काठमाडौं । संगीतको संस्कार विकसित गर्ने शास्त्रीय संगीत विशिष्ट र बहुउपयोगी भएर पनि जनमानसमा व्याप्त हुन नसकेको अवस्था दृष्टिगत गर्दै शास्त्रीय संगीतको मासिक शृङ्खला सुरु गरिएको छ र नाम दिइएको छ, ‘प्रज्ञा–पाठशाला संगीत संगत’ ।
हरेक महिना आयोजना गर्नेगरी थालिएको कार्यक्रमको पहिलो शृङ्खला पाठशाला नेपालको मदनकृष्ण श्रेष्ठ नाट्यशालामा सम्पन्न भयो । उक्त अवसरमा १५ जनाभन्दा बढी महिला संगीतकर्मी तथा संगीतज्ञहरूद्वारा सामूहिक रूपमा वृन्दवादन (अर्केस्ट्रा) प्रस्तुत् गरियो । जसमा १२ वर्षीया नूर श्रेष्ठ (इसराजवादन) देखि ७२ वषकी वीणा केसी प्रधान (गायन) सम्मले सांगीतिक प्रस्तुति दिए ।
राग मधुवन्तीबाट सुरू भई हिमाल, पहाड, काठमाडौं उपत्यका र तराई–मिथिला क्षेत्रका लोकधुनहरू हुँदै राग भैरवीबाट सम्पन्न भएको लोकशास्त्रीय आर्केस्ट्रामा यी दुवै कलाकारसहित संगीतकर्मीहरू सरिता मिश्र, सीता भण्डारी र मञ्जु सुनारले तबला वादन, सुशीला अमात्य, वीना श्रेष्ठ, पद्मा तुलाधर, अमृतहीरा योगी, डा. अञ्जू उप्रेती र कृति बनियाँले सितारवादन प्रस्तुत गरे ।
रूपा न्यौपानेले सरोदवादन, रोशनी क्षेत्रीले भायोलीन वादन, यजु आचार्य र रोजिना डंगोलले बाँसुरीवादन तथा कल्पना पराजुली र मोना पोखरेलले तानपुरावादनको प्रस्तुति दिएका थिए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले पाठशाला नेपालसँग सहकार्य गर्दै आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानको शास्त्रीय तथा परम्परागत संगीत विभागका प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले शास्त्रीय संगीतको प्रयोग र प्रवद्र्धनको कार्य अविच्छिन्न रूपमा हुनुपर्ने महसुस गरेर यस प्रकारको नियमित कार्यक्रमको अवधारणा अगाडि सारेको बताए ।
पाठशाला नेपालका अध्यक्ष तथा कवि अर्जुन पराजुलीले यस किसिमका कार्यक्रमले नेपाली संगीतलाई वैशिष्ट्य प्रदान गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वासकासाथ यो शृङ्खलाको थालनी गरेको बताए ।
कार्यक्रमको दोस्रो चरणमा अच्युतराम भण्डारी संगीत प्रतिष्ठानका कलाकारहरूबाट सांगीतिक प्रस्तुति दिइएको थियो ।