काठमाडौं । देशका केही ठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार यस दिन चिसापानी र असाराघाटस्थित कर्णाली, समजीघाटस्थित भेरी, दिपायलस्थित पश्चिम सेती र पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी, अछाम, बाजुरा, बझाङ र आसपास भई बहने अधिकांश साना नदीहरूमा पनि बहाव उल्लेख्य बढ्नेछ । यी क्षेत्रका केही साना नदीमा बहाव खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान छ ।
यस दिन बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी, अछाम, बाजुरा र बझाङमा बाढीको उच्च जोखिम रहनेछ ।
यस्तै, दाङ बाँके, सल्यान, सुर्खेत, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, जुम्ला, मुगु, हुम्ला, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा समेत बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
महाशाखाले आज र भोलि कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बहावले सतर्कता तह पार गर्न सक्ने जनाएको छ ।
आज र भोलि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश प्रदेश भई बहने साना नदीमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।