site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ : यी हुन् हालसम्म निर्वाचित महिला सांसद 

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत केही क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसमध्ये हालसम्म केवल पाँच महिला उमदेवार निर्वाचित भएका छन् ।

बिहीबार साँझ ५ बजेसम्मको परिणामानुसार निर्वाचित भएका ती पाँचमध्ये चारजनाले पहिलोपटक प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका हुन् । पाँचमध्ये तीनजना पहिलोपटक संसद्मा प्रवेश गर्दै छन् ।

ती पाँचमध्येकी एक हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम । पहिलोपटक प्रतिस्पर्धामा उत्रिएकी उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित भएकी हुन् । उनले नेकपा (एमाले)का मणिराम फुयाँल, नेकपा (माओवादी केन्द्र)की ओनसरी घर्तीमगर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की कुन्ती पोखरेललगायत उमेदवारलाई हराइन् । उनी १५ हजार २२९ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी फुयालले ११ हजार ५५५ मत प्राप्त गरे ।

Argakhachi Cement Island Ad

यस्तै, ललितपुर क्षेत्र नम्बर–३ बाट डा. तोसिमा कार्की निर्वाचित भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकै नेत्री उनी पनि पहिलोपटक उमेदवार बनेकी हुन् । तोसिमाले स्थापित पार्टीबाट उमेदवार बनेकाहरूलाई पराजित गरिन् । उनले ३१ हजार १३६ मत प्राप्त गरिन् । सो क्षेत्रबाट दोस्रो स्थानमा रहेका एमालेका उमेदवार अमृत खड्काले १२ हजार ९६३ मत पाए ।

कास्की क्षेत्र नम्बर–२ बाट एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छन् । उनले १६ हजार ९९८ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत ल्याए । ०७४ सालमा सो क्षेत्रबाट एमालेका रवीन्द्र अधिकारी निर्वाचित भएका थिए । उनको विमान दुर्घटनामा परी निधन भएपछि भएको उपनिर्वाचनबाट विजयी हुँदै रवीन्द्रकी पत्नी विद्या सांसद बनेकी थिइन् । अहिले उनी नै दोहोरिएकी हुन् ।

दाङ निर्वाचन क्षेत्र–२ बाट नेकपा (माओवादी केन्द्र)की नेत्री रेखा शर्मा निर्वाचित भएकी छन् । उनले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरिन् । शर्माले २६ हजार ८७७ मत प्राप्त गरिन् । निकटतम प्रतिस्पर्धी पोखरेलले २६ हजार ६८० मत ल्याए । शर्मा ०७० र ०७४ मा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् । उनी पूर्वसामान्य प्रशासनमन्त्री समेत हुन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट नागरिक उन्मुक्ति पार्टीकी उमेदवार रन्जिता श्रेष्ठ निर्वाचित भएकी छन् । उनले ३० हजार ४०४ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरीले १८ हजार आठ मत ल्याए । श्रेष्ठ कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीकी पत्नी हुन् । उनको पनि यो पहिलो संसद्यात्रा हो ।

प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा कुल चार हजार ५० जनाले उमेदवारी दिएका थिए । त्यसमध्ये २२९ महिला उमेदवार थिए । हालसम्म ७८ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । त्यसमध्ये पाँच क्षेत्रबाट महिला उमेदवार निर्वाचित भएका हुन् ।

संविधानानुसार प्रतिनिधिसभामा कम्तीमा ३३ प्रतिशत महिला सांसदको प्रतिनिधित्व हुनुपर्छ । राजनीतिक दलहरूले सो संख्या समानुपातिकतर्फबाट पूर्ति गर्ने गर्छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्