site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिट सिनेमा बनाउनभन्दा हल र वितरकबाट पैसा उठान सकस 
SkywellSkywell

काठमाडौं । चलचित्र निर्माताहरूले ‘हिट’ चलचित्र बनाउन र चलाउनभन्दा पनि सिनेमाले कमाएको पैसा उठाउन कठिन रहेको बताएका छन् । चलचित्र रिलिज भइसकेपछि हलबाट कमाएको (कलेक्सन) पैसा उठाउन कठिन हुने गरेको निर्माताहरूको गुनासो छ । सरोकारवाला भने सबैलाई एउटै डालोमा हालेर मूल्यांकन गर्न नहुने बताउँछन् । सबै वितरक र सिनेमा हलको व्यवहार एकै नरहेको उनीहरूको भनाइ छ । 

चलचित्र निर्माता रोहित अधिकारी आफ्नो लगानी रहेको चलचित्र ‘छ माया छपक्कै’को पैसा अझै केही सिनेमा हलले दिन बाँकी रहेको बताउँछन् । यो चलचित्र चलेको चार वर्ष भइसकेको छ ।

“२०१९ मा रिलिज भएको मेरो चलचित्रको अझै सबै पैसा उठेको छैन । अझै दुइटा हलले पैसा दिनै बाँकी छ,” निर्माता अधिकारी भन्छन्, “सिनेमा बनाएर चलाउन जति कठिन छ, वास्तवमा त्योभन्दा धेरै सिनेमाले हलमा चलेर उठेको पैसा निर्माताको खल्तीसम्म आउन गाह्रो छ ।”

KFC Island Ad
NIC Asia

विभिन्न बहाना बनाएर हल र वितरकले निर्मातालाई दुःख दिने गरेको उनी बताउँछन् । समस्या सबैका हुने भन्दै उनी आफ्नो समस्या आफैँ हल गर्नुपर्नेमा जोड दिन्छन् ।

“उठेको पैसाले कसैले ट्याक्स तिरेकाले ढिलो भयो भन्छन् । कोही बिजुलीको बिल तिरियो, केही समय पर्खिदिनुपर्‍यो भन्छन्,” रोहित अगाडि थप्छन्, “यस्तै विभिन्न बहाना देखाउँदै चार वर्षसम्म मलाई झुलाउने काम भयो । सबै सिनेमा चल्दैनन् । चलेका सिनेमाबाट पैसा उठाएर हल पनि रन हुने हो । तर, यसको बहानामा प्रोडुसरको पैसा रोकिनु गलत हो ।”

Royal Enfield Island Ad

हल मात्र होइन, यसको दोष वितरकमा पनि जाने गरेको उनको भनाइ छ । “हलले पैसा दियोस् वा नदियोस्, हिसाबमा देखिएको पैसा फिल्म उत्रिएको तीन महिनाभित्र निर्मातालाई चुक्ता गरिसक्नुपर्छ भन्ने वितरकसँग कागज गरिएको हुन्छ,” उनी भन्छन्, “यो कागजानुसार हिसाब बुझाउँदैनन् र पैसा उठाउन हललाई फलो गर्दैनन् भने उनीहरूको पनि, वितरकको पनि गैरजिम्मेवारी भयो भन्न हिचकिचाउनु पर्दैन ।”

समयमै हल तथा वितरकबाट पैसा फिर्ता नआउँदा त्यसको असर निर्मातालाई पर्दै आएको छ । सिनेमा रिलिजभन्दा करिब एक वर्ष अगाडिदेखि नै करोडौँ रुपैयाँ खर्च हुने र हलबाट उठेको पैसा पनि निर्माताले समयमै नपाउँदा पुनः चलचित्रमा लगानी गर्ने कि नगर्ने भनेर सोच्नुपर्ने अवस्था रहेको रोहित सुनाउँछन् ।

“एकपटक चलचित्रमा लगानी गरेको निर्माता दोस्रोपटक चलचित्रमा लगानी गर्ने कि नगर्ने भनेर दशचोटि सोच्न बाध्य हुन्छ,” रोहित भन्छन्, “हल र वितरक जिम्मेवार भएर समयमा कागजी प्रक्रियाअनुसार अगाडि बढ्ने हो भने सायद यो अवस्था आउँदैन थियो ।”

“दर्शकले हाताहाती तिरेको पैसा निर्माताको हातमा पर्न किन समय लाग्छ ?,” निर्माता महेन्द्र अधिकारीको प्रश्न छ । दर्शकले हाताहाती नगद तिरेर हेर्ने चलचित्रले कमाएको पैसा हलले चाहेको खण्डमा तत्काल उपलब्ध गराउन सक्ने भए पनि नगरिएको महेन्द्रको गुनासो छ । “दर्शकले उधारोमा सिनेमा हेर्ने भए एउटा कुरा हुन्थ्यो होला, तर दर्शक सिनेमा हेर्नु अगाडि नै पैसा तिर्छन् । निर्माताले भने त्यही पैसा पाउन महिनौँ तथा वर्षौँसम्म कुर्नुपर्छ भने यसलाई कसरी फेयर भन्न सकिन्छ,” महेन्द्र भन्छन्, “यहाँ त पैसा होइन, चलचित्रले कति कलेक्सन गर्‍यो भनेर हिसाब थाहा पाउन पनि महिनौँ कुर्नुपर्छ । पैसा त कहिले आउने हो निश्चित हुन्न ।”

भदौ १० गते रिलिज भएको चलचित्र ‘प्रकाश’को सेल्स रिपोर्ट अझै आफूले नपाएको उनी बताउँछन् । महेन्द्र चलचित्र ‘प्रकाश’का निर्माता हुन् । “चलचित्र हलबाट उत्रिएको तीन साताभित्र प्रोडुसरलाई सेल्स रिपोर्ट उपलब्ध गराइसक्नुपर्ने प्रावधान छ । सेल्स रिपोर्ट पठाएको दुई साताभित्र निर्माताले पाउने पैसा भुक्तान गरिसक्नुपर्छ,” उनी भन्छन्, “तर, मैले आजसम्म सेल्स रिपोर्ट समेत पाएको छैन । पैसाको त के कुरा !”

यसले निर्मातालाई हौसला नदिने उनको भनाइ छ । हौसला थप्नुपर्नेमा उल्टै निरुत्साहित गर्ने उनको अनुभव छ ।

अहिले प्रायः अधिकांश मल्टिप्लेक्समा बक्सअफिस सिस्टम जडान गरिएको छ । बक्सअफिस जडान हुनु भनेको टिकट काउन्टर बन्द भएको आधा घण्टाभित्र चलचित्र विकास बोर्डको बक्सअफिस सर्भरमा ग्रस कलेक्सन रिपोर्ट आइसक्नु हो । प्रोपर बक्सअफिस लागु हुने हो भने करिब सोही अवधिमा चलचित्रको प्रोडुसरको इमेलमा उक्त रिपोर्ट पुग्नुपर्छ । तर, नेपालमा बक्सअफिस लागु भएको भनिए पनि यसको पूर्ण कार्यान्वयन भएको छैन । यो अनुभव आफूले गरेको निर्माता महेन्द्र बताउँछन् ।

“बक्सअफिस लागु भएको हो भने हरेक शोको टिकट काउन्टर क्लोज भएको आधी घण्टाभित्र प्रोडुसरको मेलमा टिकट कति बिक्री भयो भनेर हलको रिपोर्ट आइसक्नुपर्छ । तर, यहाँ यो मैले पाइनँ । बक्सअफिस जडान भएको छ रे ! तर, मेरो चलचित्रले कति कलेक्सन गर्‍यो भन्दै हिँड्नुपर्छ,” उनी भन्छन्, “वितरकको अफिस–अफिस धाउँदा पनि रिपोर्ट पाइँदैन । यसले हामी प्रोडुसलाई कसरी इन्करेज गर्छ ।”

हलबाट चलचित्र बाहिरिएको हप्तौँ बितिसक्दा पनि आफूले चलचित्रले ग्रस कलेक्सन कति गर्‍यो भनेर रिपोर्ट नपाएको उनको गुनासो छ । “रिपोर्ट पाउन त महिनौँ लाग्दो रहेछ भने पैसा पाउन कति लाग्छ होला ?,” उनले प्रश्न गरे ।

यो प्रवृत्तिले नयाँ मेकरलाई दोहोरिन प्रेरित नगर्ने उनी सुनाउँछन् । चुस्त प्रविधि, पारदर्शी हिसाब र व्यक्ति तथा संस्थामा इमानदारिता नभएसम्म चलचित्र क्षेत्रले प्रगति नगर्ने उनी बताउँछन् ।

निर्माता महेन्द्रको पारदर्शिताको शंकालाई स्पष्ट पार्दै अर्का निर्माता रोहित भन्छन्, “आफ्नै पैसा पाउन वर्षौँ कुर्नुपर्छ । त्यसमा पनि फेयर हिसाब आउँदैन । यस्ता थुप्रै बेथिति छन्, जसले निर्मातालाई सधैँ तर्साइरहन्छ ।”

बक्सअफिस रिपोर्टभन्दा वितरकले दिएको हिसाबमा कलेक्सन रिपोर्ट धेरै आउने गरेको निर्माता तथा निर्देशकहरूले बताउँदै आएका छन् । यसले पनि पारदर्शितामाथि प्रश्न उठाउँछ । 

निर्माता अधिकारी पारदर्शिता र समयमै पैसा फिर्ता नहुँदा अर्को चलचित्रमा किन लगानी गर्ने र कसरी गर्ने भन्ने प्रश्न प्रोडुसरमा आउनु स्वाभाविक भएको बताउँछन् । यद्यपि, यो विषयमा अधिकांश मौन रहने र यसले समयमै पैसा नदिने पक्षको मनोबल बढाइरहेको महेन्द्रको भनाइ छ ।

“सिनेमा रिलिज भएपछि निर्देशक अर्को प्रोजेक्टमा लाग्छ । उसले हलसँग पैसा मागिदिने कुरा भएन । दोस्रो कुरा, निर्देशकको यो काम पनि होइन,” महेन्द्र भन्छन्, “फेरि, त्यही हलमा सिनेमा लगाउनुपर्छ । त्यही वितरकसँग काम गर्नुपर्छ भनेर कोही पनि बोल्दैन । अनि, निर्माता एक्लै हुन्छ ।”

सबै सिनेमा हल गैरजिम्मेवार नरहेको नेपालकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनका सञ्चालकमध्येका एक भाष्कर ढुंगाना बताउँछन् । क्यूएफएक्समा समयमै रिपोर्ट नदिने र पैसा उपलब्ध नगराउने समस्या नरहेको उनको भनाइ छ ।

“अरूको त मैले जवाफ दिने कुरा भएन । तर, हाम्रोमा यो समस्या छ जस्तो मलाई लाग्दैन । हाम्रोमा समयमै पैसा दिने नीति छ । दिँदै आएका पनि छौँ,” भाष्कर स्पष्ट पार्छन् ।

समयमै रिपोर्ट र पैसा उपलब्ध नगराउने वितरकलाई निर्माताले सिनेमा नदिन र पैसा उपलब्ध नगराउने हललाई प्रदर्शनका लागि चलचित्र नदिन वितरकलाई भाष्करको चुनौती छ । “जुन हलले पैसा दिँदैन, उसलाई वितकरले चलचित्र नदिए हुन्छ । जुन वितरकले निर्मातालाई पैसा दिँदैन, उसलाई निर्माताले चलचित्र नदिए हुन्छ,” भाष्कर भन्छन् ।

“यो प्राक्टिस बन्द गर्न जुन वितरक र हलले पैसा दिँदैन, उसलाई आफ्नो चलचित्र नदिए पुग्छ । तर, वितरक र निर्माता दुवैले लोभ गरिरहेका कारण यो प्राक्टिसले निरन्तरता पाएको हो,” उनी अगाडि थप्छन्, “यदि, वितरक र निर्माता दुवैले लोभ नगर्ने हो भने यो समस्या तत्काल समाधान हुन्छ । तपाईं पसलेलाई मैनबत्ती बेच्नुहुन्छ, तर पसलेले पैसा दिएन भने फेरि त्यसैलाई मैनबत्ती दिनुहुन्छ भने तपाईंको पैसा फिर्ता आउँदैन । पैसा फिर्ता होला कि भनेर लोभ गर्दा फेरि पनि डुब्छ । यस्तो लोभ वितरक र निर्माता दुवैमा छ । यो गर्नु भएन ।”

सिनेमा घरहरूको छाता संस्था चलचित्र संघका महासचिव नरेन्द्र महर्जन समयमा चलचित्र घरहरूले रिपोर्ट र हिसाब नबुझाएको सत्य भएको स्वीकार गर्छन् । तर, सबै हलमा भने यो समस्या नरहेको उनी स्पष्ट पार्छन् ।

कोभिड–१९ संक्रमणको त्रासले लामो समय हल बन्द हुनु यसको कारण भएको उनको जिकिर छ । “तपाईंले भनेको गुनासो आइरहेको छ । जुनसुकै बिजनेस पनि सहज रूपले चल्दासम्म मात्रै सबै कुरा ठिकठाक तरिकाले अगाडि बढ्ने हो । कोभिडका कारण हल बन्द हुँदा केही निर्माताको हिसाब मिलाउन समय लागेको हो,” सिनेमा हलका सञ्चालक समेत रहेका नरेन्द्र भन्छन्, “हामीले यस विषयमा कतिसँग कुरा गरिसकेका छौँ । केहीसँग कुरा भइरहेको छ । संघले केहीलाई चिट्ठी पनि काटिसकेको छ ।”

गुनासो चाँडै सम्बोधन हुने र आउँदा दिनमा यो समस्या नआउनेमा आफू आशावादी रहेको उनी बताउँछन् ।

नेपालमा चलचित्रसम्बन्धी हरेक विषयमा सिनेमा हललाई नै बदनाम गर्ने काम भएको उनको गुनासो छ । “जिम्मेवार कोही नहुने तर त्यसको भागीदार सधैँ हल हुनुपर्ने ?,” उनको प्रश्न छ । वितरक जिम्मेवार र जवाफदेही भए यो समस्या नै नहुने उनको दाबी छ ।

भाष्करको भनाइमा वितरक गोेविन्द शाही सहमत छन् । वितरक जिम्मेवार भए हलले पैसा लुकाउन वा झुलाउन नसक्ने उनी बताउँछन् । “मैले काठमाडौंको एउटा हलबाट कबड्डी–४ को आठ लाख रुपैयाँ उठाउन बाँकी थियो । मैले उसलाई प्रेम गीत–३ लगाउने हो भने पेमेन्ट क्लियर गर भनेँ । उसले क्लियर गरिदियो,” गोविन्द भन्छन्, “यदि, वितरक सक्रिय र जिम्मेवार हुने हो भने हलले ठग्न सक्तैन ।”

आफूले करारअनुसार समयमै निर्मातालाई हिसाब बुझाउने गरेको उनको जिकिर छ । कोभिड–१९ वा यस्तै असहज अवास्थामा केही दिन तलमाथि भए पनि सहज अवस्थामा निर्मातासँगको करार सम्झौता उल्लंघन नगरेको उनी बताउँछन् ।

केही हलमा लामो समय ताकेता गर्नुपरे पनि केही हलले हप्ता दिनमा र केहीले दुई हप्तामा नै पैसा पठाउने गरेको उनको भनाइ छ । एकाध हलमा भने समस्या रहेको उनको भनाइ छ ।

बक्सअफिस प्रणालीलाई व्यवस्थित गर्न केही समय लाग्ने नरेन्द्र बताउँछन् । चलचित्र विकास बोर्डका पूर्वसदस्य समेत रहेका उनी दुई–तीनजनाले बक्सअफिसलाई व्यवस्थित र भरपर्दो बनाउन नसक्ने बताउँछन् । “अहिले विकास बोर्डका दुई–तीनजना स्टाफले बक्सअफिस हेरिरहेका छन् । यति मेनपावरले देशभरका हलको रिपोर्ट समयमै सम्बन्धित पक्षमा पुर्‍याउन सक्तैन,” उनी भन्छन्, “यसलाई व्यवस्थित बनाउने हो भने बोर्डले यसको जिम्मा कुनै व्यवस्थापकलाई दिनुपर्छ । होइन भने यो समस्या यस्तै रहिरहन्छ ।”

देशभरबाट आएको रिपोर्ट हेरेर तत्काल सम्बन्धित पक्षमा पुर्‍याउन अहिलेकै अवस्थामा सम्भव नरहेको नरेन्द्र स्पष्ट पार्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ०६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro