site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेका सूर्य थापाले सत्तारूढ गठबन्धनकी दुर्गा पौडेलकाे संसद् यात्रा रोक्लान् ?
SkywellSkywell

बुटवल । कम्युनिस्ट पार्टीका पुराना नेता मोहनविक्रम सिंहको गृह जिल्ला प्युठानबाट राष्ट्रिय जनमोर्चा (राजमो)की दुर्गा पौडेल तेस्रोपटक संसद यात्राको तयारीमा छिन् । पौडेल सत्ता गठबन्धनकी साझा उमेदवार हुन् ।

पार्टीको पुरानो आधार जोगाउन मसालका महामन्त्री सिंहले कहिले को त कहिले कोसँग गठबन्धन गर्दै आएका छन् ।०७४ सालमा नेकपा (एमाले) र माओवादी केन्द्रसँग गठबन्धन गरी देशभरमा एक सिट जितेर पार्टीको बिउ जोगाएका सिंह अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गरेर पुरानो क्षेत्रलाई जोगाउन कसिएका छन् । 

८६ वर्षको उमेरमा पनि पार्टीको नेतृत्व सम्हालिरहेका मोहनविक्रमले यसपटक पनि मसालको संसदीय मोर्चाका रूपमा रहेको राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष रहेकी उनकी श्रीमती दुर्गा पौडेललाई सत्तारूढ गठबन्धन दलको उमेदवार बनाए ।

KFC Island Ad
NIC Asia

पटक–पटक विभाजन भएर सांगठनिक आधार कमजोर बनेको अवस्थामा जनमोर्चाकी पौडेलसँग एमालेबाट उनका कटु आलोचक सूर्य थापा चुनावी मैदानमा होमिएका छन् । थापाले पहिलोपटक संसदीय निर्वाचनको अनुभव लिँदै छन् ।

०७४ सालको निर्वाचनमा एमाले, माओवादी केन्द्रसहितको वाम गठबन्धनको मतले विजयी भएकी पौडेललाई यसपटक सत्ता गठबन्धनको साथ भएकाले जित निश्चितजस्तै भएको दाबी उनी निकटकाले गर्दै आएका छन् । 

Royal Enfield Island Ad

एमालेको चौथो पुस्ताको नेता भन्न रुचाउने थापाले जिल्लामा कसैको किल्ला इतिहास बनिसकेको जवाफ दिँदै आएका छन् । पार्टी पोलिटब्यूरो सदस्य तथा प्युठान इन्चार्ज ४८ वर्षीय थापा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार थिए ।  

प्युठानबाट प्रतिनिधिसभा निर्वाचन जितेर राष्ट्रिय राजनीतिमा आफ्नो बलियो उपस्थिति देखाउन खोजेका थापालाई आलोचकहरूले छुद्र प्रतिक्रिया दिने व्यक्ति भन्छन्, भने समर्थकहरूले निडर र हक्की स्वभावको मान्छन् । उनी भने आफूले देखेका कुरा सिधै भन्दा कसैलाई मन नपर्ने भए पनि यथार्थ र सत्य बोल्ने लेख्ने गरेको तर्क गर्छन् ।

यस्तो छ स्थानीय तहको मतपरिणाम

स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मत हेर्दा प्युठानमा गठबन्धन एमालेभन्दा अघि छ । जिल्लामा पालिका प्रमुखको मत परिणामअनुसार गठबन्धनको ४८ हजार १७१ मत छ । एमालेको ३९ हजार १२८ मत छ । यो आधारमा एमाले प्युठानमा नौ हजार ४३ मतले पछि छ ।

प्युठानमा एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको छ । जिल्लाका २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत पाएको छ । १० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेको छ । त्यसैगरी दुई वटा वडा जितेको विप्लव समूहले एक हजार ४१७ मत, कुनै पनि वडा जित्न नसकेको एकीकृत समाजवादीले एक हजार ३२२ मत प्राप्त गरेको छन् ।

मसालका महामन्त्री मोहनविक्रम सिंहको जन्मथलो झिमरुक गाउँपालिकामा स्थानीय तहमा माओवादी केन्द्र र नेपाली कांग्रेसले जितेका छन् । त्यहाँ माओवादी र कांग्रेसबीच गठबन्धन थियो । 

गठबन्धनभित्र असन्तुष्टि चुलिँदै गए यसको फाइदा थापाले लिनेछन् । 

यसअघिको चुनावमा अहिलेको सत्तागठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेल पौडेलसँग पराजित भएका थिए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पोखरेलले गठबन्धनका कारण यसपटक कांग्रेसबाट टिकट पाउन सकेनन् ।

प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको प्युठानको क्षेत्र नम्बर ‘क’मा गठबन्धनको तर्फबाट कृष्ण अधिकारी ‘प्रकाश’ उमेदवार छन् भने उनको प्रतिस्पर्धी एमालेको तर्फबाट तुलसीराम शर्मा छन् । क्षेत्र नम्बर ‘ख’ मा एमालेको तर्फबाट हरिप्रसाद रिजाल र गठबन्धनको तर्फबाट कांग्रेसका रोज राणा उमेदवार छन्  ।

राणा कांग्रेस प्युठान क्षेत्र नम्बर २ का सभापति हुन् भने रिजाल एमालेका केन्द्रीय सदस्य तथा प्युठान सहइन्चार्ज हुन् । यसअघि २०७४ सालको निर्वाचनमा प्युठान ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशका पूर्वसहरी विकासमन्त्रीसमेत हुन् । 

दुर्गालाई पाँच वर्ष गुमनाम भएको आरोप

अघिल्लो निर्वाचनको बेला जिल्लामा विकास गर्ने र जिल्लाबासीको अवस्था परिवर्तन हुने भन्दै जनमोर्चाकी पौडेल प्युठानका गाउँ बस्तीमा पुगेर भोट मागिन् । मतदाताले उनलाई विश्वास गरे, भोट दिएर जिताए । जिल्लामा आफ्नो पार्टी कमजोर हुँदाहुँदै पनि वाम गठवन्धनको बलमा कांग्रेसका पोखरेललाई पछि पार्दै प्युठानी जनताको प्रतिनिधि बनेर संसद प्रवेश गरिन् । प्युठानबाट जित्नुअघि उनी ०७० सालमा समानुपातिक सांसद थिइन् ।

तर, संसद छिरेपछि उनले प्युठानबासीको समस्या समाधान, विकासका एजेन्डा र चुनावअघि बाँडेका आश्वासन पूरा गर्न चासो नदिएको उनका आलोचकहरू बताउँछन् । पौडेलको पाँचवर्षे कार्यकालमा पनि जनताले केही पनि फरक अनुभूति गर्न पाएनन्, पाए त केवल आश्वासन अनि समृद्धिका सपना । चुनाव जितेपछि फर्किएर नआएको जिल्लाबासीको गुनासो छ । 

०७६ पछि कोरोनाको महाविपत्ति आयो, कैयौँ दुर्घटना भए, धेरै जनधनको क्षति भयो, तर, पौडेल सहानुभूति दिनसमेत प्युठान फर्किनन् । चुनाव जितेपछि जिल्लासँग गुमनाम बनेकी दुर्गा पौडेल अहिले फेरि मत माग्न गाउँ छिरेकी छन् । अघिल्लोपटक उनको पछाडि वाम गठवन्धन थियो अहिले सत्तारूढ पाँच दलीय गठबन्धन ।

“न राजनीतिक पहुँच, न ठूलो पार्टी तर, उनलाई विजयी गराउन लागि प्युठानका ठूला दलहरू किन उनको पछाडि लागेका होलान्,” स्थानीयले टिप्पणी गर्न थालेका छन् ।

पौडेल प्युठानको प्रतिनिधि भएपनि जिल्लाको केन्द्रमा पहुँच पुग्न नसकेको जिल्लाबासीको गुनासो छ । उनीसम्बद्ध दल राजमोभित्र समेत यसपालि पौडेललाई उमेदवार बनाउन नहुने चर्को दबाब थियो । तर, मोहनविक्रम सिंहक पत्नी भएकै कारण उनले पुनः टिकट पाएकी थिइन् । राजमोभित्र भएको आन्तरिक निर्वाचनमा नेता बोमबहादुर केसी एक भोटले उमेदवार हुनबाट वञ्चित भएको स्रोतले बताएको छ । गठबन्धनभित्र रहेका राजमो बाहेकका दलका नेता, कार्यकर्ता र मतदाताहरू फेरि दुर्गालाई नै जिताएर पठाउने कुरामा अलमलमा परेका छन् । 

प्युठानमा फेरिइरहने राजनीतिक वर्चस्व ? 

०३६ सालमा प्युठानमा निर्दलले जित्यो । 

०४८ सालको निर्वाचनमा जिल्लाका दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भयो । क्षेत्र नं. १ मा शिवराज सुवेदी र २ मा मुक्तिप्रसाद शर्मा विजयी भए । 

०५१ सालको निर्वाचनमा क्षेत्र नं. १ मा मसालका नवराज सुवेदी विजयी भए । क्षेत्र नं. २ मा उनै शिवराज सुवेदी विजयी भए । 

०५६ सालमा दुई वटै निर्वाचन क्षेत्रमा जनमोर्चा विजयी भयो । क्षेत्र नं. १ मा हरिप्रसाद आचार्य र २ बाट नवराज सुवेदी विजयी भए । 

०६४ सालमा शान्ति प्रक्रियासँगै निर्वाचनमा आएको माओवादीले प्युठानका दुईवटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो । प्युठानी जनताहरू त्योबेला माओवादीले ‘कि गोठ, कि नोट, कि भोट’ भन्दै दबाबमा पारेर निर्वाचन जितेको बताउँछन् । त्यतिबेला क्षेत्र नं. १ मा नारायणप्रसाद अधिकारी र २ मा दीपक केसी विजयी भए । 

०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने प्युठानका दुईवटै निर्वाचन क्षेत्रमा एमाले विजयी भयो । क्षेत्र नं. १ मा वामदेव गौतम र २ मा हिराबहादुर केसी विजयी भए ।

त्यसपछि प्युठान दुई निर्वाचन क्षेत्रबाट एकमा खुम्चियो । अनि ०७४ सालको निर्वाचनमा एमाले, माओवादी र जनमोर्चासहितको गठबन्धन बनेर संघीय चुनावमा जनमोर्चाकी दुर्गा पौडेलले जितिन् । उनै पौडेल अहिले फेरि सत्ता गठबन्धनबाट उमेदवार बनेकी छन् । उनी २०७० मा समानुपातिकतर्फबाट संविधानसभा सदस्य भएकी थिइन् । 

प्रदेश सभातर्फ एमालेका हरि रिजाल र माओवादीका कृष्णध्वज खड्का निर्वाचित भएका थिए । जिल्लामा यसरी फेरिएको नतिजाका कारण मंसिर ४ को नतिजा कसको पोल्टामा जान्छ भन्ने आकलन गर्न सकिने अवस्था छैन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro