काठमाडौं । आर्सनलले शनिबार राति टोटनहमलाई ३–१ ले हराउँदै यस साता पनि इङ्लिस प्रियिमर लिगको शीर्ष स्थानमा रहने पक्का गर्दा लिभरपुल भने ब्राइटनसँग ३–३ को बराबरीमा रोकिएको छ ।
आर्सनलले लन्डनस्थित घरेलु मैदान इमिरेट्स रंगशालामा थोमस पार्टेको गोलबाट २०औँ मिनेटमा अग्रता लिएको थियो । पार्टेले बेन ह्वाइटको पासमा १८ यार्ड बक्सबाहिरबाट हानेको सशक्त प्रहारलाई टोटनहमका गोलकिपर ह्युगो लोरिसले बचाउन सकेनन् ।
पाहुना टोली टोटनहमका ह्यारी केनले ३१औँ मिनेटमा बराबरी गोल फर्काए । रिचार्लिसनलाई आर्सनलका रक्षक गाब्रियलले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि टोटनहमले पेनाल्टी अवसर पाएको थियो । जसलाई केनले कुनै गल्ती नगरी गोलमा परिणत गरे ।
४९औँ मिनेटमा गाब्रियल जिससले गरेको गोलबाट आर्सनलले पुनः अग्रता लियो । बुकायो साकाले हानेको प्रहार टोटनहकका गोलकिपर लोरिसले राम्रोसँग बचाउन सकेनन् । रिबाउन्डमा प्राप्त बललाई जिससले विपक्षी दुई रक्षकको बीचबाट पाेस्टको दिशा दिएका थिए ।
६२औँ मिनेटमा इमर्सन रोयलले रातो कार्डको सामना गरेपछि टोटनहम दश खेलाडीमा सिमित बनेको थियो । रोयलले आर्सनलका गाब्रियल मार्टिनेलीलाई खराब ट्याकल गरेपछि रोयलले रातो कार्डको सामना गरेका हुन् ।
६७औँ मिनेटमा मार्टिनेलीको पासमा ग्रान्ट जाकाले अर्को गोल थपेपछि आर्सनलले तीन अंक पक्का गरेको हो ।
‘‘रेड कार्डले खेल सकिएको हो,’’ टोटनहमका प्रशिक्षक एन्टोनियो कान्टेले भने, ‘‘दश खेलाडीमा सीमित भएर मात्र होइन । खेलाडीले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । जसका कारण तेस्रो गोल रोक्न सकेनौं ।’’
जितसँगै ८ खेलबाट २१ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ४ अंकले माथि हो । सिटीले आज डर्बी खेलमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । पराजित टोटनहम १७ अंकका साथ तेस्रो स्थानमा छ । जुन दोस्रो स्थानको सिटीसँग अंक बराबरी हो भने चौथो स्थानको ब्राइटनभन्दा तीन अंकले माथि हो । तथापि ब्राइटनले एक खेल कम खेलेको छ ।
लिभरपुल बराबरीमा
ब्राइटनले गएराति लिभरपुललाई ३–३ को बराबरीमा रोकेको थियो । ब्राइटनका लेनार्डो ट्रासर्डले ह्याट्रिक गरेका थिए । ट्रासर्डको गोलबाट पाहुना टोली ब्राइटनले चौथो मिनेटमै अग्रता लिएको थियो । उनले १७औँ मिनेटमा अग्रता दोब्बर बनाए ।
३३औँ मिनेटमा रोबर्टो फिर्मिनोको गोलबाट लिभरपुलले पुनरागमन गरेको थियो । ५४औँ मिनेटमा फिर्मिनोले बराबरी गोल फर्काए । ६३औँ मिनेटमा एडम वेबस्टरको आत्मघाती गोलबाट लिभरपुलले अग्रता लियो । तर, खेल सकिन सात मिनेट बाँकी हुँदा ट्रासर्ड ह्याट्रिक गरेपछि ब्राइटन अंक खोस्न सफल भयो ।
बराबरीपछि सात खेलबाट १० लिभरपुल नवौं स्थानमा छ । जुन शीर्ष। स्थानको आर्सनलभन्दा ११ अंक र दोस्रो र तेस्रो स्थानको टोटनहमभन्दा समान ७ अंकले पछाडि हो ।
लिगमा पोटरको प्रशिक्षणमा चेल्सीको पहिलो जित
प्रिमियर लिगमा गएराति ग्राहम पोटरको प्रशिक्षणमा खेलेको लिगको पहिलो खेलमा चेल्सीले गएराति क्रिस्टल प्यालेसमाथि २–१ को विजय हासिल गर्यो । घरेलु टोली क्रिस्टल प्यालेसले सातौं मिनेटमा आडेसोन इडोवार्डको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा पराजित हुनुपर्यो ।
३८औँ मिनेटमा चेल्सीका पिइरे–इमेरिक औबमेयाङले बराबरी गोल फर्काए । इन्जुरी समयमा कोनोर गालाघरले गरेको गोल चेल्सीको जितमा निर्णायक बन्यो ।
पोटरको प्रशिक्षणमा चेल्सीले च्याम्पियन्स लिगमा आरबी लाइपजिगसँग १–१ को बारबरी खेलेको थियो । त्यसअघि च्याम्पियन्स लिगमै डिमानो जाग्रबसँग १–० ले पराजित भएपछि चेल्सीले थोमस टुचेललाई बर्खास्त गरेर पोटरलाई टोलीको जिम्मेवारी दिएको थियो ।
फुलहम घरेलु मैदानमा न्युक्यासलसँग स्तब्ध
न्युक्यासल युनाइटेडले गएराति फुलहममाथि ४–१ को सानदार जित हासिल गरेको छ । आठौं मिनेटमा नाथनियल चालोबाले रातो कार्डको सामना गरेपछि घरेलु टोली फुलहम दश खेलाडीमा सिमित बनेको थियो ।
त्यसको फाइदा लिँदै न्युक्यासलले ११औँ मिनेटमा कालुम विल्सनको गोलबाट अग्रता लियो । ३३औँ मिनेटमा मिगुएल अल्मिरोनले न्युक्यासलको अग्रता दोब्बर बनाए । ४३औँ मिनेटमा सेन लङस्टफले तेस्रो गोल थपे । ५७औँ मिनेटमा अल्मिरोनले चौथो गोल गरे । खेल सकिन दुई मिनेट बाँकी हुँदा बब्बी रेडले गरेको गोल फुलहमका लागि सान्त्वना बन्यो ।
आठ खेलबाट समान ११ जोडेका न्युक्यासल र फुलहम क्रमशः सातौं र आठौं स्थानमा छ ।
प्रिमियर लिगको अन्य खेलमा गएराति एभर्टनले साउथह्याम्पटनलाई २–१ ले हरायो । वेष्टह्यामले उल्भरह्याम्पटनलाई २–० ले पराजित गर्यो । ब्रेन्टफोर्ड र बर्नमाउथले गोलरहित बराबरी खेले ।