site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्रकर्मीको द्वैध चरित्रले ठगिँदै दर्शक
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत वर्षको चैत पहिलो साता प्रदर्शनपूर्व चलचित्र ‘चिसो एस्ट्रे’ रिलिज भयो । निर्माण टिमले प्रिमियर पनि गर्‍यो । प्रिमियरमा उपस्थित अधिकांश सेलिब्रिटीले सिनेमा राम्रो भएको प्रतिक्रिया दिए । एक निर्देशकले हलिउडस्तरको सिनेमा बनेको बताए । यस्तै सिनेमा बन्दै जाने हो भने नेपाली चलचित्रको विकास र विस्तारले चाँडै फड्को मार्ने बताए । यसरी प्रतिक्रिया दिनेमा अहिलेको डिमान्डेड निर्देशकदेखि सिनेमाका बारेमा राम्रै नलेज राख्ने राख्ने कलाकार समेत थिए ।

सुरुमै राम्रो हाइप बनाएको यो चलचित्रले प्रिमियरपछि खुब चर्चा बटुल्यो । चलचित्र झन् प्रतीक्षित बन्यो । तर, जब चलचित्र रिलिज भयो, चलचित्रले दर्शक हलसम्म तान्न सकेन । क्यामेरा वर्कमा तारिफ बटुले पनि समग्रमा राम्रो समीक्षा समेत बटुल्न सकेन । अन्ततः चलचित्र चलेन ।

केही समयअगाडि रिलिज भएको चलचित्र ‘महापुरुष’ले पनि प्रिमियरमा ठूलो तारिफ बटुल्यो । ठूलो संख्यामा कलाकार, पत्रकार तथा निर्माण पक्षका आफन्तसमेत प्रिमियरमा सहभागी थिए । यो चलचित्र काठमाडौंमा मात्र होइन, चितवन र इटहरीमा पनि प्रिमियर गरियो । प्रिमियरमा भव्य तारिफ बटुल्यो । सिनेमाले हलमा दर्शकको साथ पनि पायो । तर, यो चलचित्रले पनि औसत समीक्षा पायो । सिनेमा मेकरहरू व्यक्तिगत भेटघाटमा, अनौपचारिक कुराकानीमा चलचित्रमा अनपेक्षित रूपमा कमी–कमजोरी रहेको बताउँछन् । तर, तिनै कलाकार र मेकर प्रिमियरमा भने खुलेर चलचित्रको प्रशंसा गरिरहेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र प्रकाशले पनि प्रिमियरमा ठूलो तारिफ बटुल्यो । तर, समीक्षा भने मिश्रित मात्र आयो । प्रदीप खड्काको क्यारेक्टर रूपान्तरणको अधिकांशले खुलेर तारिफ गरे । तर, निर्देशकहरू अनौपचारिक गफगाफमा भने यो फिल्मको कथा मुख्य ‘आइडिया’मै समस्या रहेको बताउँछन् । यो सिनेमाको आइडियामै समस्या रहेको बताउने पनि तिनै निर्देशक हुन्, जसले हलमा सिनेमा हेरेर सञ्चारमाध्यमसामु राम्रो रहेको नै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

निर्देशक नवीन सुब्बा दोहोरो चरित्र देखाउनु र जे हो त्यो खुलेर बोल्न नसक्नु बेइमानी भएको बताउँछन् । नेपाली मेकरमा इमानदारिता छ कि छैन भन्ने कुरालाई पनि यसले इंगित गर्ने उनको भनाइ छ । “सिनेमा हेरेर त्यसबारे अभिव्यक्ति दिँदा पनि इमानदार हुनुपर्छ । नेपालमा यसको अभाव छ । यो सम्भवतः हामीले इन्डियाबाट सिक्यौँजस्तो लाग्छ,” नवीन भन्छन् ।

Global Ime bank

आलोचना नसहने प्रवृत्ति मेकरमा रहेको र त्यसकै उपजका रूपमा सत्य कुरा नभन्ने परिपाटीको विकास भएको उनी बताउँछन् । “सिनेमा क्षेत्र एउटै परिवार भयो । त्यसैले सबैको सिनेमा चलोस् न भनेर राम्रो भन्दिऊँ न भन्ने मनोविज्ञानले काम गरिरहेको छ,” नवीन सचेत गराउँछन्, “तर, नेपाली चलचित्रको स्वास्थ्यका लागि भने यो राम्रो होइन । यसले हाम्रो चलचित्र क्षेत्रलाई समृद्ध बनाउँदैन । थप क्षयीकरण गर्दैै जान्छ ।”

चलचित्रकर्मी नै इमानदार नभए दर्शकले पनि विश्वास नगर्ने र त्यसको असर समग्र नेपाली चलचित्र उद्योगमा नै देखिने निर्देशक नवीनको तर्क छ । “यस्तै प्रतिक्रिया दिने हो भने दर्शकले नपत्याउने र राम्रो चलचित्र पनि त्यसको मारमा पर्दै जाने हुन्छ,” उनी अगाडि थप्छन्, “जसले यसरी बोलिरहेको छ, उसको इमेज पनि बिग्रिन्छ । चलचित्र क्षेत्रलाई पनि घाटा हुन्छ ।”

कमी–कमजोरी नऔँल्याउने र जस्तोसुकै गल्ती भए पनि राम्रो छ भन्ने प्रवृत्तिले मेकर सच्चिने मौका नमिल्ने भन्दै नवीन यो प्रवृत्तिको तत्काल अन्त्य हुनुपर्नेमा जोड दिन्छन् ।

“मैले भोलि कमजोरी गर्दा पनि अरूले नबोल्दिऊन् भन्ने चाहले यो भइरहेको छ । पालोको पैँचो तिर्ने चलनले हामी आफैँ पछि परिरहेका छौँ,” नवीन सुनाउँछन्, “कमजोरी पत्ता लगाएर नै निखारिँदै जाने हो । आफ्नो कमी–कमजोरी र आलोचना स्वीकार गरेर अगाडि बढ्ने हो । होइन भने प्रगति हुँदैन ।”

कलाकार तथा निर्माता किरण केसी नेपाली मेकर र चलचित्रकर्मीमा ‘इगो’ साँध्ने समस्या रहेको बताउँछन् । सत्य बोलेर चिड्याउनुभन्दा ठिक छ भनेर हिँड्नु नै उचित रहेको उनको भनाइ छ । “आफूले देखेको कुरा भन्यो भने ए, यसले मेरो चलचित्रलाई नराम्रो भन्ने भन्दै इगो लिएर बस्ने चलन छ,” किरण भन्छन्, “चलचित्र चलेन भने यसले गर्दा मेरो चलचित्र चलेन भनेर आरोप लगाउँछन् । त्यसैले इगो साँध्ने अवस्था सिर्जना गर्नुभन्दा ठिक छ भनेर हिँड्ने परम्पराजस्तै बसेको छ ।”

हेरेर देखेको कुरा भन्दा सधैँ सँगै हिँड्ने साथीले शत्रु सम्झिने अवस्था आउने भन्दै उनी त्यो अवस्था आउन नदिने बाटोमा चलचित्रकर्मी रहेको किरण सुनाउँछन् । यद्यपि, यो संस्कारले चलचित्र क्षेत्र नै ओरालो गतिमा हिँडिरहेको उनको अनुभव छ ।

सञ्चारमाध्यमसँग एउटा र आफ्नो समूहमा अर्कै कुरा गर्ने संस्कार नेपाली सिने नगरीमा मौलाउँदै गएको निर्माता अविरल थापा बताउँछन् । द्वैध चरित्रको अन्त्य आवश्यक रहेकामा उनको जोड छ ।

“मिडियासँग बोल्दा राम्रो छ भन्दिने । तर, भित्रभित्रै आफ्नो सर्कलमा फलानोको चलचित्र झुर छ भनिरहेको सुनिन्छ,” अविरल भन्छन्, “जे सत्य हो त्यो नभनिरहेको अवस्था छ । यो प्रवृत्ति तत्काल अन्त्य हुनु जरुरी छ ।”

यो प्रवृत्तिले नेपाली चलचित्रलाई उँभो लाग्न नदिने उनको धारणा छ । राम्रो चलचित्र आउँदा खुलेर प्रशंसा पनि गर्न नसक्ने र नराम्रो चलचित्र रिलिज हुँदा क्रिटिकल भएर बोल्न नसक्ने अवस्था रहेको र यो चलचित्र उद्योगकै लागि घातक भइरहेको उनको बुझाइ छ ।

“मेरो चलचित्रलाई माया गरिदिनुस्, नेपाली चलचित्रलाई माया गरिदिनुस् भन्ने हाम्रो पुरानै चलन हो । तर, माया गर्न लायक चलचित्र छ भने मात्रै माया गर्ने हो,” अविरल भन्छन्, “सबैलाई एउटै बास्केटमा राखेर हुँदैन । आफ्नो साथीभाइको चलचित्र अहिले नराम्रो भन्यो भने भोलि उसले पनि मलाई खेद्छ भन्ने डर छ ।”

जे हो त्यो सत्य बोल्दै राम्रो कमेन्ट दिए व्यक्तिले सुध्रिने र सच्चिने मौका पाउने यथार्थलाई भुल्न नहुनेमा उनको जोड छ । सत्य कुरा बाहिर नआउँदा मेकर र दर्शक दुवै के राम्रो र के नराम्रो भन्नेमा नै कन्फ्युज सिर्जना गरेको अविरलको भनाइ छ ।

बाहिर एउटा कुरा गर्ने भित्रै अर्कैै किन ? “हामी आफ्नो कमजोरी लुकाउन यो सबै गरिरहेका छौँ भन्ने मेरो बुझाइ छ । म पनि राम्रो काम गर्न सक्छु भन्ने आत्मविश्वास छैन । त्यसैले भोलि आफ्नो पनि कमजोरी लुकाउने उपाय हो यो,” अविरल अगाडि थप्छन्, “पहिलो, मेकर सच्चिनुपर्‍यो । त्यसपछि जे हो त्यो भन्न सक्ने ल्याकत राख्नुपर्‍यो ।” यी दुई कुरा सच्चिने हो भने चलचित्र र मेकर दुवैमा सुधार आउने र दर्शक पनि कन्फ्युज नहुने उनको धारणा छ ।

सत्य के हो त्यो बाहिर नआउँदा समग्रमा त्यसको असर चलचित्रको गुणस्तर वृद्धिमा परिरहेको भन्दै नेपाली चलचित्रलाई उचाइ दिन यसको वास्तविकता लुकाउने होइन, बाहिर ल्याउनुपर्नेमा अविरलको जोड छ । नेपाली चलचित्रका कमजोरी के–के हुन्, त्यसलाई लुकाउनेभन्दा पनि ‘ओपन डिस्कस’ र बहसको उनी आवश्यकता देख्छन् । तर, आफ्नो कमजोरी सुन्नसम्म नचाहने र नसक्ने नेपाली सिनेमा मेकरको चरित्रका कारण गलत प्रवृत्ति विस्तारै मौलाउँदै गएकामा उनको चिन्ता छ ।

आफ्नो कमजोरी लुकाउने नाममा आफ्नै कर्मक्षेत्र अन्धकारमा रुमल्लिरहेको सत्यलाई नजअन्दाज गर्दै अगाडि बढ्न नसकिने भन्दै अविरल तत्काल द्वैध चरित्रको अन्त्य आवश्यक रहेको बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !