
काठमाडौं । निर्वाचन आयोगले उमेदवारलाई निर्वाध प्रचारप्रसारको वातावरण निर्माण गर्न निर्देशन दिएको छ । आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत निर्देशन दिएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उमेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न आयोगले निर्देशन दिएको हो ।
डडेलधुरा, झापालगायत विभिन्न जिल्लामा निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा उमेदवारलाई अवरोध भएपछि आयोगले यस्तो निर्देशन दिएको हो ।
“नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्यमान्यताप्रति पूर्ण प्रतिवद्धता व्यक्त गरिएको छ,” आयोगको निर्देशनमा भनिएको छ, “नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनको अधीनमा रही आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता र मितव्ययिता कायम गर्दै आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गरिरहेको छ । निर्वाचनमा उमेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुन्छ भन्ने आम लोकतान्त्रिक विश्वासलाई कायम राख्नु आयोगको संवैधानिक जिम्मेवारी हो ।”
निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति मताधिकारमार्फत हुने भन्दै आयोगले सार्वभौम मतदाता र आफ्नो लागि सार्वभौम जनताको मत र विश्वास माग गर्ने उमेदवार दुवै कानुनबमोजिम निर्वाचन प्रचारप्रसार गर्न स्वतन्त्र रहने जनाएको छ । “सार्वभौम मतदाता र उमेदवार दुवैलाई कानुनबमोजिम निर्वाचन प्रक्रियामा निर्वाध सहभागी हुने अक्षुण अधिकार रहेको हुन्छ,” विज्ञप्तिमा उल्लेख छ, “यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन हुँदैन ।”