मेरो अन्तर्जातीय बिहे पनि चर्चित विषय भयो । २०१८ सालमा जानुकादेवी रेग्मी पढ्नका लागि खोटाङको मार्से दिप्रुङ्गबाट आएकी थिइन् र भोजपुर बजारको रात्रि हाइस्कुलको विद्यार्थी थिइन्, म त्यो हाइस्कुलमा नेपाली र इतिहास पढाउथेँ । अनि दिउँसो पोखरेको मिडिल स्कुलमा पढाउँथेँ ।
विद्यार्थी र शिक्षककाबीच चिनापर्ची आत्मियता हुने नै भयो । अझ उनको पिताजी स्व. मोहनप्रसाद रेग्मी स्वयं कवि भएकाले साहित्यकारहरूप्रति उनको श्रद्धा र सद्भाव रहेछ । पिताको प्रभावले होला उनमा स्वयम् सिर्जनात्मक शक्ति पनि रहेछ ।
मभित्र यौटा विद्रोह बाल्यकालदेखि नै थियो । मेरो जेठी फुपूको प्रेम विवाह ब्राह्मणसँग भएको थियो भने कान्छी फुपूको क्षेत्रीसँग । मेरो बाल–मस्तिष्कमा यौटा आक्रोश थियो– ब्राह्मणहरूले हाम्रा फुपूहरू बिहे गर्न हुने, हामीले ब्राह्मणसँग बिहे गर्न किन नहुने ?
यसलाई मलजल दिने काम त्यही समय शशीकला शर्मा (सम्पादिका–स्वास्नीमान्छे) ले गरिन् । उनी परिवर्तनकारी क्रान्तिकारी विद्रोह विचारकी महिला थिइन् र भोजपुर बजार आएकी थिइन् ।
उनको हार्दिक स्वागत गर्दै मेरी कान्छी फुपूको घरमा बस्ने, खाने व्यवस्था मैले मिलाइदिएको थिएँ । उनका लागि स्वागत कार्यक्रम, ‘स्वास्नीमान्छे’का लागि ग्राहक विस्तार, भेटघाट, पर्यटकीय र तीर्थस्थलहरूको भ्रमण आदि गराउँदै मैले लगभग एक महिना साथ दिए ।
उनी हरेक दिन ‘तिमीले बाहुनी नै बिहे गर्नुपर्छ । अझ दुःखी, अवलासँग’ भनेर मलाई उपदेश भनौँ कि सल्लाह दिन्थिन् । यसको प्रभाव मेरो मनमस्तिष्कमा राम्रै परेको थियो । र, जानुकालाई भेट्दा मेरै लागि भगवानले जुराएर पठाइदिएको अनुभूति मलाई भयो ।
हाम्रो प्रेम–सम्बन्ध बढ्दै र झाङ्गिदै गएपछि हामीले भोजपुर छाड्ने वातावरण बढ्यो । कारण– सामाजिक मात्र होइन, कानुनी रूपमा पनि हामी अपराधी ठहरिने भयौँ । पुरानो मुलुकी ऐनमा तल्लो जातले ब्राह्मणी बिहे गर्दा पुरुषलाई १२ वर्षसम्म र नारीलाई आधा अर्थात् ६ वर्षसम्म जेल–सजाय हुन्थ्यो ।
२०२० भाद्र १ को नयाँ मुलुकी ऐन आउन बाँकी थियो । हाम्रो बिहाकै कारण स्थानीय ब्राह्मणवर्गल महाबेइज्जतिको अनुभव गरेका थिए । हामी तराई, मोरङ र वाराणसीतिर लुक्न र घुम्न गई मुलुकी ऐन लागु भएपश्चात भाद्र १, २०२० पछि मात्र छाती ठूलो पारेर भोजपुरमा हिँड्न, डुल्न समर्थ भयौँ ।
यी पंक्ति लेखिरहँदा हाम्रो बिहे भएको ५० वर्ष पुगिसकेको छ र हाम्रो सम्बन्ध सधैँ स्वस्थ्य, सबल र हार्दिक छ । हाम्रा दुई छोरीहरू प्रतिमा न्यौपाने र प्रतीक्षा जोशीले शैक्षिक क्षेत्रमा सुनाम नै कमाएका छन् भने छोरा प्रतीक प्रधान राष्ट्रको प्रखर बुद्धिजीवी र निर्भिक पत्रकारको रूपमा चिनिएको छ ।
कसैसँग नचाहिँदो सम्झौता नगर्ने, प्रजातान्त्रिक विचारमा आस्थावान, कर्मठ, सजग र सक्रिय पत्रकारका रूपमा राष्ट्रभित्र र राष्ट्र बाहिर सुनाम कमाएर हामीलाई सन्तोष दिएको छ ।
कान्छो छोरा प्रतिबोध प्रधानले व्यावसायिक क्षेत्रमा राम्रै सुनाम कमाउन समर्थ भएको छ । आफ्नो व्यावसायिक इमान्दारी र सच्चरित्रताले कुलको ईज्जत राम्रैसँग राखेको छ ।
म आख्यानको क्षेत्रमा र श्रीमती (कल्पना प्रधान) बाल साहित्यको क्षेत्रमा आज जीवनको उत्तराद्र्धधमा पनि सिर्जनारत छौँ । देशभित्र र बाहिर लाखौँ पाठक, शुभचिन्तक पाएका छौँ । तिनको श्रद्धा र माया पाएका छौँ । अनि हामीलाई सम्झनेहरू, सम्मान गर्नेहरू, सहयोगी लाखौँ हातहरू पाएका छौँ– यही हाम्रो जीवनको महत्वपूर्ण उपलब्धि हो ।
(साहित्यकार परशु प्रधानको संस्मरणात्मककृति ‘जिन्दगीका मोडहरू’को तेस्रो अध्याय)