काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरूको ‘तटस्थ सरकार’ बनाउन माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा उनले हालसम्मका सरकारहरूले निष्पक्ष निर्वाचन गराउन नसकेको भन्दै निष्पक्ष चुनाव गराउनका लागि तटस्थ सरकार बनाउनुपर्ने बताए । उनले निर्वाचनमा भाग नलिनेहरूको मात्र तटस्थ सरकार बनाउनुपर्नेमा जोड दिए ।
सांसद सुवालले निर्वाचनको मिति घोषणा भइसक्दा पनि संसद् चलाउनु आचारसंहिताविपरीत रहेको जिकिर गरे ।
“निर्वाचन घोषणासँगै चुनावमा भाग नलिने तटस्थ सरकार आवश्यक छ । अहिलेसम्म सरकारहरूबाट निष्पक्ष चुनाव भएको अभिलेख छैन । त्यसकारण तटस्थ सरकार बनाउनुपर्छ, निर्वाचनमा भाग नलिनेहरूको,” उनले भने, “निर्वाचनको मिति घोषणा भइसकेपछि संसद् बैठक सञ्चालन गर्नु निर्वाचन आचारसंहिताको उल्लंघन हो । हामीले जनतालाई कसरी भन्ने ? अरू निकायहरूलाई के भन्ने ? तपाईंहरूको संसद् चलाएर सबथोक निर्णय गर्न मिल्ने अनि हामीले केही गर्न नपाउने के को आचारसंहिता भनेर संसद्प्रति नै प्रश्न तेर्स्याउने सम्भावना छ । त्यसकारण यो संसद् निर्वाचनको मिति घोषणा भइसकेपछि चलाउन नहुनेतर्फ पनि म यहाँ दोहोर्याउन चाहन्छु ।”