काठमाडौं । निर्वाचन आयोगले करका दरहरू परिवर्तन गरिएको बारे गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू परिवर्तन गरेको देखिएको भन्दै स्पष्टीकरण सोधिएको हो ।
आयोगले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय बदर गरी जानकारी गराउन निर्देशन दिएको छ । ‘गण्डकी प्रदेश सरकारले २०७९।०६।२७ गतेको प्रदेश राजपत्र खण्ड–५, संख्या ५ मा सरकारले विभिन्न करका दरहरूमा छुट दिने गरी सूचना प्रकाशन गरेको देखिएको’ स्पष्टीकरणपत्रमा उल्लेख छ ।
‘निर्वाचनको सम्मुखमा आचारसंहिता लागु रहेको अवस्थामा यसप्रकारबाट करको दरमा छुट दिनेजस्ता नीतिगत निर्णय गरी कार्यान्वयन गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई असर पर्नुको साथै सो कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख)को विपरीत समेत देखिएको’ उक्त पत्रमा उल्लेख छ ।
गण्डकी सरकारको सो निर्णय २४ घण्टाभित्र बदर गरी त्यसको जानकारी आयोगमा उपलब्ध गराउन निर्देशन दिइएको छ ।
करको दरमा हेरफेर गर्ने निर्णय प्रक्रियामा संलग्न गण्डकी प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, प्रमुखसचिव र अर्थ मन्त्रालयका सचिवलाई समेत छुट्टाछुट्टै स्पष्टीकरण सोधिएको छ । आ–आफ्नो तर्फबाट २४ घण्टाभित्र छुट्टाछुट्टै स्पष्टीकरण पेस गर्न निर्देशन समेत दिइएको छ ।