site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
च्याम्पियन बन्ने कसरतमा महिला बास्केटबल टिम 
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।
SkywellSkywell

काठमाडौं । नेपाली राष्ट्रिय महिला बास्केटबल टोलीले अहिलेसम्म जितेकोa सबैभन्दा ठूलो पदक भनेको रजत हो । दक्षिण एसियाली खेलकुद (साग) र सन् २०१६ मा काठमाडौंमा सम्पन्न साबा महिला च्याम्पियनसिपमा नेपाली टोलीले रजतपदक जितेको थियो ।

साबा महिला च्याम्पियनसिपको दोस्रो संस्करणका लागि नेपाली टोली यति बेला प्रशिक्षणमा व्यस्त छ । योपटक टोलीको लक्ष्य च्याम्पियन बन्नु हो । कप्तान सदीना श्रेष्ठको पनि करियरमा स्वर्णपदक जित्ने सपना छ ।

उनी भन्छिन्, “पछिल्लोपटक सागमा रजत जित्यौँ । अब स्वर्ण जित्ने ठूलो धोको छ । विगतका गल्ती सुधारेर हामी च्याम्पियन बन्ने प्रयासमा छौँ ।”

KFC Island Ad
NIC Asia

JrHariss_Basketball_Tranning_12khariphotos (3)1660472414.jpg

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा एक महिनायता महिला बास्केटबल खेलाडीले पसिना बगाइरहेका छन् । तर, भएको त्यही एउटा हल पनि कहिले कुनै खेल त कहिले कुनै कार्यक्रमले कब्जा गरिदिन्छ । अनि, बास्केटबल टोलीले विकल्प खोज्नुपर्छ । त्यसका बाबजुत पनि महिला टोली चुपचाप आफ्नो लक्ष्य भेट्टाउन लागिपरेको छ ।

Royal Enfield Island Ad

प्रतियोगिताको मिति तय भइसकेको छैन । आउँदो सेप्टेम्बरको तेस्रो साता माल्दिभ्स हुने भनिएको छ । प्रतियोगितामा कुन–कुन टोली समावेश हुन्छन् भन्ने पनि यकिन छैन ।

“तर, दक्षिण एसियाका सबै टिम सहभागी हुने आशा गर्न सकिन्छ,” लामो समयदेखि महिला टोलीको प्रशिक्षण सम्हालिरहेका विकास शाहीले बाह्रखरीसँग भने, “गत संस्करणमा पनि लगभग सबै टिम थिए । त्यसकारण अहिले पनि सबैको सहभागिता हुने अपेक्षा गर्न सकिन्छ ।”

JrHariss_Basketball_Tranning_12khariphotos (5)1660472433.jpg

प्रतियोगिताको पहिलो संस्करण काठमाडौंमा भएको थियो । त्यति बेला भारत र पाकिस्तानबाहेक पाँच टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपाल फाइनलमा श्रीलंकासँग ७५–४९ को स्कोरमा पराजित भएको थियो ।

काठमाडौंमै सम्पन्न १३औँ सागमा पनि फाइनलमा भारतसँग पराजित भएपछि नेपाली महिला टोलीले रजतपदकमै चित्त बुझाउनुपरेको थियो । दुईपटक फाइनलमा रोकिएपछि टोली अब भने च्याम्पियन बन्ने कसरतमा छ । दक्षिण एसियाका अरू सबै टिम १९/२० को भए पनि भारत अलि बलियो भएको प्रशिक्षक शाही स्वीकार गर्छन् ।

उनी भन्छन्, “भारतबाहेक अन्य टिमको स्तर उस्तै हो । भारत केही बलियो छ । हाम्रो मुख्य चुनौती पनि भारत नै हो । आशा गरौँ, यसपटक हामी राम्रो नतिजा निकाल्नेछौँ ।”

साबाको तयारी सुरु गुर्नअघि नेपाली यू–२३ महिला बास्केटबल टोलीले १९औँ एसियन गेम्सका लागि प्रशिक्षण गरेको थियो । एसियन गेम्समा ‘थ्री अन थ्री’मा प्रतिस्पर्धा गर्ने नेपालको योजना थियो । कोभिड–१९ का कारण चीनमा हुने एसियन गेम्सको मिति सारिएपछि ४० दिनको प्रशिक्षण हाललाई स्थगित छ । एसियन गेम्सको तयारीका लागि आठ खेलाडी प्रशिक्षणमा थिए । त्यही टोलीमा अरू खेलाडी मिसाएर असार अन्तिम साताबाट साबाका लागि प्रशिक्षण सुरु गरिएको हो ।

JrHariss_Basketball_Tranning_12khariphotos (7)1660472453.jpg

एसियन गेम्सको तयारीमा रहेका आठबाहेक बाँकी खेलाडीलाई कीर्तिपुरमा एक दिनको प्रतियोगिता गरेर खुला छनोटमार्फत प्रशिक्षणमा बोलाइएको हो । सबै खेलाडी समेटेर झन्डै एक साता ३५ जनाले साबाका लागि प्रशिक्षण गरे । साउनको सुरुआतमै टोलीलाई २१ जनामा झारियो । टोलीमा नयाँ अनुहार पनि छन् । नयाँ भए पनि उनीहरूले परिपक्व प्रदर्शन गरिरहेको प्रशिक्षक शाही बताउँछन् ।

“टिममा फेरबदल भइरहनु स्वाभाविक हो । यसपटक नयाँ अनुहार धेरै छन् । तर, नयाँ भए पनि उनीहरूले राम्रो गरिरहेका छन् । जसले हामीलाई पनि सकरात्मक ऊर्जा प्रदान भएको छ,” प्रशिक्षक शाहीले थपे, “यही खेलाडीले पछिसम्म खेल्दै गए भविष्यमा हाम्रो टिम अझ बलियो बन्नेछ ।”

प्रशिक्षण टोलीमा मुख्य प्रशिक्षक दिनेशचन्द्र नकर्मी, विकास शाही र निरञ्जन सत्याल छन् । यही अगस्टको अन्तिम वा सेप्टेम्बर पहिलो साता टोलीलाई १४ खेलाडीमा सीमित गर्ने उनीहरूको योजना छ । त्यसपछि अन्तिममा मात्र १२ जनाको टोली घोषणा गरिने प्रशिक्षक शाही बताउँछन् ।

“हामी यसपटक अन्तिमसम्म १४ खेलाडीलाई नै राख्ने योजनामा छौँ । अन्तिममा दुईजना फालिँदा केही नराम्रो महसुस त हुन्छ, तर उनीहरूले धेरै सिक्न पाउँछन् । र, टिममा पनि को पर्ने हो, को नपर्ने हो भन्ने भइरहन्छ,” १४ जना राख्नुको कारणबारे उनी भन्छन्, “जसले गर्दा आन्तरिक प्रतिस्पर्धा पनि हुन्छ र उनीहरूले टिममा पर्न बढी मिहिनेत पनि गर्नेछन् ।”

JrHariss_Basketball_Tranning_12khariphotos (1)1660472477.jpg

खेलाडीको चोटले भने प्रशिक्षक शाहीलाई चिन्तित बनाएको छ । सिनियर खेलाडी प्रतीक्षा मगर अहिले आराममा छिन् । उनका अनुसार प्रतीक्षाको ‘एङ्कल ट्विस्ट’ भएको छ । अनुषा मल्लको कुममा समस्या छ । अरू एक/दुईजना पनि घाइते छन् । कप्तान सदीनाको पनि खुट्टामा चोट थियो । यद्यपि, उनीहरू क्रमशः फिट हुँदै आएका छन् ।

१३औँ सागपछि महिला बास्केटबल टोलीले प्रशिक्षण गरेको यो पहिलोपटक हो । लामो समयपछि संयुक्त रूपमा प्रशिक्षण गर्न पाउँदा उनीहरू उत्साहित छन् ।

“प्रतियोगिता हुँदै छ भनेर फोन आउँदा हामी सबै एकदम खुसी भएका थियौँ । सबै एक्साइटेड छन्,” कप्तान सदीनाले भनिन्, “तीन वर्षपछि खेल्न लागेको भएर होला, सबै उत्साहित छन् । सबैले आफ्नो तर्फबाट शतप्रतिशत दिएर ट्रेनिङ गरिरहेका छन् ।”

१३औँ साग सकिएपछि यसबीचमा कोभिड–१९ महामारीका कारण पनि प्रतियोगिताहरू ठप्प थिए । पटक–पटक भएका लामो लकडाउनले मानिस घरभित्रै थुनिएर बस्नुपरेको अवस्था थियो । यसबीचमा प्रतियोगिताहरू पातलिए । प्रतियोगिता नै भएनभन्दा पनि हुन्छ ।

खेलाडीहरूले आफूलाई फिट राख्न मिहिनेत गरेको प्रशिक्षक शाहीको बुझाइ छ । “धेरैपछि खेलाडीलाई कोर्टमा देख्न पाउँदा हामी पनि खुसी छौँ । बीचमा लामो समय खेल नभए पनि खलाडीहरू आफ्नो स्वास्थ्य र फिटनेसमा धेरै सचेत पाएको छु,” उनले भने, “उनीहरू आफ्नै खर्चमा जिम जाने, रिह्याब गरेर आफूलाई फिट राखेका छन् । पहिले यस्तो हुँदैनथ्यो ।”

JrHariss_Basketball_Tranning_12khariphotos (4)1660472503.jpg

प्रतियोगितामा सहभागी हुने दक्षिण एसियाका अरू टोलीले पनि तयारी गरिरहेका छन् । तीन वर्षपछि प्रतियोगिता खेल्न लागेकाले कुन टोली कस्तो स्थितिमा छ भनेर भन्न सक्ने अवस्था नरहेको कप्तान सदीना बताउँछिन् ।

“अन्य टोलीले विदेशमा प्रशिक्षण गरिरहेका छन् भन्ने सुनेका छौँ । माल्दिभ्सले बैंकक र अहिले भारतमा प्रशिक्षण गरिरहेको छ,” सदीनाले थपिन्, “कुनै पनि टिमलाई कमजोर मान्ने अवस्था छैन । तीन वर्षमा कुन टिम कहाँ पुगिसक्यो भन्ने हामीलाई थाहा छैन । हामी कडा चुनौती पेस गर्नेछौँ । यसअघि गरेको गल्ती दोहोर्‍याउने छैनौँ । मानसिक रूपमा सबैजना राम्रै छन् । नयाँ खेलाडी र पुराना खेलाडीको सम्मिश्रणले हाम्रो टिम अझ राम्रो बनेको छ । गोल्ड जित्ने धोको छ ।”

फिट हुँदा र राम्रो खेल्न सक्दासम्म किन सन्न्यास लिने ?
सन् २०११ मा पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल सदीनाले त्यसको एक वर्षपछि कप्तानको जिम्मेवारी पाइन् । अहिलेसम्म निरन्तर बास्केटबल खेलिरहेकी छन् । उनीसँगै खेलेकाहरू कतिपय विदेश पलायन भए भने कतिपयले बास्केटबल छाडे । तर, सदीनाको संघर्ष कायम छ । मिहिनेत गरिरहेकी छन् । आफूलाई निखारेकी छन् । त्यसैले उनलाई कसैले सन्न्यासको बारेमा सोध्दा दुःख लाग्छ ।

“म सक्षम छु । फिट छु । राम्रो खेलिरहेको छु भने किन सन्न्यास लिने ? मलाई त सन्न्यासको कुरा गर्दा आश्चर्य लाग्छ,” देशका लागि स्वर्णपदक जित्ने सपना साँचेकी सदीनाले थपिन्, “महिलालाई प्रोत्साहन गर्नुपर्ने हो । उल्टै खेलिरहेको मान्छेलाई सन्न्यास सन्न्यास भनेर हतोत्साही बनाइन्छ । म हरेक दिन जिम जान्छु । कार्डियो गर्छु । फिट छु । राम्रो खेलिरहेको छु भने मैले किन अहिले सन्न्यास लिने ? जुन दिन खेल्न सक्दिनँ, त्यो दिन सन्न्यास लिन्छु ।”

JrHariss_Basketball_Tranning_12khariphotos (10)1660472535.jpg

बास्केटबल टिम
सदिीना श्रेष्ठ, एलिना गुरुङ, रचना श्रेष्ठ, अनुषा मल्ल, मुना महर्जन, सोनी बाइवा, मीना गुरुङ, गरिषा सिलवाल, श्रेया खड्का, अमिषा घले, प्रतीक्षा मगर, छिरिङ छोकी शेर्पा, बिनामनी योञ्जन, इरिशा श्रेष्ठ, एलिसा मल्ल, सृष्टि पैँजु, रिनचेन लामा, स्मृति पैँजु, प्रेदिका महर्जन, आकृति श्रेष्ठ र प्रीति तुलाचन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro