site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीमसेनदासलाई तीन घण्टा पछ्याउँदा जे देखियो...

तारकेश्वर (काठमाडौं) । विज्ञान संकायबाट एमएससी गरेका भीमसेनदास प्रधानले लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरे । प्राध्यापन पेसामै रहँदा उनी राजनीतिमा जोडिए । ०५७ सालमा उनी नेपाल प्राध्यपक संघको केन्द्रीय अध्यक्ष बने ।

प्रधानको राजनीति यात्रा २०३३ सालबाटै सुरु भएको हो । कांग्रेसको राजनीतिको पहिलो खुडकिलोका रूपमा उनी ०३३ सालमा जिल्ला विकास समितिको राजनीतिक संयन्त्रमामा सक्रिय भए । ०३६ सालमा उनी पहिलोपटक राजबन्दी बने । साथै २०४२, २०४७ र दोस्रो जनआन्दोलनमा पनि राजबन्दी बने । दोस्रो जनआन्दोलनमा पनि उनी संयुक्त जन आन्दोलनको संयोजक भएर काठमाडौंमा गतिविधि गरे ।

उनै प्रधान तेस्रोपटक सांसद बन्ने दौडमा छन् । उनी काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव लड्दै छन् । जहाँबाट उनले ०७० र ०७४ को निर्वाचन जितिसकेका छन् ।

अहिले उनी चुनावी अभियानमा सक्रिय छन् । सत्ता गठबन्धनका साझा उमेदवार रहेका प्रधानलाई सोमबार बिहान ३ घण्टा बाह्रखरीले पछ्यायो । उनी तारकेश्वर नगरपालिका वडा नम्बर वडा नम्बर ११ मा चुनावी प्रचारमा पुगेका थिए । 

बिहान ७:४५ मा हामी नेपालटारमा रहेको ग्रामीण आर्दश क्याम्पस छेउ पुग्दा उनको प्रचार सुरु भयो । प्रधान गठबन्धनका समानुपातिक उमेदवार, काठमाडौं ६ (२) का उमेदवार विष्णुभक्त तिमिल्सिनासहित घरदैलो कार्यक्रममा थिए । उनलाई स्थानीय कांग्रेस कार्यकर्ता तथा मतादाताले टीका मालाले स्वागत गरे । सबै उमेदवारलाई नयाँ ढाका टोपी पनि लगाए । कालो भादगाउँले टोपी लगाएका प्रधानले पनि टोपी फेरे र ढाका टोपी लगाए । 

‘गाउँ टोल सहर गठबन्धनको लहर, लोकतान्त्रिक गठबन्धन जिन्दावाद’ नारासहित प्रचार समूह अघि बढ्यो । नेपालटारबाट सुरु भएको प्रचार कार्यक्रम डाँडागाउँ हुँदै नेपालटार हाइटतिर अघि बढ्यो ।

‘आमा बुबा दाजुभाइ, भोट हालौँ रुखलाई’ नारा लागिरह्यो । प्रचार टोली नमस्कार गर्दै अघि बढ्यो । प्रधान ‘जय नेपाल हजुर, भोट रुखमा’ भन्दै एक सुरुमा हिँडिरहे ।

सामान्यतया कांग्रेसभित्र धेरै प्रयोग हुने शब्द ‘जय नेपाल’ र ‘दाइ’ हो । प्रधानलाई 'दाइ' भन्ने मानिस कम र 'सर' भन्ने आवाज बढी सुनियो । प्राध्यापन पेसाको प्रभाव सम्बोधन परेको बुझियो ।

प्रधान २०६७ मा पार्टी जिल्ला अध्यक्ष बनेका हुन् । ०७४ सालमा रक्षामन्त्री पनि बने ।

०७९ मा भएको पार्टीको १४ औँ महाधिवेशनबाट वाग्मती प्रदेश सभापतिमा प्रतिष्पर्धा गरेपनी उनी सफल हुन सकेनन् । अब फेरि एकपटक चुनाव जितेर मन्त्री बन्ने दाउ भने उनको छ । 

“काठमाडौंले मन्त्री पाउँछ भन्नेमा म विश्वस्त छु । पार्टीले निर्णय गरे म पछि हट्ने अवस्था आउँदैन । त्यसका लागि पहिले त चुनाव जित्नुपर्‍यो नि !,” उनले सुनाए । 

प्रचार टोली नेपालटार हाइट पुग्यो । एउटा घरमा छिरेपछि प्रधानले 'जय नेपाल भोट है' भने । त्यहाँ सामान्य भलाकुसारी भयो । उनीसँगै प्रचारमा रहेका एकजनाले ‘मेरो बहिनीको घर हो दाइ, सबै भोट आउँछ यहाँबाट’ भनेपछि प्रफुल्ल मुद्रामा उनी अघि बढे । अलि अघि बढेपछि प्रधानकै उमेरका मतदातासँग भेट भयो । प्रधानले अंकमाल गरे र सँगै चुनावी प्रचारमा हिँडाए । 

bhimsendas (1)1668480853.png

प्रचार अघि बढेपछि हामीले मतदातासँग कुरा गर्‍यौँ । 

नेपालटार हाइटमा पसल सञ्चालन गरिरहेका कृष्ण पौडेलसँग कुरा भयो । "उहाँ (भीमसेन दास प्रधान)ले अघिल्लोपटक अन्तिमपटक भनेर भोट माग्नुभएको थियो, अहिले पनि त्यसै भरिहनुभएको छ," उनले भने । 

उनी निराश सुनिन्थे । यसपटक आफू कांग्रेस र एमालेका उमेदवारलाई मत नदिने मनस्थितिमा रहेको उनले बताए ।

"यो कम्युनिस्ट गण भएको क्षेत्र हो । उहाँलाई पनि मत दिने मन छैन एमाले उमेदवारलाई पनि मत दिने मन छैन," उनले भने ।

उसो त उनले उनीहरूको विकल्प पनि देखेका छैनन् । "के गर्नु विकल्प पनि त गतिलो भएन नि ! स्वतन्त्र पार्टी भनेको छ स्वतन्त्र युवा भनेको छ तर भिजन केही छैन । संसद्मा गएर के गर्छु भन्ने नै थाहा छैन । मात्र चर्चा बटुल्नु छ । विकास योजना कसरी अघि बढाउने, शैक्षिक नीति कस्तो बनाउने, रोजगारी अवसर सिर्जनालगायतका विषयमा केही भिजन छैन । अरूले गरेन हामी गर्छौं मात्रै भनेको छ । के गर्ने थाहा छैन," उनले भने । 

उनले‍ अगाडि भने, " मिलन पाण्डेजस्ता शिक्षा बुझेका स्वतन्त्र उमेदवार आए पो भोट हाल्न मन लाग्थ्यो । यहाँ उठेका स्वतन्त्र र पार्टीका नेता कसलाई भोट हाल्ने ?"

पौडेलको कुरा सुनेपछि हामी अघि बढ्यौँ । बाटोमा चारजना महिला र एक पुरुष गफ गर्दै थिए । उनीहरूलाई गठबन्धन गरेर दलहरू चुनावमा गएको मन परेको रहेनछ ।

“काम कसैले नगर्ने भए । गठबन्धन देखायो जनता भेडा बनायो । ०७४ मा पनि त्यसै गरे अहिले पनि गठबन्धन भनेका छन् । फरकफरक लडेर चुनाव लडेर जिते पो नेता हुन्थे त,” गफ बढ्दै गयो, “चुनाव जिते पनि खल्लो जिताई हुने भयो । जनताले कसलाई चाहेको को राम्रो रहेछ भन्ने त बुझिन्थ्यो । गठबन्धन गरेपछि त चुनाव जित्न कहाँ असहज हुन्थ्यो र !”

प्रचार टोली त्यहाँबाट अघि बढेर मनमैजु पुग्यो । हामीले गठबन्धनमै रहेका दल माओवादीका नेतासँग संवाद गर्‍यौँ । उनलाई भने युवा जमात अघि बढेको मन परेको रहेछ । परिवर्तनको पक्षमा ०५९ सालबाट माओवादीमा लागेर क्रान्ति गरेको बताउने उनले एमालेसँगको गठबन्धनबाट साथीहरू उतै छुटेकोमा भने दु:खसे रहेछ ।

टेकबहादुर राना मगर भनेर परिचय दिएका उनले संवादमा हामीसँग भने– यो वामपन्थीहरूको क्षेत्र हो । म ०५९ बाट माओवादीमा लागेको हुँ । त्यसभन्दा अघि म एमाले थिएँ । अहिले वाम–लोकतान्त्रिक गठबन्धन भएको छ । यसले सामाजिक एकतालाई थप बलियो बनाएको छ । म जनयुद्ध पनि लडेँ । तर, परिस्थिति सधैँ एकनासको हुन्न । पहिले युवामा राजनीतिप्रति धेरै चासो थिएन । अहिले चासो बढेको छ । जुन समाज विकासमा सकारात्मक कदम हो । 

त्यसपछि हामीले शेषमति नजिक पूजा पसल सञ्चालन गरेर बसेका मतदाता रामहरि रिमाल रिमालसँग संवाद गर्‍यौँ । रिमालले सुरुमा स्वतन्त्रको पक्षमा बोलेपनि खेर जाने ठाउँमा भोट हाल्न नसकिने बताए ।

“स्वतन्त्र पनि बालेन हर्कजस्ता भए हाल्न हुन्थ्यो । खेर जाने भोट त के हाल्नु र । भीमसेनको राम्रो छ भन्ने सुन्छु किनभने राजनीतिमा खास मेरो चासो चाहिँ छैन । स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले जित्यो,” उनले भने ।

यहाँ २४ जना उमेदवार चुनावी मैदानमा छन् । जसमा १३ जना पार्टीबाट र बाँकी स्वतन्त्र उमेदवार उठेका छन् । यहाँ प्रधानसहित नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् । यस्तै जनता समाजवादी पार्टी, नेपालको तर्फबाट मनोज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट विष्णुप्रसाद आचार्य, नेमकिपाबाट सनकमान महर्जन उमेदवार छन् ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँ पहिलो दल बनेर कांग्रेस अगाडि छ । वडाध्यक्षले पाएको मतलाई जोड्दा कांग्रेससँग १७ हजार २७७ मत छ । यस्तै, एमालेसँग १४ हजार ३०३ तथा माओवादीसँग दुई हजार ४६२ मत छ । 

bhimsendas (4)1668480855.png

०७४ को निर्वाचनमा प्रधान विजयी हुँदा वाम गठबन्धन गरेर चुनाव लडेका माओवादी नेता झक्कुप्रसाद सुवेदीलाई उनले पराजित गरेका थिए । यहाँ उनले १६ हजार ७८५ मत पाउँदा माओवादी नेता सुवेदीले १५ हजार ४८५ मत ल्याएका थिए ।

यसैबीच हामीले मतदाताका केही प्रश्नसहित हामीले प्रधानसँग कुराकानी गरेका छौँ ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

घरदैलोमा हुनुहन्छ, माहोल कस्तो पाउनुभयो ?

माहोल एकदम सकारात्मक छ । कांग्रेस र गठबन्धको पक्षमा लहर आएको छ । यो क्षेत्र पहिले पनि गण क्षेत्र हिजो वाम गठबन्धन हुँदा पनि जितेको क्षेत्र हो । रुख चिह्नले यसपटक पनि जित्छ किनभने अघिल्लोपटक पनि मैले जितेको र अहिले पनि पार्टीले मेरै उमेदवारी अनुमोदन गरेपछि उत्साह मतदातामा पनि छ ।

०७० र ०७४ जित्नुभयो । तेस्रोपटक मंसिर ४ गते तपाईंलाई यहाँको जनताले किन जिताउने ?

अघिल्लोपटक कठिन स्थितीमा जनताबाट अनुमोदित सांसद् हु नि म । त्यसकारण मैले यहाँ टिकट पाउनु स्वाभाविक हो । मैले ०७० पनि राम्रो गरेँ । ०७४ मा थुप्रै विकासका काम मैले यहाँका लागि गरेको छु । आउँदो वर्षमा महानगरका मेयर बालेन, तारकेश्वरका मेयर र म र प्रदेशका सांसद मिलेर बजेट विनियोजन गरेर सबैभन्दा जटिल समस्या खानेपानीको समाधान गर्नुछ । हरेक धारा पुर्‍याउने काम गर्नेछु ।

स्वतन्त्रहरूको माहोलले तपाईंलाई समस्यामा पारेको छैन ?

बालेन शाहको विजयी पार्टीहरूले उपयुक्त उमेदवार दिन नसक्दा 'नो भोट टू कांग्रेस' र 'नो भोट टू एमाले' भनेर आएको हो । उमेदवार दिँदा जनमतलाई ख्याल नगरेको हो । हरिप्रभा वा तिर्थराम जस्ता व्यक्तिले टिकट पाएको भए परिणाम अर्कै आउने थियो । जनप्रतिनिधि हो उहाँलाई हामीले सहयोग गरिरहेका छौँ । उहाँसँगै सहयोग लिएर सहकार्यमा काम गर्ने हो । फोहोर ढल खानेपानी ट्राफिक जाम र पर्यावरणको सुरक्षामा काम गर्नेछौँ ।

तपाईंका एजेन्डा के छन् ?

खानेपानी तार्केश्वर र टोखाको समस्या रहेछ । यसका साथै ज्येष्ठ नागरिकहरूलाई राहत दिने कार्यक्रम छ । युवाहरू पलायन भएको अवस्थामा ज्येष्ठ नागरिकहरूकालागि नमुनाको रूपमा स्कुल अफ सिनियर सिटिजन बनाउने सपना देखेको छु । यसले सुविधान सम्पन्न ज्येष्ठ नागरिक केन्द्र बनाउने छौँ । सबभन्दा प्राकृतिक रूपमा सुन्दर ठाउँ भनेको बूढानीलकण्ठदेखि नागार्जुनसम्म हो । यसमा हरियाली बचाउने र वातावरणमैत्री बनाउने योजना छ । अहिलेका बस्ती मानवसमुदायमैत्री भएन । खै पोखरी, खै चौर वा पार्क ? केही छैन । हामी यसमा जोड दिन्छौँ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro