site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गणतन्त्रपछि संसद्‌मा कम्युनिष्ट प्रतिनिधित्व सबैभन्दा कमजोर, कांग्रेसलाई वाम–विभाजनको लाभ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले इतिहासमै जम्मा दुईपटकको संसदीय निर्वाचनमा आफ्नो सामर्थ्यले जित्यो । एकपटक ०१५ साल र अर्को ०४८ सालमा ।

त्यसपछि भएका छ वटा आम चुनावमध्ये जतिपटक कांग्रेस सबभन्दा ठूलो दल बन्यो, त्यो केवल वामपन्थी दलहरूबीचको विभाजन र कटुताबाट पाएको प्रतिफल मात्र भएको तथ्यले देखाएको छ । 

तीन दशकभन्दा लामो संसदीय अभ्यासबाट ‘लोकतान्त्रिक कम्युनिष्ट पार्टी’ का रूपमा स्थापित एमालेले चाहिँ अरू वामपन्थी दलको शक्तिक्षयबाट लाभ लिँदै आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

०४८ सालदेखि अहिलेसम्मका सातवटा आम निर्वाचन र तीनवटा स्थानीय चुनावको परिणामले अरू कम्युनिष्ट पार्टीहरूको क्षयीकरण भएको जनमत एमालेमा गाभिँदै गएको देखिन्छ । 

कुनै पनि राजनीतिक दलप्रति चुनावमा मतदाता आकर्षित हुन दुईवटा कारण मुख्य हुन्छन्– आकर्षक नेतृत्व र मतदाताको मन छुने ‘एजेन्डा’ । 

Global Ime bank

०१५ सालमा र ०४८ सालको नेपाली कांग्रेस नेतृत्व र चुनावी मुद्दा दुवै हिसाबले आकर्षक थियो । त्यसैको बलमा कांग्रेसले एक्लै चुनाव लडेर प्रष्ट बहुमत हासिल गरेको हो । 

०१५ सालको चुनावमा पार्टीको चुनावी अभियानको नेतृत्त्व गर्ने कांग्रेस सभापति थिए– विश्वेश्वरप्रसाद कोइराला । त्यस बेलाका प्रखर वक्ता कोइरालासँग प्रभावशाली व्यक्तित्व थियो । समाजवादी चिन्तक उनमा देशको आर्थिक–सामाजिक परिवर्तन गर्ने प्रष्ट दृष्टिकोण थियो । त्यसैले ०१५ सालको पहिलो संसदीय निर्वाचनमा प्रतिनिधिसभाका १०९ क्षेत्रमध्ये ७३ सिट अर्थात् दुईतिहाई स्थानमा विजयी भएको थियो– नेपाली कांग्रेस । उक्त निर्वाचनमा प्रमुख प्रतिपक्षी दल बनेको ‘नेपाल राष्ट्रवादी गोर्खा परिषद्’ ले २० सिट जितेको थियो ।

त्यस बेला सग्लो नेपाल कम्युनिष्ट पार्टी तेस्रो शक्ति बनेको थियो । नेकपाले १०९ मध्ये केवल चार सिट मात्र जितेको थियो । 

साढे छ दशकलामो कालखण्ड पार गर्दा अहिले नेकपामा दर्जनौँपटक टुटफुट भइसकेको छ– आफूलाई मात्र सक्कली कम्युनिष्ट दाबी गर्दै । त्यसैको एउटा हिस्सा नेकपा (एमाले) कांग्रेसको मुख्य प्रतिस्पर्धी स्थापित छ ।

फुटेका कम्युनिष्ट पार्टीले आफ्नो नामको अगाडि ‘एकीकृत’ नाम जोड्ने परम्परालाई सबैभन्दा पछि एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले पनि निरन्तरता दिएको छ । अनि आफ्नो दल मात्र सक्कली क्रान्तिकारी र देशभक्त भएको दाबी गर्ने क्रम पनि जारी छ । 

Data-communist-congress1669964472.jpg

वाम विभाजनको लाभ कांग्रेसलाई 

कांग्रेसले आफ्नै ‘करिश्मा’ देखाएर चुनाव जितेको अर्को आमनिर्वाचन थियो– ०४८ सालको । वैशाख २९ गते भएको चुनावमा कांग्रेसको नेतृत्व गरेका थिए– सभापति कृष्णप्रसाद भट्टराईले । 

भट्टराई बीपी कोइरालाजस्तो प्रखर वक्ता थिएनन् । उनको इमान र ‘सन्त’ व्यक्तित्वले त्यसबेला मतदाताको मन जितेको थियो । प्रजातान्त्रिक प्रणालीमा भर्खरै प्रवेश गरेको बेलाको अन्तरिम सरकारका प्रधानमन्त्री भट्टराईले समयमै संविधान बनाउने र निष्पक्ष चुनाव गराउने काम गरेका थिए । 

उक्त चुनावमा सन्त नेता भट्टराईलाई ‘भावी प्रधानमन्त्री’का रूपमा अघि सारिएको थियो । पार्टीभित्र भद्र सहमति गरेर चुनावमा गएको थियो– कांग्रेस । भलै उनी स्वयम् पराजित भए ।

२०५ क्षेत्र निर्धारण गरी गरिएको प्रतिनिधिसभा निर्वाचन, ०४८ मा कांग्रेसले प्रष्ट बहुमत पुग्ने गरी ११० सिट जितेको थियो । 

त्यस निर्वाचनमा नेपालका वामपन्थी दलहरूले ‘एक वाम एक ठाम’ को नारा दिएका थिए तर त्यो कार्यान्वयन हुन सकेन । केही सिटमा तालमेल गरी बाँकी आफूखुसी चुनाव लडेका त्यसबेलाका वामपन्थी दलहरूमध्ये एमालेले ६९, जनमोर्चा नेपालले ९, नेपाल मजदुर किसान पार्टीले २ र नेपाल कम्युनिष्ट पार्टी (प्रजातन्त्रवादी) ले २ सिट जितेको थियो । कांग्रेसले २०५ मध्ये ११० सिट जित्दा सबै कम्युनिष्टले गरी जम्मा ८२ सिट जितेका थिए । 

००७ सालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको कांग्रेसका सभापति कोइराला र ०४६ सालको जनआन्दोलनको नेतृत्त्व गरेको कांग्रेसले त्यसपछि भएका चुनावमा सफलता हासिल गरेको थियो । 

२०४८पछि भएका दुई संविधानसभासहित छ वटा संसदीय (दुई वटा संविधानसभा) चुनावमध्ये ०५६ सालमा बहुमत ल्यायो । ०५४ साल फागुन २१ मा एमाले फुटेर सहाना प्रधान अध्यक्ष र वामदेव गौतम महासचिव रहेको नेकपा (माले) का कारण कांग्रेसले बहुमत हासिल गरेको थियो । 

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फका २४० मध्ये १२० सिट जित्दा कांग्रेसले ३७ र एमालेले ३३ सिटमात्र जितेको थियो । 

कांग्रेस ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बन्यो । एमाले र माओवादी दुई कम्युनिष्टको प्रतिस्पर्धाबीच कांग्रेस एमालेभन्दा केही ठूलो पार्टी बनेको थियो । प्रत्यक्षतर्फका २४० मध्ये कांग्रेसले १०५, एमालेले ९१ सिट जित्दा माओवादी २५ सिटमा सीमित भएको थियो । 

४ मंसिर ०७९ मा भएको निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल भएको छ ।  तीन कम्युनिष्ट घटकसहित पाँचदलीय गठबन्धन बनाएर ‘एमालेलाई भित्तामा पुर्‍याउने’ घोषणा गरी चुनावमा गएको भए पनि हालसम्म घोषित परिणामअनुसार कांग्रेसले एमालेभन्दा लगभग १० सिटले अग्रता लिइरहेको छ । गठबन्धनका पाँच दललाई साधारण बहुमत पुर्‍याउन पनि मुस्किल परेको छ ।  

शक्ति आधा घट्यो वामपन्थीको

तीनवटा कम्युनिष्ट पार्टीसहितको सत्तारुढ पाँचदलीय गठबन्धनसँग एमाले एक्लै लडेको छ । केही सिटमा जनता समाजवादी पार्टी र राप्रपासँग तालमेल गरी १४१ क्षेत्रमा एक्लै लडेको एमालेले समानुपातिकतर्फ सबैभन्दा लोकप्रिय मत र प्रत्यक्षतर्फ घोषणा भएका १६२ मध्ये ४४ सिट जितेको छ । तीन क्षेत्रको मात्र परिणाम आउन बाँकी छ ।

कांग्रेसले पाँचदलीय गठबन्धनको नेतृत्त्व गर्दै ५५ सिट हासिल गर्दा तीन जिल्लामा राप्रपा र मधेस प्रदेशमा आठ जिल्लाका १७ सिटमा जसपासँग तालमेल गरी १४२ क्षेत्रमा एक्लै लडेको एमालेले आफूलाई दोस्रो शक्तिका रूपमा जोगाउन सफल भएको छ । 

एमालेले पाँच वर्षअघि ०७४ सालको संसदीय चुनावमा माओवादी केन्द्रसँग ‘वाम–गठबन्धन’ गर्दा प्रत्यक्षतर्फ १६५मध्ये ८० सिट एक्लै जितेको थियो । माओवादी केन्द्रले ३६ सिट जितेको थियो । अहिले एमालेले प्रत्यक्षतर्फ आधाभन्दा चार सिट मात्र बढी जितेको छ । 

त्यसबेला वाम गठबन्धन गरी त्यसपछि पार्टी एकता गरी करिब साढे तीनवर्ष नेकपा भएको र ०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलालाई कारण देखाएर अलग भएको माओवादी केन्द्रले प्रत्यक्षतर्फ आधाभन्दा पनि एक सिट कम अर्थात् १७ हासिल गरेको छ । 

त्यसबाहेक एक वर्षअघि एमालेबाट २३ सांसद र २० प्रतिशत केन्द्रीय सदस्यसहित माधव नेपालको नेतृत्त्वमा फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षतर्फ १० सिट जितिसकेको छ । राष्ट्रिय पार्टीको हैसियत बनाउन ३ प्रतिशत मतका लागि यो दल संघर्षरत छ । 

चुनावअघिको प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी एमाले एक्लैको १२१ सिट थियो । अब त्यो संख्या एमाले, माओवादी र एकीकृत समाजवादी तीन वटा दलको संख्या मिलाउँदा मात्र पुग्नसक्ने भएको छ । त्यसबाहेक नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट जितेका छन् । 

एमालेबाट फुटेर बनेको नेकपा (एस) र एकीकरणभन्दा अघिकै अवस्थामा फर्किएको नेकपा (माओवादी केन्द्र) ले कांग्रेससँग गठबन्धन गरी आफ्नो अस्तित्व जोगाएका छन् । 

फुटले कमजोर भएको एमालेले पाँचदलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दा प्रत्यक्षतर्फ पहिलेभन्दा करिब ३६ सिट कम जितेको छ । 

एमालेले समानुपातिकतर्फ २६.६४ प्रतिशत भोट हासिल गरेर पहिलो स्थान कायमै राखेको छ । यसअघि समानुपातिकतर्फ सबैभन्दा बढी ४१ सिट जितेको एमाले अहिले त्यसबेलाभन्दा छ सिट कम जित्नसक्ने आकलन गरिँदै छ । माओवादी केन्द्रले पनि करिब ११.२४ प्रतिशत मत मात्र समानुपातिकतर्फ हासिल गर्दै छन् ।

एमालेले अघिल्लो निर्वाचनमा भन्दा करिब ६ प्रतिशत भोट कम ल्याएको छ । कांग्रेसले पनि छ प्रतिशत भोट कम पाएको छ । यसपटक कांग्रेस करिब २५ प्रतिशतमै सीमित हुने सम्भावना देखिएको छ । माओवादी केन्द्रले पनि यसअघि भन्दा झन्डै तीन प्रतिशत मत घटाउने अनुमान छ ।

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी लहर आफ्नो पक्षमा पारेपछि एमाले र कांग्रेस दुवैले कम्तिमा छ/छ प्रतिशत मत गुमाएका छन् । 

नवगठित नेकपा (एस)ले गठबन्धनको सहयोगमा प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकतर्फ राष्ट्रिय पार्टी बन्न संघर्षरत छ । राष्ट्रिय पार्टी बन्न सदर मतको ३ प्रतिशत मत हासिल गर्न जरुरी छ । प्रत्यक्षतर्फ १–१ सिट जितेको नेमकिपा र राष्ट्रिय जनमोर्चाले ‘राष्ट्रिय पार्टी’ को हैसियत बनाउन सकेनन् । करिब ३० हजार मत पाएको सीपी मैनाली नेतृत्वको नेकपा (माले) शुन्य भएको छ । 

०७४ को चुनावपछि प्रतिनिधिसभामा नेपालका कम्युनिष्ट पार्टीहरू एमाले, माओवादी, जनमोर्चा, नेमकिपाको गरी १७८ सिट थियो । कुल २७५ सिट रहेको प्रतिनिधिसभाको यो दुईतिहाईनजिक (करिब ६४ प्रतिशत) हो । 

एमाले र माओवादी केन्द्रले साझा घोषणापत्रसहित चुनावपछि पार्टी एकता गर्ने घोषणा गरेर चुनावमा जाँदा गत चुनावमा दुईतिहाइनजिकको सफलता हासिल गरेका थिए । अहिले त्यो शक्ति चार टुक्रा भएर चुनावमा गएको थियो । 

विगतको वाम गठबन्धनबाट फुटेर बनेका नेकपा माओवादी र एसले कांग्रेससँग गठबन्धन गरेका थिए । अनि एमालेसँग ‘गलाकाट प्रतिस्पर्धा’ मा उत्रिएका थिए । परिणामस्वरुप कांग्रेस सबैभन्दा ठूलो दल बन्न सफल भएको छ । 

चुनावपछि एमाले र माओवादीकेन्द्र दुवैको शक्ति लगभग आधा क्षय भएको छ । देश गणतन्त्रमा गएपछि संसद्मा कम्युनिष्टहरू सबैभन्दा कमजोर भएको यसैपटक हो । यो कम्युनिष्ट पार्टी विभाजित हुँदाको फल हो । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय