site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नारी चरित्रहरूको उत्खनन 

 उपन्यासकार सानु शर्मा आधुनिक नेपाली साहित्यको समसामयिक धाराअन्तर्गत उत्तरवर्ती चरणमा देखापरेकी नारी स्रष्टा हुन् । २०६० को दशकमा साहित्यमा प्रवेश गरी आख्यान क्षेत्रमा आफूलाई स्थापित गराउन सफल शर्माका ‘अर्धविराम’, ‘जीतको परिभाषा’, ‘अर्थ’, ‘विप्लवी’, ‘उत्सर्ग’, ‘एकादेशमा’लगायत उपन्यासहरू प्रकाशित छन् ।

यिनका कृतिहरूलाई अध्ययन गर्ने हो भने स्वदेशी तथा विदेशी परिवेशलाई आधार बनाएर समाजका विविध पक्षहरूको सूक्ष्म अध्ययन गर्दै पाठकमाझ प्रस्तुत गरेकी छन् । नारीका इच्छा, चाहना, उत्कण्ठा, कर्तव्यपरायण, दृढता, दूरदर्शिता, अन्तद्र्वन्द्व, शंका र शक्तिको उत्खनन गरी प्रस्तुत गर्न सक्नु कृतिकार शर्माको लेखकीय विशेषता हो ।

घटनालाई आकस्मिक मोडमा पुर्याएर आख्यानलाई टुंग्याउने फरक शैली उनको उपन्यासमा पाइन्छ । यस्तै विशेषता बोकेको पछिल्लो औपन्यासिक कृति हो, ‘फरक’ । उपन्यासमा प्रथम पुरुष शैलीमा मर्मस्पर्शी र विम्बयुक्त वाक्य तथा पाठकलाई संवेदनशील बनाउने भाषाशैलीका कारण पृथक् लेखकका रूपमा उनी आफूलाई स्थापित गर्न सफल भएकी छन् ।

Dabur Nepal
NIC Asia

उपन्यासले सामाजिक, पारिवारिक बेमेल, हत्या, षड्यन्त्रलाई समेटेको छ । विभिन्न स्वभाव, गुण भएका अनेक पात्रका माध्यमबाट तिनका चिन्तन र चेतनाको गहिराइलाई राम्ररी छाम्न उपन्यास सफल देखिन्छ । पितृसत्तात्मक समाजमा महिलालाई हेरिने दृष्टिकोण र गरिने व्यवहार लेखकका दृष्टिकोण बनेर उपन्यासमा अभिव्यक्त भएको छ । प्रत्यूषजस्ता सरल, सभ्य, संस्कारयुक्त आदर्शवादी पात्र हाम्रै समाजमा विद्यमान छन् भन्ने आख्यानकारको दृष्टिकोण छ ।

यस उपन्यासमा भौतिक सम्पन्नताभन्दा सामान्य जीवन बिताउन चाहने भावको प्रबलता म पात्रमार्फत प्रकट भएको छ । धैर्य र सरलपनामा नै जीवन सफल हुन्छ । बिन्तीजस्ता पात्रको सामीप्यमा पनि जीवन फुल्न सक्छ, सुवास वा महक छर्न सक्छ । सुप्रियाजस्ता पात्रका कारण जीवन काँडा बन्न सक्छ ।

सम्बन्धको मकुन्डो लगाउँदैमा जीवन परिपूर्ण हुँदैन भन्ने दृष्टिकोण शर्माका विचार बनेर प्रकट भएका छन् । अपरिचित र वेश्या बनाइएका महिलाका हृदय पनि फराकिलो हुन्छ भन्ने चिन्तन बिन्तीले प्रत्यूषमानप्रति देखाएको व्यवहारबाट प्रस्ट हुन्छ ।

जीवन ऋतु परिवर्तन भएजस्तै घाम–छाया, शीतल–न्यानो, पतझड–वसन्त, दुःख–सुख, पीडा–आशा, उदासी–खुसी, आँसु–हाँसोको संगम हो । यसमा नै जीवन फुल्ने गर्छ । त्यसैले जीवनलाई बुझ्ने कोसिस गर्नुपर्छ भन्ने जीवनवादी चिन्तन यस उपन्यासमा व्यक्त भएको देखिन्छ । जीवनमा विश्वास, इमानदारी र आफ्नोपन सोच र निष्ठासँग सम्बद्ध हुन्छ । जीवनको गहिराइ बुझ्न कठिन छ भन्ने शर्माको विचार प्रबल रहेको छ ।

नारी चाहे संस्कारवान्, निष्ठावान् र वेश्या होस्, समाजमा नारीलाई दोस्रो दर्जाको रूपमा हेरिने गरेकोप्रति उपन्यासकार शर्माले असन्तुष्टि पोखेकी छन् । पुरुषप्रधान हाम्रो समाजमा महिलालाई सधैँ पुरुषको आँखाले तराजुमा जोख्ने गरेको छ । पितृसत्ता हाबी भएको नेपाली समाजमा महिला सधैँ पुरुषबाट दबिनु परेकोप्रति असन्तोषको भाव व्यक्त भएको छ । समतामूलक सामाजिक संरचनाको निर्माणमा जोड दिँदै फरक वैचारिक चिन्तन उपन्यासमा व्यक्त भएको देखिन्छ ।

जीवन भोगाइका अनुभवलाई विषय बनाएर षड्यन्त्र र हिंसाले समाजमा स्थान पाउँदैनन् भन्ने भाव व्यक्त भएको छ, त्यसैले जीवनमा धैर्य गर्न सक्नुपर्छ । असत्यको हार र सत्यको विजय सम्भव छ भन्ने आदर्शवादी चिन्तन उपन्यासकारका निजी विचार बनेर उपन्यासमा आएका छन् । 
हिलोमा पनि सुन्दर सृष्टि÷सिर्जना हुनसक्छ, फूल फुल्न सक्छ, सुवास र महक फैलन सक्छ । त्यसलाई पहिचान गर्न सक्नुपर्छ भन्दै बिनीभित्रै हिलो छ, फूल एवं सुवास र महक छ भन्ने विचार व्यक्त भएको छ । व्यक्तिको स्वभाव र गहिराइमा वस्तुको गुणको पहिचान हुन्छ भन्नु शर्माका विचार हुन् ।

उनले महिलाको शरीरलाई मासुको थुप्रो मात्र सम्झने पुरुष दृष्टिकोणमाथि प्रश्न खडा गरेकी छन् । भौतिक सुखसुविधा, धनसम्पत्ति र ऐस–आरामभन्दा आत्मिक सुखमा नै आनन्द र सन्तोष प्राप्त हुन्छ भन्ने कुरा म पात्र प्रत्यूषमानका माध्यमबाट उपन्यासकारका जीवनदृष्टि प्रकट भएका छन् ।

नारीका पनि इच्छा, आकांक्षा हुन्छन् भन्दै स्वतन्त्र र स्वेच्छापूर्वक ढंगले बाँच्न पाउनुपर्छ भनी नारी स्वतन्तत्राका पक्षमा वकालत गरेकी छन् । समाजमा महिला र पुरुष, छोरा र छोरीबीचको विभेदको व्यवहारले समाजमा नकरात्मक प्रभाव पार्छ भन्दै विरोधको स्वर प्रकट भएको छ ।

संसार विचित्र भएकाले संसारमा जन्मेका नारी पनि व्यक्तिपिच्छे स्वभाव र गुणले विचित्र छन् । जसलाई किताबका पानाका अक्षर–अक्षर पढ्दा पनि बुझ्न सकिँदैन । त्यसैले स्त्रीलाई बुझ्ने महापुरुष सायद यो संसारमा कोही छैनन् । स्त्रीबिना पुरुष अर्थात् प्रकृतिबिना पुरुषको कुनै अस्तित्व छैन । नर र नारीबिना सृष्टि अधुरो हुन्छ । सृष्टिलाई पूर्ण बनाउने स्त्रीभित्र कोमलता, कठोरता, दुष्ट, नम्र, शालीन, चरित्रहीन, घृणित, आदरणीय, वेश्या, कुटिल, उपकारी, दयालु, हृदयहीन, सहृदयी र फुपूजस्ता हत्यारा हुन्छन् ।

स्त्री–स्त्रीबीचको फरक बनाउन जिम्मेवार ईश्वर नभएर हाम्रै समाजका हजुरबुवा, बुवा, सुदीप, रमेशजस्ता पात्र हुन् । केवल समय र सन्दर्भ मात्र फरक भइरहेका छन् भन्ने घटनाप्रसंग शर्माका नारीवादी वैचारिक दृष्टिकोण उपन्यासमा आएको देखिन्छ । बिनीजस्ती नारीलाई जीवन दिने पुरुष पनि हाम्रै समाजमा छन् भन्ने चिन्तन अभिव्यक्त भएको छ ।

उपन्यासकार सानु शर्माको ‘फरक’ नारी र पुरुषका भोगाइलाई अत्यन्त प्रभावशाली ढंगले प्रस्तुत गर्न सफल देखिन्छ । पात्रका स्तर र अवस्थाअनुरूपको भाषाको प्रयोगले उपन्यासको भाषा सरल, सहज एवं कलात्मक प्रस्तुतिमा आफ्नै मौलिक आकर्षण पाइन्छ । लालित्यपूर्ण शब्दका साथै सूक्तिमय वाक्यको कुशल संयोजनले उपन्यास सशक्त बनेको छ । आकर्षक शैलीशिल्प र कलात्मक सिर्जनाको प्रस्तुतिले पाठकको मन, मस्तिष्क र हृदय खिच्न ‘फरक’ उपन्यास सफल देखिन्छ ।

कस्तूरीको बिना खोज्न भौँतारिनु पर्दैन भन्ने शर्माका दृष्टिकोण उपन्यासमा फरक दृष्टिकोण बनेर आएका छन् । प्रकृतिको नारी र पुरुष बराबर उपहार हो । तर, समान भए पनि समाजले नारीलाई उपेक्षित ढंगले हेर्ने, बुझ्ने, आफ्नो किसिमले व्याख्या गर्ने र मूल्यांकन गर्ने गर्दछ ।

समाजको क्रियाकलापले नारीलाई कुटिल, कठोर, दुष्ट, हत्यारा र षड्यन्त्रकारी बनाउँछ, त्यसमा पुरुषप्रधान समाज जिम्मेवार छ । जसका कारण फुपू, सुप्रिया, श्रेया, बिन्ती र सुभद्रा बन्न विवश छन् । उनीहरूको द्वैध चरित्र निर्माणमा पुरुष जिम्मेवार छन् । त्यसैले समाजमा यिनै नारी पात्रहरूले भोगेका भोगाइका अनुभव गर्न उपन्यास पठनयोग्य देखिन्छ ।

साथै, पुरुषप्रधान समाजले नारीलाई हेर्ने परम्परागत संरचना एवं दृष्टिकोणलाई भत्काउन, असमानता हटाउन, समाजमा पुरुषको सोच परिवर्तन गर्न तथा महिलाको पहिचान र स्वतन्त्रता स्थापित गर्न ‘फरक’ उपन्यासले एउटा विशिष्ट दृष्टिकोण प्रस्तुत गरेको छ । उपन्यास हरेक दृष्टिकोणले पठनीय मात्र होइन, मननीय समेत छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  ०७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro