काठमाडौं । ‘ला ! के भन्ने होला ? मलाई त डर लाग्यो,’ लाजिम्पाटस्थित वालनट विष्ट्रोको आँगनमा मान्छेको झुन्ड देखेपछि स्कुटरको पछाडि बसेकी एक युवतीले भनिन् ।
‘किन डराइरहेको ?,’ पार्किङमा मोबाइल चलाएर बसिरहेका एक युवकले डराइरहेकी युवतीलाई ढाडस दिँदै भने । उनी स्कुटरबाट ओर्लिंदै थिइन् ।
‘ला ! मलाई त एकदम डर पो लागिरहेको छ ।’
फेरि तिनै युवकले भने, ‘डराएर हुँदैन, भएको कुरा त भन्ने हो । ल हिँड, तिमीलाई नै पर्खिएर बसिरहेको हो ।’
लगत्तै कार्यक्रम सुरु भयो । निर्देशक सुजित विडारीले तिनै युवतीलाई चलचित्रको मुख्य कलाकार भनेर चिनाउँदै स्टेजमा बोलाए । उनी रहिछन्, कञ्चन चिमोरियो अर्थात् चलचित्र ‘ऐना झ्यालको पुतली’की मुख्य पात्र ।
न उनलाई कसैले चिनेका थिए न उनले नै । कारण, उनी थिइन् ‘ननएक्ट्रेस’ । अर्थात्, चलचित्र जहाँ छायांकन भयो, त्यहीँ अडिसन लिएर छानिएकी पात्र । चलचित्र निर्माण पक्षले उनलाई वर्कसपमा राख्यो । अभिनयमा ट्रेन्ड गर्यो । अभिनय गरायो ।
कञ्चन मात्र होइन, ‘ऐनाा झ्यालको पुलती’मा एकजनाबाहेक अधिकांश ‘ननएक्टर’ छन् ।
निर्देशकले किन रोजे ननएक्टर ? निर्माता रामकृष्ण पोखरेल भन्छन्, “यो चलचित्रमा कलाकार मात्रै होइन, निर्देशकदेखि अधिकांश नयाँ छौँ ।”
फिचर फिल्मका लागि सुजित विडारी पनि नयाँ निर्देशक हुन् । उनी आफैँ थिए नयाँ र कलाकार पनि ननट्रेन्ड एक्टर खोजे ।
किन ? ‘मलाई पनि थाहा थिएन ननएक्टर लिँदा सुटिङमा गाह्रो हुन्छ भनेर ।’
फिल्म खेल्छु भन्ने रहर पनि नभएकालाई, क्यामेरा फेस कहिल्यै नगरेका व्यक्तिलाई फिल्म खेलाएर चाहेजस्तो काम निकाल्न पक्कै पनि सहज थिएन ।
तर, उनले किन ननएक्टर नै खोजे ? “मलाई गाउँको टिपिकल कथा भन्नु थियो । धान काट्ने दृश्य जस्ताको तस्तै देखाउन म सहरको ट्रेन्ड एक्टर लगेर कहाँ सक्थेँ र ?,” सुजित अगाडि थप्छन्, “ट्रेन्ड एक्टरले क्यामेरा फेस त सहज तरिकाले गर्छ, तर मैले खोजेजस्तो गाउँको काम कसरी गर्न सक्थ्यो होला र ?”
सुजितलाई आफ्नै घरगाउँको कथा भन्नु थियो । जे भयो र भइरहेको छ, देखाउनु थियो । त्यसका लागि कसरी दर्शकलाई हुबहु देखाउन सकिन्छ भन्ने थियो । त्यसैले उनले संखुवासभाको गाउँमा पुगेर कलाकार खोजे । उतै छायांकन गरे र फर्किए ।
त्यो बेलासम्म न उनलाई फेस्टिभलमा पठाउने रहर थियो न त लोभ नै । तर, फेस्टिभलसँग उनको शत्रुता थिएन । र, साँध्नु पनि थिएन । एक दिन उनलाई मेल आयो । मेल थियो, बुसान फिल्म फेस्टिभलको । गिनेचुनेको फेस्टिभलबाट आएको अफर किन लत्याउनु थियो ? रिप्लाई गरिदिए, ‘हुन्छ ।’
‘न्यु करेन्ट सेक्सन’का लागि फिल्म मागिएको थियो । सुजितले प्रोडुसर रामकृष्णलाई सोधे, ‘न्यु करेन्ट सेक्सनका लागि फिल्म मागिएको छ । कस्तो विधा हो यो ?’
‘यो त राम्रो विधा हो त । यो विधामा अहिलेसम्म कुनै पनि नेपाली चलचित्र छनोट भएका छैनन्,’ रामकृष्णले भनेपछि सुजित झस्किए । अनि गरे सर्च, न्यु करेन्ट सेक्सन के रहेछ ?
थाहा पाए, यो त बुसान फिल्म फेस्टिभलकै सबैभन्दा ठूलो राशि रहेको विधा पो रहेछ । पहिलो नेपाली चलचित्रको इतिहास पो बनेछ । एसियाका टप–टप डिरेक्टर त यहीँबाट पो उदाएका रहेछन् । यही सिनेमाबाट सुजितले ढाकामा उत्कृष्ट निर्देशकको अवार्ड जिते ।
अहिले यो चलचित्र नेपालमा रिलिजको तयारीमा छ । यही भदौ २४ गते रिलिज हुने चलचित्रले नेपालमा कस्तो माहोल सिर्जना गर्छ दर्शकमा, थाहा छैन । निर्मातामध्येका एक रामकृष्ण भन्छन्, “सबै चलचित्र बक्सअफिसमा सफल हुन्छन् भन्ने छैन । सबै चलचित्रले राम्रो व्यापार गर्छन् भनेर नै बनाइएको हुँदैन । हामीले राम्रो कथा इमानदार भएर भन्नुपर्छ भनेर भनेका छौँ । त्यहीअनुसारको प्रतिक्रिया आउँछ भन्ने हाम्रो अपेक्षा छ ।”
सुजित घरघरको कथा आफूले ‘ऐनाा झ्यालको पुतली’मार्फत भनेको बताउँछन् । हरेक घरमा दिदीबहिनी र आमाले भोग्दै आएको कथा चलचित्रले भनेको उनको जिकिर छ । “मैले भोगेको कथा मैले लेखेँ,” सुजित भन्छन्, “जब मैले यो कथा साथीहरूलाई देखाएँ, पढ्ने अधिकांश साथीले मैले आफैँसँग रिलेट गरेँ भनेर यसलाई सिनेमा बनाउनुपर्छ भनेर झक्झक्याएपछि यो सिनेमा बनेको हो ।”
पढ्ने भोकले बालकमा काठमाडौं जान जगाएको चाह चलचित्रले भन्छ । बालमनोविज्ञानको यो कथा स्वीट्जरल्यान्डमा मन पराइएको रामकृष्ण सुनाउँछन् । “उनीहरूले यो कथा बालबालिकालाई देखाउनुपर्छ भनेर त्यहाँका मेकरले थुप्रै स्कुलमा ऐनाा झ्यालको पुतली देखाए ।”
सुटिङमा स्कुल छोडेर आएका कलाकार अहिले पनि संखुवासभा, झापा र मोरङबाट चलचित्रको रिलिजका लागि काठमाडौं आएका छन्, उसैगरी स्कुलको पढाइ छोडेर । उनीहरू भन्दै थिए, “एकपटक त घरमै आएर सरहरूले फिल्म खेलाइदिनुभयो, अब अवसर आउँछ कि आउँदैन थाहा छैन । आयो भने खेल्ने हो ।”