काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत खोखोतर्फ त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशका महिला र पुरुष दुवै टिमले फाइनलमा स्थान बनाउन सफल भएका छन् ।
बुधबार पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा सम्पन्न सेमिफाइनलमा पुरुषतर्फ लुम्बिनीले वाग्मती प्रदेशलाई २५–१६ को स्कोरमा हराउँदै फाइनलमा स्थान पक्का गर्यो । लुम्बिनीले अब स्वर्णपदकका लागि आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले बुधबारै सम्पन्न खेलमा प्रदेश नम्बर–१ लाई १९–२ को स्कोरमा पराजित गर्दै फाइलनमा स्थान पक्का गरेको हो ।
महिलातर्फ आर्मीले सुदूरपश्चिम प्रदेशलाई १८–२ को स्कोरमा हरायो । महिलतर्फ पनि आर्मीले लुम्बिनी प्रदेशसँग नै प्रतिस्पर्धा गर्नेछ । लुम्बिनीले प्रदेश–१ लाई २२–२ को स्कोरमा पराजित गरेको हो ।
राउन्ड रोबिन लिग प्रणालीमा खेलाइएको प्रतियोगितामा दुई विभागीय र सात प्रदेशसहित नौ टिमले प्रतिस्पर्धा गरेका थिए ।