site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गठबन्धनबाट कांग्रेसलाई लाभ, माओवादीको ‘पत्तासाफ’ !
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनका दलहरूबीच घात–प्रतिघात गरेको भन्दै आरोप–प्रत्यारोप सुरु भएको छ । गठबन्धनबाट कांग्रेसले लाभ लिएको, संगठन नै नभएको नेकपा (एस) का उमेदवारहरूले पनि जितेका तर माओवादीले भने ‘शर्मनाक’ हार व्यहोरेपछि सो पार्टीका कार्यकर्ताहरूले कांग्रेस नेताहरूलाई रोष प्रकट गर्न थालेका हुन् । 

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३० सिट गरी जम्मा ४५ सिटमध्ये माओवादी शुन्य भएको छ । पाँच दलीय गठबन्धनको समर्थनमा ललितपुर–३ बाट चुनाव लडेकी उपमहासचिव एवम् बहालवाला मन्त्री पम्फा भुसाल, काठमाडौं– २ बाट लडेकी पूर्वसभामुख ओनसरी घर्तीले समेत तेस्रो भएका छन् । 

संघीय संसद्का राजधानीका १५ मध्ये चार सिट माओवादीको भागमा परेको थियो । कांग्रेसले समर्थन गरेका माओवादीका चारैजना उमेदवार ‘घण्टी’ अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारसँग हारेका थिए । कांग्रेसले राजधानीबाट संघीय संसद्मा आठ सिट, नवगठित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बाट लडेको घण्टीका उमेदवारले चार, एमालेले दुई सिट जित्दा माओवादी भने शुन्य भएको हो । कुनै पनि क्षेत्रमा निकटतम प्रतिद्वन्द्वी पनि हुन सकेको थिएन । 

Prabhu Bank
Agni Group
NIC Asia

नेताले गरेको अन्तर्घातकै कारण माओवादी राजधानीमा शुन्य हुनुपरेको माओवादीको बुझाइ छ । 

राजधानीमा शुन्य भएपछि माओवादी केन्द्रीय सदस्य रहेका वाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटाले ट्वीट गर्दै कांग्रेस महामन्त्री गगन थापाले गठबन्धनलाई धोका दिएको आरोप लगाएका छन् । उनले लेखेका छन्, “.....गगन थापाले ... भनेका थिए– म कालो कांग्रेस हुँ । हो रहेछ, तपाईं र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरूलाई मज्जाले हराउनुभयो ...!” 

Global Ime bank

अनि माओवादीको ‘आधार क्षेत्र’ रोल्पामै अन्तर्घात गरेकाले गठबन्धनबाट प्रदेशसभा सदस्यमा चुनाव लडेका कांग्रेसका प्रदेशसभा सदस्य उमेदवार अमरसिंह पुन पराजित भए । कांग्रेसको लुम्बिनी प्रदेश सभापति रहेका उनी उठेको क्षेत्रमा माओवादीको ‘बागी’ उमेदवार (स्वतन्त्र) ले दीपेन्द्रकुमार पुन ‘सिजल’ विजयी भए । 

एमालेले विगतमा जितेको, ठूला र प्रभावशाली नेता लडेको क्षेत्रमा कांग्रेसले माओवादीलाई पूर्ण रूपमा साथ दिएको देखिन्छ । 

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल वा महासचिव शङ्कर पोखरेलदेखि खोटाङ, काभ्रेदेखि भक्तपुरसम्म माओवादीले कांग्रेस र कांग्रेसले माओवादीलाई राम्ररी साथ दिएको देखिन्छ । 

माओवादीको प्रभाव क्षेत्रमा माओवादीले कांग्रेसलाई र कांग्रेसले विगतमा जित्दै आएको क्षेत्रमा कांग्रेसले माओवादीलाई धोका दिएको देखिन्छ । 

कञ्चनपुरबाट प्रचण्डकी बुहारी वीना मगर नै एमालेका तारा लामासँग ठूलो मतान्तरले पराजित भइन् । सुदूर–पश्चिम प्रदेशमा संघमा माओवादी शुन्य हुनु, मध्यपश्चिमका बाँकेलगायतका कतिपय जिल्लामा कांग्रेसले पराजय व्यहोर्नुमा एकअर्कालाई दिएको धोकाका रूपमा व्याख्या गरेका छन् ।  

धोखापूर्ण राजनीति

संघ र प्रदेश निर्वाचनमा एमालेले १४१ क्षेत्रमा उमेदवारी दिएको थियो । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एक्लै लडेर १०० सिट जित्ने र एक्लो बहुमतको सरकार बनाउने दाबी गरेका थिए । एमालेले ओलीलाई भावी प्रधानमन्त्री भनेर घोषणा गरेर चुनावमा गएको थियो । एमालेले २० क्षेत्रमा मात्र तालमेल गरेको सो पार्टीले जनाएको थियो । 

पाँचदलीय गठबन्धनमध्ये कांग्रेसले ९०, माओवादी केन्द्रले ४७, नेकपा (एस) १९, लोकतान्त्रिक समाजवादी पार्टी ७ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा चुनाव लडेका थिए । 

गठबन्धनको नेतृत्त्व गर्ने कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले त एमालेबारे केही पनि बोलेनन् तर माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एस) का अध्यक्ष माधव नेपालले भने एमालेलाई देशबाटै ‘क्लिन स्वीप’ गरिदिनेसम्म घोषणा गरेका थिए । 

चुनावमा ३९ प्रतिशत मतदाता मतदानमा सहभागी नभएर निर्वाचनलाई एक हदसम्म अस्वीकार गरेका छन् । यो संसदीय व्यवस्था र कांग्रेसविरुद्ध दशवर्षे सशस्त्र द्वन्द्व गरेको माओवादी र माओवादीलाई आतंककारी घोषणा गर्ने, टाउकोको मूल्य तोक्नेसम्मको विगतको सम्बन्धलाई मतदाताले सहजै स्वीकार गर्न नसकेको यथार्थ हो । 

देशभरिको चुनावलाई आम रूपमा हेर्दा गठबन्धन धेरै हदसम्म सफल भएको हो । अहिलेको मत परिणाम हेर्दा कांग्रेस वा माओवादी केन्द्रले एमालेसँग एक्लै सामना गर्न नसक्ने आत्ममूल्याङ्कन सही देखिन्छ ।

गठबन्धनभित्रका दलका नेताहरूले १५ वर्षसम्म निरन्तर मिलेर अघि बढ्ने बताएका थिए । 

उदार लोकतन्त्रमा विश्वास गर्ने कांग्रेस र ‘जनवादी गणतन्त्र’ मा विश्वास गर्ने माओवादी, एस र मसाल मिलेर अघि बढ्नु भनेको आफ्नो सिद्धान्तप्रति इमान्दार नहुनु थियो । 

“सिद्धान्तप्रति इमान्दार नभएर कांग्रेसले कम्युनिष्टहरूसँग गठबन्धन गर्‍यो तर काठमाडौंको मतपरिणाम हेर्दा त्यसप्रति पनि इमान्दार भएको देखिएन, एकले अर्कोलाई धोका दिएको आरोप आइरहेको छ,” राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले भने ।

कांग्रेस–एमाले टिके, माओवादी ‘पत्तासाफ’

अहिलेको चुनावमा कुनै पनि दलले चुनाव जितेको भनेर गर्व गर्ने किसिमको परिणाम आएको छैन । कांगे्रसले पहिलेभन्दा सिट त बढाएको छ तर यो लगभग एमालेजत्तिकै आकारको दल हुँदैछ । कांग्रेस–एमाले दुवैले एक्लै बहुमत ल्याउने दाबी गरे पनि समानुपातिकसमेत गरेर दुवै दल ८०–८५ सिटका दल हुने संभावना छ । 

दुवैतर्फबाट गरी कम्तिमा १३८ को दाबी दुवै दलले गरेका थिए जुन आउने सम्भावना छैन । त्यसैले दुवैले जितेको महसुस गर्नसक्ने छैनन् । अझ गठबन्धनभित्रका पाँच दल मिलेर पनि बहुमत नआएमा त्यो कांग्रेसका लागि खुसी हुन नसक्ने अवस्था आउन सक्छ । नेपाली राजनीति ०५३ सालतिरको जस्तै विकृत राजनीतिक अभ्यासमा फस्न सक्छ । 

कांग्रेसले प्रत्यक्षतर्फ एमालेभन्दा पाँच–सात सिट बढी जिते पनि एमालेले समानुपातिकतर्फ कांग्रेसभन्दा बढी मत पाइरहेको छ । 

एमालेका नेता–कार्यकर्ताले भन्ने छन्– ‘एमालेले चुनाव जितेको छ, गठबन्धनका कारण प्रत्यक्षमा केही सिट घटेको मात्र हो ।’ 

तर, गत चुनावमा १२१ सिट हासिल गरेको एमाले ३५–४० सिट गुमाउने संभावना छ  ।

कांग्रेस–एमालेले दुई दलले संघीय संसदमा हासिल गर्ने संख्या लगभग उस्तै हुने छ । बहुमत त धेरै परको कुरा, कुनै अर्को एउटा मात्र दलको साथले सरकार बनाउनसक्ने संख्या दुवै दलको हुने छैनन् । 

सबैभन्दा हारको मानसिकतामा माओवादी केन्द्र छ । ऊ पूरै पराजित मानसिकतामा छ । ५४ सिटसहित चुनावमा गएको माओवादी त्यसको आधा आकार पनि हासिल गर्न मुस्किल छ । 

“कांग्रेस–एमालेले त आफ्नो अवस्थालाई धानेका छन् तर माओवादीको त पत्तासाफ नै भयो । यो जनताले माओवादीप्रति गरेको विश्वासलाई सदुपयोग गर्न नसक्दाको असन्तुष्टिको फल हो,” माओवादी केन्द्रका एक जना पदाधिकारीले नाम उद्धृत नगर्न आग्रह गर्दै भने, “०६४ सालमा दिएको विश्वासलाई विश्वासघात गर्दाको फल हो यो ।” 

माओवादी केन्द्रका ती नेताले हारको व्याख्यालाई सैद्धान्तिक रूपमा व्याख्या गर्दै भने, “सहरका निम्नवर्ग, सुकुम्बासीले साथ दिँदा हिजो मध्यमवर्ग पनि आकर्षित थियो । आज माओवादीले निम्नवर्ग र सुकुम्बासीलाई छाड्यो, अनि मध्यमवर्ग पनि आफ्नै दल कांग्रेस–एमालेतिर फर्किए । माओवादीको अवस्था नाजुक भयो ।” 

लामो कुराकानीमा उनले अध्यक्ष प्रचण्डको अवसरवादी राजनीतिले माओवादी यो अवस्थामा पुगेको पनि आरोप लगाए । 

माओवादी अध्यक्ष प्रचण्ड नै सहर छाडेर आफ्नो सुुरक्षित क्षेत्र खोज्दै गोरखा पुगेको र त्यसका लागि बाबुराम भट्टराईसँग सौदावाजी गरी छोरीलाई सांसद बनाइदिने सर्तमा क्षेत्र लिएको पनि उनले बताए ।

“नेताले लेनदेन गरेर हुन्छ र, जनताले हिसाब गरिरहेका हुन्छन्,” उनले भने, “माओवादीले भन्ने गरेको समाजवाद ल्याउनका लागि सहरमा बलियो आधार हुनुपर्थ्यो तर माओवादी सहरमा कमजोर भएको छ ।” 

जितेको महसुस गर्ने माधव नेपाल नेतृत्त्वको नेकपा (एस) ले गठबन्धनको सबैभन्दा लाभ लिएको छ । प्रत्यक्ष १० सिट जितेको एसले सो पार्टी राष्ट्रिय पार्टीका लागि संघर्षरत छन् ।

उभारसहित ‘चुनाव जितेको’ र समानुपातिक सिटमा माओवादीलाई पनि पछि पारेको नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ले सहरको सात सिट जितेको छ । 

एक सिटमा अग्रता लिएको छ । यो दलले समानुपातिकसमेत गरी २०–२५ सीट हासिल गर्ने छ । त्यसबाहेक नयाँ शक्तिका रूपमा देखिएका बुटवलभन्दा पश्चिम तराईमा प्रभाव देखाएको नागरिक उन्मुक्ति पार्टी र पूर्वी तराईमा देखिएको जनमत पार्टीले पनि जितेको भन्न सक्ने आकार छैन । 

त्यसैले माओवादी र विगतका मधेस केन्द्रित दलले हारेको महसुस गरेको, एमालेले यसअघिभन्दा सिट घटाएर र कांग्रेसले केही सिट बढाएको यो चुनावको परिणामस्वरुप नेपाली राजनीति सत्ताको खेलमा फस्ने र विकृति निम्तने खतरा छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC