
काठमाडौं । २०४६ मा प्रजातन्त्र र बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि पञ्चायतकालीन नेताहरु दलीय राजनीतिमा होमिए ।
२०४८ सालको निर्वाचनमा भाग लिनेगरि पञ्च नेताहरु सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले राप्रपा थापा र राप्रपा चन्द छुट्टाछुट्टै पार्टीको स्थापना गरे । र, लगत्तै चुनावमा भाग पनि लिए ।
त्यसअघि ३० वर्षसम्म पञ्चायती शासन व्यवस्थामा राजाले पटक पकट सरकारको नेतृत्व तहमा पु¥याएका दुवै नेताको स्कुलिङ एउटै थियो तर एउटै पार्टीमा रहन सकेनन् ।
२०४८ को निर्वाचनमा समानुपातिक व्यवस्था थिएन । पञ्चायती व्यवस्थामा हालिमुहाली गरेको पार्टीलाई भने जनताले चुनावी मैदानमा पत्याएनन् ।
२०४८ को निर्वाचनबाट राप्रपा चन्दको तर्फबाट तीन नेताहरु विजयी भएका थिए ।
२०५ निर्वाचन क्षेत्रमध्ये पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र अकबरवहादुर सिंह विजयी भएका थिए ।
राप्रपा थापाले १ सिटमा जित हासिल गरेको थियो । पञ्चायतमा हालिमुहाली गरेका नेताहरूमा बहुदलीय व्यवस्थामा पनि सत्ताको भोक कम भएन ।
०४८ को निर्वाचनबाट कमजोर भएका दुवै दलका नेताहरुले २०४९ सालमा गएर पार्टी एकता गरे ।
सोहीवर्ष एकताको प्रथम महाधिवेशन गर्दै अध्यक्षमा सूर्यबहादुर थापा तथा लोकेन्द्रबहादुर चन्द सह–अध्यक्ष बन्न सफल भए ।
एकीकृत भएर २०५१ चुनाव लडेको राप्रपाले २० सिट जित्न सफल भयो । निर्वाचनमा १८ प्रतिशत मत ल्याएको राप्रपा तेस्रो शक्ति बन्यो ।
तर, यो जित राप्रपाका लागि सफलता भन्दा पनि दुर्भाग्य बन्यो । ०५२ सालमा शक्तिको भोकले राप्रपा पुनः अस्थिर बन्यो ।
एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्द र कांग्रेसको समर्थनमा सूर्यबहादुर थापा प्रधानमन्त्री बने ।
२९ फागुन २०५३ मा पार्टी फुटाएर एमालेको सहयोगमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने । जवाफमा थापाले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा रहेका चन्दसहित ९ सांसदलाई पार्टीबाट हटाइदिए ।
राप्रपाका नेताहरू यही सत्ताको लुछाचुँडीबाट राप्रपामा विग्रह आएको बताउँछन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठ पनि यो कुरालाई स्वीकार गर्छन् ।
राप्रपाका अर्का एक पदाधिकारी माओवादी उदयको एउटा शक्तिनै राप्रपा भएको बताउँछन् । आफूहरुको विभाजनलाई माओवादीले भरपूर फाइदा उठाएको उनको टिप्पणी छ ।
“हामी नफुटेको भए माओवादी आउँदैन थियो । माओवादी उत्पत्ति र सफलताको कारण एक हामी हौं । शेरबहादुर देउवाको सरकार चाँडै ढाल्ने काम पार्टीभित्रैबाट भयो । सूर्यबहादुर थापा सिध्याउन र राज गर्न चन्दले मिहेनत गरेकै हुन् । परराष्ट्र, स्थानीय विकास, भौतिक पूर्वाधार मन्त्रालय, जलस्रोत, भूमिसुधार मन्त्रालय हामीले चलाएका थियौं,” ती पदाधिकारीले बाह्रखरीसँग भने, “त्यतिबेला पार्टीभित्र सरकार ढाल्ने खेल भयो, अनि हामीमा वितृष्णा सुरु भयो । आफ्नै सरकार ढालेर कहिले सूर्यबहादुर कहिले लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बन्ने खेलले वितृष्णा जगायो । त्यसको परिणाम माओवादी प्रभाव बढ्दै गएको हो ।”
माओवादी प्रभाव बढ्नुको एक कारण प्रष्ट्याउँदै ती पदाधिकारीले त्यसबेला राप्रपाले गल्ती नगरेको भए अहिलेको परिस्थिति नआउने दाबी गर्छन् ।
“हामीले त्यसबेला खेल नखेलेको भए हामी तेस्रो ठूलो पार्टी थियौं । हरेक ठाउँमा थोरै भोटले तेस्रो बनेका थियौं अनि नेपालमा वामपन्थी, दक्षिणपन्थी, मध्यमार्गी विचारधाराको पार्टीमात्र अस्तित्वमा आउँथ्यो । अहिले जस्तो धेरै दल हुने थिएन,” उनले भने ।
फर्केर हेर्दा राप्रपामा २०५५ सालबाट कमल थापा शक्तिमा उदाएका हुन् ।
वीरगञ्ज महाधिवेशनबाट सूर्यबहादुर थापा पुनः पार्टी अध्यक्ष बन्दा कमल थापा प्रवक्ता, डा. लोहनी महासचिव र पशुपतिशमशेर जबरा उपाध्यक्ष बनेका थिए ।
लगत्तै २०५६ सालमा भएको निर्वाचनमा राप्रपाले ११ सिटमा जितेको थियो । राप्रपा लोहनी समूह भने नील बन्यो । सो निर्वाचनलगत्तै उनीहरुले पुनः पार्टी एकता गरे ।
त्यसको ४ वर्ष पश्चात् अर्थात् २०६० सालमा पार्टीमा सूर्यबहादुर थापाको युग समाप्त भयो । पोखरामा सम्पन्न पार्टीको महाधिवेशनले पशुपतिशमशेर राणालाई पार्टी अध्यक्ष बनायो ।
२०५९ असोज १८ मा शेरबहादुर देउवालाई प्रधानमन्त्री हटाएपछि पुनः लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाले शासन सत्तामा रजगज गर्ने मौका पाए ।
सत्ताको लुछाचुँडी यतिसम्म विस्फोट भयो कि पार्टी छिन्नभिन्न भयो । राजाको पक्षपोषणमा गृहमन्त्री बनेका कमल थापाले पनि पार्टी स्थापना गर्न भ्याए ।
आफैँले हुर्काएको र अवसर लिएको पार्टीबाट २०६० सालमा सूर्यबहादुर थापा निस्कासित हुनुपर्यो । थापालाई बहुदलीय व्यवस्थाको समर्थक भएको भन्दै ०६० सालमा पार्टीबाट निष्कासित गरियो ।
उनले २०६१ मा राष्ट्रिय जनशक्ति पार्टी नाम लिएर निर्वाचन आयोगमा दर्ता गरे ।
प्रजातन्त्रको समर्थन गर्ने राप्रपाको निर्णयकोविरुद्ध लाग्दै पदबाट राजीनामा दिएका कमल थापाले २०६३ पुसमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल दर्ता गरे ।
मुलुकमा गणतन्त्र घोषणा भइसकेपछि उनले पार्टी दर्ता गरेका थिए । राप्रपाले २०६३ को पुनःस्थापित संसद्मा नौ सिट पाएको थियो । यता, २०६४ को पहिलो संविधान सभा निर्वाचनमा पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाले ८ सिट जित्न सफल भयो ।
सोही निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालले ४ तथा सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय जनशक्ति पार्टीले ३ सिट हासिल गरेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।
समानुपातिक व्यवस्थाको भरपूर लाभ उठाउँदै यी सबै सिट समानुपातिक तर्फबाट आएका हुन् ।
तीनवटै दलले प्रत्यक्ष चुनाव जित्न सकेनन् । ०६४ को निर्वाचनमा माओवादीबाहेक अन्य दलले पनि उत्साहित मत ल्याउन सकेका थिएनन् ।
गणतन्त्र र धर्म निरपेक्षतामा देश गएसँगै राप्रपाले हिन्दु राज्य र राजसंस्थाको एजेन्डा बनायो । सोही एजेन्डा बोकेर ०६४ को निर्वाचन तीनै राप्रपाले लडेका थिए ।
०६४ को निर्वाचनमा कमजोर बने पनि २०७० को निर्वाचन भने राप्रपाका लागि जनताले एकपटक अवसर सिर्जना गरिदिए ।
भलै प्रत्यक्षमा शून्य सिट भए पनि समानुपातिकतर्फ भने जनताले राप्रपालाई माया गरे । ‘एक भोट दाईलाई एक भोट गाईलाई’ भन्ने नारानै चल्यो । अर्थात् समानुपातिकतर्फ गाईमा भोट हाल्ने ‘लहर’नै चलेको थियो ।
यही नाराको मद्दतमा कमल थापाको राप्रपा नेपालले एक्लै चुनाव लड्यो । २०७० मा सूर्यबहादुर थापा र पशुपतिशमशेर जबरा मिलेर चुनाव लडेका थिए । निर्वाचनबाट थापा–लोहनीको पार्टीले १२ र कमल थापाको पार्टीले २४ सिट जितेको थियो । अर्थात् समग्रमा ३६ सिटवाला राप्रपा बन्यो र सरकारमा सहभागी भयो ।
गणतन्त्रपछिको १० वर्ष पञ्चहरुको शक्ति भजाएर कमल थापाको युग सुरु भयो ।
हिन्दु धर्म र राजतन्त्रको विषय उठाउने तर, आफैँ सरकारमा पटक पटक सहभागी हुने र लाभ लिने कार्य थापाले गरिरहेको अहिलेका एक पदाधिकारी आरोप लगाउँछन् ।
आफैँ गृहमन्त्री हुँदा राजसंस्था दलहरुलाई बुझाएको संगीन आरोप उनलाई छ । यो बीचमा उनले जति अवसर कसैले नलिएको राप्रपाका पूर्व नेता तथा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका प्रेस संयोजक किरण गिरीको अनुभव छ ।
गिरी अहिले कांग्रेसमा क्रियाशील छन् ।
“सूर्यबहादुर थापानै दरबार झुण्ड र दरबारको वैदारहरुले पार्टी कब्जा गरिसके भन्नुहुन्थ्यो । यहाँ राजनीतिक भविष्य छैन मेरो अवसानपछि विकल्प खोज्नु भनेका थिए,” गिरीले बाह्रखरीसँग भने,“पार्टी छोड्दै गर्दा १७ बुँदे फरक मत राखेका थियौं । तर, कमल थापा ५ प्रतिशत भोटका लागि पनि मैले राजा बोक्नुपर्छ । संविधान र राजा बोक्ने तर म राजतन्त्रवादी होइन यो मेरो रणनीतिमात्रै हो भन्थे ।”
२०७० को कुल ३६ सिटको शक्ति ०७४ मा आइपुग्दा एक सिटमा खुम्चियो । चुनावका मुखमा तीन चिरा भएको यो पार्टीबाट कमल थापाले नेतृत्व गरेको राप्रपाले मात्र एक सिट जितेर संसद्मा प्रतिनिधित्व भयो ।
अघिल्ला चुनावहरुमा समानुपातिकबाट जनताले अवसर दिए पनि ०७४ को चुनावमा जनताले उनीहरुलाई विश्वास गरेनन् ।
“सैद्धान्तिक वैचारिक सांगठनिक रुपमा कहिल्यै अघि बढेन । कहिले सूर्यबहादुर कहिले लोकेन्द्रबहादुरलाई प्रधानमन्त्री बनाउन तथा अन्तिम समयमा कमल थापाको उपप्रधानमन्त्री पद ग्यारेन्टी गर्न मात्र दल लागि पर्यो,” गिरीले बाह्रखरीसँग भने,“गाइलाई बेचेर राजा फर्काउँछु हिन्दु धर्म ल्याउँछु भनेर समानुपातिकमा कमल थापाले ०७० मा २४ सिट ल्याए । तर सत्तामा पुग्दा राजाको ‘र’ अनि हिन्दुधर्मको ‘ह’ पनि उचारण गरेनन् । आफ्नो भाइलाई सांसद बनाए हालीमुहाली गरे पार्टी सके । राप्रपामाथि हस्तक्षेप निर्मलनिवासबाट सधैँ भइरह्यो ।”
२०७०–०७४ को बीच कमल थापा ३ पटक उपप्रधानमन्त्री भए । तर हारबाट पार्टी जोगाउन सकेनन् । एजेन्डा भजाइरहे सत्ताबाट टाढा भने रहन सकेनन् । उनले केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री र मन्त्रीसम्म लिन सफल भए ।
“गणतन्त्रपछि कमल थापाको गतिविधिले पनि हामीलाई कमजोर बनाएकै हो । २०५२ मा हामीले गरेको गल्ती सुधार गर्न २०७० को निर्वाचनले हामीलाई अवसर दिएकै हो नि । गणतन्त्र धर्म निरपेक्षताको विरोधको मत थियो,” ती पदाधिकारीले भने,“कमल थापा सरकारमा जान हुँदैन थियो । दोस्रो कुरा संविधानको पनि आलोचनात्मक समर्थन गर्नुपर्थ्यो वा बाहिर बस्नुपर्थ्यो । त्यसले जनमत बढाउँथ्यो । तर, त्यो भएन ओली, प्रचण्ड, शेरबहादुरको सरकारमा उपप्रधानमन्त्री चाहिँ बस्ने तर एजेन्डामा काम नगर्ने भएपछि हामी खच्किएको हो ।”
ती पदाधिकारी ०५१ को साढे १८ लाख भोटबाट अहिले साढे ४ लाखमा खुम्चनु परेको तितो यथार्थ प्रस्तुत गर्छन् ।
जसमा सूर्यबहादुर थापा, लोेकेन्द्र बहादुर चन्द, पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापालगायत नेताले एकपछि अर्को कदममा जनता ढाँटेर आफ्नो दुनो सोझ्याएको आरोप ती पदाधिकारीको छ ।
लिङ्देनको चर्चा बन्ला पार्टीको पुँजी ?
०६३ मा कमल थापाले पार्टी दर्ता गरेसँगै केन्द्रीय नेतृत्वको जिम्मेवारी पाएका नेता हुन् राजेन्द्र लिङ्देन ।
२०७४ को चुनाव अघि तीन चिरा परेको राप्रपा एकिकृत भएपश्चात् २०७८ मा एकता महाधिवेशन भएको थियो ।
उक्त महाधिवेशनबाट कमल थापालाई पाखा लगाएर राप्रपाको नेतृत्व लिङ्देनको हातमा आएको हो ।
लिङ्देनसँगको हारपछि कमल थापा पार्टीमा छैनन् । राप्रपा नेपालको अध्यक्ष बन्दै अर्काे पार्टीमा प्रवेश गरेपछि राप्रपालाई झनै सहज भएको एक नेता बताउँछन् । ती नेता लिङ्देनको अहिलेको ‘क्रेज’ले पार्टीलाई पुरानो साखतर्फ उन्मुख गराउन सहज हुने तर्क गर्छन् ।
विगतमा थापा निकट रहेर काम गरे प्रवक्ता मोहन श्रेष्ठ कमल थापाको ओरालो यात्राले पार्टीमा समस्या आएको र थापा बाहिरिएपछि संगठन अझ सशक्त बनेर राष्ट्रिय राजनीतिमा उभिएको तर्क गर्छन् । ओलीको हस्ताक्षरबाट थापा चुनाव लड्नु लज्जास्पद भएको उनको तर्क छ ।
राप्रपाले प्रत्यक्षमा ५ सिट र समानुपातिक तर्फ २० सिट आउन सक्ने आकलन गरेको छ । जसमा लिङ्देनसहित अन्य पदाधिकारी पनि रहेको उनको टिप्पणी छ ।
पार्टी महामन्त्री भुवन पाठक लिङ्देन नेतृत्वले पार्टीमा उत्साह थपेको बताउँछन् ।
“अहिले राजेन्द्र लिङ्देनको पक्षमा ‘पोजेटिभ भाइभ्स’ आएको छ,” उनले बाह्रखरीसँग भने,“राष्ट्रिय पार्टीमा दशकौँदेखि एउटै अनुहार नेतृत्वमा छन् ।”