काठमाडौं । अन्तिम समयमा काई हाभार्टजले गोल गरेपछि जर्मनीले सोमबार राति यूईएफए नेसन्स लिगमा इङ्ल्यान्डसँग ३–३ को बराबरी खेलेको छ ।
दोस्रो हाफमा ३५ मिनेटको अन्तरालमा ६ गोल भएको थियो । पछिल्लो ६ खेलमा जितबिहीन इङ्ल्यान्ड गएराति दुई शून्यले पछि परेको थियो । पाहुना टोली जर्मनीले ५२औं मिनेटमा इल्के गुन्डोगनको गोलबाट अग्रता लिएको थियो । गुन्डोगनले पेनाल्टीमा गोल गरेका थिए । ६७औं मिनेटमा हाभार्टजले जर्मनीको अग्रता दोब्बर बनाएका थिए ।
गारेथ साउथगेटको प्रशिक्षणमा रहेको इङ्ल्यान्डले ७२औं मिनेटमा लुक शको गोलबाट पुनरागमन गरेको थियो । त्यसको तीन मिनेट वित्न नपाउँदै मासन माउन्टले बराबरी गोल फर्काए ।
लन्डनस्थित वेम्बली रंगशालामा घरेलु टोली इङ्ल्यान्डले ८३औं मिनेटमा ह्यारी केनको गोलबाट अग्रता लिन सफल भएको थियो । तर, खेल सकिन तीन मिनेट बाँकी हुँदा हाभार्टजले गोल गरेपछि जर्मनी अंक बाढ्न सफल भएको थियो ।
इङ्ल्यान्ड नेसन्स लिग ‘ए’को समूह–३ मा तीन अंकका साथ पुछारमा छ । र, इङ्ल्यान्ड रेलिगेशनमा परेको छ । जर्मनी ७ अंकका साथ तेस्रो स्थानमा छ । हंगेरी १० अंकका साथ दोस्रो स्थानमा छ । ११ अंकका साथ शीर्ष स्थानमा रहेको इटाली फाइनलमा स्थान बनाउन सफल रह्यो । इटालीले गएराति हंगेरीलाई २–० ले पराजित गरेको थियो ।
‘‘पछिल्लो खेलका नतिजाबाट खेलाडी दबाबमा छन् । हामी यहाँ आफूलाई प्रमाणित गर्न आएका थियौं,’’ इङ्ल्यान्डका कप्तान ह्यारी केनले भने, ‘‘अझै पनि हामी गल्तिहरू भइरहेका छन् । यसबाट हामीले पाठ सिक्नु आवश्यक छ । तर, हामीले तीन गोल गर्न सफल भयौं । यसले विश्वकप अघि हामीलाई सकरात्मक बनाएको छ ।’’
इङ्ल्यान्ड जस्तै जर्मनीको पनि पछिल्लो खेलमा नतिजा सन्तोषजनक छैन । पछिल्लो सात खेलमा जर्मनीले एक खेलमात्र जितेको छ । एक खेल हारेको छ भने बाँकी खेल बराबरी खेलेको छ ।