करिब २० वर्ष अगाडि भर्खर–भर्खर खगेन्द्र लामिछाने पहाड स्याङ्जाबाट काठमाडौं आएका थिए । सडकमा भोटे कुकुरका छाउरा बेच्न हिँडेको मानिस देख्थे । काठमाडौंको पारिलो घाममा झोलामा टाउको बाहिर निकालेर राखेका केही र काखी च्यापेको एउटा भोटे कुकुरको छाउरा देखिन्थ्यो ।
मूल्य कति ?
पाँच हजार । पाँच हजार !
“आजभन्दा दुई दशक अगाडि कुकुर पनि बिक्री हुन्छ, त्यो पनि पाँच हजार । त्यो बेलाको पाँच हजार भनेको ठूलो पैसा हो । कुकुरको छाउरोलाई पाँच हजारभन्दा अचम्म लाग्थ्यो,” खगेन्द्रले सम्झिन्थे, “घरमा यसको आमा होला । सँगै जन्मिएका भाइबहिनी होलान् । गाउँमा साथी पनि थिए होला । मालिकले यसलाई बेच्न लिएर आयो । कति पीडा होला यसलाई ।”
भलै, खगेन्द्र ‘डग लभर’ होइनन् । कुकुरप्रति उनको ठूलो मोह छैन ।
सुन्तलाका रुख छन् उनको घरमा । सिजनमा बाँदरले दुःख दिन्छ । एउटा भोटे कुकुर लग्यो भने त घरको रखवाली गर्छ, बाँदर पनि लखेट्छ, बुवाआमालाई त केही होलो होला– खगेन्द्रले सोचे ।
समस्या दामको थियो । विद्यार्थी जीवनमा पाँच हजार कहाँ पाउनु, त्यो पनि कुकुरको छाउरो किन्न । उनले आफू बसेकै टोलमा लुक्स भोटे कुकुरको तर क्रस भएर लोकल भइसकेको केही छाउरा देखे ।
देलान् भन्ने त आस थिएन, तर खगेन्द्रले हिम्मत जुटाएर भने– मलाई पनि दिनु न एउटा छाउरो ।
‘हुन्छ लैजानू,’ अनपेक्षित जवाफ आयो ।
खगेन्द्रले कार्टुनमा कुुकुरको छाउरो राखेर दूध किनेर खुवाउँदै घर लिएर गए ।
घरमा भैँसी दुहुनु थिएन । गाउँबाट दूध किनेर खुवाउन थाले । अहिलेजस्तो मासु सहजै पाइँदैन थियो । भोटे कुकुरलाई कोदोको खोले राम्रो हुन्छ भन्ने सुनेका थिए । त्यसै गरे । केही दिनमै भोटे कुकुरको छाउरो सप्रिएर हलक्क भयो । भुक्लुक्क परेको हेर्दै रहरलाग्दो भयो ।
आफ्नै कोठाको एउटा छेउमा पुराना लुगाको सानो ओछ्यान बनाइदिए । “म ननिदाउँदासम्म त आफ्नै ओछ्यानमा बस्थ्यो, म सुतेपछि मेरो ओछ्यानमा आएर खुट्टाछेउमा बस्दो रहेछ,” खगेन्द्र नोस्टाल्जिक हुन्छन्, “हुँदाहुँदै माया लाग्न थाल्यो । नुहाइदिन थालेँ ।”
गाउँको एउटा भाइ खगेन्द्रको घरमा आइरहन्थ्यो । कुकुर खगेन्द्रसँग खेलेको देखेर लोभिँदो रहेछ, ‘दाइ, एकदुई दिन म लान्छु नि’ भन्थ्यो । खगेन्द्र ‘हुँदैन’ भन्थे । दिँदैन थिए ।
भान्जा सानै थिए । आँगनमा दिसा गरेछन् । खगेन्द्रले देखे, कुकुरले दिसा खायो ।
खगेन्द्रलाई झोक चल्यो– म दूध किनेर खुवाइराखेको छु, अन्तिममा जात त देखाएर छाड्यो !
त्यही समय भाइ आइपुगेर भन्यो, ‘कुकुर लैजान्छु नि दाइ एकदुई दिन ।’ खगेन्द्रले सोचे– दिसा खाएर फोहोरी भएको छ, यसले लग्यो भने सफा भएर पनि आउँछ । लगोस् न त । त्यसैले भने, ‘लैजा न त, दुईतीन दिनमा लिएर आएस नि !’
भाइले खुुसी भएर कुकुर लग्यो, भलै कुकुर खुसी थिएन ।
सुन्तला पाक्ने सिजन थियो । बोटछेउमा बेन्चमा साङ्लोले बाँधेर राखेका बेला सुन्तला चोरेर खाने केटाकेटी आएछन् । कुकुर भुकेछ । डरले केटाकेटीले कुकुरलाई फूलसहितको गमलाले हानेछन् । कुकुर बाँधेको बेन्च लडेछ । घाँटीमा किचिएछ ।
“दाइ, कुकुर बाँधेकै ठाउँमा कसले मार्दियो भन्दै रुदै आयो, म गएर हेरेँ । घाँटी च्यापिएर कुकुर मरिरहेको थियो । घाँटी नै लामो भएको थियो,” खगेन्द्र भन्छन्, “मलाई बडो दुःख लाग्यो । तरक्कै आँसु नै आयो । मैले सफा भएर आउँछ भन्ने लोभ नगरेको भए त्यो मर्ने नै थिएन भन्ने पश्चात्ताप भयो ।”
पछि कुकुर मार्ने बालकको पहिचान भयो । तर, के गर्नु मरेको कुकुर केही गरी फर्कँदैन थियो ।
जबजब खगेन्द्रले कतै कुकुर देख्थे, त्यसको मृत्युको कारक मै हुँ भन्ने पश्चात्ताप भइरहन्थ्यो ।
खगेन्द्र एक दिन लाजिम्पाटको सडकमा स्कुटर चढेर कतै जाँदै थिए, उस्तै दृश्य देखे । झोलामा बसेर टाउको केही बाहिर निकालेका भोटे कुकुरका छाउरा । एउटा चाहि हातमा । उनलाई त्यो बेला दिमागमा आयो– काखीमा च्यापिएर काठमाडौं बेचिन आइपुग्ने कुकुरको जीवन संघर्ष कस्तो होला ?
गाउँबाट काठमाडौं आइपुग्छ । कुनै धनी व्यक्तिले किनेर घर लैजान्छ । त्यसपछि त्यो घरमा कुकुर सानका साथ बस्छ । तर, अचानक फेरि दुःखमा पनि त पुग्ला । त्यसपछि खान र बस्नका लागि संघर्ष गर्नुपर्ला– दिमागमा यस्तै कुरा खेल्न थाल्यो ।
विषयका लागि केही घटना आफैँसँग जोडिएका थिए । केही देखेका थिए । लेख्ने हुटहुटी चलेपछि रोक्ने कसले ? सुरु भयो भोटे कुकुरको जीवन संघर्षको लेखनी ।
कथा होइन । निबन्ध पनि होइन । लेख्न मन लागेको थियो उपन्यास । लामै कथा बुन्नु थियो । त्यसैले उनले कुकुरको आनीबानी, मालिकप्रतिको इमानदारिता, साथीप्रतिको झुकाव, मायाप्रेम सबै कुरा लेख्ने निर्णय गरे । कुकुर मान्छेजस्तो चेतनशील प्राणी होइन । तर, उसको पनि त आफ्नै संसार छ भन्ने उनले लेख्नु थियो । त्यसैले थाले लेख्न उपन्यास ‘फुर्के’ ।
‘यो पिस एकदम राम्रो छ भन्दै ऋतुले तीनपल्ट अनुपमलाई आफ्नै हातले मासुको टुक्रा ख्वाई,’ ६९ पेजमा खगेन्द्र लेख्छन्, ‘मैले उदास नानीको अनुहार सम्झेँ ।’ फुर्केले आफ्नी प्रेमिका अर्थात् ‘नानी’लाई सम्झिन्छ ।
कस्तो मान्छेजस्तै फुर्के, के यो सम्भव छ ? यो प्रश्न साइनिङ कार्यक्रममा इटहरी पुगेका खगेन्द्रलाई पाठकले सोधे । खगेन्द्र भन्छन्, “मान्छेजस्तो धेरै भाषा जनावरमा पक्कै हुँदैन । त्यसैले मान्छेले जस्तो भाषामार्फत धेरै संवाद पनि हुँदैन होला । मैले उपन्यास लेख्दा केही खुला भएर लेखेको हुँ ।”
खगेन्द्रले फुर्केमा मान्छे खुसी भइरहने तर आफैँले पालेको कुकुरको भावना नबुझ्ने प्रसंग उल्लेख गरेका छन् ।
मायाप्रेम कहाँ मान्छेमा मात्र हुने हो र ? कुकुरमा पनि त हुन्छ । तर, के यो भावना उसको मालिकले बुझ्छन्् ? सायद खगेन्द्रले यो प्रश्न फुर्केमार्फत भन्न खोजेका छन् । पेज नम्बर ७६ मा उनी लेख्छन्, ‘ओहो, कति इखालु रै’छे यो नानी ! मेरो मन फतक्कै गल्यो । मनमनै वाचा गरेँ, नानी एकपटक छतमा आइज, आइन्दा कहिल्यै तेरो चित्त दुखाउँदिनँ ।’ मान्छेले जस्तै संकल्प गर्छ फुर्के ।
फुर्केले यस्तो संकल्प गर्छ/गर्दैन त्यो त थाहा छैन, तर आफ्नोबाहेक अरूको भावना र चाहमा हेक्का नराख्ने मान्छेको क्रूर स्वभावप्रति खगेन्द्रले फिक्सनको स्वतन्त्रता लिएर व्यंग्य गरेका छन् ।
भनिन्छ– कुकुरले धेरै लामो समय सम्झन सक्दैन । तर, सिर्जनाको स्वतन्त्रता लिएर खगेन्द्र पेज नम्बर ८१ को पहिलो हरफमा लेख्छन्, ‘छतमा जाँदा नानीसँग बिताएका सुनौला क्षण तिखो वाण बनेर मेरो मुटुमा घोचिरहन्थे ।’
मानवीय जीवनसँग जोडेर खगेन्द्रले फुर्केको पहिलो ड्राफ्ट तयार पारे । सायद हेक्का पुगेन वा आवश्यक ठानेनन्, पहिलो ड्राफ्ट तयार पार्दा खगेन्द्रले कुकुरको मनोविज्ञानबारे रिसर्च गरेनन् । न गुगलमा उपलब्ध सामग्री खोजेर पढे न त कुकुर पाल्ने र बेच्नेसँग नै गफ गरे ।
जब पहिलो ड्राफ्टलाई चलाएर यसलाई फाइनल टच दिने सोचमा पुगे, उनलाई लाग्यो– सिर्जनशील स्वतन्त्रता मात्रै प्रयोग गरेर हुँदैन । विश्वसनीयताका लागि पनि मैले कुकुरको मनोविज्ञानका विषयमा रिसर्च गर्नुपर्छ ।
त्यसपछि खगेन्द्रले सडकमा भेटे कुकुरका छाउरा बेच्दै हिँड्ने व्यक्तिलाई । कुकुर पाल्ने डग लभरसँग भेटेर कुकुरका आनीबानी सोधे । कुकुरका डक्टर र तालिम दिनेलाई भेटे । पुलिसका कुकुरलाई तालिम दिने र उपचार गर्ने डक्टरलाई भेटे । तर, मिठो संयोग भनौँ या करिब दुई महिना भोटे कुकुरको छाउरोसँगको संगतले उनले लेखेका कुकुरका अधिकांश बानीव्यवहार र आनीबानी मिले । क्रिएटिभ लिवर्टी भनेर लेखेको कुरा त सच्याउनै परेन ।
थाहा छैन, कुकुर कति दुःखी हुन्छ आफ्नो मालिक गुमाउँदाको क्षणमा । तर, महिनौँसम्म मालिकलाई अन्तिमपटक भेटेको ठाउँमा बसिरहेका समाचारहरू बाक्लै आइरहन्छन् । फुर्केमा खगेन्द्रले यो प्रसंग पनि छुटाएका छैनन् । पेज नम्बर ९० को अन्तिमतिर एउटा प्याराग्राफमा खगेन्द्र लेख्छन्, ‘रुँदैरुँदै ऋतु फेरि मेरो छेवैमा आई । साङ्लोको टुप्पो ऋतुको हातमा थमाएर मलाई समातेको मान्छे त्यहाँबाट गयो । ऋतु भुईँमा बसी । म उसैसँग टाँसिएर बसेँ । एकैछिनमा अनुपमलाई सुताइएको दाउराको चाङबाट आकाशै छोलाजस्तो गरी आगोको ठूलो ज्वाला उठ्यो । मेरो मुटुमै आगो लागेजस्तो भयो । अनि, म आकाशतिर फर्किएर... कराएँ, ‘‘हुँऽऽऽ...।
त्यसपछि फुर्के अनुपमको घरको सानदार जीवन भोगाइबाट ऋतुको घरमा पुग्छ । ऋतु केही दिनमै विदेशतिर लाग्छे । फुर्के सडकमा आइपुग्छ । र, सुरु हुन्छ पेट पाल्नका लागि गर्ने संघर्ष । छतको ओतका लागि गर्ने संघर्ष । भलै, त्यही संघर्षकै बीच ओझेल परेकी नानी देखिन्छे । हराउँछे । फेरि भेटिन्छे ।
जिरे, रकेट र पुन्टेसँग संगत हुन्छ । उनीहरूको साथ, सहयोग र घृणाको अनुभव गर्छ । त्यही समय घाउले डल्याउँछ । नानीले लुकीलुकी दलिदिएको मलमले घाउ निको हुन्छ ।
‘महलमा बस्ने पनि यहीँ, सडकमा सुत्ने पनि यहीँ । घर त सुखलाई मात्रै रै’छ । दुःख पर्दा चौर नै काम लाग्ने रै’छ, मलाई जस्तै । घुस्रिँदै–घुस्रिँदै म घोडा चढेर हातमा तरबार लिएको मान्छेको मूर्ति पछाडि पुगेँ । आँखाभरि आँसु बनाएर नानीले मलाई नै कुरिरहेकी रै’छै ।’
फुर्केलाई नानी छोड्न मन छैन । नानीलाई पनि सानसकौतको नै किन नहोस्, पिँजडाजस्तो घरभन्दा आफ्नो पेट काटेर खुवाउने फुर्केकै साथ न्यानो लाग्यो ।
...र फुर्केले नानीलाई लिएर सहर छोड्छ ।
कस्तो छ फुर्के ?
“मैले लेखेर बजारमा पठाएँ । त्यसलाई कसरी बुझ्ने र ग्रहण गर्ने त्यो पाठकको कुरा भयो,” खगेन्द्र जवाफमा भन्छन्, “तर, धेरैले मैले त कुकुरलाई यसरी हेरेकै थिइनँ, म डग लभर होइन, तर अहिले कुकुरलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ– चिनेजानेको र नचिनेको व्यक्ति पनि प्रंसगवश पुस्तकको कुरा हुँदा तपाईंको पुस्तक पढेर कुकुरप्रति माया जगाइदिएको छ भनेर धेरैले भन्नुभएको छ ।”
यसलाई उनले उपलब्धिका रूपमा लिएका छन् । बाटोमा हिँड्दा कुकुरलाई ढुंगा हान्ने व्यक्तिले अब ढुंगा हान्न छोडे त्यो पनि फुर्केको उपलब्धि नै हुने खगेन्द्र बताउँछन् ।
प्रवेश सुवेदी नाताले खगेन्द्रका भान्जा हुन् । आईटीका विद्यार्थी उनलाई साहित्यमा उति धेरै रुचि छैन । एक दिन खगेन्द्रले प्रवेशलाई जिस्काए– आफ्नै मामा राइटर छ, तिमी साहित्य पढ्दैनौँ !
भलै, कसैको रुचि केमा हुन्छ, कसैको केमा । त्यो खगेन्द्रलाई भलिभाँती थाहा छ ।
फुर्के आम पाठकलाई कस्तो लाग्छ, त्यसको प्रतिक्रिया खगेन्द्रलाई बुझ्नुपर्ने थियो । प्रवेशलाई बोलाएर पाण्डुलिपि बुझाउँदै एक दिन भने, ‘यो पाण्डुलिपि आज रातभर पढ्ने र भोलि बिहान ८ बजे मामाघर आउने । र, तिमीलाई के लाग्यो, बुँदा बनाएर मलाई सुनाउने ।’
डरैले प्रवेशले रातभर पढेछन् । भोलि बिहान आएर सुनाए, ‘मामा, मलाई कुकुर मन पर्दैन, तपाईंलाई थाहै छ । तर, यो पढ्दा त कुकुरप्रति माया जागेर आयो । अहिले यहाँ आउँदा बाटोमा देखेको कुकुर हेर्दै आएँ । माया लाग्यो, बिस्कुट किनेँर दिऊँ कि जस्तो लाग्यो । तर, दिनचाहिँ दिइनँ ।’
“यो एजको मान्छेको पनि कुकुरलाई हेर्ने दृष्टिकोण परिवर्तन भयो भने त्यही नै मेरो सफलता हो भन्ने मेरो बुझाइ हो । पुस्तक मन पर्ला/नपर्ला, त्यो अलग कुरा हो,” खगेन्द्र भन्छन्, “फुर्के पढ्ने व्यक्तिले कुकुरलाई अंगालो नहाल्ला, तर घृणा पनि गर्दैन । प्रेमभाव जगायो भने त्यो नै फुर्केको असर हो । सफलता हो ।”