site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुनावमा कांग्रेसले के पायो के गुमायो ? देउवा कति असफल ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०६४ चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीले प्रत्यक्ष र समानुपातिक गरी २२९ सिट हासिल गरेको थियो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ११५ सिट प्राप्त गरेको थियो ।

तत्कालीन समयमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला थिए । तर, त्यो संविधानसभाले नतिजा दिन सकेन । फलतः ०७० मंसिर ४ गते पुनः संविधानसभाको निर्वाचन भयो । यो निर्वाचनबाट नेपाली कांग्रेसले ०६४ मा गुमाएको ‘पोजिसन’ फिर्ता ल्याउन सफल भयो । कांग्रेसले २०६ सिटमा जित हासिल गर्दा प्रत्यक्षमा १०५ र समानुपातिकमा ९१ सिट ल्याएको थियो । १० जना मनोनीत भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सोही सभाले नै संविधान जारी गरेको थियो । 

उक्त निर्वाचनमा देशभर ७४ प्रतिशत मत खस्दा कांग्रेसको पक्षमा प्रत्यक्षमा २९.८ र समानुपातिकमा २५.५५ प्रतिशत मत खसेको थियो ।

Global Ime bank

त्यतिबेला कांग्रेस सभापति थिए, सुशील कोइराला । कोइरालाको नेतृत्वमा सरकार बनाउने मात्रै होइन कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको थियो ।

कांग्रेसमा देउवाको उदय र आम चुनाव 

संविधान जारी भएसँगै नेपाली कांग्रेसमा पनि शेरबहादुर देउवाको उदय भयो । तर, देउवाको उदय पार्टीमा नयाँ भने थिएन । ०५१ सालबाटै देशमा हस्तक्षेपकारी भूमिकामा पुगेका देउवाले पार्टीभित्र पनि लोकतान्त्रिक अभ्यासलाई अंगीकार गरेका थिए । 

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष बनेका उनले ०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बन्ने अवसर पाएका थिए ।

त्यसपछि पटक–पटक पार्टी राजनीतिमासमेत निर्णायक बन्न प्रयास गरेका उनले ०५९ मा पार्टी विभाजन गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति बने । 

पार्टीको १२औं महाधिवेशनमा सुशील कोइरालासँग सभापतिमा चुनाव हारेका देउवा १३औं महाधिवेशनबाट भने कांग्रेसको सर्वोच्च पद अर्थात् पार्टी सभापतिमा निर्वाचित भए ।

०७२ फागुन २४ बाट देउवा पार्टी सभापति निर्वाचित भएका हुन् ।

सभापति बनेको १५ महिनापछि देउवा पुनः प्रधानमन्त्री बने । उनी २०७४ को जेठ २४ देखि फागुन ३ सम्म २५३ दिन प्रधानमन्त्री बने ।

देउवाले यो अवधिमा तीनै तहको चुनाव गराउन सफल भए । नेकपा (माओवादी केन्द्र) सँग मिलेर कांग्रेसले स्थानीय तह निर्वाचन लड्यो ।

तीन चरणमा भएको निर्वाचनमध्ये ०७४ वैशाख ३१ मा भएको निर्वाचन भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा भएको थियो । 

त्यो बेला कांग्रेस सत्तामै थियो । देउवाले असार १४ र असोज २ गते भएको स्थानीय तहको निर्वाचन भने आफ्नै नेतृत्वमा गराए ।

०७४ को स्थानीय तह निर्वाचनबाट एमाले पहिलो दल बनेर उभियो । कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रह्यो । 

स्थानीय तहको निर्वाचन पश्चात् राजनीतिक कोर्ष ‘चेन्ज’ भयो ।

कम्युनिष्ट दलहरू मिलेर चुनाव लड्ने पक्षमा पुगे । तत्कालीन अवस्थामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी गठबन्धन गरे । ‘सबै वाम एक ठाउँ’ नाराका साथ ध्रुवीकृत भएको कम्युनिष्ट दलहरू एक ठाउँमा उभिएर चुनाव लडे । 

१६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभामा ६०–४० को भागबण्डा गर्दै एमाले माओवादी वाम एकताको नारासाथ चुनावी मैदानमा होमिन पुगे । जसको असर कांग्रेसलाई पर्यो ।
 
कांग्रेसले पनि तत्कालीन राप्रपा (नेपाल) अध्यक्ष कमल थापासहितको दलसँग गठबन्धन गरेर चुनाव लड्ने निर्णय गर्यो । 
तर, महत्त्वका साथ हेरिएको झापामै कांग्रेस–राप्रपा गठबन्धन हुन सकेन । ०७४ मंसिर १० र २१ गते गरेर दुई चरणमा देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराए । 

अन्तिम नतिजाअनुसार कांग्रेस २३ सिटमा खुम्चियो । प्रत्यक्षतर्फ २३ सिट पाएको कांग्रेसले समानुपातिकतर्फ भने ४० सिट पायो । पहिलो दल बनेको एमालेले प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ सिट ल्यायो । तेस्रो बनेको माओवादीले प्रत्यक्षमा ३६ र समानुपातिकमा १६ सिट पायो । यस्तै तत्कालीन राजपाले १७ सिट ल्याउँदा, संघीय समाजवादी फोरमले १६ सिट ल्यायो ।

०७९ मा फेरिएको राजनीति र देउवालाई लाभ 

०७४ को निर्वाचनमा कांग्रेसले लजास्पद पराजय भोगेपछि सभापति देउवाको राजीनामा मागियो । नेता गगन कुमार थापाले पनि पार्टी सभापति देउवाको राजीनामा मागे । विश्वप्रकाश शर्मासहितका नेताहरू कांग्रेस सुदृढीकरणमा लाग्ने उल्लेख गरेका थिए । तर, न त देउवाले राजीनामा दिए न प्रतिपक्षमा बस्दा पार्टी बलियो देखियो ।

केपी शर्मा ओलीको नेतृत्वमा कम्युनिष्ट सरकारमात्र हैन दक्षिण एसियाकै ठूलो भनिएको कम्युनिष्ट दल एक भएर बस्न सकेन । 

दुईदुई पटक संविधान विपरीत संसद् विघटन गरेपछि राजनीतिक समीकरण फेरियो । नेकपा विभाजन मात्र भएन स्वयम् ओलीको पार्टी पनि विभाजन भयो र माधव नेपालसहित झलनाथ खनाललगायत मिलेर नयाँ पार्टी खोले । 

त्यसको असर सातै प्रदेश र केन्द्र सरकारमा पर्यो । २३ सिट प्रत्यक्षमा जितेको दल कांग्रेसले केन्द्र र गण्डकी प्रदेशमा सत्ताको वागडोर सम्हाल्ने मौका पायो । कर्णालीमा पनि सरकार बनाउन कांग्रेस सफल बन्यो । प्रधानमन्त्री डेढ वर्ष चलाउन पाएका देउवाले ०७९ को पनि तीनै तहको निर्वाचन गराउने अवसर पाए ।

कांग्रेसको १४औं महाधिवेशन पनि सम्पन्न भयो । ०७८ मंसिर २४ बाट सुरु भएको पार्टीको महाधिवेशनले देउवालाई दोस्रो कार्यकालका लागि पाँच वर्ष पार्टी सञ्चालन गर्ने म्याडेन्ट दियो । 

उनी सभापति निर्वाचित भएको पाँच महिना पछि स्थानीय तहको निर्वाचन भयो ।  स्थानीय तहको निर्वाचन सम्पन्न भएको ७ महिनापछि प्रतिनिधि र प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेको छ । 

मंसिर ४ गते सम्पन्न भएको निर्वाचन देउवाको अर्को परीक्षा थियो । ०७४ को जस्तै वाम गठबन्धन बन्न नदिन देउवा सफल भए । जसपा गठबन्धनबाट बाहिरिए पनि लोसपालाई गठबन्धनमा भित्र्याउँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस होमियो । 

पछिल्लो मत परिणामअनुसार कांग्रेस ५७ सिटमा जित हासिल गर्दै पहिलो पार्टी बन्न सफल भएको छ ।

देउवाको दुई कार्यकाल : कति सफल कति असफल ?  

०६४ को निर्वाचनको तुलनामा कांग्रेसले १० वर्ष पछि अर्थात् ०७४ को निर्वाचनमा ११ प्रतिशतले समानुपातिक मत बढाएको तथ्यांकले देखाउँछ । ०६४ को निर्वाचनमा कांग्रेसले कूल खसेको सदर मतको २१ प्रतिशत पाएको थियो । 

यस्तै ०७० को निर्वाचनमा २५ प्रतिशत र ०७४ को निर्वाचनमा ३२ प्रतिशत मत पाएको थियो । 

मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा कांग्रेसले समानुपातिकमा २६ प्रतिशत मत पाउने अवस्था देखिन्छ । अर्थात् ०७४ मा पार्टीले वाम गठबन्धनसँग एक्लै भिडेको कांग्रेसले अहिले पाँच दलीय गठबन्धन गरेर चुनाव लड्दा पनि मत घटाएको छ ।

यो चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ भने ०७४ को तुलनामा सिट बढाउन सफल भयो । 

९१ सिटमा मात्र उमेदवार उठाएको कांग्रेसले ५७ सिट जिते सफलनै भएको देखिन्छ । ७४ निर्वाचन क्षेत्रमा कांग्रेसले उमेदवार नै उठाएन । राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम ६१ प्रतिशत व्यक्त जनमतको ७५ प्रतिशत मत कांग्रेसको विपक्षमा खस्नु नेतृत्वको असफलता भएको तर्क गर्छन् । 

उनी ४८ र ५६ मा कांग्रेसले ३७ प्रतिशत मत प्राप्त गरेको र ०७९ को आइपुग्दा कांग्रेसको जनाधार १२ प्रतिशतले खुम्चिएर २५ प्रतिशतमा मत झर्नुको नैतिक जिम्मेवारी सभापतिले लिनुपर्ने तर्क गर्छन् । 

“सभापतिको भूमिका पार्टी र राष्ट्रको हितमा अलिकति पनि भएन । २ पटक सभापति बनेर पार्टीको नेतृत्व लिँदा राष्ट्रलाई स्थिरता दिनेगरी शक्ति बनाउन उहाँले सक्नुपर्थ्यो । यसमा उहाँले नैतिक जिम्मेवारी लिनैपर्छ,” गौतमले बाह्रखरीसँग भने, “लोकतन्त्रको मियो भनिने पार्टी २५ प्रतिशत मतमा खुम्चिएको छ । देशमा ३९ प्रतिशत मतै खसेको छैन । खसेको मतको पनि ७५ प्रतिशत कांग्रेसबाट खोसेर अरुले लगिसकेका छन् । कांग्रेसकै शुभेच्छुकहरू मत हाल्न नजाँदा ११ प्रतिशत मत परेको छैन । यसको जिम्मेवारी लिनुपर्यो नि । अनि उहाँ कसरी सफल भनेर विश्लेषण गर्नु ? ।”

विश्लेषक गौतमको धारणासँग कांग्रेस केन्द्रीय सदस्य प्राध्यापक डाक्टर गोविन्द पोखरेल पनि सहमत छन् । 

डा. पोखरेल पनि गठबन्धन गरेर सरकार बनाउने अंकगणितमा पार्टी लागिपरेको गुनासो गर्छन् । उनी, पार्टी नेतृत्वको सत्ता समीकरणको अंकगणितले दीर्घकालमा कांग्रेस जनधारणामा एकदमै कमजोर बन्ने तर्क गर्छन् । 
 
“पार्टीको दर्शन, आदर्श र सिद्धान्त बिर्सिएर गणितीय रूपमा सत्तामा कसरी जाने भन्ने मात्र खेल भयो । हेर्दा ठूलो दल त देखियो होला । तर, संगठनलाई भने तिलाञ्जली दिने काम भयो । यो सभापतिको कार्यशैलीले अल्पकालमा सिट बढी आयो भन्ने होला । तर, दीर्घकालनमा त कांग्रेसलाई घातक छ,” उनले बाह्रखरीसँग भने, “जनाधार कांग्रेसले गुमाएको छ । १८ लाखको हाराहारीमा नयाँ मतदाता थपिँदा पनि समानुपातिकमा ०७४ को तुलनामा हामी ८ प्रतिशत कम आयौँ । हामी कमजोर भएको भन्ने यसबाट देखिन्छ ।”

पोखरेल अगाडि थप्छन्, “रिटायर्ड हुने नेताहरूलाई त तनाव नहोला तर, जसले पार्टी हाँक्नु छ, राजनीतिमा नयाँ आउँदै छन् उनीहरुको भविष्य र पार्टीलाई कसरी अघि लिएर जाने ?” 

सिट संख्या ०७४ को तुलनामा बढे पनि कांग्रेसको मत घटेको छ । गठबन्धन गरेर जाँदा पनि गठबन्धनमा रहेका दलहरू बहुमत नजिक पुग्न नसक्ने स्थिति छ । 

सरकार बनाउन हालको सत्ता गठबन्धन बाहिरका दलहरुको पनि साथ चाहिने निश्चित छ । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक तथा पार्टी पूर्वउपसभापति गोपालमान श्रेष्ठ भने प्रधानमन्त्री र पार्टी सभापतिको रूपमा शेरबहादुर देउवा सफल भएको बताउँछन् ।
 
“दुई पटक उहाँले आफ्नै नेतृत्त्वमा निर्वाचन गराउन सफल हुनुभयो । जुन कांग्रेसको उपलव्धि हो । उहाँ मुख्य धन्यवादको पात्र हुनुहुन्छ,” श्रेष्ठले बाह्रखरीसँग भने, “उहाँ एकदम सफल हुनुभयो । सभापति र प्रधानमन्त्री दुवैमा उहाँ सफल हुनुभयो । यसपटक अहोरात्र खटेर शान्तिपूर्ण रुपमा चुनाव गराउनुभयो । कांग्रेसलाई पहिलो पार्टी बनाउन सफल हुनुभयो ।”

समानुपातिकतर्फ भने मत सोचेअनुरुप आउन नसकेको उनी स्वीकार गर्छन् । 

“समानुपातिकमा हामी खस्कियौं । अलिकति बढी सिट आउनुपर्ने हो त्यो  आएन । हामीबीचमा असहयोग र अन्तर्घातका कारण समस्या आयो । तर, हामी सबैभन्दा ठूलो पार्टी बनेकै हो,” उनले थपे, “यो चुनावले अब हामी पनि सुध्रनुपर्छ । करेक्सन गर्न केही छ भने त्यो पनि गर्नुपर्छ भन्ने सन्देश दिएको छ । अब नयाँ पुस्ता र पुरानो पुस्ता मिलेर अघि बढ्नुपर्छ भन्ने हामीले महसूस गर्नुपर्छ ।”

विश्लेषक गौतम भने यो चुनावबाट कांग्रेस ‘लुजर’ भएर उभिएको टिप्पणी गर्छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय