site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीपत्नी आरजुलाई पनि विश्वास नलागेको गठबन्धन कसरी सफल होला ?

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसबाट कांग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा समानुपातिक सूचीमा बसेपछि सो पार्टीभित्र तरंग सिर्जना भएको छ ।

आसन्न निर्वाचनमा पाँच ठाउँबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिसमा परेकी उनले अन्ततः सांसद बन्न समानुपातिक व्यवस्था रोजेकी छन् ।

उनी यसअघि पनि दुईपटक समानुपातिक तर्फबाट सांसद बनिसकेकी छन् । २०६४ र २०७० सालको निर्वाचनमा उनी समानुपातिकतर्फ सांसद बनेकी हुन् । 

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन आयोगले २ र ३ गते समानुपातिकतर्फ बन्द सूची बुझाउने कार्यतालिका सार्वजनिक गरेको थियो । कांग्रेसले बुझाएको समानुपातिक बन्द सूचीमा आरजुको पनि नाम समावेश भएपछि पार्टीभित्र तरंग सिर्जना भएको हो ।

उनको नाम समानुपातिक सूचीमा राखिएपछि बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा अधिकांशको आक्रोश थियो ।

देशभरबाट समानुपातिकतर्फ प्राप्त हजारौं नाममा कसलाई राख्ने र कसको नाम काट्ने भन्न विषयमा कांग्रेसको बैठक धेरैदिनसम्म चल्यो । तर, नाममा सहमति हुन सकेन । सोमबार बिहानैबाट बालुवाटारमा राति अबेरसम्म बैठक बस्यो ।
रातभरको छलफलपछि कांग्रेसले बिहान ४ बजेमात्रै बन्दसूची बुझाएको थियो ।

संस्थापन र इतर समूहको रस्साकस्सीमा कांग्रेसले समयमै बन्दसूची बुझाउन सकेन । 

निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक सूचीमा आरजुमात्रै नभएर अन्य प्रभावशाली र पटक पटक पार्टीबाट फाइदा लिएका नेताहरु पनि समावेश छन् ।

कांग्रेस सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुर समानुपातिकमा बसेका छन् । पार्टी प्रवक्ता प्रकाशरण महतले पनि सांसद बन्ने सजिलो उपाय समानुपातिकको बाटो रोजेका छन् । महत काठमाडौं ५ र नुवाकोट १ बाट सिफारिसमा पनि परेका थिए ।

पार्टीका निर्वतमान उपसभापति विमलेन्द्र निधि पनि समानुपातिकमा बसेका छन् । निधि पूर्वउपसभापति तथा पूर्वगृहमन्त्री समेत हुन् । यस्तै पार्टीबाट पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वअर्थमन्त्री रामशरण महत पनि समानुपातिकको सूचीमा छन् ।

शीर्ष नेताहरूको समानुपातिक मोह केन्द्रीय नेताहरूमा पनि परेको छ । प्रत्यक्ष चुनाव लडिसेकेका केन्द्रीय सदस्यहरू अम्बिका बस्नेत, प्रतिमा गौतमलगायत नेताहरू समानुपातिकको बन्द सूचीमा आफ्नो नाम पार्न सफल भएका छन् ।
पार्टीले २०७४ को निर्वाचनबाट समानुपातिक तर्फबाट सांसद भएकाहरूलाई नदोहोर्‍याउने निर्णय गरेपछि धेरै नेताहरू प्रत्यक्ष चुनाव लड्नुपर्ने भए पनि अघिल्लो कार्यकालमा समानुपातिक सांसद भएका यसपल्ट पनि सोही सूचीमा छन् ।

वाम गठबन्धन भर्सेज कांग्रेस हुँदा पनि २०७४ मा वर्तमान गृहमन्त्री बालकृष्ण खाण, सहमहामन्त्री किशोरसिंह राठोर, प्रमुख सचेतक चित्रलेखा यादव र सचेतक मीन विश्वकर्मा, मन्त्री उमा रेग्मीलगायत प्रभावशाली नेताहरूले समानुपातिकबाट सहज सांसद बन्ने बाटो रोजेका थिए । गठबन्धन भए पनि चुनावमा पराजित हुने डरले यसपल्ट पनि प्रभावशाली नेताहरुले समानुपातिकको बाटो रोजेका छन् ।

निर्वाचन हार्ने भय छ ?

आरजु राणा ‘फस्ट लेडी’ हुन् । २०६४ र ०७० मा समानुपातिकबाट संसद छिर्दै संविधानसभा सदस्य बनेकी थिइन् ।

उनले २०७४को निर्वाचन भने कैलाली ५ बाट लडेकी थिइन् । कांग्रेस नेता पुष्करराज ओझाको टिकट खोसेर चुनाव लडेकी उनले निर्वाचन भने जित्न सकिनन् । एमाले नेता नारदमुनी रानाले २७ हजार २०२ मत ल्याएर चुनाव जित्दा आरजुले २२ हजार ३२२ मतमात्र प्राप्त गरिन् । २०७४ भन्दा स्थिति सुधार नभएको हुँदा अहिले पनि समानुपातिकको बाटो रोजेको उनी निकट एक नेताले बताए ।

कैलालीमा अहिले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले स्थानीय तहको निर्वाचन जस्तै आसन्न निर्वाचनलाई प्रभावित पार्ने भय आरजुमा देखिएको ती नेताको टिप्पणी छ ।

यस्तै दल भित्रैबाट हुन सक्ने अन्तरघातले पनि उनलाई चुनाव जित्न सहज हुने अवस्था छैन । अघिल्लो चुनावपश्चात् कारवाही भोेगेका नेताहरूले यसपटक चुनाव हराउन भूमिका खेल्ने र आफू पराजित हुने भय आरजुमा देखिएको उनी निकट एक नेता बताउँछन् । 

“गठबन्धन भएरमात्र चुनाव कसरी जित्ने ? पार्टीमा आफू पनि गतिलो भूमिका र सबैलाई चित्त बुझाएर राजनीति गरेको हुनुपर्‍यो नि,” निकट नेताले भने, “हो, यही भए आरजुमात्रै होइन समानुपातिक होमिएका अन्य नेताहरूमा  पनि भय छ । सहज बाटोबाट छिरेर सांसदको सुखभोग उनीहरुको प्रयास हो ।”

सहमहामन्त्री फरमुल्लाह मन्सुरले २०७४ मा प्रत्यक्ष निर्वाचन लडे । तर, उनले सफलता भने हासिल गर्न सकेनन् ।

उनले बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचन लडेका थिए भने तेस्रो नम्बरमा मत हासिल गरे । यहाँ संघीय समाजवादी फोरमका रामबावु कुमार यादवले निर्वाचन जित्दै २१ हजार ३३६ मत ल्याउँदा दोस्रो नम्बरमा एमालेका अदयनन्दा पाण्डेले १६ हजार ३६२ र मन्सुरले १६ हजार ८६ मत ल्याएका थिए । 

यसपटक पनि यहाँ जसपाले टिकट पाउने सम्भावना बढी भएकाले उनको सिट सुरक्षित नभएको हो । यसैलाई आधार मानेर उनले समानुपातिक रोजेको एक कांग्रेस नेता बताउँछन् ।

जीवन परियार अघिल्लोपटक प्रदेश सभा लडेका थिए । देशभरबाट प्रदेश सभामा प्रत्यक्ष चुनाव लड्ने दलित समुदायबाट उनीमात्र थिए । 

उनी एमाले उमेदवार दिपक कोइरालासँग कास्की १ प्रदेश ‘क’ बाट ३ हजार भन्दा बढी मतले पराजित भएका थिए । केन्द्रीय सदस्य हुँदा प्रदेश लडेका उनी यसपटक पार्टीमा पनि भूमिका फेरिएको छ । 

उनी अहिले सहमहामन्त्री छन् र इतर समूहका शीर्ष तथा प्रभावशाली नेतामा पर्छन् । उनी कास्की १ बाट प्रत्यक्ष चुनाव लड्ने धेरैको अनुमान थियो । 

बाह्रखरीसँगको संवादमा पनि उनले प्रत्यक्ष चुनाव लड्ने बताएका थिए ।  तर, बन्दसूचीमार्फत उनको नाम समानुपातिकमा हालिएको छ । उनले पनि निर्वाचन नलड्ने भएका छन् । 

“कास्कीमा हामीले एउटा निर्वाचन क्षेत्र पाउथ्यौं । जीवनजीले चाहेको भए अरूले टिकट लिने अवस्था आउने थिएन,” कास्कीका एक नेताले भने,“उहाँ समानुपातिक बसेर राम्रै गर्नुभयो । अब केन्द्रीय सदस्य गुरु बराल वा अरु कोही नेता चुनाव लड्लान् ।”

प्रत्यक्ष चुनाव लडेका अर्का नेता हुन् विमलेन्द्र निधि । निधि पनि यसपटक समानुपातिकलाई भर्‍याङ बनाएर संसदभित्र छिर्ने प्रयासमा लागेका छन् । 

१४औं महाधिवेशनअघिसम्म देउवाका विश्वाशपात्र निधि अहिले देउवाको कोर टिममा छैनन् । १४औं महाधिवेशनमा सभापति लडेपश्चात् देउवा–निधि सम्बन्धमा केही दुरी बढेको छ ।


निधि २०७४ को निर्वाचनमा धनुषा ३ बाट निर्वाचन लडेका थिए । उनी तत्कालीन राजपा नेता राजेन्द्र महतोसँग पराजित हुन पुगे । महतोले ३० हजार ७५० मत ल्याउँदा निधिले २७ हजार ८७४ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । तर, उनले यसपटक भने उनले सहज बाटो समानुपातिकलाई रोजे । 

त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवाले यसपटक लोसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोलाई पनि जिताउने जिम्मेवारी लिएको कांग्रेस स्रोत बताउँछ । उनले सो कुरा पार्टीको आन्तरिक बैठकमा भनिसकेका छन् ।

सोही कारण पनि निधिको सिट जोखिममा परेको हुन सक्छ ।  कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि समानुपातिक बसेका छन् । उनको गृह जिल्ला स्याङ्जा हो । 

२०७४ सालको निर्वाचन उनले स्याङ्जाबाट लडेका थिए । वाम गठबन्धनबाट उमेदवार पद्मा कुमारी अर्यालसँग पराजित नेता श्रेष्ठ यसपटक भने प्रत्यक्ष निर्वाचन लड्ने मुडमा छैनन् । यो निर्वाचन क्षेत्र मोहनप्रसाद पाण्डेको हो । अघिल्लो निर्वाचनमा पनि पाण्डेलाई समानुपातिक सूचीमा राखेर श्रेष्ठ प्रत्यक्षमा चुनाव लडेका थिए । अहिले पनि पाण्डेको बलियो सम्भावना देखेर उनी समानुपातिकतर्फको बाटो रोजेको बताइन्छ । 

सो क्षेत्रमा उपसभापति धनराज गुरुङले पनि चुनाव लड्न चाहेकाले पार्टीभित्रै बलियो प्रतिष्पर्धा हुने देखेर श्रेष्ठ समानुपातिकमा बसेको स्याङ्जाका एक नेता बताउँछन् ।

उपसभापति गुरुङ ०६४ र ७० को संविधान सभा सदस्य हुन् । तर, उनी दुवैपल्ट समानुपातिक बसेका थिए । कांग्रेस उपसभापति निर्वाचित भएसँगै गुरुङ प्रत्यक्ष निर्वाचन लड्ने दाउमा छन् । शेखर सूमहका प्रभावशाली नेताको रूपमा रहेका गुरुङले टिकट लिन चाहेमा उनले नै पाउने देखिन्छ ।

कांग्रेस निर्वतमान सहमहामन्त्री तथा प्रवक्ता प्रकाशशरण महतको पनि नाम समानुपातिकतर्फै छ ।  तर, महत भने प्रत्यक्ष टिकट पाए चुनाव लड्ने नपाए समानुपातिकबाटै सांसद बन्ने तयारीमा छन् । 

महत नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचन लड्न चाहन्छन् । २०७४ को निर्वाचन उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट लडेका थिए । 

उनी एमाले नेता ईश्वर पोखरेलसँग १० हजार बढी मतले पराजित भएका थिए । 

उनको चाहना काठमाडौं ५ मा पनि लड्ने छैन । निकटहरू नुवाकोट १ मा पाए चुनाव लड्ने नभए समानुपातिक सांसद बन्ने तयारीमा महत रहेको बताउँछन् । अर्थात् पुनः हारिने भयमा महत छन् । उनका दाइ रामशरण महत भने स्वास्थ्यका कारणले पनि प्रत्यक्ष चुनाव नलड्ने अवस्थामा पुगेका छन् ।

गठबन्धन हुँदा पनि प्रभावशाली नेताहरू प्रत्यक्ष निर्वाचन लड्न किन सकेनन् भन्ने प्रश्न कांग्रेसभित्रै उठेको छ । पाँच दलीय गठबन्धनमा टिकट नपाइने भय भन्दा पनि व्यक्तिगत प्रभावका कारण चुनाव हार्ने भय नेताहरूमा हावी छ । 

“पाँच दलको गठबन्धन छ । मत सबैले दिए चुनाव जित्न समस्या छैन । हाम्रा नेताहरू भने आफ्नै प्रस्तुतीका कारण चुनाव लड्न डराएका हुन्,” एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने ।

कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल पार्टीमा जिम्मल मुखिया प्रथा हावी भएका कारण समस्या आएको भन्दै आक्रोशित छन् ।

“पार्टीमा जिम्मल मुखिया हाबी भए,” उनी भन्छन्, “जनतामा पपुलर पनि नहुने अनि चुनावबाट पनि भाग्ने तर सधैँ सत्ता चाहिने ? यी त चुनावबाट भागेर जस्केलाबाट संसद् छिर्ने अनि शक्ति आर्जन गर्ने शक्तिका भोकाहरु हुन् । अहिले उनीहरु नै समानुपातिक सूचीमा छन् ।”

उनका अनुसार एकपटकसम्म अवसर दिनु ठिकै हो तर पटक पकट जस्केलाबाट संसद् छिराउनु राम्रो होइन ।

“नैतिकता भए यस्तो हुँदैनथियो तर खै नैतिकता ?,” उनको प्रश्न छ, “जनता तथा कार्यकर्ता रिझाउन नसक्ने, नैतिकता पनि नहुने कसरी लडुन् त चुनाव ?”

समानुपातिक व्यवस्थाको धज्जी उडाइँदै 

मुलुकमा गणतन्त्रसँगै समावेशी सिद्धान्त बहसमा मात्र होइन कार्यान्वयनमा आएको हो । 

अन्तरिम संविधानले समावेशी समानुपातिक निर्वाचन प्रणालीलाई मान्यता दिएको थियो । २०६४ सालमा भएको संविधान सभा निर्वाचन र २०७० सालमा भएको संविधान सभा निर्वाचनमा समानुपातिक र प्रत्यक्ष गरेर ६०१ जना संविधानसभा सदस्य संसद् प्रवेश गर्न पाएका थिए । 

२०७२ सालमा बनेको नेपालको संविधानको प्रस्तावनामै समावेशी समानुपातिक व्यवस्थाको विषयमा उल्लेख गरेको छ । 

“जातीय छुवाछुतको अन्त्य गरि आर्थिक समानता समृद्धि र सामाजिक न्याया सूनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समानातामुलक समाजको निर्माण गर्ने संकल्प संविधानको छ,” संविधानमा लेखिएको छ ।

संविधानको मर्म समाजका हरेक वर्गका मानिसहरुलाई राज्य सञ्चालन प्रकृयामा सहभागी गराउनु हो । अर्थात् समाजमा पछाडि परेका वर्ग तथा समुदायका मानिसहरूलाई नीति निर्माणको तहमा पुर्‍याउनु हो । तर, संवैधानिक मर्मलाई ‘तिलाञ्जली’ दिँदै दलका शीर्ष नेताहरू चुनाव जित्न नसक्ने देखेर समानुपातिकको सूचीमा पटक पटक चढ्ने गरेका छन् ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पार्टीमा प्रभाव देखाउने, पद ओगट्ने र जनतामा परीक्षण हुनेबेला भने ‘चोरबाटो’ बाट संसद् छिर्नेहरू शीर्ष नेताहरूलाई नेताको संज्ञा दिन नसकिने बताउँछन् ।

“कांग्रेसमा आफूलाई मै हँु भन्ने र पार्टी चलाउनेहरु पनि जनताबाट स्वीकार्यता रहनेछ भन्ने यसले देखाउँछ । जनताको बीचमा जान उनीहरूको क्षमता रहेनछ,” उनले भने,“जनताको बीचमा स्वीकार्य नभएकाहरू पार्टीभित्र भने नेता भइरहेका छन् ।”

विश्लेषक आचार्य प्रभावशाली भनिएका महिला नेतृहरूको क्षमतामाथि पनि प्रश्न उठेको तर्क गर्छन् । 

“महिला नेतृहरूको अवस्था पनि उस्तै छ उदाहरण आरजुको लिन सकिन्छ । सारा देश चलाउने तर जनताको बीचमा स्वीकार्य हुनुनपर्ने उत्तरदायी हुनु नपर्ने ?,” उनी भन्छन् । 
आचार्य पार्टीभित्र देखिएको अराजनीतिक चरित्रको उदाहरण अहिले देखिरहेको तर्क गर्छन् । 

साथै उनी नेता भनेर दाबी गर्ने र जनताबाट परीक्षण गर्न नजानेहरूलाई नेता मान्न नसकिने बताउँन् ।

“यस्तालाई नेता मान्न सकिन्न । उनीहरू नेता होइनन् यस्तालाई नेता मान्न सकिन्न नि । प्राविधिकरूपले पार्टी कब्जा गरेका मानिसहरू हुन्,” उनले भने,“जनतामा जान नसक्ने नेता हुँदैन । जनतामा पनि नजाने अनि पार्टीको शीर्ष पद पनि खाने यो लाजमर्दो कुरा हो ।”

गठबन्धनमा प्रभावशाली मानिएका कांग्रेस नेताहरूनै समानुपातिकमा बस्नु गठबन्धनप्रतिको उनीहरुको अविश्वास हो । 

“गठबन्धन भए पनि जनताको मन जित्न नसक्ने र अरुको मत खन्याइदिए पनि जित्न नसक्ने शक्तिका भोकाहरुका कारण पनि गठबन्धनमा अविश्वास आउन सक्छ,” पोखरेल भन्छन् ।

यी हुन् कांग्रेसबाट २ पटक समानुपातिक सांसद भएकाहरु

आरजु राणा देउवा, कमला पन्त, ईश्वरी न्यौपाने, किरण यादव, जगदिश्वर नरसिंह केसी, धनराज गुरुङ, स्व. प्रदीप गिरि, महेन्द्र यादव, मिनेन्द्र रिजाल, राधेश्याम अधिकारी, उमा रेग्मी, जिपछिरिङ लामा, महेन्द्राकुमारी लिम्बु, लक्ष्मी परियार, मीन विश्वकर्मा, सुजाता परियार, प्रकाशशरण महत, महालक्ष्मी उपाध्याय डिना, अम्बिका बस्नेत
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro