काठमाडौं । वसन्त खत्रीको अर्धशतकप्रेरित सुदूरपश्चिम प्रदेशले आइतबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश–१ लाई १३ रनले पराजित भएको छ । आइतबार नै सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४४ रन बनाएको थियो । १४५ रनको लक्ष्य पछ्याएको प्रदेश–१ ले सात विकेट गुमाएर १३१ रनमात्र बनाउन सक्यो ।
प्रदेश–१ का लागि दीपेश कँडेलले अविजित ३४ रन बनाए भने सोनु मण्डलले अविजित २६ रन बनाए । कप्तान फिरदोश अन्सारीले ३३ रन बनाए । सन्दीप ढुंगानाले १३ रन बनाए ।
सुदूरपश्चिमका मिलन बोहराले दुई विकेट लिए भने हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउद र नारायण जोशीले एक एक विकेट लिए ।
त्यसअघि सुदूरपश्चिमका लागि वसन्तले ५३ रन जोडेका थिए । मिलन बोहराले ४४ रन बनाए । लोकेन्द्र चन्दले २४ रन जोडे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । प्रदेश–१ का फिरदोश अन्सारीले तीन विकेट लिँदा दीपेश कँडेलले दुई र कमल खत्रीले एक विकेट लिए ।
आजै त्रिविमै सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ९ विकेटले हराएको हो । टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपाल कर्णालीले १९.३ ओभरमा सबै विकेट गुमाएर ८५ रन बनाएको थियो । ८६ रनको लक्ष्य नेपाल पुलिसले १०.४ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।
कर्णालीका ओपनर रविन्द्र शाहीले २७ र विपिन रावलले १७ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिस क्लबका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान ३ विकेट लिए । सागर ढकाल र मञ्जित श्रेष्ठले दुई दुई विकेट लिए ।
८६ रनको लक्ष्य पूरा गर्ने क्रममा कुशल भुर्तेलले अविजित ३९, सुनिल धमलाले ४४ रन बनाए । पवन सर्राफ एक रनमा अविजित रहे । सुनिललाई प्रकाश जैशीले विपिन रावलमार्फत क्याच गरेका थिए ।
आजै मुलपानीमा तय गरिएको दुई खेल स्थगित भएका छन् । मुलपानीमा वागम्ती प्रदेश र एनआरएनए स्पोर्ट्स एकेडेमी तथा गण्डकी र लुम्बिनी प्रदेशबीच खेल हुने तय थियो ।