site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दयाहाङ, सौगात र विपीनको उमेरसँगै नेपाली सिनेमा पनि मेच्योर्ड होला ?

काठमाडौं । नेपाली रजतपटमा अहिले पहिलो रोजाइका अभिनेता हुन्, दयाहाङ राई, विपीन कार्की र सौगात मल्ल । उनीहरू प्रोडुसरको खोजीमा पर्ने अभिनेता हुन् । सुरुमा अब्सट्रयाक मुभीका लागि मात्र यी कलाकार खोजिने गरिएकामा केही वर्षयता कमर्सियल चलचित्रमा पनि खोजिने नाममा दयाहाङ, सौगात र विपीन अग्रपंक्तिमा पर्छन् । बलिउड सूत्रमा बन्ने फुल कमर्सियल चलचित्रमा भने अहिले पनि अनमोल केसी, प्रदीप खड्काहरूकै नाम अगाडि आउँछ । पूर्ण कमर्सियल भनेर प्रचार गरिएका सबै चलचित्रले पनि लोभलाग्दो व्यापार गरेका छैनन् । किन ? यो बहसको अर्को पाटो हो ।

दयाहाङ र सौगातको नेपाली रजतपटमा रजगज चलेको एक दशक भयो । विपीनको पनि आधा दशक नाघिसक्यो । यी अभिनेता नेपाली चलचित्रमा डेब्यु गरेको लामो समय हुनु भनेको उमेरले पनि परिपक्व हुनु हो । उमेर परिपक्व भएसँगै अब उनीहरूलाई टिनेजको लभस्टोरी त्यति धेरै सुहाउँदैन । त्यसैले अब उनीहरूलाई उमेरअनुसारको कथा चाहिन्छ । अन्यथा, आर्टिफिसियल देखिने सम्भावना उच्च हुन्छ ।

सिनेमालाई बलियो बनाउने हो भने व्यक्तिअनुसारको कथा चाहिन्छ । कथाअनुसार क्यारेक्टर ढल्न सक्नुपर्छ । अन्यथा, चलचित्र बलियो बन्न सक्दैन । सिनेमामा पात्रानुसारको कथा हुनुपर्छ । कथाअनुसारको पात्र नभए सिनेमा स्वतः फितलो हुन्छ । त्यसैले अब दयाहाङ, सौगात अथवा विपीनलाई चलचित्रमा अभिनय गराउन उनीहरूको उमेरअनुसारको कथा लेखिनुपर्छ । त्यसो भए अब उनीहरूको उमेरसँगै नेपाली सिनेमा पनि परिपक्व हुन्छ ?

“सिनेमा परिपक्व हुन सबैभन्दा पहिला कन्टेन्ट नै बलियो हुनुपर्छ । यसका लागि राइटरले राम्रो कथा लेख्नुपर्‍यो,” चलचित्र ‘हरि’का निर्देशक सफल केसी भन्छन्, “व्यक्ति हेरेर कथा लेखियो भने पक्कै पनि परिपक्व सिनेमा आउँछन् । यसका लागि अब मेकर सचेत हुनुपर्छ ।”

पछिल्लो समय नेपाली चलचित्र उद्योगमा मेकरहरू केही सचेत हुन थालेको सफल बताउँछन् । प्रोडक्सन डिजाइन, आर्ट डिरेक्टरलगायत सिनेमा निर्माणका महत्त्वपूर्ण पक्षामा ध्यान दिन थालिएको उनको भनाइ छ ।

“केही समययता हेर्ने हो भने सिनेमालाई कसरी राम्रो बनाउने भन्ने पक्षमा मेकर केन्द्रित हुन थालेका छन् । प्रोडक्सन डिजाइन र आर्ट डिरेक्टर राखेर काम गर्न थालेको देखिन्छ,” सफल भन्छन्, “नयाँ मात्रै होइन, अहिले पुराना निर्देशक तथा निर्माताले पनि प्रोडक्सन डिजाइन र आर्ट डिरेक्टर राखेर काम गर्न थालेका छन् ।”

उमेरअनुसारको कथा लेखिनुपर्नेमा निर्देशक मनोज पण्डितको जोड छ । अहिलेका रोजाइका कलाकारको उमेर परिपक्व हुँदै जाँदा सिनेमा पनि परिपक्व हुनुपर्ने उनी औँल्याउँछन् । “दयाहाङ, सौगात र विपीनको उमेर परिपक्व हुँदै जाँदा नेपाली सिनेमा उद्योग पनि परिपक्व हुनुपर्छ कि पर्दैन भन्ने अहिलेको मुख्य प्रश्न हो,” मनोज अगाडि थप्छन्, “चालीस वर्षको उमेर पुगेका अभिनेतालाई रुखको वरिपरि घुमेर नाच्ने कथा सुहाउँदैन । यदि, उनीहरूलाई चलचित्रमा अभिनय गराउने हो भने कथा पनि त्यहीअनुसारको हुने हो ।”

उमेर र अवस्था हेरेर कथा लेखिए दयाहाङ, विपीन र सौगातको उमेरसँगै नेपाली सिनेमाको स्तर पनि उकासिनेमा मनोज ढुक्क सुनिए । लभस्टोरीका लागि कि नयाँ कलाकारले उनीहरूलाई रिप्लेस गर्नुपर्ने, नभए सुहाउँदो कथा छान्दा विषयप्रधान चलचित्रको संख्या बढ्ने उनको विश्वास छ ।

“यी कलाकारलाई सेन्ट्रलमा राख्ने हो भने त्यहीअनुसारको कथा आउँदा सिनेमा आफैँमा बलियो भएर आउने सम्भावना उच्च हुन्छ । तर, यसमा मेकर सचेत हुनुपर्छ,” मनोज भन्छन्, “अहिले पनि ७० नाघेका अमिताभ बच्चन मुख्य भूमिकामा खेलिरहेका हुन्छन् । बलिउडका अधिकांश पाका अभिनेता तथा अभिनेत्री सेन्ट्रल क्यारेक्टरमा अहिले पनि खेलिरहेका छन् ।”

हलिउड र बलिउडले अहिले पनि त्यहाँका लोकप्रिय तर पाका अभिनेतालाई उनीहरू सुहाउँदो कथा लेखेर अभिनय गराइरहेका हुन्छन् । त्यसैले त्यहाँ विभिन्न खालका कथा सिनेमामा आइरहेका हुन्छन् ।

नेपाली चलचित्र उद्योगमा अहिले पनि अधिकांश सिनेमा मायाप्रेमका विषयमै सीमित छन् । नेपाली सिनेमाको कथा हेर्दा अहिलेका चल्तीका अभिनेताले कि उमेर सुहाउँदो नभए यिनै चलचित्रमा काम गर्नुपर्‍यो । होइन भने ‘खेल्दिनँ’ भन्न सक्नुपर्‍यो । अथवा, नयाँ पुस्ताले अहिलेको पुस्तालाई रिप्लेस गर्न सक्नुपर्‍यो ।

चलचित्र समीक्षक अनुप सुवेदी स्टारडम भएका कलाकारलाई जुनसुकै कथामा पनि लिने गरिएको बताउँछन् । रुचाइएका कलाकारलाई कथा र उमेरभन्दा पनि बक्सअफिसको लोभले मेकरले लिने गरेको उनको भनाइ छ ।

“राजेश हमाल उमेर ढल्किसक्दा पनि केटौली कथामै खेलेको हामी धेरैलाई थाहै छ । यो उनको स्टारडमकै कारण हो,” उनी भन्छन्, “नेपालमा मात्रै होइन, विश्वभर नै यस्तै हुन्छ ।” 

उमेर सुहाउँदा कथा लेखन र कलाकारले पनि सोहीअनुसारको छनोट गरे विविधता आउने अनुप बताउँछन् । “अहिलेसम्म राम्रा सिनेमा नबनाउने मेकरले राम्रा बनाउलान् भन्ने अपेक्षा त कमै हुन्छ,” अनुप अगाडि थप्छन्, “तर, नेपाली सिनेमामा पनि भेराइटी हुन्थ्यो । नाच्ने, गाउने मात्रै सिनेमा हुँदैन थिए ।”

सिनेमाको विविधता बढाउन सम्बन्धित देशको दर्शकको रुचि कस्तो सिनेमामा छ भन्ने पक्षले पनि अर्थ राख्ने उनको भनाइ छ । जुन किसिमको सिनेमाका दर्शक उच्च हुन्छन्, मेकरले त्यस्तै सिनेमा बनाउने अनुप बताउँन् । परिवार नै सिनेमा हेर्न जान्छन् अथवा युवा पुस्ता मात्र भन्ने कुराले सिनेमाको विषय निर्धारण गर्ने उनी स्पष्ट पार्छन् ।

“महापुरुष, छक्कापञ्जा, कबड्डीजस्ता सिनेमा हेर्न पूरै परिवार नै हलमा गएको देखिन्छ । यदि, परिवार नै हलमा जाने हो भने मेच्योर्ड सिनेमा पनि बनाउन र चल्न सक्छन्,” अनुप स्पष्ट पार्छन् । 

स्टारडमबाहिर गएर कमैले चलचित्र बनाउने गरेको उनको भनाइ छ । जे बजारमा चल्छ, त्यसकै पछि लाग्ने भएकाले अझै पनि विषयप्रधान सिनेमाका लागि नेपालमा केही समय कुर्नैैपर्ने अनुपको धारणा छ ।

“यसका लागि मिहिनेत पनि चाहिन्छ, बजार पनि ठूलो चाहिन्छ । रिस्क लिने लगानीकर्ता पनि हुनुपर्छ,” उनी भन्छन्, “सानो बजार भएको देशमा क्वालिटी फिल्म रिस्कमा हुन्छ । त्यसैले यो रिस्क कसले व्यहोर्ने भन्ने पनि हो ।”

विश्वका साना देशमा क्वालिटी फिल्ममा सरकारले लगानी गर्ने गरेको स्मरण गर्दै नेपालमा भने त्यो नदेखिँदा मेच्योर्ड सिनेमा तत्काल कमै बन्ने उनी बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro