काठमाडौं । वि.सं. २०६२/०६३ को जनआन्दोलनपछि नेपाली सिनेमा उद्योगमा विद्रोह भयो । बलिउड सिनेमाको प्रभावमा सोही सूत्रमा नेपाली चलचित्र बनिरहेको बेला ‘अब्स्ट्रयाक’ सिनेमा बन्न थाले । जस्तै : ‘चपलीहाइट’, ‘लुट’, ‘बधशाला’, ‘हाइवे’ आदि । एकै प्रकृतिका चलचित्र बनिरहेको उद्योगमा फरक खालका सिनेमा निर्माण भए ।
पाँच गीत, चार फाइट, हिरो–हिरोइनको रोमान्स । र, अन्ततः प्रोटागोनिस्टको जित । बलिउडको यो फर्मुलामा हिँडिरहेको सिनेमा उद्योगले बाटो मोड्न थाल्यो । गीत र फाइटबिनाका सिनेमा बन्न थाले । आफ्नै गाउँठाउँको कथा र लवज सिनेमामा देखिन थाल्यो ।
बलिष्ठ सुगठित शरीर भएको आर्य फेस मात्र हिरो हुन्छ भन्ने नायकको मानक भत्कियो । भुवन केसी र राजेश हमालको युग सकियो । यसर्थ, यसलाई सिनेमाभित्रको विद्रोह भन्न सकिन्छ । राजनीतिमा जसरी विद्रोह भयो, त्यसको छाया सायद फिल्ममेकरमा पनि पर्यो । परम्परागत धारलाई चुनौती दिँदै फरक शैलीमा सिनेमा बन्न थाले । त्यसको निरन्तरता आजसम्म परिरहेकै छ । पछिल्लो समय आउने अधिकांश नयाँ मेकरले बलिउड फर्मुलालाई छोडेर वैकल्पिक धारमा रहेर सिनेमा बनाइरहेका छन् ।
परम्परागत सिनेमा निर्माणको शैलीमा धक्का लागेसँगै राजेश हमाल, भुवन केसी छायामा परे । दयाहाङ राई, सौगात मल्ल, विपीन कार्कीलगायत चरित्र अभिनेताहरूको उदय भयो । अहिले नेपाली रजतपटमा यिनै कलाकारको रजगज छ ।
०६२/०६३ को आन्दोलनले दिएको राजनीतिक परिवर्तनसँगै नेपाली सिनेमामा पनि फरकपन देखियो । राजनीतिक परिवर्तनको असर हो वा संयोग मात्र, त्यो अध्ययनको विषय होला । तर, कालखण्डलाई हेर्ने हो भने आन्दोलनपछि सिनेमाले ‘ट्रयाक चेन्ज’ गरेको सत्य हो । बलिउड फर्मुला सिनेमाको बोलावाला अन्त्य भयो । ‘फरक धार’ भनिने सिनेमाले राम्रै व्यापार पनि गर्न थाले । ‘कबड्डी’, ‘छक्कापञ्जा’ यसका उदाहरण हुन् । ‘छक्का पञ्जा’ मास अपिल गर्ने सिनेमा बन्यो । आफ्नै लवज लिएर आएको ‘कबड्डी’लाई दर्शकले रुचाए ।
०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं, धरानलगायत सहरमा जनताले ‘विद्रोह’ गरे । जनताले विद्रोह गर्दाको परिणाम स्वतन्त्रबाट उमेदवारी दिएका बालेन्द्र शाह (बालेन) काठमाडौंको मेयरमा निर्वाचित भए । धरानमा स्वतन्त्र उमेदवार हर्क साम्पाङले बाजी मारे । भर्खरै सम्पन्न निर्वाचनमा पहिलोपटक चुनावमा होमिएको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेलगायत निर्वाचित भए ।
राजनीतिक पृष्ठभूमि नभएका व्यक्ति अचानक राजनीतिमा आएर नयाँ शक्तिका रूपमा उदाएका छन् । आफ्नो पेसा, व्यवसाय छोडेर राजनीतिमा आउने व्यक्ति स्वयंको विद्रोह हो । अर्कोतर्फ, राजनीतिक पृष्ठभूमि नभएको व्यक्तिलाई गिनेचुनेका राजनीतिज्ञलाई छोडेर मतदान गर्नु जनताको विद्रोह हो ।
जसरी नेपाली राजनीतिमा विद्रोहको प्रतीकस्वरूप बालेन, हर्क र रवि उदाय, यस्तै विद्रोह नेपाली सिनेमामा हुन सक्तैन ? ०६२/०६३ को राजनीतिक परिवर्तनपछि भएकै थियो । त्यस्तो आँट, क्षमता र प्रभाव राख्ने व्यक्ति नेपाली समाजमा छैन ? जसले चलिआएको मानकलाई चुनौती दिँदै दर्शकको विश्वास जित्न सक्छ ।
निर्देशक दीपेन्द्र के खनाल नेपाली समाजमा सिनेमामा फरक टेस्ट दिँदै त्यसलाई स्थापित गर्न सक्ने व्यक्ति हुन सक्ने बताउँछन् । तर, कहिले देखापर्छन् भन्ने निश्चित नभएको उनको भनाइ छ । दर्शकले अहिले हेरिरहेका सिनेमा देखेर पनि नयाँ टेस्ट बोकेर आउने मेकर केही समय होल्ड भएको हुन सक्ने उनी बताउँछन् ।
“जसरी मैले यौन मनोविज्ञानमा आधारित सिनेमा चपली हाइट बनाएँ, निश्चल बस्नेतको निर्देशनमा आएको लुटले सहरिया युवापुस्ताले भोगिरहेको समस्यालाई उठाएर उनीहरूकै लवजमा आएर त्यसले चलिरहेको मानकलाई भत्काइदियो,” दीपेन्द्र भन्छन्, “यस्तै केही सिनेमा लिएर नयाँ मेकर आउने समय अब भइसकेको छ । जसरी राजनीतिमा जनता र उमेदवारले विद्रोह गर्दा नेपाली राजनीतिमा नयाँ स्ट्राइकर जन्मिए, त्यस्तै सिनेमामा पनि जन्मिन आवश्यक छ ।”
तर, दर्शकको भीड फर्मुलामा बनेका सिनेमामै देखिएकाले नयाँ चलचित्रमा राजनीतिमा बालेन, हर्क र रविजस्ता स्ट्राइकर जन्मिने आँट तत्काल कसैले गर्न नसकेको दीपेन्द्र दोहोर्याउँछन् । यद्यपि, यस्तै चुनौतीबीच आएर स्थापित हुन सक्ने नै स्ट्राइकर हुने उनको तर्क छ ।
पछिल्लो समय कन्टेनबेस सिनेमाभन्दा पनि मास इन्टरटेनिङ सिनेमा नै चलिरहेका छन् । त्यसैले कस्तो सिनेमा लिएर आउने भन्ने नयाँ मेकरमा दोधार रहेको हुन सक्ने उनको आकलन छ । तर, चलचित्र क्षेत्रलाई ‘बज’ गराउन पनि नयाँ स्वाद र शैली बोकेर आउनुपर्ने उनको भनाइ छ । अन्यथा, कछुवाको गतिमै नेपाली सिनेमा रमाइरहने दीपेन्द्रको तर्क छ ।
निर्देशक छिरिङ रितार शेर्पा नेपाली सिनेमा उद्योगमा उर्वर माटो, मल र पानी तयार भइसकेको मात्र बीउ रोप्न बाँकी रहेको बताउँछन् । जनतामा अहिले विद्रोही स्वाभाव देखिएकाले ठिक यही समयमा निर्देशकले पनि विद्रोह गरे दर्शकको साथ पाउन सक्ने उनको धारणा छ ।
“अहिलेको युवापुस्ता इन्टरनेटको सहज पहुँचमा भएकाले विश्वमा कसरी कस्ता सिनेमा बनिरहेका छन् भन्ने उनीहरूले हेर्न पाएका छन् । फिल्म अर्कोको हेरेर नै सिक्ने हो,” छिरिङ भन्छन्, “अहिले जसरी कुनै दल वा वादमा नरहेको स्वतन्त्र व्यक्तिले निर्वाचन जितिरहेको छ, त्यस्तै कला पनि इन्डिपेन्डेन्ट हुन्छ । त्यसैले अहिले जसरी राजनीतिमा स्वतन्त्रलाई सपोर्ट भइरहेको छ, एक्लो भिजनलाई जसरी जनताले विश्वास गरेर साथ दिइरहेका छन्, त्यस्तै सिनेमामा पनि दरो इच्छाशक्ति भएको व्यक्ति आए साथ पाउने उच्च सम्भावना छ । माहोल मिलेको छ ।”
माटो, पानी र मल तयार हुँदा पनि बीउ नराखे उत्पादन हुने सम्भावना नरहने उनको भनाइ छ । आर्ट व्यक्तिगत अनुभव सेयर गर्नेसँगै समाजप्रति असन्तुष्टि व्यक्त गर्ने माध्यम पनि भएको बताउँछन् ।
“सिनेमाले समस्या सुल्झाउन पनि सक्छ । त्यसैले यो समय राजनीतिक हिसाबले पनि मिलेकाले आँट गरेर मेकर आउने हो भने सपोर्ट गर्ने दर्शक धेरै छ भन्ने मलाई लाग्छ,” छिरिङ अगाडि थप्छन्, “माहोल तयार छ, मात्रै आँट गर्ने मेकर चाहिएको छ ।”
सही समयमा उपयुक्त निर्णय र काम हुन आवश्यक रहेकामा उनको जोड छ । उपयुक्त समयमा सही निर्णय गर्न नसके सहजै प्राप्त हुने उपलब्धि पनि हात नपर्ने छिरिङ बताउँछन् ।