site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘चेला’सँगको हारपछि खनालको राजनीतिक करिअरमा पूर्णविराम !
SkywellSkywell

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हुन्, महेश बस्नेत । उनले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललाई पराजित गरे ।

नेपालमा सूर्योदयको पहिलो किरण पर्ने क्षेत्रबाट निर्वाचित उनी यसपटक चुनाव जित्ने चर्चित उमेदवारमध्ये एक हुन् । तर, उनी त्यति धेरै खुसी हुनसकेका छैनन्, जति एक शीर्ष नेतासँग लडेर जित्दा हुन सक्थे । कारण, आफ्ना राजनीतिक गुरुलाई नै उनले पराजित गरेका हुन् ।

विजयको खुसी त नहुने भएन, तर खनालबाट प्रशिक्षित भएर राजनीतिमा लागेको करिब पाँच दशकपछि आफैँबाट उनी पराजित हुँदा बस्नेतलाई त्यति मजा लागेको छैन । बाह्रखरीसँगको कुराकानीमा उनले भने, “उहाँ हाम्रो राजनीतिक गुरु हो । ०३१ सालमा उहाँले हामीलाई राजनीतिक प्रशिक्षण दिनुभएको सम्झना छ ।”

KFC Island Ad
NIC Asia

नेकपा (एमाले)का नेता बस्नेत दुईपटक इलाम नगरपालिकाको मेयर भइसकेका व्यक्ति हुन् । उनी पहिलोपटक ०५४ सालमा निर्वाचित भएर मेयर बनेका थिए । ०७४ को स्थानीय तह निर्वाचनबाट चुनिएर पुनः मेयर बने । बस्नेत एक वर्षदेखि एमालेका जिल्ला अध्यक्ष छन् ।

खनालसँगको पुरानो स्मृति साट्दै उनले सुनाए, “०३१ सालमा राजा वीरेन्द्रको राज्याभिषेक किन असफल बनाउने भनेर प्रशिक्षण दिनुभएको थियो । त्यस प्रशिक्षणमा म, वसन्त पराजुली, विक्रम सुब्बा, रत्न वान्तवा (सहिद) थियौँ ।”

Royal Enfield Island Ad

नागरिकको विचार परिवर्तनशील भएको र त्यसलाई बुझेर आफूलाई समयानुकूल अद्यावधिक गर्न नसक्दा एमालेकै पूर्वअध्यक्ष खनाल आफूसँग पराजित हुने परिस्थिति आएको उनी बताउँछन् । आइतबार सम्पन्न मतगणनामा बस्नेतले २५ हजार ७५० मत पाउँदा निकटतम प्रतिस्पर्धी पाँचदलीय गठबन्धनका साझ उमेदवार खनालले २३ हजार ८८ मत ल्याए ।

बस्नेत पिता र राई माताका सन्तान बस्नेत फुटबलका पूर्वखेलाडी पनि हुन् । त्यसैले उनीभन्दा वरिष्ठ इलामका फुटबल टिमका क्याप्टेन पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँग बाल्यकालदेखि नै निकट थिए । उनी इलाम नगरपालिका बसपार्कका स्थायी बासिन्दा हुन् । “मैले त केटाकेटीदेखि नै खेलाएर हुर्काएको भाइ हो, महेश । उनी घरपरिवारका सदस्यजस्तै हुन्,” चुनावी चटारोले थाकेका नेम्वाङले बाह्रखरीसँग भने, “उनी नयाँ, अघि बढिरहेका नेता हुन् । कांग्रेसले गढ मान्ने गरेको इलाम नगरपालिकाको मेयर दुईपटक जित्नुले पनि उनको प्रभाव देखाउँछ ।”

दोहोरियो ‘गुरु’को पराजय 
इलाममा चेलाले गुरुलाई पराजित गर्ने घटना दोहोरिएको छ । ०५६ सालमा सुवासचन्द्र नेम्वाङले आफैँलाई स्कुलमा अंग्रेजी पढाएका ‘हेडसर’ कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङलाई पराजित गरेका थिए ।

नेम्वाङ र खनाल दुवै स्कुलका सहपाठी हुन् । गुरुङ भने उनीहरू दुवैका ‘हेडसर’ थिए । खनाल उमेरले नेम्वाङभन्दा तीन वर्ष जेठा छन् । पहिलोपल्ट ०५६ सालमा चुनाव लडेका नेम्वाङले ‘केबी सर’लाई हराए । एमाले फुटेपछि भएको उक्त चुनावमा अर्को क्षेत्रबाट खनाल कांग्रेसका वेनुपराज प्रसाईंसँग पराजित भएका थिए ।

खनाल ०४८ सालदेखि अहिलेसम्म भएका सबै निर्वाचनमा इलामबाट उमेदवार बने । यसपालि सातौँपटक चुनाव लडेको उनको यो दोस्रो हार हो ।

आफ्नै विद्यालयका सहपाठी नेम्वाङ अर्को चुनाव क्षेत्रबाट उमेदवार बन्ने इलाममा खनालले एमालेसँग मिलेर चुनाव लड्न सक्ने अनुमान पनि धेरैले गरेका थिए । यसबारे दुई सहपाठीबीच संवाद पनि भएको थियो । संवादकै परिणामस्वरूप स्थानीय तह निर्वाचनमा एमालेले इलाम जिल्ला समन्वय समितिको संयोजक पाएको थियो ।

स्थानीय चुनावमा भोट हालेर फर्कंदा गएको वैशाख ३१ गते भद्रपुर विमानस्थलमा दुई नेताबीच मिलेर जानेबारे लामो कुराकानी भएको थियो । खनालले कांग्रेसबाट धोका भएकाले एमालेसँगै मिल्ने प्रतिबद्धता जनाएका थिए । तर, स्थानीय चुनावमा गठबन्धनका उमेदवारले पाएको भोट जोड्दा एमालेको भन्दा करिब १६ हजार बढी आयो । एमालेभन्दा गठबन्धनसँगै लड्दा सहज हुने देखी खनालले नेम्वाङलाई ‘धोका’ दिएका थिए । खनालको यो ‘क्याल्कुलेसन’ गलत सावित भयो । उनी पराजित भए ।

‘डाँडामाथिको जून’
चुनाव प्रचारका क्रममा एमाले उमेदवार बस्नेतले खनाललाई ‘डाँडामाथिको जून’को संज्ञा दिएका थिए । चुनाव लड्ने बेलामा मात्र प्रकट हुने, जनताले देख्ने, त्यसपछि कहिल्यै भेट्न नसक्ने जनप्रतिनिधिका रूपमा उनलाई व्याख्या गरिएको थियो ।

खनालले पनि ‘अन्तिमपटक’ भन्दै भोट मागेका थिए । कांग्रेस, माओवादीलगायत पाँचदलीय गठबन्धनको सहयोगमा उठेका खनाल सुरुदेखि नै पछि पर्दै अन्ततः पराजित भए ।

एमालेको मातृपार्टी भूमिगत नेकपा (माले)को महासचिवका रूपमा २०३९ सालदेखि ०४६ सम्म सात वर्ष पार्टी प्रमुख चलाएका नेता हुन्, खनाल । उनी ०६६ सालमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए, वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई हराएर । खनाल भूमिगत कालमा सात वर्ष र गणतन्त्रमा पाँच वर्ष गरी १२ वर्ष एमालेको पार्टी प्रमुख चलाएका नेता हुन् ।

बौद्धिक र शालीन छविका नेता हुन्, खनाल । उनलाई मार्क्सवाद र नेपाली इतिहास तथा संस्कृतिबारे राम्रो ज्ञान छ । चार टुक्रा भएको एमालेको इलाममा शक्ति अनुमान गर्न नसक्दा उनले हार व्यहोर्नुपरेको छ ।

०६६ सालमा खनाल एमाले अध्यक्ष चुनिएपछि अध्यक्षको आकांक्षा राखेका तर चुनाव लड्ने आँट नगरेका माधवकुमार नेपाल र खनालसँग पराजित ओली मिलेर उनलाई खुबै पेले । खनालले अध्यक्ष जिते पनि केन्द्रीय कमिटीमा बहुमत थिएन । नेपाल–ओली पार्टीको बैठक माग गर्थे । खनाल भने आफ्नो बहुमत रहेको संसदीय दलको बैठक डाक्थे ।

पेलाइ यतिसम्म खाए, ६०१ सदस्यीय संविधानसभाको ३०१ अर्थात् साधारण बहुमत पाए पनि प्रधानमन्त्री चुनिन सक्ने संवैधानिक व्यवस्था हुँदाहुँदै पहिल्यै ४०१ सदस्यको हस्ताक्षर जुटाउनुपर्ने सर्त स्थायी कमिटीबाट पारित गराइयो । खनाल यो सर्त स्वीकारेर प्रधानमन्त्रीको उमेदवार बने, माओवादीको समर्थन पाउने आसमा । तर, दुईतिहाइको समर्थन पहिले नै जुटाउन समर्थ भएनन् ।  प्रस्तावक बसेका नेपालले संसद्बाट उनको प्रधानमन्त्रीको उमेदवारी नै फिर्ता लिइदिएका थिए, ०६७ सालमा ।

सधैँ सुकिलो भेषमा देखिने उनी  आफ्नो बारेमा भने निकै चलाख नेतामा चिनिन्छन् । नेपाल–ओलीको त्यो तहको पेलाइ छिचोलेर माओवादी अध्यक्ष प्रचण्डको समर्थनमा खनाल प्रधानमन्त्री निर्वाचित भएका थिए, ०६७ माघ २० मा ।

करिब सात महिना प्रधानमन्त्री हुँदा उनले पनि पार्टीभित्रबाट पेलाइ खाए, उनीभन्दा अघि प्रधानमन्त्री भएका नेपाल र पछिका ओलीले जस्तै । शान्तिप्रक्रियाको मुख्य काम माओवादी सेनाका लडाकुको व्यवस्थापन गरी क्यान्टोन्मेन्ट खाली गर्ने कार्यमा उनी केन्द्रित भएका थिए । तर, सकेनन् । कुनै उपलब्धिबिना नै सात महिनामा राजीनामा दिएका थिए ।

राष्ट्रपतिको कुर्सीमा ‘अर्जुनदृष्टि’
प्रधानमन्त्री भएताका खनालले सबैभन्दा बढी प्रयोग गर्ने शब्द थियो, अर्जुनदृष्टि । ०७२ सालमा संविधान बनेपछि उनको अर्जुनदृष्टि राष्ट्रपतिको कुर्सीमा छ ।

एमालेले तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उमेदवार बनाउँदा पनि दुवैपटक पार्टीभित्र खनालले आफूलाई आकांक्षीका रूपमा प्रस्तुत गरेका थिए । त्यस बेला ‘प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति किन राष्ट्रपति ?’ भन्ने प्रश्न उठाइएको थियो । त्यसको खनालले सहज जवाफ दिएका थिए, “आराम गर्न ।”

इलामको साखेजुङमा ००६ सालमा चैत ६ गते जन्मिएका हुन्, खनाल । उनी ७४ वर्षका भए । पण्डित पिता पुङ्गनाथ र माता मधुमाताका १३ सन्तानमध्ये उनी सातौँ हुन् । त्यसैले उनी बाल्यकालमा ‘जन्तरे’ भनेर परिचित थिए । ३३ वर्षको उमेरमै उनी भूमिगत मालेको महासचिव भएका थिए ।

१५ वर्षको उमेरदेखि नै वामपन्थी राजनीतिमा लागेका खनाल ०२३ सालमै मेची क्याम्पस विद्यार्थी युनियनका अध्यक्ष चुनिएका थिए । ०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए ।

त्यसपछि सक्रिय राजनीतिमा लागेका खनाललाई ०२८ सालमा चित्रबहादुर केसीले शिक्षक बनाएर बागलुङ लगेका थिए । केही समय केसीसँगै विद्यालयमा पढाउँदै राजनीति गरेका उनी राजकाज मुद्दा लागेपछि त्यहाँबाट फर्किएका थिए ।

०३५ सालमा नेकपा (माले) गठन गर्न नेतृत्वदायी भूमिका निभाएका खनाल सीपी मैनालीलाई कारबाही गरिएपछि ०३९ सालमा महासचिव भएका थिए । उनी ०४६ सालको जनआन्दोलनमा वाममोर्चाको नेतृत्वमा थिए ।

जनआन्दोलन सफल भएपछि ०४७ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको अन्तरिम सरकारमा मालेका तर्फबाट खनाल मन्त्री भए । उनले वन, कृषि र भूमिसुधारमन्त्रीको जिम्मेवारी निभाएको बेला एमाले नेता भीमबहादुर रावल उनका स्वकीय सचिव थिए ।

०४९ साल माघमा भएको एमालेको पाँचौँ महाधिवेशनमा तत्कालीन एमाले महासचिव मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद (जबज)को कार्यनीति ल्याइएको थियो । त्यसलाई ‘दक्षप्रजापतिको टाउको’ भन्दै विपक्षी सीपी मैनालीले अघि सारेको ‘परिमार्जित नौलो जनवाद’को पक्षमा उभिएका थिए, खनाल । त्यसपछि उनी भण्डारी र उनका सहयोगी माधव नेपालको पेलाइमा परे । पूर्वमहासचिव खनाल एमालेको पोलिटब्युरोमा समेत परेनन् । केन्द्रीय सदस्यमा सीमित भए । ०५० जेठ ३ गते दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्युपछि रिक्त दुई पोलिटब्युरो पदमा खनाल र वामदेव गौतमलाई लगिएको थियो ।

०७१ सालमा अध्यक्ष रहेका खनालले गौतमको साथ गुमाएपछि ओलीसँग संसदीय दलको नेता हारे ।

राष्ट्रपति पाउने सर्तमा संसदीय दलको नेता ओलीलाई छाड्न तयार भएका खनाल माधव नेपालको दबाबमा संसदीय दलको नेतामा चुनाव लडे र हारे । त्यसपछि खनालको राजनीतिक ‘करिअर’ ओरालो लागेको हो ।

एमाले–माओवादी एकतापछि बनेको नेकपामा खनाललाई ‘वरिष्ठ नेता’ बनाइएको थियो । त्यसपछिको नेकपा विवादमा खनालले प्रचण्ड–नेपाललाई साथ दिए । त्यसमा पनि राष्ट्रपति पदको आश्वासनले काम गरेको आरोप एमालेभित्रैबाट लगाइएको थियो ।

एमालेको विधानले ७० वर्ष नाघेका खनाललाई कार्यकारी पदमा बस्न रोक्थ्यो । ओलीसँगको तिक्त सम्बन्ध र विधानले हालेको बाधाका कारण पनि एमाले छाड्ने निर्णयमा पुगेको उनीनिकट नेताहरूको अनुमान छ ।

खनालको ०७८ साउन २० गते नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसैले उनी स्वास्थ्यका हिसाबले पनि कमजोर भएका छन् । चुनावमा भएको पराजयले उनलाई राजनीतिक रूपमा थप कमजोर बनाएको छ ।

पार्टी र राजकीय जिम्मेवारी वहनका हिसाबले शीर्ष पदमा पुगिसकेका नेता खनाल जीवन र राजनीतिक करिअरको उत्तराद्र्धमा आइपुग्दा आफू अध्यक्ष भइसकेको पार्टीको साधारण कार्यकर्ताबाट पराजित भएका छन् । अवकाशको उमेरमा भएको यो हारले उनको राष्ट्रपति सपनालाई पनि धुमिल बनाउन सक्नेछ । राजनीतिक करिअरमै पूर्णविराम लाग्न सक्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro