site stats
बाह्रखरी :: Baahrakhari
खेल
६० वर्षपछि ब्राजिलले पाएको विदेशी प्रशिक्षक, विश्व फुटबलमा ‘रवाफ’ फर्काउने चुनौती

काठमाडौं । कार्लाे एन्सेलोट्टी, यो त्यही नाम हो जो ६० वर्षपछि ब्राजिलको नेतृत्व सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक बन्दै छन् । हाल ब्राजिल र एन्सेलोट्टीको सहमति अन्तर्राष्ट्रिय फुटबल मञ्चमा सनसनीपूर्ण सम्झौता बनेको छ । 

अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिल ‘सुन्दर टोली’को उपनामले परिचित छ । पाँच विश्वकपसहित विश्व फुटबलकै सबैभन्दा सफल टोली ब्राजिलले युरोपियन महारथीहरूमध्येको एक एन्सेलोट्टीलाई प्रशिक्षकको नियुक्ति गर्नु आफ्नो धार परिवर्तन गर्न खोजेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको टिप्पणी छ ।

ब्राजिलको यो कदमप्रति दक्षिण अमेरिकी फुटबल विज्ञ टिम भिकेरी भन्छन्, “एन्सेलोट्टी पहिलो प्राथमिकतामा किन छन् भने उनी आफ्नो समकालीन प्रशिक्षकभन्दा बढी सफल हुन् । उनले पाँच राष्ट्रमा आफ्नो कौशल देखाइसकेका छन् ।” 

तर, आगामी विश्वकप २०२६ मा ब्राजिलले आफनो धार परिवर्तन् गर्लान् त ? के एन्सेलोट्टीले ब्राजिललाई लयमा फर्काउन सक्लान् ?

कहाँ चुकिरहेको छ ब्राजिल ? 
पछिल्ला दुई दशकयता विश्व फुटबलमा ब्राजिलको ‘नाम’ जस्तो प्रदर्शन छैन भन्दा फरक पर्दैन । सन् २००७ र सन् २०१९ मा कोपा अमेरिकाको उपाधि उचाले पनि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च फिफा विश्वकपमा ब्राजिलको प्रदर्शन निराशजनक छ । ब्राजिलले सन् २००२ मा अन्तिमपटक विश्वकपको उपाधि उचालेको थियो । त्यसयता यो दक्षिण अमेरिकी टोलीले फाइनलसम्मको यात्रा पनि तय गर्न सकेको छैन । 

सन् २०१४ मा विश्वकपको सेमिफाइनलमा घरेलु मैदानमै जर्मनीविरुद्धको प्रदर्शन ब्राजिलियन फुटबल इतिहासकै सबैभन्दा खराब मानिन्छ । घरमै भएको प्रतियोगिताको सेमिफाइनलमा ब्राजिलले जर्मनीसँग ७–१ को लज्जास्पद हार बेहोरेको थियो । 

यसपछि सन् २०१८ को विश्वकपमा पनि टोली क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै विश्वकपबाट बाहिरियो । 

‘‘सन् २००२ पछिका हरेक विश्वकप संस्करणमा ब्राजिल नकआउट चरणमा युरोपेली राष्ट्रसँग पराजित हुँदै बाहिरिएको छ,’’ भिकेरीले भने, ‘‘यो उनीहरूका लागि खराब भाग्यजस्तै बनेको छ । जसबाट उनीहरू निस्कन चाहन्छन् । युरोपेली प्रशिक्षक भित्र्याउनुमा यो पनि एउटा कारण हो । यदि हामी आगामी चरणमा उनीहरू (युरोप)लाई हराउने हो भने खेल बुझेको प्रशिक्षक आवश्यक रहेको उनीहरूले बताएका छन् ।’’ 

karlo_an-(6)-1747734949.jpg
ब्राजिलको वर्तमान विश्वकप छनोट चुनौतीपूर्ण बनेको छ । छनोटअन्तर्गत अर्जेन्टिनासँग बेहोरेको ४–१ को हारले टोलीमाथि विश्वकप छनोटमा दबाब बढाएको छ । बलियो टोलीको लय असामान्य हुँदा र ब्राजिलियन टिममा धेरै प्रशिक्षकहरू आए र गए । 

सन् २०१६–२०२२ सम्म नेतृत्व गरेका प्रशिक्षक टिटेको प्रशिक्षणकाल तुलनात्मक रूपमा सुखद् रह्यो । उनकै प्रशिक्षणमा ब्राजिलले सन् २०१९ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । तर, सन् २०२२ मा कतारमा आयोजित विश्वकपपछि उनले योजनाअनुरुप नै ब्राजिलको प्रशिक्षण जिम्मेवारी छाडे । टिटेपछि नेृतत्वमा डोरिभल जुनियर आए । तर, अर्जेन्टिनासँग ४–१ को लज्जास्पद हारपछि उनलाई ब्राजिलियन फुटबल महासंघले बर्खास्त गरिसकेको छ ।

अन्तर्राष्ट्रिय फुटबलमा आधा शताब्दीभन्दा धेरै समयसम्म ब्राजिलले विदेशी प्रशिक्षकमाथि विश्वास गर्न आनाकानी गरिरह्यो । ब्राजिलियन फुटबलको इतिहासमा हालसम्म तीन विदेशी प्रशिक्षकले जिम्मेवारी सम्हालेका छन् । यी तीन प्रशिक्षकले पनि सात खेलमा मात्रै ब्राजिलको प्रशिक्षण जिम्मेवारी सम्हाल्ने मौका पाए । 

उरुग्वेका रोमन प्लाटेरो ब्राजिलको प्रशिक्षण सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक हुन् । उनले सन् १९२५ मा टोलीको प्रशिक्षण सम्हाल्दा चार खेलमा सीमित रहे । पोर्चुगलका जोरेस्काले सन् १९४४ मा दुई खेलका निम्ति नेतृत्व सम्हाले । र, सन् १९६५ मा अन्तिम विदेशी प्रशिक्षकको रूपमा अर्जेन्टिनी फिल्पो नुनेज रहे । उनले पनि एक खेलमा मात्र ब्राजिलको प्रशिक्षण सम्हाले ।  

ब्राजिलको घरेलु लिग, सिरी ‘ए’ मा पनि यस्तै अवस्था छ । त्यहाँ ब्राजिलियनहरूका निम्ति फुटबलको अर्थ ब्राजिलियन प्रशिक्षकले मात्र बुझ्छ भन्ने मान्यता छ ।

karlo_an-(4)-1747734949.jpg
तर, फ्लेमिंगोको प्रशिक्षणमा पोर्चुगलका जर्ज जिजु आएपछि भने ब्राजिलियनहरूको यो मान्यता फेरिँदै गएको छ । जिजुले सन् २०१९ मा फ्लेमिंगोको जिम्मेवारी सम्हालेका थिए । उनको आगमनले ब्राजिलमा युरोपेली प्रणालीले पनि सकारात्मक परिवर्तन ल्याउनसक्छ भन्ने आशा जगाएको थियो ।

त्यसबेलादेखि नै घरेलु लिगमा विदेशी प्रशिक्षकलाई अपनाउन थालियो र हाल अन्तर्राष्टियस्तरका लागि समेत विदेशी प्रशिक्षक नियुक्त गर्ने चलनको थालनी भएको छ । ‘‘यो एउटा महत्त्वपूर्ण कदम हो,’’ भिकेरी भन्छन्, ‘‘अब एन्सेलोट्टीले नेतृत्व सम्हाल्न लागेका छन् । यो पछि गएर विवादास्पद पनि बन्न सक्छ ।’’

एन्सेलोट्टीको आगमनले टोलीमा के परिवर्तन ल्याउँला ?
एन्सेलोट्टी टोलीलाई बिनाकुनै नाटक एकनासको बनाएर राख्न माहिर छन् । उनी शान्त स्वभावकै कारण चर्चित छन् । “एन्सेलोट्टी नै ब्राजिलको मुख्य लक्ष्य थिए । किनभने उनी तुलनात्मक रूपमा आफ्ना समकक्षीभन्दा धेरै सफल छन्,” भिकेरी भन्छन् । 

तर, हालै उनको प्रशिक्षणमा रहेको रियाल मड्रिड खराब लयबाट गुज्रिरहेको छ । उनको टोली रियालले बार्सिलोनासँग कोपा डेल रेकोे फाइनलमा हारको सामना गर्‍यो । रियाल यसपछि च्याम्पियन लिगको क्वार्टरफाइनलमा आर्सनलसँग पनि पराजित भयो । तर, यी हार एन्सेलोट्टीले विगतमा चुमेको सफलताअघि फिक्का छन् ।

उनले राजधानी मड्रिडको टोलीमा सकारात्मक संस्कार र मानसिकताको बिजारोपण गरेका छन् । यसको प्रमाणको रूपमा उनको नेतृत्वमा रियालले २०२२ मा च्याम्पियन लिगमा देखाएको असाधारण प्रदर्शनलाई लिन सकिन्छ । त्यसबेला रियालले म्यानचेस्टर सिटी र चेल्सीविरुद्ध असम्भव देखिए पनि पुनरागमन जित निकालेको थियो । पछि फाइनलमा लिभरपुलविरुद्ध १–० को जित निकाल्दै रियाल च्याम्पियन्स लिग च्याम्पियन बनेको थियो । 

रियालले प्रशिक्षकको रणनीतिअनुसार प्रदर्शन गरेको त छ नै, अझ टिममा एन्सेलोट्टीले भावनात्मक सम्बन्ध पनि विस्तार गरेका छन् । पछिल्लोसमय उच्च अपेक्षा र दबाबले थिचिरहँदा यी कुराहरूले नै ब्राजिलियन टोलीलाई पुनः लयमा फर्काउने आशा छ ।

 

karlo_an-(7)-1747734949.jpg
ब्राजिलयन फुटबल लामो समयदेखि साम्बा र व्यवहारमूखी फुटबल शैलीबीचको संघर्षमा छ । साम्बा ब्राजिलको रैथाने फुटबल शैली हो, जहाँ शारीरिक शक्ति खेलाडीहरूको शैली, तालमेल र रचनात्मक पासलाई मुख्य मानिन्छ । तर, व्यवहारमूखी रणनीतिमा भने फुटबल खेल्ने शैलीलाई भन्दा नतिजालाई प्राथमिकतामा राखिन्छ ।

एन्सेलोट्टीले यी दुवै प्रणालीमा आफूलाई अब्बल सावित गरिसकेका छन् । 

सन् २००० को दशकमा एसी मिलानको नेतृत्व उनको टोलीमा काका, पाउलो माल्दानी, आन्द्रे पिर्लाे र काका जस्ता चर्चित हस्तीहरू समावेश थिए । उक्त टिमले मध्यभागमा बल नियन्त्रण राख्दा रक्षापंक्तिमा जब्बरसाथ उभिन्थ्यो । मिलानको आक्रमण पनि उस्तै खतरनाक देखिन्थ्यो । 

उनले रियालमा दोस्रोपटक नेतृत्व सम्हाल्दा पनि केही हदसम्म यही रणनिति अपनाएका थिए । यो रणनीतिमा बिनादबाब भिनिसियस जुनियर र रोड्रिगो लगायतका ब्राजिलियन प्रतिभा खुलेर खेल्ने तथा अनुशासन प्रदर्शन गर्ने अवसर पाएका थिए ।

‘‘भिनिसियस जुनियर एन्सेलोट्टीसँग खेल्न निकै मन पराउँछन् । एन्सेलोट्टीको आगमनले भिनिसियसलाई पक्कै पनि उत्साहित बनाएको छ,’’ भिकेरीले भने, ‘‘खुसी हुनेमा उनी मात्र होइनन् । ब्राजिलको टिममा म्यानचेस्टर युनाइटेडका मिड–फिल्डर कासेमेरोको पनि पुनरागमन देख्न सकिन्छ । यो त्यही क्षेत्र हो, जहाँ ब्राजिलको मुख्य चिन्ता र चासो छ ।’’

फरवार्ड भिनिसियस र रोड्रिगो एन्सेलोट्टीले रियालमा पाएको पछिल्लो सफलताका मुख्य कडी हुन् ।

भिनिसियसको क्लब करियर उकालोतर्फ लम्किरहेको छ । उनको प्रदर्शन स्पेनमा घरेलु लिगमा आशालाग्दो छ । तर, ब्राजिलको राष्ट्रिय टिमबाट भने उनले समर्थकको अपेक्षा पुरा गर्न सकिरहेका छैनन् । उनले राष्ट्रिय टिमबाट ३९ क्याप जित्दा ६ गोल मात्र गरेका छन् ।

karlo_an-(1)-1747734949.jpg
 

विज्ञहरू भिनिसियसले क्लब र देशको फरक रणनीतिसँग संघर्ष गर्नुपरेको बताउँछन् । तर, एन्सेलोट्टी उनलाई आफ्नो वास्तविक लयमा फर्काउन सक्छन् ।  भिनिसियसको भूमिका सहज बनाउन, आत्मविश्वास बढाउन र खुलेर खेल्न सक्ने अनुकूल वातावरण बनाउने उपाय एन्सेलोट्टीसँग छ ।

‘‘एन्सेलोट्टी आफ्नो टोलीले जस्तो आलोचना खेपे पनि सधैँ प्रतिरक्षामा उत्रिन्छन् । जसले खेलाडीहरूमा दबाब घटाउने काम गर्छ,’’ भिकेरी थप्छन्, ‘‘ब्राजिलमा उनी असफल भएको हेर्न चाहनेहरू पनि हुनसक्छन् । तर एन्सेलोट्टीको आगमनले खेलाडीहरू सबैभन्दा सहज परिस्थितिमा हुनेछन् ।’’ एन्सेलोट्टीको सम्झौताले ब्राजिलियनहरू पुनः विश्व फुटबलको शिखरमा पुग्न चाहन्छन् भन्ने देखाउँछ ।

एन्सेलोट्टीले भिनिसियसजस्ता खेलाडीलाई स्वतन्त्रता प्रदान गर्दै टिममा स्थिरता ल्याउनसके ब्राजिलकै टिममा रहेका असाधारण प्रतिभा नेइमारले पनि टोलीलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । 

यदि एन्सेलोट्टी आफ्नो कार्यकालमा सफल हुनसके उनले ब्राजिलको समस्या समाधान गर्ने मात्र नभई, आधुनिक फुटबलमा ब्राजिलियन फुटबलको अर्थ पनि स्पष्ट बनाउने छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्