बुटवल । रुपन्देहीको विकट क्षेत्र हो, मर्चवार । भारतीय सीमानाकासँग जोडिएको मर्चवार सुगम जिल्लाको दुुर्गम क्षेत्रका रूपमा परिचित छ । कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाको क्षेत्र नै मर्चवार हो । यो त्यही ठाउँ हो, जहाँ हरेक निर्वाचनमा मतदाताले मत फेर्छन् । मतको सदुपयोग नभएको भन्दै सधैँ पछुतो पनि मान्छन् ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मर्चवारमा पनि चुनावी चर्चा बढेको छ । “आजभोलि यहाँ दैनिक नेताहरूकै बारेमा चर्चा हुन्छ,” कोटहीमाई गाउँपालिकाको कार्यालयनजिकै रहेको चिया पसलका सञ्चालक ३० वर्षीय अखिलेश मौर्यले भने ।
चिया पकाउँदै चुनावी गफ सुनिरहेका मौर्यले नेताहरूले निरन्तर ढाँट्दै आएकामा आक्रोश पोखे । “मजस्ता युवा बेरोजगार भएर बस्नुपरेको छ । अहिले त यो सानो चिया पसल सञ्चालन गरेको छु, यो पनि चल्छ भन्ने ग्यारेन्टी छैन,” मौर्य भन्छन्, “यसपालि गतिलो उमेदवार नभए त भोट दिन्नँ ।”
आर्थिक अभावका कारण कक्षा–१० मै पढाइ छाडेका मौर्य आफ्नो सन्तानलाई पूरा शिक्षा दिन चाहन्छन् । उनी दुई छोरा र एक छोरीका बुवा हुन् ।
“हाम्रो दुःखका बारेमा नेतालाई पाँच वर्षसम्म कुनै वास्ता हुँदैन । अहिले मेरै चिया पसलमा आएर त्यो नेता र यो नेता भन्दै छलफल गरेको सुन्छु,” उनको गुनासो छ, “हामीजस्ता गरिब जनतालाई हेर्ने नेता कोही भएनन् ।”
उनी यसपालि पाका र यसअघि जितिसकेका नेतालाई मत नदिने बताउँछन् । “मर्चवारको विकास गर्ने, किसान, मजदुरको समस्या बुझ्ने नेता हामीलाई चाहिएको छ,” उनले भने ।
मौर्यकी श्रीमती अञ्जनीदेवीले पतिलाई चिया तथा नास्ता पसलमा सघाएकी छन् । “चुनाव आएपछि मर्चवारको विकास गर्छु भनेर आउने नेताहरूको कमी हुँदैन,” उनी भन्छिन्, “चुनाव जितेपछि मर्चवारमा फर्किंदैनन् ।” विकास गर्ने नेता चाहिएको उनको भनाइ छ ।
मर्चवार रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–४ मा पर्छ । यहाँका नागरिकले योपटक एजेन्डा हेरेर भोट दिने बताएका छन् । “म एक बेरोजगार युवा हुँ, २०७४ सालको निर्वाचनमा पनि हाम्रा लागि रोजगारी दिन्छौँ भनेर नेताहरू आएका थिए,” मझगावाका ३२ वर्षीय धर्मेश राजभर भन्छन्, “बेरोजगार भएपछि बाध्य भएर म विदेश गएँ ।”
धर्मेश ०७४ को निर्वाचनलगत्तै यूएई गएका थिए । विदेशमा चार वर्ष बसेर फर्किए । फेरि उतै जानुपर्ने बाध्यता रहेको उनले सुनाए । “नेताहरूले आफ्नालाई मात्रै हेरे,” उनी भन्छन्, “कम्तीमा पनि मजस्ता युवालाई मर्चवारमै रोक्ने नेता चाहियो ।”
कृषि भूमि भए पनि सिँचाइको अभावका कारण यहाँका किसान प्रताडित छन् । नहरमा पानी नै नआउने समस्याले सताएको उनले बताए । “न किसानले रोपाइँ गर्ने बेला पानी पाउँछन् न त गतिलोसँग बिजुली नै आउँछ,” उनले भने ।
धर्मेशका दुई छोरा र एक छोरी छन् । उनले खेती गर्न पनि आफ्नो जग्गा धेरै नहुँदा समस्या भएको सुनाए । “मंसिर ४ नजिक त आयो, म भोट पनि दिन्छु, तर भोट दिएबापत म फेरि खाडीमै जानुपर्ने हो त ?,” उनको प्रश्न छ ।
धर्मेश मात्र होइन, मर्चवारमा साइकलमै सामान बिक्री गर्ने ६८ वर्षीय रामकिशोर हरिजनको कथा पनि उस्तै छ । “चिफ सापलाई जिताउँदै आएको हो, तर हाम्रो दुःख उस्तै छ,” उनले भने ।
रामकिशोर साइकलमा मिठाई, बिस्कुट, चकलेटजस्ता सामान राखी गाउँगाउँ डुलेर बिक्री गर्छन् । उनले यो काम गर्न थालेको दशक नाघिसक्यो ।
“अझै पनि हरिजनहरूलाई जातीय भेदभाव गरिन्छ, उत्पीडन छ,” उनले भने, “यसपालि चिफ सापलाई मर्चवारको समस्या भन्ने हो ।”
रामकिशोरले ‘चिफ साप’ भनेर सर्वेन्द्रनाथ शुक्ललाई भनेका हुन् । शुक्ल पटक–पटक मर्चवार क्षेत्रबाट सांसदमा निर्वाचित भएका छन् । उनी सांसद मात्र होइन, मन्त्री पनि भए । मर्चवारमा अझै पनि गतिलो सडक छैन । भरपर्दो शिक्षा उपलब्ध छैन । स्वास्थ्यचौकी, बिजुली, पिउनेपानीको समस्या उस्तै छ । किसानले समयमा मल, बिउ पाउँदैनन् ।
यस्तो छ विगतको मतपरिणाम
मर्चवार स्वाभाविक रूपमा मधेसवादी दलहरूको दबदबा भएको क्षेत्र हो । यहाँ ०४८ सालयताको आमनिर्वाचनमा कम्युनिस्ट पार्टीका कोही विजयी भएको छैन । नेपाली कांग्रेसले ०७४ सालमा मात्र आफ्नो उपस्थिति देखाउन सक्यो । यहाँ एमाले सांगठनिक रूपमा कमजोर देखिन्छ ।
मर्चवार समेत समेटिएको रुपन्देही–४ बाट योपटक कांग्रेसका प्रमोद यादव, एमाले र रापप्राको समर्थनसहित जसपाका ओमप्रकाश यादव गुल्जारी, लोसपाका शुक्ल र जनमत पार्टीबाट भुन्पेन्द्र यादव चुनावी मैदानमा छन् ।
०४८ सालको आमनिर्वाचनमा तत्कालीन नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता मर्चवार भेग पर्ने त्यतिखेरको रुपन्देही–५ बाट विजयी भएका थिए । ०५१ मा राप्रपाका तर्फबाट सर्वेन्द्रनाथ शुक्ला विजयी भए । ०५६ को निर्वाचनमा सद्भावनाले दोस्रोपटक चुनाव जित्दा यज्ञजित शाह सांसद बने ।
०६४ सालको पहिलो संविधानसभा निर्वाचन तत्कालीन रुपन्देही–६ बाट मधेसी जनाधिकार फोरमका ओमप्रकाश यादव र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल विजयी भए ।
०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका प्रमोद यादव विजयी भए । दुवै प्रदेशसभा क्षेत्रबाट पनि कांग्रेस उमेदवार निर्वाचित भए ।
गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उमेदवारहरूले पाएको मत जोड्दा यो क्षेत्रमा शुक्लको पार्टी अगाडि देखिन्छ । त्यति बेला लोसपाका वडाध्यक्षका उमेदवारहरूले १६ हजार २२६, कांग्रेसका वडाध्यक्षका उमेदवारहरूले १५ हजार ६२७, जनमत पार्टीका वडाध्यक्षका उमेदवारहरूले सात हजार ७३४ र एमालेका वडाध्यक्षका उमेदवारहरूले सात हजार ६०५ मत पाएका थिए ।