site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनी प्रदेश : संघ र प्रदेशका ११ महिला उमेदवारमध्ये दुईमात्रै निर्वाचित
दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित रेखा शर्मा (दायाँ) र बाँके १ ‘क’बाट निर्वाचित कृष्णा केसी ।
Tiktok banner adTiktok banner ad

बुटवल । लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ प्रतिनिधिसभा र ५२ प्रदेशसभाको मतपरिणामले महिलामा निराशा पैदा गरेको महिला अधिकारकर्मीहरूले बताएका छन् । 

लुम्बिनी प्रदेशबाट आम निर्वाचन २०७९ मा क्रियाशील दलका ११ महिलामात्रै प्रत्यक्षतर्फ उमेदवार बन्ने अवसर पाए । संविधानले संघ, प्रदेश र स्थानीय तहमा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर, दलहरूले उमेदवारी दर्ता गर्ने क्रममै यस व्यवस्थालाई उपेक्षा गरेका थिए । अधिकांश महिला उमेदवारहरू पराजित भए । 

निर्वाचन कानुनले पनि महिला सहभागितासहित समावेशीताका लागि बाध्यकारी व्यवस्था गरेको छ । तर, दलहरूले विभिन्न बाध्यात्मक कारण देखाउँदै यसलाई टारेका छन् । उनीहरूले निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई अवसर नदिएर समानुपातिकमै सीमित गरेका छन् । यसले मूल नीति निर्माण तहमा महिला सहभागिता कमजोर हुने देखिएको छ ।

महिला अधिकारकर्मी रिता सेनले महिला क्षमतालाई स्वीकार गर्ने प्रवृत्तिको विकास नहुँदा प्रत्यक्षतर्फ महिलाहरूले मौका नपाएको बताउँछिन् । “महिला आफैँ पनि नेतृत्वमा पुग्न संकुचित छन् । सक्षम महिलाहरू पनि चुनावमा भिड्न पाउँदैनन्, उनीहरूलाई मौका नै दिइँदैन,” उनले भनिन् “बल्लबल्ल पाएको अवसरलाई पनि साथ नदिएर पराजित बनाउँछन् ।”

सेनले महिलाहरूले सशक्त आवाज उठाउन नसक्दा पनि राजनीतिक दलले प्रत्यक्षतर्फ महिलालाई अगाडि नसारेको बताउँछिन् । “सबै दलका महिलाहरू एकजुट र अडिग भइ अभियान चलाउने हो भने परिवर्तन सम्भव छ,” उनले भनिन् । समानुपातिकभित्र पनि पहुँच र उच्च ओहदाका व्यक्तिलाईमात्रै समावेश गर्ने गरिएको उनको भनाइ छ ।

लुम्बिनीबाट प्रतिनिधिसभातर्फ ७ र प्रदेशमा ४ जनामात्रै महिला उमेदवार रहेकामा संघ र प्रदेशमा एक–एकजनामात्रै विजयी भएका छन् । 

एमालेले दुई तथा कांग्रेस, माओवादी, जनमोर्चा र एकीकृत समाजवादीबाट एक–एक जना महिलाले प्रतिनिधिसभामा प्रत्यक्षमा चुनाव लडेपनि माओवादीकी उमेदवारमात्रै विजयी भइन् । 

लुम्बिनीमा समानुपातिक र प्रत्यक्ष गरी ८७ जना सांसद चुनिन्छ । प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फ प्रमुख दलबाट चार महिलामात्रै भिडेका थिए । एमालेबाट रुकुमपूर्वको ‘ख’मा भावना बुढाथोकी र बर्दिया २ को ‘ख’मा कृष्णी थारु, माओवादी केन्द्रबाट बाँके १ को ‘क’मा कृष्णा केसी र बर्दिया १ को ‘ख’मा अञ्जु दहित चुनावी मैदानमा रहेपनि केसीमात्रै विजयी बनिन् । लुम्बिनी प्रदेशसभाकी निवर्तमान उपसभामुख थारु पराजित हुँदा केसीमात्रै निर्वाचित भएकी हुन् । 

राजनीतिक दलहरूले उमेदवार छनोटअघि प्रत्येक क्षेत्रबाट आकांक्षीहरूको सूची माग गरेका थिए । तर, प्रत्यक्षतर्फको सूचीमा महिलाको आकांक्षा निकै कम देखिएको थियो । “प्रत्यक्षमा उठ्ने हिम्मत नै नगर्ने, समानुपातिकमा बस्न खोज्ने नेतृहरूमात्रै हुनुहुन्छ, अनि यस्तोमा कसरी पार्टीले अवसर दिनसक्छ,” रुपन्देहीका एक राजनीतिक दलका नेताले भने । महिला नेतृहरूले संगठन निर्माण, कार्यकर्ता परिचालनलगायत काम कमै गर्ने प्रवृत्ति रहेको उनी बताउँछन् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनीबाट जनमोर्चाकी दुर्गा पौडेलमात्रै निर्वाचित भएकी थिइन् । यो पटक उनीसहित एमालेबाट शान्ता चौधरी र कोमल वली, कांग्रेसबाट पुष्पा भुसाल, माओवादी केन्द्रबाट रेखा शर्मा र एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री प्रतिनिधिसभाको चुनावी मैदानमा रहेपनि शर्मामात्रै निर्वाचित भइन् ।

महिला उमेदवार–जसले जिते

दाङ क्षेत्र नम्बर २ मा गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र)ले पूर्वमन्त्री रेखा शर्मालाई उमेदवार बनाएको थियो । शर्माले २०६४ सालको संविधानसभा निर्वाचन पश्चिम दाङबाट जितेकी थिइन् । उनी मन्त्री हुँदा वा राजनीतिक रूपमा पनि कुनै पनि विवादमा नमुछिएकी नेतृको छवि बनाएकोले पनि सहज भएको थियो । उनले नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई पराजित गर्न सफल भइन् । 

०७४ सालको निर्वाचनमा शंकर वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ को ‘क’बाट निर्वाचित भएपछि मुख्यमन्त्रीसमेत बनेका थिए । मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीबाट दाङ सार्न भूमिका खेलेका पोखरेललाई शर्माले २०२ मतान्तरसहित पराजित गरिन् । 

प्रदेशसभातर्फ माओवादी केन्द्रबाट बाँके १ को ‘क’मा कृष्णा केसीले जित निकालिन् । निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेकी उनले निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गरिन् । उनीहरूबीचको मतान्तर १ हजार १३७ रहेको छ । 

प्रतिनिधिसभातर्फ यीसँग हारे महिला उमेदवार

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीलाई नेकपा एमालेका गोकर्ण विष्टले पराजित गरे । 

दाङ क्षेत्र नम्बर १ मा नेकपा (एमाले)की शान्ता चौधरी र नेकपा एमालेबाट टिकट नपाएर स्वतन्त्र उमेदवारी दिएकी गंगा चौधरीलाई एकीकृत समाजवादीका मेटमणि चौधरीले पराजित गरे । 

दाङ क्षेत्र नम्बर ३ मा एमालेले कोमल वलीलाई प्रतिनिधिसभाको उमेदवार बनाएको थियो । उनलाई नेपाली कांग्रेसका दीपक गिरी गिरीले पराजित गरे । 

एउटामात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा कांग्रेसकी केन्द्रीय सदस्य एवं निवर्तमान उपसभामुख पुष्पा भुसाललाई एमाले सचिव टोपबहादुर रायमाझीले पराजित गरे । 

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई प्युठानमा एमालेका सुर्य थापाले पराजित गरे । 

जनता समाजवादी पार्टीबाट पाल्पा–२ मा उमेदवारी दिएकी दुर्पता सोमै एमालेका ठाकुर गैरेले पराजित गरे । 

जसले प्रदेशसभामा महिला उमेदवारलाई पराजित गरे

एमालेबाट रुकुमपूर्वको ‘ख’ मा भावना बुढाथोकी चुनावी मैदानमा थिइन् । उनलाई कांग्रेसका धनबहादुर केसीले राजित गरे । 

बर्दिया–२ ‘ख’ एमालेकी कृष्णी थारुलाई नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले पराजित गरे । 

बर्दिया–१ ‘ख’मा माओवादी केन्द्रकी अञ्जु दहितलाई नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरीले पराजित गरे । 


समानुपातिकमा अवसर

प्रतिनिधि तथा प्रदेशसभामा समानुपातिक सूचीबाट भने महिलाहरूले अवसर पाउने देखिएको छ । प्रतिनिधिसभामा पनि करिब ७० जना महिलाहरू सहभागी हुने देखिएको छ । यस्तै, प्रदेशसभामा पनि महिला सहभागिता समानुपातिकसहित ३३ प्रतिशत पुर्‍याउनुपर्नेछ । यसो हुँदा समानुपातिक सूचीबाट आउने ३५ मध्ये २५ जना महिलाहरू ल्याउनुपर्ने छ । यहाँ सबै क्लस्टर मिलाउँदा अवसर मिल्ने देखिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro