site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 बुद्धनगरका सुकुम्बासी भन्छन्– चुनाव आउँछ जान्छ, तर हाम्रो दुःख कहिल्यै गएन
Tiktok banner adTiktok banner ad

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत पर्ने बुटवल उपमहानगरपालिकाको वडा नम्बर ११ मा ठूलो सकुम्बासी बस्ती छ । तिनाउ किनारमा बुद्धनगर, बिनापाते, हात्ती सुँड, दुर्गानगर, मजुवा रानीगञ्जलगायत सुकुम्बासी बस्ती छन् । सुकुम्बासीलाई जग्गा दिने नाममा नदी किनार उपलब्ध गराउँदा नदीको क्षेत्र साँघुरिएको छ । 

नदीले प्राकृतिक बहाव खोज्दा सुकुम्बासी बस्तीलाई दुःख दिएको छ । दुई दशकभन्दा लामो समयदेखि नेताहरुको चुनावी मुद्दा नै यही बन्दै आएको छ । सधैँ हुन्छ भन्ने तर कहिल्यै नगर्ने नेताको बानीले आजित छन्, सुकुम्बासी बस्तीका बासिन्दा ।

बस्तीमा १५ वर्षदेखि किराना पसल चलाइरहेको छ, देवबहादुर राना (६०)को दम्पतीले । भित्री बस्तीमा रहेको उनको पसलमा अहिलेसम्म कोही उमेदवार पुगेका छैनन् । उनकी श्रीमती फूलमाया (५६) ले आगो ओकलिन्, “आउँछन् जान्छन्, हामीलाई के मतलब । आफ्नो दुःख आफैँसित छ,” उनले भनिन्, “दुई÷चार दिन के–के न गर्छु भन्छन्, माथि गएपछि वास्तै गर्दैनन् ।” 


 
देवबहादुर २० वर्षदेखि सकुमबासी बस्तीमा बस्दै आएका छन् । उनको १८ जनाको परिवार छ । उनी आफ्नो मत कसलाई दिने भन्नेमा अन्योलमा छन् । “पुरानालाई हालौं काम देखिहालियो, नयाँको पनि के भर ?,” उनले असन्तुष्टि र शंका एकैपटक जनाए । 
 
बस्तीमा रहेका सबै सुकुमबासी भने नरहेको स्वयं सुकुम्बासीहरू नै बताउँछन् । पुख्र्यौली थातथलो अझै पनि नछोडेका र सम्पन्नहरूसमेत जग्गाको लालपुर्जाको आसमा बसेको स्थानीय बासिन्दाले बताए । 

६९ वर्षकी भीमकुमारी अधिकारीले चुनावका कुरा सुन्नासाथ दिक्क मानिन् । उमेदवार मत माग्न आए पनि केही गर्लान् भन्ने उनलाई आशा छैन । “आएर के गर्ने, हामीलाई केही दिँदैनन्,” उनले भनिन् । सुकुम्बासीको पहिचान हटाउने लालपुर्जा नदिएको भन्दै उनले सुकुम्बासीको नाममा भोटको खेल मात्र भएको बताइन् । 

राजनीतिक दलले विकास नगरेको उनको गुनासो छ । ढल र सडक निर्माण नभएको भन्दै उनले भनिन्, “पैसा उठाएर सुकसम्बासी बस्तीमा सडक पुर्याएको छ । प्रतिपरिवार सात हजार उठाएर बाटो बनाए । अब कति हजार उठाएर बाटो पिच गर्ने र नाली खन्ने हुन् ।” सुकुम्बासी भएर बसेको माघ २९ गते २२ वर्ष लाग्ने सुनाउँदै उनले अगाडि थपिन्, “जिन्दगीको उत्तराद्र्धमा सन्तानको नाममा लालपुर्जा भए सन्तोषले सास जाने थियो ।”

बुद्धनगर पुल नजिकै चिया पसल (केसी होटल) सञ्चालन गरिरहेकी धनमाया केसी चुनावको नाम सुन्दानै कड्किन्छिन् । २० वर्षदेखि तिनाउ खोला तिरमा बस्दै आएकी उनी नेताहरूले लालपुर्जा पाउने आस्वासन दिए पनि ‘सिन्को’समेत नभाँचेको बताउँछिन् । 

“पुर्जाका लागि प्रयास पनि भएको छ । समिति गठन भएर काम भैरहेको छ । तर, तमसुक गरेजस्तो कागज हात परेको छ । पैसा तिरेका छन् । तर, पुर्जा आएको छैन । हामीजस्ता मान्छे कति छन् कति,” उनले भनिन्, “चुनावमा खै को–को आए को–को ? आउँदै जाँदै गर्छन् । नेताहरू केही गर्दैनन् ।”  

पहिले उनी देवीनगरमा डेरामा बस्थिन् । जग्गा दिने भनेपछि सुकुम्बासी बस्तीकी सदस्य भएकी हुन् । स्थानीय तह चुनाव, प्रदेश र संघीय निर्वाचनमा उमेदवारको एजेन्डानै सुकुम्बासी समस्या बनेको छ । 

उनलाई विश्वास गर्ने हो भने लालपुर्जा पाउने आसमा ६ लाख बुझाएकी छन् । “जग्गा साहु देखाए बुझाउन भनियो । ६ लाख बुझाएको डेढ वर्ष भयो, केही भएको छैन,” उनले भनिन् ।

“मन्त्री भएर अलिअलि कमाएका छन्, जति पनि खर्च लागे पनि बनाइदिन्छु भन्नुहुन्छ । खोलाले घर बगाइसक्यो,” एक पूर्वमन्त्रीको नाम लिँदै उनले भनिन्, “जसलाई पर्यो, त्यसलाई टर्यो । कसलाई भोट हालेर के गर्ने हो र ?” छोराबुहारीसहित पाँचजनाको परिवार छ केसीको ।


 
बस्तीमा होलसेल पसल चलाइरहेका छन् पदम पौडेल । उनी कारोबार गर्नमा व्यस्त थिए । उनी ०६५ सालदेखि सुकुम्बासी बस्तीमा छन् । “नेताका कार्यकर्ताले यहाँ ठाउँ पाइन्छ भने, हाम्रा बाआमालाई खोला पस्छ भन्ने के थाहा ?,” उनले भने ।

आशा थारू सालझण्डीबाट सुकुम्बासी बस्तीकी सदस्य हुन आइपुगिन् । आफ्नो उमेरसमेत कति भयो बताउन नसक्ने उनलाई वास्तविक उमेरसमेत थाहा छैन । “९ साले हुँ क्यारे । अझै वृद्धभत्ता पाएको छैन,” उनले भनिन् । जसलाई भोट हाले पनि केही नभएको उनको दुखेसो छ । 

सबै नेताको चुनावी एजेण्डा
सुकु्म्बासी समस्या समाधान गर्ने प्रतिबद्धता सबै पार्टीका घोषणापत्रमा समेटिएका छन् । । यसअघिका स्थानीय तहका प्रमुख तथा उपप्रमुखका उमेदवारहरू पनि यो मुद्दा लिएर सुकुम्बासी बस्ती पुगे । प्रतिनिधिसभा तथा प्रदेशसभाका उमेदवारहरूका घोषणापत्रमा पनि यसले राम्रो स्थान पाएको छ । यो क्षेत्रबाट पटकपटक निर्वाचित नेता तथा पार्टीले बस्तीको समस्या व्यवस्थापन नगरी उनीहरूलाई भोट बैंकको रूपमा मात्र प्रयोग गर्ने गरेको सुकुम्बासी बस्तीका नागरिकको गुनासो छ । 

रुपन्देही–२ को निर्णायक मत सुकुम्बासीको
बुटवल ११ नम्बर वडा सिंगो बुटवलको आधाभन्दा बढी मतदाता रहेको क्षेत्र हो । करिब १७ हजार मतदाता रहेको क्षेत्रमा सुकुम्बासीको संख्या पनि उत्तिकै छ । मतदाता बढी भएकाले पनि यो क्षेत्रमा कुन दलले प्रभुत्व जमाउने भन्नेमा होडबाजी चल्ने गर्छ । यसपटक पनि अवस्था त्यस्तै छ ।

स्थानीय तहको मतपरिणाम हेर्ने हो भने नेकपा एमालेका तर्फबाट उमेदवार बनेका वडाअध्यक्षसहितको प्यानल नै विजयी बनेको थियो । यहाँको मतपरिणामले सिंगो रुपन्देही २ का सबै निर्वाचन क्षेत्रमा प्रभाव पार्छ । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro