचित्रसँग सम्बन्धित संघसंस्थाबाट न्यूनतम पनि प्रयास नभएको बताउँदै उनी भन्छन्, “कसैले कुरा लिएर गयो भने राज्य त सुन्दा पनि सुन्दैन ।”
यो अवस्थाको जिम्मेवार नागरिक स्वयं रहेको उनको भनाइ छ । नागरिकले कला, साहित्य, भाषा, संस्कृति र नेसन फर्स्ट भन्ने जनप्रतिनिधि छनोट गर्न नसकेको उनी बताउँछन् । “कला, संस्कृति, संगीत, साहित्य, भाषा, इतिहास भूगोललगायत विषय एउटै चलचित्रमा समावेश हुने भएकाले सिनेमा वास्तवमा कलाको मेरुदण्ड हो,” उनी अगाडि थप्छन्, “तर, राष्ट्रको मेरुदण्डलाई नै अपांग बनाइसकेपछि त्यसका अन्य अंग सबल र सक्षम हुँदैनन् भन्ने राज्यले बुझ्नुपर्छ ।”
कला क्षेत्रलाई महत्त्व नदिने देश कहिल्यै समृद्ध नहुने नवलको तर्क छ । हलिउड र बलिउडलाई राज्यले प्राथमिकता दिएकै कारण अगाडि बढेको उनको जिरिह छ । देशको प्रतिनिधित्त्व गर्ने चलचित्रको सम्पूर्ण लगानी बलिउड र हलिउडमा राज्यले गर्ने गरेको स्मरण गर्दै उनी त्यसकै कारण आज विश्वभर उनीहरूको बोलावाला रहेको बताउँछन् । राज्यले चासो नदेखाएसम्म नेपाली कला, साहित्यको प्रवद्र्धन नहुने उनको निष्कर्ष छ ।
देशले गौरव गर्ने ऐतिहासिक महत्त्वका विषयमा सिनेमा बनाउन सकिने तर त्यसका पछाडि थुप्रै चुनौती रहेको नायक निखिल उप्रेती बताउँछन् । आफैँ पनि ऐतिहासिक विषयमा सिनेमा बनाउने तयारीमा रहेको उनी सुनाउँछन् । “सक्दै नसकिने त होइन, म आफैँ पनि यस्तो सिनेमा बनाउने प्रयास गरिरहेको छु । तर, यस्ता सिनेमा बनाउने क्रममा मैले फेस गरेका समस्या अजिब–अजिबका छन्,” निखिल भन्छन् ।
ऐतिहासिक विषयमा अहिले बनिरहेका सिनेमा हेर्न लायक नरहेको उनको टिप्पणी छ । अरूको कामप्रति टिप्पणी गर्ने रहर नभएको तर सिनेमा हेर्दा त्यो गर्नैपर्ने बाध्यता रहेको उनी बताउँछन् ।
“जहाँ इतिहास उठाइन्छ, त्यहाँ गफको फिलोसफीले चल्दैन । त्यहाँ तथ्यहरू आफैँ बोल्नुपर्छ । इतिहासका पाना पल्टिनुपर्छ,” निखिल अगाडि थप्छन्, “सिनेमामा स्क्रिन प्ले चाहिन्छ । सिनेमा हेर्ने कुरा हो । जब त्यही नै देखाउन सकिँदैन, देखाउन खोजेको कुरामै अवास्तविकता झल्किन्छ भने गरिबीमा राजालाई देखाएजस्तै हास्यास्पद मात्रै हुन्छ ।”
बनाउन सक्ने अवस्थामा मात्र ऐतिहासिक विषयवस्तुको उठान गर्नुपर्नेमा उनी जोड दिन्छन् । पहिला गहन अध्ययन चाहिने र त्यसपछि मात्र कलाको विषय आउने तथ्य नभुल्न निखिलको आग्रह छ । “जब अध्ययनमै कमी हुन्छ भने कलामा पनि कमजोरी हुन्छ,” उनी भन्छन्, “हामी विषयवस्तुको अध्ययन नै गर्न सक्दैनौँ भने बजेट, प्रोडक्सन, अभिनय र बजारको कुरा त पछि आउँछ ।”
यस्ता सिनेमालाई आफ्नो पन दिएर बजार विस्तार गर्न सकिने उनको धारणा छ । वैदेशिक सिनेमाले नेपालमाथि गरिरहेको आक्रमण रोक्नु पनि अर्को महत्त्वपूर्ण पक्ष भएको निखिल बताउँछन् । बाहिरको सिनेमा कपी गरेर नेपाली भााषा प्रयोग गरेर ढाकाटोपी लगाउँदैमा मौलिक सिनेमा नहुने उनको टिप्पणी छ ।
“विश्व बजारमा गएर व्यापार गर्न कुनै एउटै मात्रै तरिका हुन्छ भन्ने मलाई लाग्दैन । त्यसमा पनि कलाको बजार बोर्डरलेस हुन्छ र हामीले पनि त्यही नै गर्नुपर्छ,” निखिल भन्छन् ।
ऐतिहासिक विषयवस्तु उठाउने सहास गर्नुअघि त्यसको गहिरो अध्ययन गर्न सकिन्छ कि सकिँदैन भनेर मात्र काम सुरु गर्नुपर्नेमा निखिलको जोड छ ।