site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इमानका प्रतीक प्रदीप गिरि : अध्ययन, तार्किक क्षमता र वाकपटुता नै शक्ति थियो 

काठमाडौं । समाजवादी चिन्तक, सांसद तथा कांग्रेस नेता प्रदीप गिरिको निधन भएको छ ।

उपचारका क्रममा ललितपुरको मेटिसिटी अस्पतालमा उनको निधन भएको हो । शनिबार बेलुका ९ बजेर ३० मिनेट जाँदा उनको निधन भएको उनको पार्टी कांग्रेसले जनाएको छ ।

कांग्रेस सचेतक मीन विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै शनिबार राति ९ बजेर ३० मिनेटमा गिरिको निधन भएको बताएका छन् । उनले आइतबार गिरिको अन्त्यष्टि गरिने जानकारी गराएका छन् ।

Dabur Nepal
NIC Asia

उनले जारी गरेको विज्ञप्तिमा बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालमा पार्थिव शरीर श्रद्धान्जलीका लागि राखिने छ भने बिहान साढे ११ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा अन्तिम श्रद्धान्जलीका लागि पार्थिव शरीर राखिने उनले जानकारी दिएका छन् ।

त्यसपछि आइतबार नै पशुपति आर्यघाटमा गिरिको अन्त्यष्टि गरिनेछ ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर फर्किएका गिरिमा न्युमोनिया देखिएपछि एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो ।

स्वासप्रस्वास प्रक्रिया सहज बनाउन बिहीबार बिहानदेखि भेन्टिलेटरको सपोर्टमा राखिएको थियो ।

घाँटीमा क्यान्सर देखिएपछि गिरिको सुरुमा नयाँ दिल्लीमा किमो उपचार भएको थियो । स्वरयन्त्रमा क्यान्सर देखिएका कारण अप्रेसन गरेपछि बोली बन्द हुने भएकाले अप्रेसन गरिएको थिएन । दिल्लीमा पछि मुम्बईमा गिरिको ‘रेडिएसन’ उपचार भयो । स्वास्थ्यमा सुधार भएपछि उनी नेपाल फर्किएका हुन् । 

गिरिसँग लामो समय संगत गरेका पत्रकार किशोर नेपालका अनुसार उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर घर फर्किँदै गर्दा छातीमा न्युमोनियाको संक्रमण देखिएपछि मेडिसिटी अस्पताल लगिएको थियो । 

स्वर्गीय गिरिको परिचय अध्येता र विचारकको रूपमा परिचित थियो ।

सार्वजनिक पदमा लालसा नदेखाएका कारण उनले लिएको अधिकतम सार्वजनिक लाभको पद सांसदमात्र हो । चरित्र व्याख्यामा  ‘राजनीतिमा इमानको प्रतीक’ भनेर नेपाली राजनीतिमा उनले आफूलाई उभ्याएका छन् ।

भारतका समाजवादी चिन्तक डा. राममनोहर लोहिया र जयप्रकाश नारायणको समाजवादी विचार र चिन्तनबाट उनी प्रभावित भएको उनी नजिकका नेताहरु बताउँछन् ।

सिराहाको गिरि परिवार राजनीतिक परिवार थियो । सोही परिवारमा उनको जन्म भएको थियो ।  

उनका पिता मित्रलाल गिरि कांग्रेसका नेता हुन् । काका रुद्रप्रसाद गिरिले नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमै स्थान बनाएका थिए । 

पारिवारिकरूपमै राजनीतिक शिक्षा लिएर आएका नेता गिरिले कांग्रेसका संस्थापक बीपी कोइरालाको सानिध्यमा पटकपटक जेल जीवन बिताएका थिए । उनले सिराहबाट संसदमा प्रतिनिधित्व गर्थे ।

२०४८ पछि पटक–पटक सांसद बने पनि गिरि कहिल्यै मन्त्री बन्ने र भोगविलास गर्ने बाटोमा लागेनन् । गिरिलाई कृष्णप्रसाद भट्टराईले आफ्नो सरकारमा मन्त्री बनाउन खोजे पनि उनी मन्त्री बनेन् । अध्यात्म, साहित्य र राजनीतिमा सक्रिय उनले राजनीतिक इमान्दारितामा प्रश्न आउने हुनाले पदको लोभ नदेखाएको पत्रकार किशोर नेपाल बताउँछन् । 
 
संविधानसभामा दुवैपटक सदस्य रहेका गिरि संविधान निर्माणका क्रममा पार्टीभन्दा फरक दृष्टिकोणसहित प्रस्तुत हुन्थे । 

कांग्रेसले संसदीय व्यवस्थाको वकालत गर्थ्यो । तर, गिरि भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा थिए । गणतन्त्र, समावेसी प्रतिनिधित्व, लोकतान्त्रिक मूल्यमान्यताका पक्षधर गिरिले आफ्नै नेतृत्वको सरकारले जारी गरेको संविधानमा हस्ताक्षर गरेनन् । २०७२ मा संविधानसभाबाट जारी भएको संविधानमा उनको हस्ताक्षर छैन । 

त्यसबेला उनले यो संविधानलाई अपूर्ण संविधानको संज्ञा दिएका थिए । पछि यो संविधानको रक्षामा सबैभन्दा प्रखर भएर संसद्मा प्रस्तुत् हुने पात्र उनै थिए । केपी शर्मा ओलीको संसद् विघटनपछि पुनस्र्थापित संसद्मा उनले गरेको भाषण र संविधानको संरक्षणका पक्षमा सांसद्हरूमा ल्याएको जागरण आज पनि सबैका लागि स्मरणीय छ ।

“उहाँको इमान्दारी उहाँको सचरित्रता र उहाँको विज्ञता नेपाली राजनीतिमा दार्शनिक विचार भएका धेरै कम मानिसमध्ये उहाँ प्रमुख व्यक्ति हो । उहाँको तर्क, अध्ययनशिलता र दार्शनिक स्वभावबाट बीपी कोइराला पनि धेरै प्रभावित हुुनुहुन्थ्यो,” पत्रकार नेपालले बाह्रखरीसँग भने, “प्रजातान्त्रिक समाजवादको पक्षमा रहनुभयो र उहाँले त्यसको खिलाफमा कुनै पनि प्रकारका सम्झौता कहिल्यै गर्नुभएन । उहाँ संसद्मा चुनिएर जान सम्झौता गर्नुपर्ने अवस्था कहिल्यै आएन ।”

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत गर्ने गिरि साँच्चै त्यस्तै बाटोबाट प्रधानमन्त्री भएको भए धेरै काम गर्नसक्थे भन्ने वरिष्ठ पत्रकार नेपाल बताउँछन् । तर, अहिलेको व्यवस्थामै सत्तारोहण गरेको भए उनी या त अरुजस्तै बदनाम हुन सक्थे अथवा किशुनजी झैँ सत्ताबाट गलहत्याइन सक्थे भन्ने उनको विश्लेषण छ । 

“प्रत्यक्ष निर्वाचित सक्रिय प्रधानमन्त्री बन्नुभएको र सम्पूर्ण राज्यशक्तिको जिम्मा आएको भए उहाँले धेरै कुरा गर्न सक्नुहुन्थ्यो होला । तर, जुन प्रकारको राजनीतिक पद्धति हामीले अंगालेका छौं, यसमा उहाँ सफल हुनुहुन्थ्यो भन्ने मलाई लाग्दैन,” नेपालले भने, “चेतनालाई जोगाउनु ठूलो काम हो । भारतमा महात्मा गान्धी सत्तामा रहेनन् उनले चेतनालाई जगाएर बसे । जयप्रकाश नारायण स्वतन्त्र चेतना जोगाएर बसे । प्रदीप गिरि पनि स्वतन्त्र चिन्तक भएर जति योगदान गर्नुभएको छ, सत्तामा गएको भए त्यो योगदान उहाँले गर्न नसक्ने अवस्था पनि आउथ्यो होला । अथवा सत्तामा गएको भए पनि किसुनजी जस्तै भएर निस्किनुहुन्थ्यो होला ।”

निरन्तर अध्ययन, तार्किक क्षमता र वाकपटुता गिरिका शक्ति हुन् । गिरि प्रश्नहरूको उत्तर लामो तर सामान्य भाषामा दिने गर्दछन्, ताकी सामान्य भन्दा समान्य मान्छेले पनि बुझ्न सकुन् । गिरिले दिने प्रत्येक जवाफमा कुनै न कुनै पुस्तक र त्यसको अंश उदाहणका रुपमा आउने गर्दछन् । 

राजनीतिक विश्लेषक शंकर तिवारी गिरि ग्रामीण अति सामान्य जनताको आवाज र अल्पमतको पक्षधर भएकाले राजनीतिक रुपमा सधैँ बागी भएको बताउँछन् ।

 
“उहाँ आजीवन बागी अथवा भनौं विद्रोही जस्तै रहनु भयो । उहाँ दलित, जनजाति, पिछडिएको वर्ग र ग्रामीण समुदायका तल्लो तहका मानिसको पक्षमा सधैँ आवाज उठाउनु भयो । र, सधैँ उहाँहरु सँगै रहनुभयो । यी समुदायको राज्य र राज्यसञ्चालनमा सधैँ प्रतिनिधित्व हुनुपर्छ भनेर लागिरहनुभयो,” तिवारी भन्छन्, “महात्मा गान्धीले जसरी विपक्षमा हुन्छु र समर्थन सधैँ अल्पमतमा रहनेहरूलाई हुन्छ भनेका थिए । प्रदीप गिरिको समर्थन पनि हमेसा अल्पमतलाई नै रह्यो । यसलाई समाजवादी दर्शनबाट प्रस्तुत गर्ने काम गर्नुभयो ।”

युवा पुस्तामा गिरिको प्रभाव 

गिरिका लिखित दस्तावेज थुप्रै छन् । कांग्रेसको इतिहाससँग जोडेर उनले सबैभन्दा धेरै पुस्तक बीपीमाथि लेखेका छन् । त्यसबाहेक उनका संगती भारतीय समाजवादी नेता रामनोहर लोहिया बुझाउने हाते पुस्तकदेखि उनले लेखेका लेख पत्रिका, अनलाइन र म्यागेजिनमा पर्याप्त भेटिन्छन् । 

कांग्रेसजनमा मात्र होइन कम्युनिष्ट र मार्क्सवाद् वुझ्न चाहनेहरूका लागि पनि गुरु हुन् गिरि । आफ्ना लेख र पुस्तकमार्फत गिरि जति चर्चित छन्, त्योभन्दा लोकप्रिय उनी आफ्ना प्रवचनहरूमार्फत् । 

राजनीतिमा लागेको युवा पुस्ता उनका अन्तर्वार्ता तथा लेख रचना पढ्दा, सुन्दा प्रेरित भएको बताउँछन् । तर, उनकै पार्टी नेपाली कांग्रेसले भने उनको विचार संसदीय राजनीति तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समुन्नती र विकासमा कति प्रयोग ग¥यो भन्ने प्रश्न उठिरहेकै छ । पत्रकार किशोर नेपाल गिरिको विचार बुझ्ने ल्याकत तथा अध्ययन कम भएको तर्क गर्छन् । 

“कतिपयले प्रदीप गिरिको विचारलाई बुझ्दै बुझेका छैनन् । गिरिले स्वस्थ्य संरचनाको कुरा गर्नुहुन्छ, समसामयिक चेतनाको कुरा गर्नुहुन्छ । यी सबै कुराहरूमा गहिरो र आत्मिय भाव राख्ने राजनीतिज्ञहरूको अभाव छ अहिले । नयाँ पुस्ताले अझै पनि प्रदीप गिरिका सिद्धान्तहरूलाई बुझ्न सकेको छैन  । यहाँ पठन संस्कृति पनि छैन । चिन्तन, दर्शन, अध्ययन अध्यापनमा भन्दा पनी अहिले सत्ताको स्वार्थमा लागेका छन्,” नेपाल भन्छन् ।
  
गिरिको विचारअनुसारनै कांग्रेसले गणतन्त्र अंगीकार गरेको तिवारी बताउँछन् । तर, गिरिको विचार कांग्रेसले मानेको छैन भन्ने तर्कसँग भने तिवारी सहमत छैनन् ।

“उहाँको लाइन गणतन्त्रको थियो । राजाले राज्यशक्ति आफूमा निहीत गरेपछि कांग्रेस प्रजातान्त्रिकलाई गणतान्त्रिक धारमा लैजान ठूलो भूमिका खेल्नुभयो । अहिले समावेशीको विषयमा पनि उहाँले विचार दिनुभएको हो,” तिवारीले भने, “उहाँले दिएको विचारको आधारमा कांग्रेस समावेशी सिद्धान्तसहितको लोकतान्त्रिक व्यवस्था र गणतन्त्रको विषयमा प्रवेश गरेको हो । उहाँको विचारलाई पार्टीले लागु नगरेको हैन । तर, जहाँसम्म अर्थ नीतिको सवालसहित वृहत्तर सामाजिक पक्षको विषयमा उहाँका कुरा भने सुनिएको छैन ।” 

तिवारीका अनुसार गिरि आफ्नै आत्माप्रति इमान्दार नेता हुन् । गिरिलाई युवा पुस्ताले सुनेर मनन् गरे पनि उनको विचार कार्यान्वयनमा भने उतारेका छैनन् ।

“उहाँ आत्माप्रति हमेसा इमान्दार नेता हो । उहाँ मैले मन्त्री हुन मिल्ने एकमात्र क्याबिनेट किसुनजीको भएको तर त्यसमा नबनेको बताउनु हुन्थ्यो । गिरिजाप्रसाद कोइरालाको क्याबिनेटमा बस्न सकिनँ भने अरुकोमा कसरी बस्न सक्थेँ भन्दै आउनु भएको थियो,” तिवारीले भने, “बेलायतमा पनि आत्माको आवाज सुन्ने नेताहरूले आफ्नो मनले खाएको नेताको क्याबिनेटमा मात्र मन्त्री बन्छन् भन्नुहुन्थ्यो ।” 

कांग्रेसको राजनीति गर्ने तर कम्युनिष्टहरूलाई मार्क्सवाद, माओवाद र लेनिनवादको प्रशिक्षण दिने गिरि मुलत समाजवादी चिन्तक हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  २३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro