site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसमा हरायो सिटौला समूह !  निकटहरू भन्छन्– देउवाले जति दिन्छन् त्यति लिन्छन्

काठमाडौं । १४औँ महाधिवेशनअघि पार्टीमा तेस्रो र वैकल्पिक समूह बनाएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले त्यो समूह जोगाउन सकेनन् ।

१३औँ महाधिवेशनमा आफ्नै समूहबाट महामन्त्री लडेका गगन थापाले उनको साथ छोडे । गगनले यो समूह मात्र छोडेनन्, शेखर कोइराला समूहबाट महामन्त्री लडे । सिटौलाले नेता प्रदीप पौडेललाई महामन्त्री लडाउँदै आफ्नो समूहलाई संस्थापन अर्थात् शेरबहादुर देउवा समूहभित्र विलय गराए ।

१४औँ महाधिवेशनको उद्घाटनसत्र काठमाडौंको भृकुटीमण्डपमा भएको थियो । त्यसक्रममा सिटौलाले ‘आफूसँग बसेर समूहको राजनीति गर्नेलाई बनाउने र छाडेर जानेलाई देखाइदिने’ भाषण गरे । 

देउवा समूहमा मिसिएर सिटौलाले सभापतिमा प्रतिस्पर्धा गरेनन् । प्रदीप पौडेललाई महामन्त्री बनाउन प्रयास गरे तर, जिताउन सकेनन् । १ नम्बर प्रदेश सभापतिमा उद्धव थापालाई देउवा टिमकै सहयोगमा विजयी गराउन सफल भए । कुन्दराज काफ्ले, शेखर टिम छोडेका भीम पराजुलीलगायत नेतालाई केन्द्रीय सदस्य जिताए । आफू मनोनीत केन्द्रीय सदस्य बने ।

१४औँ महाधिवेशनपश्चात् स्थानीय तह निर्वाचनमा पार्टी होमियो । स्थानीय तहमा कांग्रेस गठबन्धनकै बलमा चुनावमा होमिएको थियो । आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि कांग्रेस गठबन्धनकै बलमा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छ । सिटौला स्वयं  गठबन्धनले गठन गरेको सिट बाँडफाँट समितिको संयोजक छन् । उनकै प्रतिवेदनका आधारमा गठबन्धनभित्र रहेका दलहरूले सिट पाउनेछन् । त्यसैले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाबाट कति सिट आफ्नो समूहका लागि ‘बार्गेनिङ’ गर्छन् भन्ने चर्चा अहिले राजनीतिक वृत्तमा छ ।

सिटौलाको पछाडि लागेका केही नेताहरू देउवाले जति दिन्छन्, त्यति सिटमा चित्त बुझाउनबाहेक अर्को कुनै उपाय नभएको बताउँछन् । अब सिटौला समूह अस्तित्वमा नरहेको ती नेताको तर्क छ ।

“कृष्ण सिटौला समूह १४औँ महाधिवेशनबाट अस्तित्वमा छैन । हामीले खुलेरै शेरबहादुर देउवालाई सभापति बनाउन लागेका हौँ । अब सिटौला समूहको बारेमा चर्चा गर्न आवश्यक छैन,” ती नेताले भने, “टिकटको प्रश्न तपाईंले उठाउनुभयो, प्रस्ट भनौँ– अब हामीलाई शेरबहादुरले जति सिट दिन्छन्, त्यतिमै चित्त बुझाउने हो । कृष्ण सिटौला लडेर हाम्रो लागि टिकट दिलाउने सम्भावना अब छैन ।”

तर, सिटौलानिकट केन्द्रीय सदस्य कुन्दनराज काफ्ले उनी आफू पछाडि हटेर भए पनि गठबन्धन र कांग्रेस जिताउनेमा ढुक्क छन् । “कृष्ण दाइ गुट बनाउने, समूह सञ्चालन गर्नेभन्दा पनि पार्टी बनाउन नेतृत्वलाई सहयोग गर्ने पक्षमा हुनुहुन्छ । समूहमा रहेकाहरूलाई न्यायपूर्ण ढंगबाट टिकट वितरण गर्नुहुन्छ,” काफ्लेले बाह्रखरीसँग भने ।

आसन्न निर्वाचनका लागि नेता सिटौला प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर–३ बाट उमेदवार सिफारिस भएका छन् । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको चुनौती सामना गर्ने निश्चितजस्तै छ । ०७४ को निर्वाचनमा सिटौला लिङदेनसँगै पराजित भएका थिए । वाम गठबन्धनको सहयोगमा चुनाव लडेका लिङदेनले त्यति बेला ४४ हजार ६१४ मत पाएका थिए । सिटौलाले ३१ हजार १७१ मत मात्र ल्याएका थिए ।

अहिले पनि सिटौला त्यहाँ सुरक्षित देखिँदैन । ०७४ को निर्वाचनमा जस्तै राप्रपा–नेकपा (एमाले)बीच गठबन्धन भए सिटौलालाई जित निकाल्न ‘फलामको चिउरा चपाउनु’सरह हुनेछ । दलहरूले एक्लाएक्लै प्रतिस्पर्धा गरे मात्र सिटौला यहाँबाट विजयी हुन सक्ने कतिपय व्यक्तिको आकलन छ ।

गएको स्थानीय तह निर्वाचनको वडागत मत जोड्दा झापा–३ मा कांग्रेस पहिलो शक्ति हो । वडा तहको मतको हिसाब गर्दा कांग्रेससँग २५ हजार ९४० मत छ । दोस्रो शक्ति राप्रपा हो । राप्रपासँग २१ हजार १५९ मत छ । तेस्रो शक्ति एमालेसँग २१ हजार ८५ मत छ । चौथो शक्ति नेकपा (माओवादी केन्द्र)सँग ६ हजार ७०८ मत छ । जसपासँग ५३७, लोसपासँग २०८, नेकपा (एकीकृत समाजवादी)सँग १२ र साना दलसँग दुई हजार ६२५ मत छ ।

दलहरू एक्लाएक्लै चुनाव लडे सिटौलालाई हराउन लिङदेनलाई सहज छैन । गठबन्धनको सहयोगमा चुनाव लड्ने भएसँगै सिटौलासँग ३३ हजार १९७ मत पुग्ने देखिन्छ । यहाँ निर्णायक शक्ति एमाले हो । एमालेले यहाँबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अघि बढाउने तयारी गरेको छ । तर, राप्रपा अध्यक्ष लिङदेन यसै हप्ताभित्र एमालेसँग गठबन्धनको विषयलाई निर्णयमा पुर्याउने बताउँछन् । त्यसकारण यहाँ सिटौला आफैँ सुरक्षित छैनन् । यस्तो अवस्थामा उनले उनीसँगै सहकार्य गरिरहेका अरू नेताहरूको कति संरक्षण गर्न सक्छन् भन्ने प्रश्न पेचिलो छ ।

“आफू पछि हटेर भए पनि समूहका साथीहरू संरक्षण गर्ने र पार्टी जिताउने उहाँको स्वभाव हो । उहाँ आफैँ झापा क्षेत्र नम्बर–३ बाट सिफारिस हुनभएको छ । हामीसँग निकट साथीहरू पनि विभिन्न क्षेत्रबाट उहाँले ‘स्ट्यान्ड’ लिएर राजनीतिक सुरक्षित गर्नुहुन्छ,” उनीनिकट नेता सुधीर शिवाकोटी भन्छन्, “तर, सबै कुरा उहाँको हातमा मात्र छैन । गठबन्धन हो, हामीले कति सिट पाउँछौँ भन्ने महत्त्वपूर्ण विषय हो । सिट बाँडफाँटबाट हामीले पाउने सिटमा पनि स्वाभाविक प्रभाव पर्छ ।”

यो समूहका नेता प्रदीप पौडेल तनहुँ–२ बाट सिफारिस भएका छन् । भीमसेनदास प्रधान काठमाडौं–६ बाट सिफारिस भएका छन् । केन्द्रीय सदस्य कुन्दनराज काफ्ले दोलखाबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार सिफारिस भएका छन् । खानेपानीमन्त्री समेत रहेका सहमहामन्त्री उमाकान्त चौधरी बारा–१ बाट निर्वाचन लड्ने तयारीमा छन् । चौधरीले ०७४ को निर्वाचनमा वाम गठबन्धन र मधेसकेन्द्रित दललाई पाखा लगाउँदै चुनाव जितेका थिए ।

यस्तै, संविधानसभा सदस्य समेत रहेका गृहजिल्लाका नेता सुधीर शिवकोटीलाई पनि उनले टिकट दिलाउनुपर्ने बाध्यता छ । शिवाकोटी झापा–२ बाट सिफारिस भएका छन् । यहाँ संस्थापन समूहबाट केशवकुमार बुढाथोकी र शेखर टिमबाट सरिता प्रसाईं सिफारिस भएकी छन् । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने कांग्रेसका प्रदेश अध्यक्ष उद्धव थापा प्रतिनिधिसभातर्फ समानुपातिकमा सिफारिस भएका छन् । थापालाई पनि समानुपातिकबाट सांसद बनाउनुपर्ने चुनौती सिटौलालाई छ ।

उनकै टिमबाट गृहजिल्लाका सभापति देउमान थेवे क्षेत्र–४ बाट प्रतिनिधिसभामा सिफारिस भएका छन् । शेखर टिम छाडेर सिटौलाको पछि लागेका केन्द्रीय सदस्य भीम पराजुलीलाई शेखरको गृहजिल्ला मोरङबाट राजनीतिक संरक्षण गर्नुपर्ने दायित्व सिटौलासामु छ । केन्द्रीय सदस्य समेत रहेकी राष्ट्रियसभाका पूर्वसदस्य धना खतिवडालाई पनि ‘सेटल’ गर्नुपर्ने चुनौती छ । उनी ललितपुरबाट टिकटको दाबी गरिरहेकी छन् । बागलुङ सभापति जित शेरचनलाई पनि टिकट दिलाउनुपर्ने बाध्यतामा सिटौला छन् ।

प्रदेशमा समेत केही नेताहरूको संरक्षणको जिम्मा उनको काँधमा छ । सुधीरकुमार शिवाकोटी पार्टी सभापतिले यो समूहलाई बेवास्ता नगर्ने कुरामा आफू ढुक्क रहेको बताउँछन् ।

“शेरबहादुर दाइले कृष्ण दाइ पक्षधरलाई ‘मिनिमाइज’ गरेर जानु हुन्न भन्ने मलाई लाग्छ । कृष्ण दाइले पनि आफ्नो टिमको साथीहरूलाई अघि बढाउन टिकट दिएर बचाउन भरपूर प्रयत्न गर्नुहुन्छ,” उनले बाह्रखरीसँग भने ।

१४औँ महाधिवेशनअघि सिटौलाले भनेजस्तो आफूनिकट नेताहरूलाई राजनीतिक संरक्षण दिन सफल भइसकेका छैनन् । भातृ तथा शुभेच्छुक संस्थामा समेत भाग पाउन उनलाई सकस छ । आसन्न निर्वाचनमा आफूनिकट कति नेतालाई टिकट दिलाउन सक्छन्, सिटौलाको शक्ति त्यसैबाट जाँच हुने विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro