
काठमाडौं । रामचन्द्र पौडेल नेपाली कांग्रेसका पुराना नेता हुन् । कांग्रेसको १४औं महाधिवेशनको उद्घाटनसत्र बाहेकका कुनै पनि गतिविधिमा भाग नलिएका पौडेल त्यसयता सभापति शेरबहादुर देउवा नजिक पुगेका छन् ।
सभापति देउवा प्रधानमन्त्रीमा चयन भएपछि पौडेललाई पनि विभिन्न जिम्मेवारीमा व्यस्त बनाएका छन् ।
कांग्रेसभित्र अहिले उठिरहेको प्रश्न हो १४औं महाधिवेशनअघिसम्म एउटा गुटको नेतृत्वमा रहेका पौडेल त्यसपछि अर्को गुटमा सक्रिय छन् । अब उनी र उनीनिकटलाई भागबण्डा गर्दा कसले टिकट छुट्ट्याइदेलान् ?
पार्टीभित्र यस्तो प्रश्न उठे पनि पौडेलले भने आफूसँगै लागेर पार्टीमा अहिले जिम्मेवारविहीन भएका नेता कार्यकर्ताको भेला बोलाएर गुट निर्माणको तयारीमा छन् ।
उनीनिकट एक नेताले दिएको जानकारीअनुसार पौडेल अहिले आन्तरिक छलफलमा छन् ।
सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाले संरक्षण नगरेका नेताहरूको अभिभावकत्व लिँदै उनले आफू निकटका कार्यकर्ताको संरक्षण गर्ने भन्दै भेलाको तयारीमा जुटेका छन् ।
चुनावको समयमा टिकटका आकांक्षीहरूलाई बोलाएर टिकट दिनसके पौडेलको गुमेको शाख पुनः फर्कन सक्ने निकट नेताको टिप्पणी छ ।
“रामचन्द्र दाइले केही दिनभित्रै एउटा छलफलको आयोजना गर्दै हुनुहुन्छ । उहाँले सभापति देउवा र नेता कोइरालाबाट संरक्षण नपाएका र बिचल्लीमा पर्न लागेका साथीहरूलाई बोलाएर छलफल गर्न लाग्नुभएको हो,” ती नेताले बाह्रखरीसँग भने, “दुवै समूहबाट राजनीतिक सुरक्षा नपाएकाहरू र बीच बाटोमै अलमलिँदा बिचल्लीमा परेकाहरूलाई संरक्षण दिन्छु भनेर बचन दिनुभएको छ ।”
गत मंसिर भन्दा अगाडिका विगतका ६ वर्ष एउटा समूहको नेतृत्वमा बसेका थिए ।
पार्टीको १२औं महाधिवेशबाट सभापतिमा सुशील कोइराला निर्वाचित भए । तर, कार्यकाल पूरा नगर्दै कोइरालाको मृत्यु भएपछि कोइरालाको उपसभापति रहेका पौडेल कार्यवाहक सभापति बने ।
पौडेलकै अध्यक्षतामा कांग्रेसको १३औं महाधिवेशन सम्पन्न भएको थियो ।
१३औं महाधिवेशनमा संस्थापन टिमको नेतृत्व गर्दै सभापतिको उमेदवार बनेका पौडेल शेरबहादुर देउवासँग दोस्रो चरणमा पराजित भए ।
संस्थापनमै महामन्त्री रहेका कृष्ण सिटौलाले टिमसहित देउवालाई समर्थन गरेपछि पौडेल पराजित भएका थिए ।
देउवा सभापति बनेपछि उनी इतरसमूहका नेता बने र पाँच वर्षसम्म इतरसमूहको नेतृत्व गरे । १४औं महाधिवेशनमा तटस्थ भूमिकामा बसे । कोइराला समूहले ‘देउवालाई सहयोग पुग्नेगरी तटस्थ बसेको’ आरोप लगायो ।
इतर समूहबाट शेखर कोइराला सभापतिको उमेदवार बन्दा पौडेल महाधिवेशनको उद्घाटन सत्रमा भाषण गर्न बाहेक कतै देखिएनन् । लामो समय पार्टी राजनीतिमा उभिएको र करिब ६ वर्ष आफैले नेतृत्व गरेको टिम पराजित हुनुमा पौडेलको मौनता मुख्य कारण भएको निस्कर्ष शेखर कोइराला नेतृत्वको टिमले निकाल्यो । त्यसयता पौडेल इतर समूहका गतिविधिमा सक्रिय छैनन् ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन आउन साढे दुईमहिना भन्दा कम समय बाँकी रहँदा पौडेल निर्वाचनपछि प्रधानमन्त्री बन्ने आकांक्षा सार्वजनिक गर्दैछन् । शनिबार गृह जिल्ला पुगेर सुशासन कायम गर्न आँट र पृष्ठभूमि दुवै चाहिने भन्दै त्यसका लागि आफू नै उपयुक्त पात्र हुने तर्क गरे ।
पौडेलले अहिले विगत चुनावमा हारेको तनहुँ क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष निर्वाचनका लािग सिफारिस भएका छन् । तर, यो निर्वाचन क्षेत्र नेकपा एकिकृत समाजवादीका कृष्ण कुमार श्रेष्ठले जितेको क्षेत्र भएकाले पौडेललाई त्यहाँ टिकट दिँदा उनलाई कहाँ पठाउने भन्ने सहमति भइसकेको छैन ।
त्यसैले पौडेलको चुनावी तयारी गठबन्धनबाट सुनिश्चित भइसकेको छैन । यही समयमा कांग्रेसभित्र उठेको प्रश्न हो– भागबण्डा नै गर्दा पनि पौडेललाई टिकट कसले दिने ?
उनी निकट एक केन्द्रीय सदस्य पौडेलले आफ्नै भागबाट टिकट लिने बताउँछन् । उनी त पौडेलले आफ्नो टिकट लिने मात्र होइन गुटका नाममा उमेदवारीमा हुने जालझेल रोक्न पनि पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँछन् ।
“रामचन्द्र दाईले टिकट शेरबहादुर वा शेखर नभइ आफ्नै भागबाट लिनुहुन्छ । तर, ‘डिल’को हिसाबले चाहिँ पार्टी सभापति देउवाजीको नेतृत्व भएको हुँदा उनीसँगै रहन्छ,” ती केन्द्रीय सदस्यले भने, “टिकट माग्ने अथवा टिकट मलाई पनि देऊ भन्दै देउवा वा कोइराला टिमको लवि खोज्न उहाँ जानुहुन्न ।”
पार्टीभित्रका पौडेल विरोधीले टिकटकै संकट भन्ने गरे पनि पौडेललाई टिकटकै लागि भने असहज छैन ।
कांग्रेसका पुराना नेता, ठूलो विवादमा नफसेका, बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद कोइरालासँगै काम गरेका नेता हुन् पौडेल ।
उनी आफूलेमात्रै टिकट लिएर नहुने, उनीसँगै रहेका र अहिलेको राजनीतिमा छायामा परेका पात्रहरूलाई पनि न्याय गर्नुपर्ने उनको समूहभित्रै दबाब रहेको छ ।
केन्द्रीय समितिमा उनी निकट धेरै जना निर्वाचित भएका छन् । तर अहिले फरक गुटमा सक्रिय छन् ।
उनी निकट रहेका एक केन्द्रीय सदस्य मधु आचार्य पौडेलका लागि विगतमा जस्तो टिम व्यवस्थापनको चिन्ता नहुँदा पार्टी बलियो बनाउने अवसर रहेको बताउँछन् ।
“निर्वाचनमा गुटकै आधारमा उमेदवारी तय हुन्छन् । व्यक्तित्व जस्तो भए पनि गुटका नाममा संरक्षण गर्ने प्रचलन कांग्रेसमा छँदैछ,” आचार्यले बाह्रखरीसँग भने, “रामचन्द्र दाइले हरेक विवादमा फलानो उपयुक्त हुन्छ । चुनाव जित्नका लागि यस्तो काम गर्नुपर्छ भनेर गुटभन्दा माथिबाट सुझाव राख्न सक्नुहुन्छ ।”
उनले गुटको लेनदेन गर्नु नपर्ने समयलाई पौडेलले उपयोग गर्ने विश्वास व्यक्त गरे ।
शेखरनिकट रहेकाहरू यसपटक टिकटको भागबण्डामा शेखर समुहले जति प्रतिशत पाए पनि पौडेलले दिलाउने टिकट भने देउवा टिमबाटै हुने बताउँछन् ।
पौडेल महाधिवेशनयता देउवासँगकै सहकार्यमा रहेकाले टिकट माग्नका लागि शेखर समूहसँग जाने कुरा नहुने नेता अर्जुननरसिंह केसीको विचार छ ।
“रामचन्द्र दाइलाई कसैले टिकट रोक्दैन र रोक्न पनि सक्दैन । उहाँलाई देउवा वा कोइरालाको ट्याग पनि चाहिँदैन,” केसीले भने, “तर, उहाँले अरू कसैका लागि टिकट सिफारिस गर्ने हो भने त्यो भाग देउवाजीसँगै माग्नुपर्छ । ६०–४० को कुरा चलिरहेको सुनिन्छ । यदी त्यसरी नै टिकट वितरणमा भागवण्डा भयो भने उहाँ देउवासँगै रहेकाले ६० प्रतिशतबाट दिलाउनुहुन्छ ।”
महाधिवेशनमा असहयोग गरेको र संस्थापन समूहतिर लागेकोे भन्दै कोइराला समूहले अहिलेसम्मका बैठकमा समेत रामचन्द्र पौडेललाई बोलाएको छैन ।
पौडेल पनि कोइराला समूहमा सक्रिय भएर देउवाको विरोध गरिहाल्ने पक्षमा नदेखिएको उनी निकट नेता बताउँछन् ।
उनी संस्थापन टिमकै समर्थनमा चुनाव जित्ने र आफू निकटलाई पनि जिताउने तयारीमा छन् ।
तर, संस्थापनमा पनि पुरानो देउवा टिम आफ्नै व्यवस्थापनको चिन्तामा छ ।
सभापति देउवा निकट केन्द्रीय सदस्य नैनसिंह महर गठबन्धनमा भागवण्डा नमिलेसम्म कस्ले कहाँबाट टिकट पाउँछ भनेर भन्नै नसकिने बताउँछन् ।
“रामचन्द्र दाइको टिकट कसैले रोक्न सक्दैन । दाइले अरूलाई दिने टिकटको विषयमा के हुन्छ म भन्न सक्दिन,” महरले भने, “पहिला गठबन्धनमा सिटको टुंगो लागोस् । अनि दलको समिकरण मिलेपछि मात्र रामचन्द्र दाईले कताबाट कति टिकट लिनुहुन्छ भन्न सकिएला ।”
कांग्रेस अहिले एक्लै निर्वाचनमा होमिने तयारीमा छैन । पाँच दलीय गठबन्धन भित्र कांग्रेसले सय सिट दाबी गरे पनि त्यो पाउँछ भन्ने ग्यारेन्टी देखिँदैन ।
गठबन्धनको दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस ८० सिट हाराहारीमा रहने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
कांग्रेसले पाएको सिटमा संस्थापन र इतरभित्र भागबण्डा हुने निश्चित छ । देउवासँग विगतको टिमबाहेक प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्ण सिटौला टिम थपिएको छ ।
डा. शशांक कोइराला पनि शेखरसँग भन्दा देउवासँगै निकट हुँदा देउवाले उनलाई दिएका बचन पूरा गर्न केही सिट छुट्याउनुपर्ने बाध्यता रहेको एक नेताको टिप्पणी छ ।