काठमाडौं । श्याम थापा फुटबलमा एउटा यस्तो नाम हो, जसलाई अघिल्लो पुस्ताका नेपाली खेलाडी, खेलप्रेमी र खेल पत्रकारहरूले बडो सम्मानका साथ लिन्छन् । स्टार खेलाडी हरि खड्का, प्रदीप महर्जनको पुस्ताले आदरका साथ सम्झिन्छन् र प्रेम गर्छन् । नगरुन् पनि किन ? श्याम थापा त्यस्ता व्यक्तित्व हुन्, जसको उचाइलाई दक्षिण एसियाका कुनै पनि खेलाडीले छुन सकेका छैनन् ।
झन्डै चार वर्ष नेपाली फुटबलको प्रशिक्षण सम्हालेका थापा नेपालकै सन्तान हुन् । तर, कहिल्यै नेपाली राष्ट्रिय टोलीबाट खेलेनन् । खेले त केबल नेपाली क्लब ब्वाइज युनियन क्लबबाट । गुल्मी जिल्लाको भार्सेमा जन्मिएका थापा लाहुरे बुबाको पछि लागेर भारत छिरेका थिए । भारतमै रमाए । त्यहीँको नागरिक बने ।
आफूले खेलेको पुरानो क्लब ब्वाइज युनियनको निम्तोमा थापा अहिले काठमाडौंमा छन् । भारतमा बसोबास गर्ने भए पनि पारिवारिक जमघटमा उनी नेपाल आइरहन्थे । आफू नजिकका खास–खास मान्छेलाई भेट्थे, फर्किन्थे । तर, यसपटक गत शनिबार झन्डै डेढ दशकपछि औपचारिक रुपमा मिडिया सामु आए । खुलेर कुरा गरे । ७५ वर्षे थापा नेपाली सञ्चारकर्मीसँग घण्टौं संवादमा रमाए । कार्यक्रम थियो, खेलाडी डटकमले आयोजना गरेको ‘श्याम थापासँग फुटबलका कुरा’ ।
जति ठूलो व्यक्तित्व, जति अग्लो उनको उचाइ त्यति नरम स्वभाव । त्यत्तिकै सरल र भलाद्मी ।
उनै थापाले चिसोका कारण हल्का घाँटी बसेको स्वरमा विश्व फुटबलका सर्वकालीन महान खेलाडी पेले र डिएगो म्यारोडोनाविरुद्ध खेलेको अनुवभ सुनाए ।
१९७७ तिरको कुरा हो । कोलकाताको मोहन बगानका लागि त्यो वर्ष खराब समय चलिरहेको थियो । टिमको निरन्तर खराब नतिजा आइरहँदा आफ्नै समर्थकबाट गाली खानुपर्ने अवस्था थियो ।
“समर्थकहरू सिर्फ गाली र ढुंगा हान्न आउथे । राति २ बजेसम्म खेलाडीहरू बसेको टेन्टमै ढुंगा बर्साइरहेका हुन्थे । हामी यता लुक्ने, उता लुक्ने गथ्र्यौं,” थापाले पुराना दिन सम्झिए ।
त्यही वर्षको सेप्टेम्बरमा पेले सम्मिलित अमेरिकाको न्युयोर्क कसमस टिम भारत आयो । मोहन बगानसँग मैत्रीपूर्ण खेलका लागि । अमेरिकाले आफ्नो देशमा फुटबलको विकास गर्नका लागि पेले, फ्रेन्ज बेकनबाउरजस्ता स्टार खेलाडीलाई लगेर खेलाएको थियो । र, अमेरिकी न्युयोर्क कसमस टिम भारत आएर खेलेको थियो । पेले आउने चर्चा भएपछि थापालाई चारैतिरबाट फोन आउन थाल्यो– खेल हेर्न टिकट मिलाइदिने अनुरोधका साथ ।
कोलकाताको इडेन गार्डन रंगशाला (जुन अहिले क्रिकेटका कारण प्रसिद्ध छ) मा ९० हजरको हाराहारीमा दर्शक उपस्थित थिए । रंगशालाबाहिर त्यति नै दर्शक जम्मा भएका थिए । त्यस खेलको एउटा टिकट लिनका लागि स्कुटर साट्न तयार थिए, समर्थकहरू ।
“वाफरे वाफ... जताततै पेले पेले भन्ने आवाज मात्रै । हामी खेलाडी पनि पेलेसँग फोटो खिच्न र उनलाई छुनका लागि भुलिरहेका थियौं । प्रशिक्षक चाहीँ हामीलाई कराउँथे । गाली गर्थे,” हिन्दी लवज मिसाएर थापाले उत्साहित हुँदै स्मरण गरे, “२–१ ले पछि परेको स्थिति थियो । ब्राजिलका पूर्व कप्तान कार्लोस अल्बार्टो रक्षक थिए । मेरो ड्रिबल राम्रो थियो । मैले कार्लोसलाई कटाएर गोल हानेँ । त्यसपछि रंगशालामा जुन आवाज गुञ्जियो । त्यसले अझै पनि रोमाञ्चित बनाउँछ ।”
खेल २–२ को बराबरीमा सकियो । खेलपछि हुने पत्रकार सम्मेलनमा भारतीय सञ्चारकर्मीले पेलेलाई सोधे– भारतीय टिमको कुन खेलाडी मनपर्यो ?
खेलाडीको नाम थाहा नभए पनि पेलेले जवाफ दिए, “२२ नम्बरको खेलाडी ।”
२२ नम्बर जर्सी उनै थापाकै थियो । भोलिपल्ट थापा अखबारका ‘हेड लाइन’ बने ।
थापा आफूलाई भाग्यमानी मान्छन् । पेलेजस्तो महान खेलाडीविरुद्ध खेल्न पाएर । पेलेमात्र होइन, थापाले म्यारोडोनाविरुद्ध पनि खेले । तर, म्यारोडोनाविरुद्ध उमेरमा होइन, भेट्रान टिमबाट खेले । म्यारोडोना पनि भारतमै आएका थिए । एउटा टिमको कप्तानी म्यारोडोनाले गरेका थिए, अर्को टिमको कप्तानी श्याम थापाले ।
पुरानो स्मरणलाई खोतल्दै थापाले सम्झिए, “१८८७ तिरको कुरा हो । त्यतिबेला म्यरोडोना दोस्रोपटक भारत आएका थिए । हामी दुईजना दुई टिमको कप्तान । मलाई कस्तो भयो होला ? एउटा नेपालीको छोरा भएर पेले, म्यारोडोना जस्ता खेलाडीसँग खेल्न पाउनु मेरा लागि गर्वको कुरा हो ।”
करिअरको उत्कर्षमा सन्यास
थापा करिअरको उत्कर्षमा थिए । सन् १९७० र १९७४ मा भारतीय टिमबाट एसियन गेम्स खेलिसकेका थिए । १९७८ मा तेस्रो पटक पनि भारतीय टिमबाट एसियन गेम्स खेल्ने तयारीमा थिए । घरेलु फुटलबमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सू्चीमा थापा अग्रपंक्तिमा थिए । त्यो पनि एकपटक होइन । लगातार दुई वर्ष । थाइल्यान्डको बैंककमा हुने एसियन गेम्समा पनि थापा नै भारतीय टोलीको कप्तान हुने व्यापक चर्चा थियो ।
थापा सन्तोष ट्रफी खेल्नका लागि काश्मिरमा थिए । सेमिफाइनलमा मोहन बगानको प्रतिद्वन्द्वी गोवा थियो । ब्याक भली थापाको विशेषता हो । रंगशालामा उपस्थित दर्शकले ‘ब्याक भली... ब्याक भली’ भन्दै हुटिङ गरिरहेका थिए । त्यही जोशमा थापाले पनि ब्याक भली मै गोल ठोकिदिए । मोहन बगान १–० ले विजयी भएर फाइनलमा स्थान बनाउन सफल भयो । थापा खेल सकेर ड्रेसिङ रुम छिर्नेबेला दर्शकदीर्घाबाट पौसाको वर्षा भयो । मोहन बगानले फाइनल पनि जित्यो । त्यही दिन एसियन गेम्सका लागि भारतीय टिमको घोषणा भयो । तर, उच्च लयमा रहेका थापा सूचीमा अटेनन् ।
जुन कुरा थापालाई सैह्य भएन । मुगल गार्डेनमा बसेर रातभर एक्लै रोए । त्यो दिन जत्तिको दुःख उनलाई कहिल्यै पनि लागेको थिएन । थापाले भोलिपल्टै पत्रकार सम्मेलन गरेर अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे । अनि देहरादुन फर्किए ।
थापा टिममा नपरेपछि भारतीय फुटबल संघको चर्को आलोचना भयो । अन्ततः उनलाई टिममा फिर्ता बोलाइयो । तर, थापा आफ्नो अडानमा अडिग रहे । थापालाई अहिले सम्झिँदा लाग्छ– त्यो ठूलो गल्ती थियो । उनी भन्छन्, “भुल भनु या इगो । तर, मैले निर्णय फिर्ता लिइनँ । किनकी मैले पत्रकार सम्मेलन गरेर सन्यास घोषणा गरिसकेको थिएँ । मेरो जीवनको सबैभन्दा दुखद क्षण त्यही थियो ।”
गांगुलीका कारण कोलकातामा क्रिकेटको उदय
कोलकातामा फुटबलको क्रेज कस्तो थियो भनेर माथि उल्लेखित थापाको कुराबाट पनि थाहा हुन्छ । तर, त्यही कोलकाता अहिले क्रिकेटमय बनेको छ । उनी कोलकाता क्रिकेटमय बन्नुको एउटा मुख्य कारण मान्छन्– सौरभ गांगुली ।
“अहिले जताततै क्रिकेटको क्रेज छ । फुटबलमाथि क्रिकेट हाबी बनेको छ । त्यसको कारण हुन्, गांगुली । उनले कोलकाताको माहोल परिवर्तन गरिदिए,” थापाले कोलकाताको पछिल्लो अवस्था सुनाए, “आफ्नो फुटबल टिम हार्यो भने श्रीमतीले बेलुका खाना बनाइदिन्नथिइन् । त्यस्तो क्रेज थियो, फुटबलको । तर, गांगुलीले क्रिकेटमा जुन सफलता हासिल गरे । उनले जुन शैलीमा क्रिकेट खेले । त्यहाँको माहोल परिवर्तन भयो । अहिले घर घरमा महिलाहरू क्रिकेट हेर्छन् । अभिभावक आफ्नो छोराछोरीलाई क्रिकेटर बनाउने सपना देख्न थालेका छन् । त्यहाँ खेलको धार नै परिवर्तन भयो । तर, जबसम्म मोहन बगान छ । इष्ट बंगोल छ । तबसम्म फुटबलको क्रेज बाँकी नै रहन्छ ।”