डडेलधुरा । भारतमा विस्फोट गरिएको ढुंगा उछिट्टिएर शुक्रबार दार्चुलाको व्याँस गाउँपालिका–२, तम्बाकुस्थित बाटोमा हिँडिरहेका नौ वर्षीय पवन महरालाई लाग्यो । तम्बाकुबाट घर फर्कने क्रममा सीमापारिबाट उछिट्टिएर आएको ढुंगा लागेर उनको मृत्यु भयो ।
भारतको तवाघाट–लिपुलेकखण्डअन्तर्गत लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण गरिरहेको निर्माण कम्पनीले सीमा क्षेत्रमा पूर्वसूचनाबिनै विस्फोट गराएको थियो । व्याँस–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीका अनुसार यसअघि विस्फोट गराउँदा सूचना दिने गरिएको थियो ।
“यसअघि भारतीय क्षेत्रमा विस्फोट गराउँदा सिठ्ठी लगाएर सूचना दिने गरिएको थियो,” उनले भने, “तर, यसपटक कुनै सूचना नै नदिएर विस्फोट गराउँदा मानविय क्षति नै भएको छ ।”
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार उक्त घटनापछि फेरि कूटनीतिक पहल थालिएको छ । “कूटनीतिक पहलका लागि गृह मन्त्रालयलाई घटना विवरणसहित सम्पूर्ण जानकारी पठाएका छौँ,” उनले भने, “गृहले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्नेमा विश्वस्त छौँ ।”
उनका अनुसार महाकाली नदीको किनारैकिनार मानसरोवर जोड्ने सडक दुई लेनमा स्तरोन्नति गर्ने क्रममा भारतले पछिल्ला चार/पाँच वर्षदेखि विस्फोट गराउँदै आएको छ । “विस्फोटका कारण भौतिक क्षति त धेरै भइसकेको छ,” उनले भने, “यसपटक मानवीय क्षति पनि भएको छ । हामीले भारतीय समकक्ष (डीएम)सँग पनि राहत र क्षतिपूर्तिका लागि पहल गरिसकेका छौँ । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनी पनि राहत र क्षतिपूर्ति दिनका लागि पोजिटिभ देखिएको छ ।”
०७८ जेठमा सोही सडक (कैलाश मानसरोवर सडकखण्ड) निर्माणका क्रममा भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै नेपाली भू–भागमा क्षति भएको थियो । नेपाली भू–भागको बाटो समेत भत्किएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको थियो ।
दार्चुलाका तत्कालीन प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी आनन्द स्वरूपलाई नेपालको भू–भागमा भइरहेको क्षति रोक्न र अवरुद्ध बाटो सञ्चालन गर्न आग्रहसहित पत्र पठाएका थिए । नदीमा खसेको चट्टानलाई पन्छाउन र बहावलाई प्राकृतिक धारमा फर्काउन पनि आग्रह गरिएको थियो । त्यसको जानकारी गृह मन्त्रालयलाई गराइएको थियो । कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गरिएको थियो ।
उक्त समयमा व्याँस–२ को कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रममा विस्फोट गराउँदा तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध भएको थियो । प्रहरीचौकी दुम्लीङबाट उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्रनजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको थियो । नेपालले ‘कूटनीतिक नोट’ पठाए पनि भारतले सीमा क्षेत्रमा निर्वाध रूपमा विस्फोट गराउन छोडेको छैन ।
नेपाली भू–भाग लिपुलेक, कालापानी र लिम्पियाधुरा भएर तिब्बतस्थित धार्मिकस्थल मानसरोवरसम्म जाने बाटो निर्माणकार्यको ०७७ वैशाख २६ गते तत्कालीन भारतीय गृहमन्त्री राजनाथ सिंहले ‘भर्चुअल’ रूपमा उद्घाटन गरेका थिए । त्यसपछि तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक विवादबारे जुनसुकै तहमा भारतसँग कुरा गर्न र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न नेपाल सरकार इच्छुक रहेको जानकारी राजदूतमार्फत पठाए ।
नेपालमा भारतको कदमको विरोध बढेपछि सरकारले भारतीय राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्र मन्त्रालयमा बोलाएर फेरि कूटनीतिक नोट थमायो । नेपाली भूमि हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेको विषयप्रति असहमति जनाउँदै सरकारले ०७७ वैशाख २९ गते कूटनीतिक नोट थमाएको थियो । तर, भारतले कुनै चासो दिएन । अहिले सोही सडक निर्माणका क्रममा भारतले लगातार पूर्वसूचनाबिना नै विस्फोट गराउँदै आएको हो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार अहिले नेपाली सेनाले पनि नेपालतर्फ महाकाली करिडोर निर्माण गर्दा विस्फोट गर्दै आएको छ । “भारतले विस्फोट गर्दा नेपालमा र नेपालले गर्दा भारतमा लगातार भौतिक क्षति भइरहेको छ,” उनले भने, “हामीले पटक–पटक सावधानी अपनाएर मात्रै विस्फोट गर्न सचेत गराएका छौँ ।”
यसरी बढ्यो नेपाल–भारत सीमा विवाद
०७६ कात्तिक १६ गते भारत सरकारले जम्मु–कस्मिर र लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि जारी नयाँ नक्सामा लिम्पियाधुरा र कालापानीलाई पनि समावेश गर्यो । त्यसपछि पुनः नेपाल–भारत सीमा विवाद सुरु भएको थियो ।
त्यसको चार दिनपछि ०७६ कात्तिक २० गते कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको भन्दै परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्यो । कात्तिक २१ गते भारतको विदेश मन्त्रालयले आफ्नो नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै हेरफेर नगरेको प्रतिक्रिया दियो ।
०७६ मंसिर ३ गते भारतको नयाँ नक्साबारे भारत सरकारलाई कूटनीतिक नोट पठाइयो । जसमा परराष्ट्र मन्त्रालयले सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको पुनः स्मरण गराएको थियो ।
०७७ वैशाख २६ गते भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालले दाबी गरेको धार्चुला–लिपुलेक क्षेत्रमा निर्मित उक्त सडक सञ्जालको भिडिओ कन्फरेन्समार्फत उद्घाटन गरेपछि सीमा विवाद झनै बल्झिएको थियो । त्यसको भोलिपल्ट सडक निर्माण गर्ने एकतर्फी गतिविधि दुई देशबीच प्रधानमन्त्रीस्तरमै भएका समझदारीविपरीत रहेको भन्दै नेपालले प्रतिक्रिया जनायो । सोही दिन भारतको विदेश मन्त्रालयले उक्त सडक सञ्जाल उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने प्रतिक्रिया दियो ।
०७७ जेठ ७ गते नेपालको मन्त्रिपरिषद्ले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरियो । ०७७ जेठ ३१ गते नेपालले जारी गरेको नयाँ नक्साअनुसार निसान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भयो ।
०७८ साउन १५ गते नेपाली युवा जयसिंह धामी महाकाली तर्ने क्रममा भारतीय पक्षले तुइन काट्दा नदीमा खसेर बेपत्ता भए । सीमा विवाद झनै बढ्यो । सो क्रममा भारतले नेपाली भू–भागमा अनुमतिबिना हेलिकोप्टर समेत उडाएको थियो ।