काठमाडौं । १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारबाट ललितपुरमा सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा पूष्पमेला सुरु भएको हो ।
प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक चार गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए । मेलामा करिब ८० लाखको कारोबार हुने अपेक्षा रहेको उनले बताए ।
प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरूले उत्पादन गरेको गोदावरी फूलको पाँचवटा प्रजातिमा प्रतिस्पर्धा गराइने बताइएको छ । सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा विरुवासमेत प्रदर्शनीमा राखिएको छ ।
अहिले फूल व्यापारको अवस्था उत्साहजनक रहेको र उत्पादनको तथा बिक्री पनि बढ्दै गएको एसोसिएसनका अध्यक्ष तामाङले बताए । कोरोनाअघि पौने तीन अर्बको वार्षिक कारोबारको आंकडा रहेपनि कोरोनाका बेला एक अर्ब ६३ करोडमा व्यापार झरेको तामाङको भनाइ छ । त्यसपछि भने अघिल्लो आर्थिक वर्षमा दुई अर्ब बढीको कारोबार भएको र अहिले कारोवार बढ्दै गएको उनले बताए ।
गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन जनाएको छ । पुष्प मेला आइतबारसम्म चल्नेछ ।